काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवारको नाम हटाएको छ । आयोगले राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीका सम्बन्धमा पर्न आएका उजुरी, प्रचलित कानुन बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवं राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा उम्मेदवारहरूको नाम बन्द सूचीबाट हटाइएको जनाएको छ ।
जसमा कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, २५ वर्ष उमेर पूरा नभएका ४ जना रहेका छन् । त्यस्तै मतदाता नामावलीमा नाम समावेश नभएका १ जना, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जना, महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरुष उम्मेदवार पेस भएका १ जना, नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिआएका १० जना र माथि उल्लिखित कारणहरूमध्ये एकभन्दा बढी कारण भएका २ जना रहेको आयोगले जनाएको छ ।
२- राष्ट्रिय सभामा तीन अध्यादेश स्वीकृत भएका छन् । सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेशहरू, मतदाता नामावली ऐन (संशोधन) गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । गृहमन्त्री अर्यालले पेस गरेका यी अध्यादेशहरू स्वीकृत हुनुका साथै बैठकमा अध्यागमन ऐन र राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदनहरू समेत पेस भई छलफलको प्रक्रिया अघि बढेको छ ।
३- प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने विभिन्न भाषाहरु हाम्रा सम्पत्ति भएकाले मर्न दिन नहुने बताएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भाषा आयोगले तयार पारेका दुई वटा फरक फरक विषयका अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो धारणा राखेकी हुन् । अध्यक्ष डा. गोपाल ठाकुरको नेतृत्वमा आएको आयोगको प्रतिनिधिण्डलले मातृभाषा शिक्षासम्बन्धी प्रतिवेदन र अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२-२०३२) नेपालको राष्ट्रिय कार्ययोजना कार्यान्वयनसम्बन्धी प्रतिवेदन प्रधानमन्त्री कार्कीसमक्ष पेस गरेको थियो । प्रतिवेदन ग्रहणपछि प्रधानमन्त्री कार्कीले भनिन- ‘हाम्रो देशमा १२४ वटा भाषा छन् । यी सबै हाम्रा सम्पत्ति हुन् । तर यीमध्ये कतिपय लोप हुन लागेका छन् । तर कुनै पनि भाषा मर्न दिनुहुँदैन । प्रत्येक भाषा उत्तिकै महत्त्वपूर्ण छन् ।’ उनले भाषाको जगेर्ना गर्न यस खालका अध्ययन अनुसन्धान भइरहनुपर्ने धारणा पनि राखेकी थिइन् ।

४- स्वास्थ्य बीमा बोर्डले वीमाको दायरा ओपिडीमा प्रति परिवार २५ हजारमा सिमित गरेको छ । बोर्डले नागरिकको सेवा उपभोगलाई थप प्रभावकारी बनाउन बोर्डको ब्ययभार कम गर्ने उद्देश्यले पुस २४ को बोर्ड बैठकको निर्णयानुसार हाल सुविधा थैलीमा रहेको बहिरंग (ओपिडी) सेवा प्रयोगमा प्रति परिवार (बढीमा पाँच) जनाको लागि वार्षिक २५ हजार बराबरको सुविधा र प्रत्येक थप एक (१) सदस्य बराबर ५ हजार बराबरको थप सेवा सुविधा निर्धारण गरिएको जानकारी दिएको छ । बोर्डले यो प्रावधान फागुन १ गतेबाट लागु हुने जानकारी दिएको छ । यस अघि यो सुबिधा एक लाखसम्म रहेको थियो । बोर्डले ओपीडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई दिगो बनाउन उक्त सीमा तोक्ने निर्णय गरेको जनाएको छ । साथै बोर्डले स्वास्थ्य बीमा नियमावली अनुसूची – ६ बमोजिम ८ (आठ) प्रकारका कडा तथा दिर्घरोगहरुको उपचारको विषयमा हाल व्यवस्था भए बमोजिम नै हुने स्पष्ट गरेको छ ।

