आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
2026-9-12 7:27 pm / 2083-05-27 7:27 pm
राष्ट्रिय समाचार
एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- अन्नपूर्ण स्पाइकर्स किंगले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न फाइनल खेलमा अन्नपूर्णले कर्णाली शिवराजलाई तीन सेटको सोझो सेटमा पराजित गरेको हो । अन्नपूर्णले कर्णालीलाई पहिलो सेट २५-१५ ले जितेको थियो भने दोस्रो सेट २५-२० ले जितेको थियो । त्यस्तै तेस्रो सेटमा २५-१८ ले जितेको हो । केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको थियो । नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो ।
२- भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ । नेपाली सेना, भारतीय सेना र चिलिमे जलविद्युतको प्राविधिक टोलीले सुरुङभित्र थुप्रिएको माटो तथा भग्नावशेष हटाउँदै विद्युत् गृहसम्म पुग्ने प्रयास गरिरहेको छ । हिजोदेखि डोजर, लोडर र अन्य उत्खनन उपकरण प्रयोग गरी काम तीव्र पारिएको छ । टोलीले शनिबार थप करिब ७० मिटर सुरुङ सफा गरिसकेको र आयोजना प्रमुखका अनुसार विद्युत् गृहसम्म पुग्न अब करिब ६० मिटर सुरुङ सफा गर्न बाँकी रहेको छ । उद्धार टोलीले विद्युत् गृहसम्म पुग्ने लक्ष्यसहित आज रातिसमेत सुरुङ सफा गर्ने तथा भग्नावशेष हटाउने कामलाई निरन्तरता दिने जनाएको छ ।

३- शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलमाथि सिरहाको औरही गाउँपालिका र लहानमा आयोजित शैक्षिक कार्यक्रममा विरोध भएको छ । कार्यक्रमस्थलमा होहल्ला भएपछि मन्त्री पोखरेलको सम्बोधन बीचमै रोकिएको थियो । मधेश प्रदेशमा पाठ्यक्रम परिमार्जनका विषयमा सुझाव संकलन गर्न सिरहा पुगेका मन्त्री पोखरेल औरही गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय पार्टी नेतृत्वसँग समन्वय नगरेको र आफ्नै पार्टीका नेता-कार्यकर्तालाई कार्यक्रममा अपमानजनक व्यवहार गरिएको भन्दै विरोध गरेपछि मन्त्री पोखरेलले भाषण बीचमै छोडेर कार्यक्रमबाट बाहिरिएका थिए । सिरहाबाट प्रतिनिधित्व गर्ने दुई प्रतिनिधिसभा सांसद समेत कार्यक्रममा सहभागी भए पनि स्थानीय नेता-कार्यकर्तासँग आवश्यक समन्वय नगरिएको र उनीहरूलाई कार्यक्रममा उचित स्थानसमेत नदिइएको भन्दै स्थानीय कार्यकर्ताले विरोध गरेका थिए ।
४- इङल्याण्डले पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा ८ विकेटको शानदार जित निकाल्दै तीन खेलको सिरिज ३-० ले क्लिन स्वीप गरेको छ । एजबास्टनमा पाकिस्तानले दिएको १३० रनको लक्ष्य इङल्याण्डले चौथो दिन दुई विकेट गुमाएर पूरा गरेको थियो । जो रुटले अर्धशतक बनाउँदै टोलीको जित सहज बनाए भने जोर्डन कक्सले पनि अर्धशतक पूरा गरेका थिए । यसअघि पाकिस्तानले दोस्रो इनिङमा ४४९ रन बनाएको थियो । शान मसुदले ९५, बाबर आजमले ७६ र अजान अवैसले ५९ रन बनाएका थिए । नवप्रवेशी रजाउल्लाहले ८१ रनको आक्रामक इनिङ खेलेर पाकिस्तानको इनिङ उकासेका थिए । उनले ६३ बलमा ९ छक्का प्रहार गरेका थिए । पहिलो इनिङमा पाकिस्तान १३३ रनमै समेटिएको थियो भने इङल्याण्डले ४५३ रन बनाउँदै ३२० रनको ठूलो अग्रता लिएको थियो । त्यसपछि पाकिस्तानले दोस्रो इनिङमा सुधारिएको प्रदर्शन गरे पनि इङल्याण्डलाई रोक्न पर्याप्त हुन सकेन । यससँगै इङल्याण्डले यसअघि हेडिङ्ले र लर्ड्समा जित निकालेको सिरिजलाई ३-० ले जितेको छ ।
५- भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आधारलगायत विषयमा अध्ययन गरी १५ दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रीसमक्ष पेश गर्नेछ । समितिमा मन्त्रालयका उपसचिव निर्मला गुरुङ, प्रमुख इन्जिनियर शंकर सिंह धामी, सल्लाहकार आरपी महतो तथा यातायात व्यवसायी र मजदुरका प्रतिनिधिहरू सदस्य रहेका छन् । यसैगरी यातायात क्षेत्रसँग सम्बन्धित नीति, ऐन, नियम तथा मापदण्डलाई समयानुकूल सुधार गर्न अर्को समिति पनि गठन गरिएको छ । मन्त्रालयका सहसचिव जंगबहादुर डाँगीको संयोजकत्वमा गठित समितिले भविष्यमा आउन सक्ने विपद्का समस्या न्यूनीकरण तथा यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक कानुनी र नीतिगत सुधारबारे अध्ययन गर्नेछ । उक्त समितिले ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्नुपर्नेछ। दुवै समितिको प्रतिवेदनका आधारमा बाढीबाट प्रभावित यातायात क्षेत्रको क्षति व्यवस्थापन तथा आगामी दिनमा विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि आवश्यक नीति तथा कानुनी सुधार अघि बढाइने मन्त्रालयले जनाएको छ ।
६- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कपको प्लेयर अफ द सिरिज बनेका छन् । सन्दीपले प्रतियोगिताका ६ खेलमा सबैभन्दा बढी १७ विकेट लिएका थिए । नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका सन्दीप प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका हुन् । सन्दीपले बहराइन विरुद्ध ५ विकेट लिएका थिए भने, मलेसियाविरुद्ध १, साउदी अरेबियाविरुद्ध ३, हङकङ चाइनाविरुद्ध ४, ओमानविरुद्ध ३ तथा फाइनलमा युएईविरुद्ध १ विकेट लिएका थिए । त्यस्तै फाइनलमा शतकीय पारी खेलेर नेपालको जितको आधार बनाएका ओपनर आसिफ सेख फाइनल खेलको प्लेयर अफ द म्याच बनेका छन् ।
७- भारतको राजधानी नयाँदिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्सको एकता र सहमतिलाई विश्व मञ्चमा ठोस परिणाममा बदल्नुपर्ने बताएका छन् । उनले आगामी २० वर्षका लागि महत्वाकांक्षी कार्यसूची बनाउन र विश्व शासन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् । मोदीले विश्व शासन सुधारका लागि १० प्रस्ताव तयार गरी आगामी शिखर सम्मेलनसम्म त्यसलाई सुधारको मार्गचित्रका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्, अन्तर्राष्ट्रिय वित्तीय संस्थालगायतमा वर्तमान विश्व आर्थिक अवस्थाअनुसार प्रतिनिधित्व र मतदान अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन् । कृत्रिम बुद्धिमत्ता र महत्वपूर्ण प्रविधिसम्बन्धी भविष्यका नियम निर्माणमा विश्व दक्षिणका राष्ट्रलाई पनि निर्णायक भूमिका दिनुपर्ने मोदीको भनाइ थियो। भारत यसका लागि नेतृत्व लिन तयार रहेको उनले बताएका छन् । सम्मेलनमा चीनका राष्ट्रपति सी जीनपीङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित सदस्य राष्ट्रका नेताहरू सहभागी भएका छन् । ब्रिक्समा अहिले रुस, चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स गरी ११ पूर्ण सदस्य छन्। बेलारुस, बोलिभिया, काजाकिस्तान, क्युबा, मलेसिया, नाइजेरिया, थाइल्यान्ड, युगान्डा, उज्बेकिस्तान र भियतनाम साझेदार राष्ट्रका रूपमा रहेका छन् । सन् २००९ मा पहिलो औपचारिक शिखर सम्मेलन आयोजना गरेको ब्रिक्सले विकासशील राष्ट्रबीच आर्थिक तथा राजनीतिक सहकार्य बढाउँदै पश्चिमी शक्तिको प्रभावलाई सन्तुलन गर्ने प्रयास गर्दै आएको छ। समूहको मुख्यालय चीनको सांघाईमा रहेको छ ।
८- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने गरि बोलाइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन आग्रह गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।
९- नेपालले युएई पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यो जितसँगै नेपाल २०२७ को एशिया कपमा छनौट भएको छ । नेपालले युएईलाई ४४ रनले पराजित गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछाएको युएईले ४९.२ ओभरमा अल आउट हुदै २६९ रन बनाएको हो । युएईका लागि राहुल चोपडाले १०० रन बनाएका थिए भने सोहैब खानले ५२, तनिश पुरीले ४२ रन र हरप्रीत सिंहले ३३ रन बनाएका थिए । यस अघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले १०२ रनको शतकीय पारी खेलेका थिए भने गुलशन झाले अर्धशतक बनाउदै ५२ रन बनाएका थिए । त्यसैगरी, अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दिपेन्द्र सिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ रन बनाए भने इशान पाण्डेले १३ रन बनाएका थिए । त्यस्तै युएईका बलर इब्रार अहमदले ४ विकेट लिए भने खुजैमा तनवीरले २ विकेट लिएका थिए । यो जितपछि नेपालले २०२७ को जुनमा बंगलादेशमा हुने एशिया कपमा छनौट भएको छ । एशिया कपका लागि आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सिधै छनौट भएका छन् ।
१०- धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका ) ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ३८५ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् । नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो । यसअघि सोहि नगरपालिकाको वडा नं ४,५,६ र १० मा ३२२६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो ।
११- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कपाल मिलाउने र मेकअपमा सन् २०१९ देखि सन् २०२६ को अगस्टसम्म करिब ४ लाख ७० हजार अमेरिकी डलर अर्थात् करिब ७ करोड १७ लाख रुपैयाँ खर्च भएको सरकारी अभिलेखबाट खुलेको छ । सूचनाको हकअन्तर्गत सार्वजनिक गरिएको विवरणअनुसार उक्त खर्चको करिब ९० प्रतिशत प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनकी पत्नी सारासँग सम्बन्धित रहेको बताइएको छ । सन् २०२५ मा मात्रै यस्तो खर्च करिब १ लाख ११ हजार डलर पुगेको थियो । सन् २०२३ मा युद्ध सुरु हुँदासमेत कपाल र शृंगारमा करिब १ लाख ३ हजार डलर खर्च भएको थियो । नेतन्याहुको विदेश भ्रमणका क्रममा पनि यस्तो खर्च भएको अभिलेखमा उल्लेख छ । सरकारले भने प्रधानमन्त्रीका कपाल मिलाउने व्यक्ति र मेकअप गर्नेको नाम सार्वजनिक गरेको छैन । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै केही विवरण तथा कपडा, गहना र छवि परामर्शसम्बन्धी खर्चसमेत सार्वजनिक नगरिएको जनाइएको छ ।
