काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नवनियुक्त परराष्ट्रमन्त्री बालनन्द शर्माले पदभार ग्रहण गरेका छन् । मन्त्री शर्मालाई कार्यवाहक परराष्ट्र सचिव कृष्णप्रसाद ढकाल र वरिष्ठ अधिकारीहरूले मन्त्रालयमा स्वागत गरेका थिए । यस अवसरमा मन्त्री शर्माले राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न प्रभावकारी रूपमा काम गर्न अधिकारीहरूलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा पूर्वरथी रहेका शर्मालाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए भने उनले आजै पद तथा गोपनियताको शपथ समेत लिएका थिए ।
२- निर्वाचनको वातावरण बनाउनका निम्त सरकारले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गरेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार प्रमुख तीन दलका शीर्ष नेताहरुलाई भेटगरी निर्वाचनको माहोल बनाउन छलफल गरेका छन् । सञ्चारमन्त्री घरेलले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनीहरुकै निवास गरेर निर्वाचनबारे कुराकानी गरेका हुन् ।
तीन दलका शीर्ष तेतासँगको भेटवार्तापछि सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरू सहभागी हुने स्पष्ट पारे । निर्धारित मितिमै प्रतिनिधिभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरुसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको जानकारी दिदैँ उहाँले निर्वाचनको माहोल बनाउन, सर्वदलीय, सर्वपक्षीय र व्यक्तिगत रुपमा पनि सरकारले दलका कार्यालय नेताका घरदैलोमा गएर निर्वाचनको सुनिश्चितताका लागि पहलकदमी गरिएको उल्लेख गरे ।
सञ्चारमन्त्री खरेलले भने- ‘निर्वाचनको वातावरण बनाउन सरकारले पहल गरिरहेको छ । तीन ठूला दलका शीर्ष नेताले भेटकाक्रममा निर्वाचन हुनुपर्छ भन्ने स्पष्ट धारणा छ । त्यसैले फागुन २१ ग्ते निर्वाचन हुन्छ र सबै दल सहभागी हुन्छन् । काँग्रेसकोतर्फबाट सभापतिले निर्वाचन प्राथमिकता हो पुनःस्थापना प्राथमिकता हैन भन्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजकले निर्वाचनको विकल्पै छैनन भन्नुभएको छ र एमाले अध्यक्षले पनि निर्वाचनका लागि वातावरण बनाउनुपर्छ भनेर चासो देखाउनुभएको छ ।’

सरकारले बाँकी भेटघाट एकल, समूह, युवा, जेनजी प्रतिनिधि र सुरक्षा निकायसँग पनि निरन्तर गरिरहने बताउँदै सञ्चारमन्त्री खरेलले वार्ता र छलफलाई लगातार अघि बढाइरहेको स्पष्ट पारे । उनले निर्वाचन आयोग, सुरक्षा निकाय र अरु सरोकारवाला निकाय निर्वाचनमा केन्द्रित भएको अवस्थामा चुनाव सुनिश्चित भएको सन्देश जनतालाई प्रवाह गर्न सञ्चारकर्मीसँग आग्रह गरे । यसैगरी, निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री सुशीला कार्कीले भोलि शनिबार बालुवाटारमा शीर्ष नेताहरूसँग छलफल गर्दैछन् ।

३- अख्तियारले गोदावरी नगरपालिकाका तत्कालिन मेयर गजेन्द्र महर्जनसमेत १४ जनाविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनको फरक फरक ५ वटा निवेदन दर्ता गरिएको जानकारी दिएको छ । अख्तियारले गोदावरी नगरपालिकाका तत्कालिन मेयर महर्जन, उपमेयर मुना अधिकारीलगायतले नगरपालिकामा बिभिन्न आर्थिक बर्षमा राजस्व निर्धारण गर्दा बदनियत राखी एक अर्ब ४ करोड ८७ लाख ४५ हजार २८७ राजस्व चुहावट गरेको मुद्धामा विशेष अदालतले २०८१ को साउन ३० गते सफाई दिएको भन्दै फैसला चित्त नबुझेर सर्वोच्चमा गएको जनाएको छ ।

४- नेपाली काँग्रेसमा विशेष महाधिवेशनको माग फेरी उठेको छ । शुक्रबार विशेष महाधिवेशनका पक्षधरहरुले नियमित १५औं महाधिवेशनको कार्यतालिका अविश्वसनीय रहेको भन्दै कार्यवाहक सभापतिलाई ज्ञापनपत्र पेश गर्दै विशेष महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन् । सो अवसरमा बोल्दै महामन्त्री थापाले विधान भन्दा माथि कोहि नभएको भन्दै अब विशेष महाधिवेशन बारे केन्द्रीय समितिको बैठकले निर्णय लिने बताएका छन् ।