५- पोखरामा जारी यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले भुटानमाथि जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले भुटान;लाई २-१ गोल अन्तरले पराजित गरेको हो । यो नेपालको दोस्रो खेलमा पहिलो जित भने भुटानको लगातार दोस्रो हार हो । यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपाल भारतसँग १-० गोलले र भुटान बंगलादेशसँग १२-० ले पराजित भएको थियो । त्यस्तै आजै सम्पन्न पहिलो खेलमा बंगलादेशले भारतलाई २-० ले पराजित गरेको थियो । अब लिग चरणको अन्तिम खेल बुधबार भारत र भुटानबीच हुने छ भने नेपाल र बंगलादेशबीच हुने तालिका रहेको छ । यस प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार देशले मात्र सहभागिता जनाएका छन् । प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ । जस अन्तर्गत प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन् र शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

६- नेपाल आयल निगमले एलपी ग्याँसको अभाव नरहेको स्पष्ट गरेको छ । निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि काठमाडौँ उपत्यकामा एलपि ग्यासको अभाव भएको भन्दै समाचार तथा जनगुनासोको बिषयमा निगमको गम्भिर ध्यानाकर्षण भएको जनाउदै निगमसम्म जाडोयाम भारीलाई पुग्ने पर्याप्त ग्याँस रहेको जानकारी दिएको हो । निगमले भनेको छ- ‘इण्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ्ग प्लान्टबाट ग्यास आयातको लागी देशैभरिका उद्योगीहरुलाई निगमले मासिक रुपमा उपलब्ध गराउने एलोकेसनको परिमाण ४९,५०० मे.टन रहेकोमा नोभेम्बर २०२५ मा ४७,२६४ मे.टन, डिसेम्बर २०२५ मा ४८,५३१ मे.टन र जनवरी २०२६ मा ४७,३०४ मे.टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरि आम उपभोक्ता माझ विक्री वितरण गरेको व्यहोरा अनुरोध छ ।

उपरोक्त परिमाण ग्यासको जाडोयामको माग धान्न पुग्ने परिमाण भएको व्यहोरा समेत अनुरोध छ ।’ निगमले हाल बजारमा केहि एकाध उद्योगको ग्यास सिलिण्डर अभाव देखिएकोले ति उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराई बजार सामान्यकरण गर्न निर्देशन दिई सकिएको बताउदै केही समय भित्रै सामान्यकरण हुने समेत बताएको छ । निगमले बजारमा एलपीजीको हालको अवस्था तथा आसन्न निर्वाचनलाई समेत मध्येनजर गरी निगमले फ्रेबुअरी २०२६ का लागी साविकको परिमाणमा २,००० मे.टन थप गरी इण्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ्ग प्लान्टबाट आयात गर्न बोटलर्स वाइज एलोकेसन पठाईसकेको समेत जनाएको छ । साथै निगमले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न समेत अपिल गरेको छ ।

७- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ । झापा- ५ मा चुनाव प्रचारको क्रममा बालेनकी श्रीमती सबिना काफ्लेसँग सादा पोसाकका प्रहरीले पनि मत मागिरहेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले बालेनलाई तीन दिनभित्र जवाफ माग गर्दै स्पष्टीकरण सोधेको छ । यसअघि बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पोष्टमा गरेको कमेन्टका विषयमा आयोगले स्पष्टीकरण सोधेको थियो ।
८- गाजा पट्टी र इजिप्ट बीचको रफाह सीमा नाका प्यालेस्टिनीहरूका लागि खोलिएको छ । प्यालेस्टिनीहरूले त्यसबेलादेखि रफाह सीमा नाका हुँदै यात्रा गर्न थालेका छन् । यो विगत दुई वर्षदेखि धेरै हदसम्म बन्द थियो । इजिप्टका अस्पतालहरूमा उपचार गराएपछि केही प्यालेस्टिनीहरूलाई यस क्षेत्रमा फर्कन अनुमति दिइँदैछ । यसलाई पुन: खोल्नु राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाको लागि युद्धविराम योजनाको एक प्रमुख भाग हो । यद्यपि, इजरायलले प्रत्येक दिन ५० जना बिरामीहरूलाई दुवै दिशामा यात्रा गर्न अनुमति दिनेछ । प्रत्येक बिरामीलाई अधिकतम दुई जनासँग यात्रा गर्न अनुमति दिइनेछ, र उनीहरूलाई कुनै पनि सामान बोक्न अनुमति दिइने छैन ।