१२- दक्षिण कोरिया, अमेरिका र जापानबीच संयुक्त समुद्री सैन्य अभ्यास सकिएको एक दिनपछि उत्तर कोरियाले शनिबार छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र परिक्षण गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाको वोनसान क्षेत्रबाट पूर्वी समुद्रतर्फ प्रहार गरिएका क्षेप्यास्त्र करिब २५० किलोमिटर उडेका थिए । दक्षिण कोरिया, अमेरिका र जापानले पाँच दिनसम्म उत्तर कोरियालाई केन्द्रमा राखेर संयुक्त समुद्री सैन्य अभ्यास गरेका थिए । उत्तर कोरियाले यसअघि उक्त अभ्यासलाई आफ्नो सुरक्षाका लागि ‘खतरा’ भन्दै विरोध गरेको थियो ।दक्षिण कोरिया र अमेरिकी गुप्तचर निकायले क्षेप्यास्त्र प्रहारसम्बन्धी सूचना आदानप्रदान गरेका थिए भने जापानलाई पनि जानकारी गराइएको थियो ।
१३- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालसम्म ४९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टीले भदौ मसान्तभित्र बाँकी सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्षहरूमा ताप्लेजुङमा अमृतकुमार सावदेन, इलाममा ताराप्रसाद नेपाल, झापामा केशवप्रसाद ओझा, मोरङमा मनोज बस्नेत, तेह्रथुममा टंकप्रसाद अधिकारी, सोलुखुम्बुमा राजेन्द्र बस्नेत, ओखलढुंगामा पदमकुमारी गुरुङ, खोटाङमा ललित राई, संखुवासभामा दीपेन्द्र भण्डारी र उदयपुरमा ध्रुव रायमाझी रहेका छन् । त्यस्तै सप्तरीमा उम्देश्वरप्रसाद साह, सिराहामा शम्भुप्रसाद यादव, सर्लाहीमा विजय यादव, पर्सामा बिना जयसवाल कुर्मी, रामेछापमा भरत वाइवा, सिन्धुपाल्चोकमा निलध्वज थापा, काभ्रेपलाञ्चोकमा सहदेव भण्डारी, भक्तपुरमा अर्जुन कार्की, चितवनमा चेतनाथ वाग्ले र लमजुङमा क्या. केबिन्द्रजंग गुरुङ जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् ।
त्यसैगरी, मुस्ताङमा जेम्स हिराचन, गोरखामा रमेशरमण खनाल, म्याग्दीमा वीरबहादुर थापा क्षेत्री, पर्वतमा शेरबहादुर उचाइ ठकुरी, बागलुङमा विष्णुप्रसाद सापकोटा, तनहुँमा इमबहादुर केसी ‘केदार’, स्याङ्जामा ऋषिराम लामिछाने, नवलपुरमा विष्णुप्रसाद अधिकारी, कास्कीमा नारायण गुरुङ र नवलपरासी पश्चिममा रामभवन यादव निर्वाचित भएका छन् । यसैगरी, रोल्पामा अमरबहादुर थापा, गुल्मीमा त्रिविक्रम चन्द, पाल्पामा डुलबहादुर कुँवर, बर्दियामा हेमन्तप्रकाश गिरी, कपिलवस्तुमा नारायणबहादुर सिंह, दाङमा प्रेम शाह, रुपन्देहीमा सागरप्रताप राणा, मुगुमा वीरचन्द बुढा, हुम्लामा विकास महत र सल्यानमा प्रदीप थापा जिल्ला अध्यक्ष बनेका छन् ।