उनले पुस मसान्तसम्मको कार्यतालिका आउदा विशेष महाधिवेशन पक्षधरले स्वीकार गरेको उल्लेख गर्दै अब १५औं महाधिवेशन नहुने अवस्था बनेकोमा पुस मसान्तसम्म विशेष महाधिवेश्ना सम्पन्न गर्नुपर्ने बाध्यकारी अवस्था रहेको बताएका छन् । त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले विधान अनुसार नै विशेष महाधिवेशनको माग सम्बोधन हुनुपर्ने बताउदै आफुहरुले कार्यसम्पादन समितिमा यस विषयमा कुरा राख्ने र कार्यसम्पादन समितिले आवश्यक निर्णय लिने बताएका छन् । कांग्रेसले १५औ महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म गर्ने निर्णय गरेपनि त्यसको तयारीका लागि संस्थापन पक्षले आनाकानी गरेपछि सो समयमा महाधिवेशन नहुने संकेत देखिएको छ ।

५- प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिर जमानतमा रिहा भएका छन् । सरकारी वकिलको कार्यालय, काठमाडौंले इजलासले मागेअनुसारको प्रमाण तत्काल प्राप्त नभएको र स्वास्थ्यलाई समेत कारण देखिएकोले धरौटीमा छाड्ने निर्णय गरेको हो । अघिल्लो पटक म्याद थप गर्न लैजाँदा विशेष अदालतको इजलासले गरेको आदेश अनुसार थप प्रमाणहरू तत्काल प्राप्त नभएपछि शेरचनलाई छोडिएको बुझिएको छ । शेरचनसहित बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई प्रहरीले मंसिर १४ गते केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए ।
६- रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ । नागरिक उन्मुक्ति पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच शनिबार पुनः एकता हुने भएको हो । गत भदौमा अलग अलग भएका रेशम र रञ्जिता फेरी एक हुने भएका हुन् । रञ्जितासँग विवाद पछि चौधरीले भदौ २९ गते सो पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।
त्यसपछि उनले कात्तिक २ गते आफू संरक्षक रहने गरी कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए । रञ्जिता नागरिक उन्मुक्ति पार्टी नेपालमा समाहित हुन तयार भएको र नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह रहने सहमति भएको बताइएको छ ।
७- सर्वोच्च अदालतले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीनजनाविरुद्ध परेको रिट खारेज गरेको छ । शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले अधिवक्ता विपिन ढकालले दायर गरेको सो रिट खारेज गरेको हो । सर्वोच्चले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ ।
८- अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका- १० धनचौरमा विद्यार्थी बोकेको जीप दुर्घटना भएको छ । भूमिकास्थान नगरपालिका-१० धनचौरबाट नुवाकोट जाँदै गरेको लु २ च ५१७९ नम्बरको जीप शुक्रबार भूमिकास्थान नगरपालिका- ७ छिर्लिंग खोला नजिकै दुर्घटना भएको नगरप्रमुख झबिलाल थापाले जानकारी दिएका छन् । राष्ट्रपति रनिङशील्ड प्रतियोगिता कार्यक्रममा सहभागी हुन जादै गरेका विद्यार्थी चढेको जीप दुर्घटनामा परेको थियो । जीप दुर्घटनामा परेपछि आजदेखि हुने भनिएको राष्ट्रपति रनिङशील्ड प्रतियोगिता अर्को सूचना नभएसम्मका लागि स्थगित भएको नगरप्रमुख थापाले जानकारी दिएका छन् । दुर्घटनामा चालक रुद्रबहादुर बुढा मगरको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको छ भने १६ जना घाइतेको उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
९- महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौंमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टले प्रहरी हवल्दारबाट सहायक निरिक्षकमा बढुवा प्रयोजनका लागि भारतको दिल्लीमा अध्ययन गरेको भन्दै नक्कली प्रमाणपत्र पेश गरेको पाइएको उल्लेख गरेको छ । अख्तियारले २०५० चैत्र २० गते नियुक्ति लिएर सहायक निरिक्षकसम्म पदोन्नती हुदै हाल निवृतभरणसहितको हैसियत, लाभ र सुबिधा लिएर भ्रष्टाचारजन्य काम गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
१०- बंगलादेशमा आम चुनाव अगाडि अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसका विशेष सहायक खुदा बख्श चौधरीले राजीनामा दिएका छन् । अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसका विशेष सहायकले बिहीबार राजीनामा बुझाएको डेली स्टारले उल्लेख गरेको छ । युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले फेब्रुअरी १२ मा हुने राष्ट्रिय चुनाव अघि कानून व्यवस्थाको व्यवस्थापन गर्न नसकेको आरोप खेपिरहेका चौधरीले राजीनामा दिएका हुन् । जुलाई विद्रोह पछि, नोभेम्बर १०, २०२४ मा खुदा बख्शले अन्तरिम सरकारको विशेष सहायकको पद ग्रहण गरेका थिए । चौधरीले देशमा कानून प्रवर्तन एजेन्सीहरू, विशेष गरी प्रहरी भित्र मनोबल बढाउन महत्वपूर्ण भूमिका खेल्न नसकेको आरोप लगाइदै आएको थियो । उनी पूर्व प्रहरी महानिरीक्षक थिए र उनले बलियो र निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएपनि त्यसो गर्न नसके पछि पद छोडेको बताइएको छ । अन्तरिम सरकारमा गृह मन्त्रालय सम्हालेका चौधरीले हालैका महिनाहरूमा भएका घटनाहरूका कारण सार्वजनिक सुरक्षाको बारेमा बढ्दो चिन्ताका बीचमा राजीनामा दिएका छन् ।