९- मालपोत कार्यालय, जलेश्वर, महोत्तरीमा कार्यरत नायव सुब्बा परमानन्द साहसमेत ३ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साबिक ईटरहर्वाकट्टी गाविस-३ मा नेपाल सरकारको नाममा रहेको जग्गा मिलेमतोमा अन्य व्यक्तिको नाममा दर्ता गरी दिएको प्रमाणित भएको भन्दै नायब सुब्बा परमानन्द साह, कम्प्युटर अप्रेटर रविन्द्र कुमार सिंह र राजिव कुमार ठाकुरविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ । अख्तियारले उनीहरुविरुद्ध १७ लाख २५ हजार विगो र कानुन अनुसार सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।
१०- बंगलादेशको अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ । यी मुद्दाहरू सरकारी आवास परियोजनामा जग्गा बाँडफाँडमा अनियमिततासँग सम्बन्धित रहेको बताइएको छ । ढाकाको विशेष न्यायाधीश अदालत-४ का न्यायाधीश रबिउल आलमले सोमबार हसिनालाई १० बर्ष जेलको फैसला सुनाएका हुन् । अदालतले दुवै मुद्दामा शेख हसिनालाई पाँच-पाँच वर्षको जेल सजाय सुनाएको छ ।
यी मुद्दाहरू राजधानी ढाका नजिकैको पूर्वाचोल क्षेत्रमा चलिरहेको राजुक नयाँ शहर परियोजनासँग सम्बन्धित छन् । त्यहाँ १० कट्ठाका दुई जग्गा अनुचित रूपमा बाँडफाँड गरिएको आरोप छ । अभियोजन पक्षका अनुसार, अभियुक्तहरूले आफ्नो पदको दुरुपयोग गरेर जग्गा बाँडफाँड प्रक्रियामा हेरफेर गरेका थिए । यो परियोजना राजधानी विकास प्राधिकरण (राजुक) अन्तर्गत पर्दछ । शेख हसिना बाहेक, उनको परिवारका धेरै सदस्यहरूलाई पनि यी मुद्दाहरूमा दोषी ठहराइएको छ ।
ट्युलिप सिद्दिकीलाई कुल चार वर्षको जेल सजाय सुनाइएको छ, जबकि रदवान मुजीब सिद्दिकी र अजमिना सिद्दिकीलाई सात-सात वर्षको सजाय सुनाइएको छ । अदालतमा आत्मसमर्पण गरेका राजुक सदस्य मोहम्मद खुर्शीद आलमलाई दुई वर्षको सजाय सुनाइएको छ । सबै अभियुक्तहरूलाई एक लाख टाका जरिवाना पनि तोकिएको छ । जरिवाना तिर्न नसकेमा थप छ महिना जेल सजाय हुनेछ । शेख हसिना हाल भारतमा बस्दै आएकी छिन् । उनलाई यसअघि आन्दोलनको क्रममा नरसंहार गरेको भन्दै मृत्युदण्डको सजाय समेत सुनाइसकिएको छ ।
११- नेप्सेमा आज सामान्य करेक्सन आएको छ । सोमबार नेप्से १.५३ अंकले बढेर २६९५.७३ विन्दुमा पुगेर रोकिएको छ । आज ३३० कम्पनिका एक करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ मा कारोबार भएको थियो । आज विकास बैंक, होटल्स, उत्पादन, निर्जीव वीमा र ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज एसवाइ प्यानल, श्रीनगर एग्रो र हिमस्टार उर्जाको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सान्भी इनर्जीको ९.९४ प्रतिशतले बढेको छ । त्यसैगरी आज मिथिला लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४१ करोड ४९ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ३८ करोड ५० लाख कारोबार भएको छ ।
१२- प्रधानमन्त्री सुशिला कार्कीले सरकार छोडेर गएपछि चुनाव लड्न जानेले बेइमानी नगरेको स्पष्ट गरेकी छन् । राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले युवाहरु राजनीति गर्न खोज्छन् भने गर्न दिनुपर्छ भन्दै दोष दिने भए आफुलाई दिन आग्रह गरेकी थिइन् । उनले जेनजीको प्रेसरबाट आफुले मन्त्री बनाएको र चुनाव लड्न जान्छु भन्दा जान दिएको बताएकी छन् । त्यस्तै प्रधानमन्त्री कार्कीले महावीर पुन रिसाएर गएको बताउदै उनले केहि कानुन बनाउन भनेको र छोटो समयमा सम्भव नभएपछि उनले छोडेर गएको बताएकी छन् । त्यस्तै दुई जना मन्त्री रास्वपामा गएको, महावीर पुन स्वतन्त्र चुनाव लडेको र कुलमान घिसिङको आफ्नै पार्टी रहेकाले सरकारमा रास्वपाका मात्र मन्त्री रहेको भन्ने आरोपको प्रधानमन्त्री कार्कीले खण्डन गरेकी छन् ।
१३- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल ३० जिल्लाको मतपत्र छपाइ गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ हुने आयोगले जानकारी दिएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ । त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।