रुकुम पश्चिममा खम्बु खत्री, दैलेखमा सुरत केसी, डोटीमा खडकप्रसाद अग्रवाल, बैतडीमा इन्द्रदेवशरण भट्ट, कालिकोटमा मदन रोकाया, भोजपुरमा जनक नेपाल, बारामा विनोद भारती, दोलखामा गंगाबहादुर बस्नेत ‘रामहरी’ र महोत्तरीमा राजेश्वर राय यादव जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । पार्टीका अनुसार बाँकी जिल्लामध्ये अधिकांशको अधिवेशन भदौ मसान्तभित्र सम्पन्न गर्ने गरी मिति तय भइसकेको छ । महोत्तरीको अधिवेशन भदौ २६ गते शुक्रबार सम्पन्न भएको छ । राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते पार्टीको महाधिवेशन गर्ने मिति यसअघि नै घोषणा गरिसकेको छ। सोहीअनुसार जिल्ला अधिवेशनहरूलाई तीव्रता दिइएको पार्टीले जनाएको छ । पार्टीका अनुसार स्थानीय तह र जिल्ला अधिवेशनहरू उत्साहजनक रूपमा भइरहेका छन्। जिल्ला अधिवेशन सम्पन्न भएपछि महाधिवेशनको तयारीलाई थप गति दिने राप्रपाले जनाएको छ ।
१४- परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-चीन सम्बन्धलाई थप विस्तार गर्न हिमालपारि सम्पर्क सञ्जाल, संयुक्त विपद् प्रतिरोध क्षमता, सन्तुलित व्यापार र प्रविधि सहकार्यमा जोड दिएका छन् । काठमाडौँमा फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसलिज्मले आयोजना गरेको ‘काष्ठमण्डप संवाद शृङ्खला–३’ अन्तर्गत ‘नेपाल–चीन सम्बन्ध : सहकार्यका विस्तारित क्षितिज’ विषयक कार्यक्रममा मन्त्री खनालले मुख्य सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नेपाल र चीनबीचको दीर्घकालीन द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन आपसी विश्वास र मित्रतामा आधारित सहकार्य आवश्यक रहेको बताएका थिए । उनले दुई देशबीच हिमालपारि सम्पर्क विस्तार, विपद् व्यवस्थापनमा संयुक्त प्रयास, व्यापारमा सन्तुलन तथा प्रविधिको क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
१५- मध्यपूर्वमा जारी युद्ध चर्किँदै गएपछि साउदी अरबले हवाई आक्रमणको निशानामा परेको आफ्नो महत्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ । साउदी ऊर्जा मन्त्रालयका अनुसार सावधानीका रूपमा पाइपलाइन बन्द गरिएको हो । करिब १ हजार २ सय किलोमिटर लामो उक्त पाइपलाइनले दैनिक ४० देखि ५० लाख ब्यारेल कच्चा तेल ओसार्दै आएको थियो । साउदी र इराकका अनुसार पाइपलाइनमा भएको ड्रोन आक्रमण इराकबाट भएको थियो।
आक्रमणपछि इराकले एक सैन्य कमान्डरलाई पदबाट हटाएको छ । यसैबीच, इरान समर्थित हुथी विद्रोहीले लाल सागरको महत्वपूर्ण बाब अल–मन्देब क्षेत्रमा आफ्नो नियन्त्रण बढाउँदै लगेका छन्। हुथीहरूले साउदी जहाजबाहेक अन्य जहाजको समुद्री आवागमन सुरक्षित रहेको बताएका छन् । साउदी अरबले हुथीविरुद्ध अमेरिकी सैन्य सहयोग मागेको भए पनि अमेरिकाले तत्काल प्रत्यक्ष सैन्य कारबाही गर्न अस्वीकार गर्दै सूचना आदानप्रदान र लक्ष्य पहिचानमा सहयोग गर्ने जनाएको छ । पाइपलाइन बन्द हुनु र लाल सागर तथा होर्मुज जलडमरूमध्यमा तेल ढुवानी प्रभावित भएपछि विश्व बजारमा तेल आपूर्तिमा थप दबाब पर्ने देखिएको छ ।
१६- रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड ९१ लाख रुपैयाँ बराबरको भौतिक क्षति तथा नोक्सानी भएको प्रारम्भिक मूल्यांकन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको द्रुत क्षति तथा आवश्यकता आकलन टोलीले तयार पारेको प्रतिवेदनले विपद्पछि पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने देखाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, जिल्ला तथा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरणका आधारमा तयार गरेको स्थिति प्रतिवेदनअनुसार बाढी तथा विपद्बाट भएको कुल भौतिक क्षति करिब ४ खर्ब ८ अर्ब २८ करोड ९१ लाख रुपैयाँ बराबर रहेको छ। दीर्घकालीन पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि भने कुल ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख आवश्यक पर्ने अनुमान गरिएको छ । क्षेत्रगत रूपमा हेर्दा पूर्वाधार क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यस क्षेत्रमा करिब १ खर्ब ९० अर्ब ८ करोड ३९ लाख बराबरको क्षति भएको र पुनःस्थापनाका लागि करिब ४ खर्ब ७३ अर्ब ४९ करोड आवश्यक पर्ने आकलन गरिएको छ । जलविद्युत् तथा ऊर्जा क्षेत्रको क्षति पनि अत्यधिक रहेको प्रतिवेदनले देखाएको छ।
उत्पादनशील क्षेत्रमा करिब १ खर्ब ९० अर्बभन्दा बढी क्षति भएको तथा त्यसको पुनःस्थापनाका लागि करिब ५० अर्बभन्दा बढी आवश्यक पर्ने अनुमान गरिएको छ। सामाजिक क्षेत्रमा करिब ६८ अर्बभन्दा बढी क्षति भएको र पुनःस्थापनाका लागि करिब १ खर्ब ३ अर्ब आवश्यक पर्ने देखिएको छ। अन्तरसम्बन्धित क्षेत्रमा पुनःस्थापनाका लागि करिब ५८ अर्बआवश्यक पर्ने आकलन गरिएको छ । क्षति र पुनःस्थापनाको आवश्यकतालाई सँगसँगै हेर्दा पूर्वाधार क्षेत्र, विशेषगरी जलविद्युत् तथा ऊर्जा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको प्रतिवेदनले औँल्याएको छ । ऊर्जा क्षेत्रमा मात्रै करिब १९ अर्ब १० करोड बराबरको क्षति भएको र पुनर्निर्माणका लागि करिब ३९ अर्ब ६२ करोड आवश्यक पर्ने अनुमान गरिएको छ । विपद्पछि विस्थापित तथा प्रभावित नागरिकको पुनर्स्थापना र आवास व्यवस्थापनका लागि पुनर्स्थापना तथा आश्रय व्यवस्थापन कार्ययोजना, २०८३ तयार भइरहेको प्राधिकरणले जनाएको छ । सहरी विकास तथा भवन निर्माण विभागले आपत्कालीन अस्थायी आश्रयस्थलका लागि नमुना ढाँचा पनि तयार गरिरहेको उल्लेख छ ।
१७- ब्रिक्स विश्वका प्रमुख उदीयमान अर्थतन्त्र तथा विकासशील राष्ट्रहरूको समूह हो । यसको १८औँ शिखर सम्मेलन आज र भोली भारतको नयाँदिल्लीमा हुँदैछ । सम्मेलनमा चीनका राष्ट्रपति सी जीनपीङ, रुसी राष्ट्रपति भ्लादमिर पुटिन पनि सहभागी हुने भएका छन् । ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो । हाल ब्रिक्समा रुस, चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स गरी ११ पूर्ण सदस्य छन् । इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स सन् २०२४ देखि तथा इन्डोनेसिया सन् २०२५ देखि पूर्ण सदस्य बनेका हुन् । यस समूहमा बेलारुस, बोलिभिया, काजाकिस्तान, क्युबा, मलेसिया, नाइजेरिया, थाइल्यान्ड, युगान्डा, उज्बेकिस्तान र भियतनाम साझेदार राष्ट्रका रूपमा रहेका छन् । ब्रिक्सको विस्तारसँगै करिब ३० अन्य देशले पनि समूहमा सहभागी हुन इच्छा देखाएका छन् । ब्रिक्सको पहिलो औपचारिक शिखर बैठक सन् २००९ मा रुसको येकातेरिनबर्गमा