१४- जिल्ला प्रशासन कार्यालय झापाले फागुन २१ मा हुने निर्वाचनमा कसलाई मत हाल्नु हुन्छ भनेर सोध्न निषेध गरेको छ । सूचना प्रकाशित गर्दै प्रशासन कार्यालयले फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य गरिरहेको बताउदै उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य भएको हुँदा यो सूचना जारी भए पश्चात् कोही कसैबाट यस प्रकारको कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गर्ने बताएको हो । झापाको क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाह उम्मेदवार बनेपछि झापा यस निर्वाचनको इपिसेन्टर बनेको छ । यसै सन्दर्भमा धेरै मिडिया झापा पुगेर पुगेर मतदातासँग मतदान बारे सोधपुछ गर्ने लागेपछि प्राशासनले सूचना प्रकाशित गरेर सचेत गराएको छ ।
१५- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको माघ १७ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म झरी पछिको इन्द्रेणीले एक करोड २८ लाख ५२ हजार ३१९ कमाई गरेको छ । अहिलेसम्म झरी पछिको इन्द्रेणीको ४० हजार ६२४ टिकट बिक्री भएको छ । त्यसैगरी गोबर गणेशले एक करोड ३६ लाख २० हजार ८६६ कमाई गरेको छ । तुलनात्मक रुपमा यस फिल्ममा दर्शकको माया देखिएको छ ।
यस फिल्मको अहिलेसम्म ४८ हजार ५३ टिकट बिक्रि भएको छ । त्यस्तै अर्को फिल्म भाइरल गोर्खेले ३६ लाख १० हजार ९२५ कमाई गरेको छ र यस फिल्मको ११ हजार २९८ टिकट बिक्री भएको छ । त्यसैगरी मिरमिरेले ३३ लाख ९३ हजार ७२५ कमाई गरेको छ । साथै यस फिल्मको १० हजार ८८४ टिकट बिक्री भएको छ । त्यस्तै अर्को फिल्म परिवर्तनले ३१ लाख ९ हजार ९२५ कमाई गरेको छ र यस फिल्मका ११ हजार ६ वटा टिकट बिक्री भएका छन् ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको १३ हजार ४ सयले घटेर तोलाको २ लाख ८६ हजार ६०० सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाखमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०० रुपैयाँले घटेर तोलाको ५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५ हजार ५ सयमा कारोबार भएको थियो ।
१७- त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसमेत ३ जना घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यौपानेसहित तीन जनालाई स्रोत नखुलेको रकमसहित र २३ थान मोबाइल सेटसमेत नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।
अख्तियारले वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र संचार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा बिभाग गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई पक्राउ गरेको हो । अख्तियारले उनीहरुसँगबाट कुल दुई लाख ६८ हजार २८८ नगद तथा बिभिन्न व्यक्तिहरुबाट २३ थान मोबाइल नियन्त्रणमा लिइएको जनाएको छ ।
१८- पाकिस्तानले टी-२० विश्वकपमा भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतिक्रिया दिएको छ । आइसीसीले आफु पाकिस्तान क्रिकेट बोर्डको औपचारिक जानकारीको प्रतिक्षामा रहेको बताएको छ । गएराती विज्ञप्ति जारी गर्दै आईसीसीले बोर्डबाट आधिकारिक सूचनाको पर्खाइमा रहेको बताएको हो ।
साथै आइसीसीले पाकिस्तानको निर्णय कुनै पनि विश्वव्यापी खेलकुद कार्यक्रमको भावना विपरीत रहेको बताउदै सबै योग्य टोलीहरूले निर्धारित तालिका अनुसार समान सर्तहरूमा विश्वस्तरीय प्रतियोगितामा भाग लिनुपर्ने बताएको छ । आईसीसीले भनेको छ- ‘आईसीसी प्रतियोगिताहरू खेलकुद भावना, प्रतिस्पर्धा, स्थिरता र निष्पक्षतामा आधारित हुन्छन् । त्यसैले, छनौट सहभागिताले प्रतियोगिताको पवित्रता र भावनालाई कमजोर बनाउँछ । राष्ट्रिय नीतिको मामिलामा संस्थाले सरकारको भूमिकाको सम्मान गरे पनि, परिषद्को विश्वास छ, यो निर्णय न त विश्वव्यापी क्रिकेटको सर्वोत्तम हितमा छ न त विश्वभरका क्रिकेट प्रशंसकहरूको, विशेष गरी पाकिस्तानका लाखौं प्रशंसकहरूको हितमा छ ।