भएको थियो । त्यसपछि हरेक वर्ष सदस्य राष्ट्रमध्ये एकले शिखर सम्मेलन आयोजना गर्दै आएका छन्। यस वर्ष भारतले सम्मेलन आयोजना गरिरहेको छ । ब्रिक्स राष्ट्रहरूको संयुक्त जनसंख्या विश्वको करिब आधा रहेको र विश्व अर्थतन्त्र तथा व्यापारमा पनि उनीहरूको ठूलो हिस्सा रहेको बताइन्छ । आर्थिक सहकार्य यसको मुख्य उद्देश्य भए पनि सदस्य राष्ट्रबीच राजनीतिक तथा सीमा विवादसमेत रहेका छन्। भारत र चीनबीचको सीमा विवाद यसको प्रमुख उदाहरण हो । ब्रिक्सले आर्थिक तथा राजनीतिक रूपमा पश्चिमी शक्तिको प्रभावलाई सन्तुलन गर्ने उद्देश्यसहित विकासशील राष्ट्रहरूबीच सहकार्य बढाउने प्रयास गर्दै आएको छ । समूहको मुख्यालय चीनको सांघाईमा रहेको छ ।
१८- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले भेटवार्ता गरेकी छन् । भेटमा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति प्रकट गरेकी छन् । खोज तथा उद्धार कार्य जारी रहेको अवस्थामा बोल्डिनले बेपत्ता अमेरिकी नागरिकसहित बाढीबाट प्रभावित अन्य व्यक्तिको खोजीका लागि नेपाल सरकारले गरिरहेको प्रयासप्रति आभार व्यक्त गरेकी छन् । उनले विपद्को प्रतिकार्यमा अमेरिका नेपालसँग मिलेर काम गरिरहेको बताउँदै अमेरिकी नागरिकको सुरक्षा आफ्नो देशको सर्वोच्च प्राथमिकता रहेको उल्लेख गरेकी छन् ।
आफ्ना आफन्तबारे जानकारी खोजिरहेका परिवारलाई सहयोग गर्न अमेरिकी कन्सुलर सेवा थप विस्तार गरिएको पनि उनले बताएकी छन् । नेपालको नेतृत्वमा देशभर प्रभावित समुदायमा भइरहेको उद्धार, राहत तथा विपद् प्रतिकार्यमा अमेरिकी सहयोगले पनि साथ दिइरहेको जनाइएको छ । अमेरिकाले नेपालका बाढी प्रभावितका लागि ४० लाख अमेरिकी डलरभन्दा बढी अर्थात् करिब ६१ करोड रुपैयाँभन्दा बढीको मानवीय सहायता परिचालन गरेको छ। उक्त सहयोगमा खाद्यान्न, आपत्कालीन राहत सामग्री, बन्दोबस्तीका सामग्री तथा उपकरण र विपद्बाट प्रभावित व्यक्तिको पुनर्लाभमा आवश्यक पर्ने विशेष सामग्री समावेश छन् । यसैगरी, प्रभावितको पहिचान तथा परिवारका प्रश्नको जवाफ खोज्न अमेरिकी संघीय अनुसन्धान निकायका न्यायिक विज्ञान विशेषज्ञहरू नेपाल प्रहरीसँग मिलेर काम गरिरहेका छन् । नेपालले बाढीबाट भएको क्षति, विस्थापन तथा मानवीय आवश्यकताको थप आकलन गरिरहेका बेला अमेरिकाले नेपालसँग नजिकबाट सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।
१९- यमनको मोखा क्षेत्र कब्जामा लिएपछि हुथी विद्रोहीले यमनको सम्पूर्ण लाल सागर तटीय क्षेत्रमा नियन्त्रण कायम गरेको दाबी गरेको छ । मोखामा कब्जापछि हुथी लडाकुले अन्तर्राष्ट्रिय जल यातायातलाई आफूबाट डराउनुपर्ने अवस्था नरहेको बताउँदै आएका छन् । उनीहरूले लाल सागर र बाब अल मन्देब जलडमरूमध्यमा जहाजको सुरक्षित आवागमन जारी राख्न सकिने बताएका छन् । तर, साउदी अरबसँग सम्बन्धित जहाज भने हुथी सशस्त्र समूहको नौसैनिक नाकाबन्दीको दायरामा रहने बताएका छन् । हुथी विद्रोहीले यसअघि पनि लाल सागरमा अन्तर्राष्ट्रिय जल यातायातका लागि खतरा सिर्जना गर्ने क्षमता देखाइसकेका छन् ।
आफ्नो वर्तमान चेतावनीलाई साउदी अरबसँग सम्बन्धित जहाजमा मात्र सीमित गरेर उनीहरूले अमेरिकी जहाजलाई तत्काल निशाना नबनाउने र परिस्थितिलाई ठूलो द्वन्द्वमा परिणत गर्ने तत्कालको योजना नरहेको संकेत दिन खोजेको हुन सक्ने विश्लेषण गरिएको छ । यसले अमेरिकी प्रतिक्रियालाई लिएर पनि चासो बढाएको छ । साउदी युवराज मोहम्मद बिन सलमानले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुथी विद्रोहीविरुद्ध प्रत्यक्ष अमेरिकी सैन्य सहयोग मागेको बताइएको छ । तर, अमेरिकाले त्यसलाई अस्वीकार गरेको बताइएको छ । अमेरिकाले भने गुप्तचर सूचना तथा सम्भावित लक्ष्य पहिचानमा सहयोग गर्ने प्रस्ताव गरेको छ । तर तत्काल प्रत्यक्ष सैन्य कारबाहीमा सहभागी हुन तयार नरहेको जनाएको छ । ट्रम्प प्रशासन इरान र होर्मुज जलडमरूमध्यमा केन्द्रित भइरहेका बेला अर्को मोर्चा खोल्नबाट बच्न खोजिरहेको देखिएको छ ।
त्यसैले हुथी विद्रोहीले साउदी अरब र उसको महत्वपूर्ण लाल सागरस्थित तेल आपूर्ति मार्गमा दबाब बढाउने, तर अमेरिकालाई प्रत्यक्ष द्वन्द्वमा प्रवेश गर्ने तत्काल कारण नदिने रणनीति अपनाएको हुन सक्ने विश्लेषण गरिएको छ । यद्यपि, द्वन्द्व थप चर्किएमा यस्तो दूरी कायम राख्न उनीहरू सफल हुन्छन् वा हुँदैनन् भन्ने प्रश्न भने कायमै रहेको छ । यसैबीच, एएफपीका अनुसार यमनी सैन्य अधिकारीले हुथी विद्रोहीले यमनको सम्पूर्ण लाल सागर तटमा नियन्त्रण कायम गरेको बताएका छन् । अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारसँग सम्बन्धित ती अधिकारीले पश्चिमी तटमा सरकारको नियन्त्रणमा रहेका सबै क्षेत्र आफ्नो नियन्त्रणबाट बाहिरिएको बताएका छन् । ती सैन्य अधिकारीका अनुसार हुथी विद्रोहीले बाब अल मन्देब जलडमरूमध्यमा रहेका थप दुईवटा टापुमा समेत कब्जा जमाएका छन् ।
२०- भारतीय चलचित्र ‘हनुमान अंश’ ले प्रदर्शनको ३६औँ दिन १० करोड ५० लाख भारतीय रुपैयाँको खुद कमाइ गर्दै बक्स अफिसमा उल्लेख्य सफलता हात पारेको छ । चलचित्रले भारतमा हालसम्म १७३ करोड ६३ लाख भारतीय रुपैयाँ खुद तथा २०५ करोड १५ लाख भारतीय रुपैयाँ कुल कमाइ गरेको छ । केवल २ करोड भारतीय रुपैयाँको बजेटमा बनेको चलचित्रले आफ्नो लागतभन्दा सय गुणाभन्दा बढी कमाइ गरेको बताइएको छ । चलचित्रले शुक्रबारको कमाइमा ‘मिर्जापुर द मुभी’ र ‘हैवान’लाई समेत पछि पारेको छ । ‘मिर्जापुर द मुभी’ले आठौँ दिन ९ करोड ५० लाख तथा ‘हैवान’ले पहिलो दिन ३ करोड भारतीय रुपैयाँ खुद कमाइ गरेका थिए ।
‘हनुमान अंश’ले सुरुवातमा भने निकै कमजोर व्यापार गरेको थियो । ७ अगस्ट २०२६ मा प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन केवल १० लाख भारतीय रुपैयाँ कमाएको थियो । सुरुमा देशभर २५ पर्दामा मात्र प्रदर्शन भएको चलचित्र दर्शकको सकारात्मक प्रतिक्रियापछि क्रमशः लोकप्रिय बनेको थियो । चलचित्रका निर्देशक विशाल चतुर्वेदी हुन् । उनले यसअघि सन् २०१३ मा ‘वर्निङ’ निर्देशन गरेका थिए । चलचित्रमा शोभिनव सत्य, चन्दन आनन्दलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको चर्चित गीत ‘मैने तेरे ही भरोसे हनुमान’ दृष्टिविहीन गायक सुनील लोढीले गाएका छन् ।