‘ आइसीसीले पाकिस्तान क्रिकेट बोर्डले देशको क्रिकेटको भविष्यमा पर्ने दीर्घकालीन र गम्भीर प्रभावहरूलाई विचार गर्ने बताउदै घुमाउरो भाषामा चेतावनी समेत दिएको छ । यसले विश्वव्यापी क्रिकेट इकोसिस्टमलाई पनि असर गर्ने भन्दै आइसीसीले पाकिस्तान पनि यसको लाभार्थी मध्ये के रहेको उल्लेख गरेको छ । साथै आइसीसीले टी – २० विश्वकप शीर्ष प्राथमिकता रहेको बताउदै यसलाई सफल बनाउन सबै सदस्य देशहरू जिम्मेवार हुनुपर्ने स्पष्ट गरेको छ । पाकिस्तान सरकारले आइतबार आगामी टी-२० विश्वकपमा भाग लिने निर्णय गर्दै फेब्रुअरी १५ मा हुने भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेको थियो । यस अघि बंगलादेशले दुई देशबीचको तनावका कारण भारतमा विश्वकप खेल्न नसक्ने निर्णय गरेपछि आइसीसीले उसलाई हटाएर स्कटल्याण्डलाई विश्वकपमा सहभागी गराएको थियो ।
१९- राष्ट्रपति रामचन्द्र पौडेल गएराती जापानको औपचारिक भ्रमणमा गएका छन् । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायतका विशिष्ट व्यक्तिहरुले विदाई गरेका थिए । राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार जापान प्रस्थान गरेका हुन् ।
भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते सोही स्वदेश फर्कने कार्यक्रम रहेको छ । मन्त्रालयले राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको जनाएको छ । त्यस्तै सोही दिन राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सनई ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेलले आज नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । भ्रमणका अवसरमा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नेछन् । भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठकमा सहभागिता जनाउनुका साथै, जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने मन्त्रालयले जानकारी दिएको छ । भ्रमणमा राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू रहको मन्त्रालयले जानकारी दिएको छ ।
२०- भारतले आर्थिक बर्ष २०२६-२७ का लागि रक्षा बजेटमा १५ प्रतिशतभन्दा बढीले बढाएको छ । आइतबार अर्थमन्त्री निर्मला सितारमणले सार्बजनिक गरेको बजेटमा १५.२ प्रतिशत बढाएको घोषणा गरेकी छन् । भारतको रक्षा क्षेत्रको कुल बजेट ६.८१ लाख करोड भारुबाट बढाएर ७.८५ लाख करोड भारु पुर्याइएको छ । यसमा हतियार अधिग्रहण र आधुनिकीकरणको लागत यस वर्ष २.१९ लाख करोड भारु हुनेछ, जुन गत वर्ष १.८० लाख करोड थियो । भारतीय रक्षा मन्त्रालयले आउदो आर्थिक बर्षका लागि अनुमानित जीडीपीको २ प्रतिशत रक्षा बजेट रहेको छ । त्यस्तै कुल रक्षा बजेट केन्द्रीय सरकारको खर्चको १४.६७ प्रतिशत रहेको छ ।
मन्त्रालयलाई गरिएको कुल विनियोजनमध्ये, २७.९५ प्रतिशत पूँजीगत खर्चको लागि, २०.१७ प्रतिशत निर्वाह र सञ्चालन तयारीमा राजस्व खर्चको लागि, २६.४० प्रतिशत तलब र भत्तामा राजस्व खर्चको लागि, २१.८४ प्रतिशत रक्षा पेन्सनको लागि र ३.६४ प्रतिशत नागरिक संस्थाहरूको लागि विनियोजन गरिएको उल्लेख छ । रक्षामन्त्री राजनाथ सिंहले रक्षा क्षेत्रमा ७.८५ लाख करोड विनियोजन गरेकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका छन् । उनले बजेटले रक्षा-विकास-आत्मनिर्भरता सन्तुलनलाई बलियो बनाउने र यो राष्ट्रको हितमा रहेको बताए । उनले अपरेशन सिन्दूरको ऐतिहासिक सफलता पछि आएको बजेटले देशको सुरक्षा प्रणालीलाई बलियो बनाउने र सैन्य क्षमता बढाउने सरकारको संकल्पलाई अझ बलियो बनाउने दाबी गरेका छन् ।
FACEBOOK COMMENTS