११- एसेज सिरिज अन्तर्गतको बक्सिङ डे टेस्टको पहिलो दिन दुवै टिम अलआउट भएका छन् । टेस्टको पहिलो दिन अस्ट्रेलिया १५२ रनमा अलआउट भएपछि इङल्याण्ड पनि पहिलो इनिंगमा ११० रनमा अल आउट भएको हो । टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४५.२ ओभर खेलेर १५२ रन बनाएको थियो । अस्ट्रेलियाका लागि माइकल नेसेरले सर्बाधिक ३५ रन बनाएका थिए भने उसमान ख्वाजाले २९ रन, एलेक्स केरीले २०, क्यामरुन ग्रीनले १७ रन बनाएका थिए ।
त्यस्तै इङल्याण्डका बलर जोश टंगले ५ विकेट लिएका थिए भने गस अटकिनसनले २ तथा ब्राइडन कार्स र बेन स्टोक्सले एक एक विकेट लिएका थिए । त्यसपछि आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गरेको इङल्याण्डले २९.५ ओभर मात्र खेलेर ११० रन बनाएको हो । इङल्याण्डका लागि ह्यारी ब्रूकले सर्बाधिक ४१ रन बनाए भने गस अटकिनसनले २८ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर माइकल नेसेरले ४, स्कट बोल्याण्डले ३. मिचेल स्टार्कले २ र क्यामरुन ग्रीनले एक विकेट लिएका थिए ।
१२- बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ ले रिलिजको तेस्रो सत्तासम्मपनि शानदार कमाई गरिरहेको छ । फिल्म धुरन्धरले तेस्रो सातामा मात्र १८९.३० करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । फिल्मले घरेलु बक्सअफिसमा तीन सातामा ६६८.८० करोड भारु कमाई गरेको छ । धुरन्धरले पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको थियो भने दोस्रो सातामा २६१.५० करोड कमाई गरेको थियो ।
फिल्मले बलिवुड बक्स अफिसका कैयौं किर्तिमान तोडेको छ । चौथो सातामा प्रवेश गरेको यो फिल्मले क्रिसमसको छुट्टीको फाइदा उठाउदै दर्शकको पहिलो रोजाइमा नै रहने विश्लेषण गरिएको छ । फिल्मको सामाजिक सञ्जाल र मिडियामा सकारात्मक प्रचार भएको फाइदा बक्स अफिसमा देखिएको छ । त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ । रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ ।
फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ । त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।
१३- प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग शनिबार छलफल गर्ने भएकी छन् । आज सञ्चारमन्त्री जगदीश खरेलले काँग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास पुगेर भेट गर्दै शनिबार ४ बजे तीन दलका शीर्षनेतासँग प्रधानमन्त्री कार्कीले छलफल गर्ने कार्यक्रम राखेको जानकारी गराएका थिए । मन्त्री खरेलले आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्दैछन् । यसअघि गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शितल निवासमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो ।
१४- नेपाली बजारमा आज सुनचाँदी मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको १८ सयले बढेर तोलाको २ लाख ६९ हजार ३ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि विहिबार सुन तोलाको २ लाख ६७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले बढेर ४५६५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि विहिबार चाँदी तोलाको ४४०० मा कारोबार भएको थियो ।
१५- हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । परियारलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् । अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष परियारलाई बुटवलमा आयोजित कार्यक्रममा पार्टीको आचारसंहिता विपरित हुने गरि अभद्र व्यबहार गरेको र जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरि गाली गरेकोले पदबाट निलम्बन गरेका थिए ।
१६- युक्रेनले बेलायती स्टर्म स्याडो मिसाइलहरूले प्रमुख रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको बताएको छ । युक्रेनी सेनाका अनुसार, आक्रमणले रूसको रोस्तोभ क्षेत्रमा रहेको नोभोशाख्तिन्स्की तेल प्रशोधन केन्द्रलाई लक्षित गरेको थियो । युक्रेनी जनरल स्टाफले रिफाइनरीमा धेरै शक्तिशाली विस्फोटहरू भएको रिपोर्ट गरेको छ । रिफाइनरी दक्षिणी रूसमा तेल उत्पादनहरूको प्रमुख आपूर्तिकर्ता थियो र युक्रेन विरुद्धको युद्धमा प्रयोग भइरहेको रूसी सेनालाई डिजेल र जेट इन्धन आपूर्ति गर्थ्यो ।
गत वर्ष, बेलायतले युक्रेनलाई रूस भित्र स्टर्म स्याडो मिसाइलहरू प्रयोग गर्न अनुमति दिएको थियो । यो नोभेम्बरमा यस्तो पहिलो आक्रमण थियो । यसका साथै, युक्रेनले आफ्नै लामो दूरीको ड्रोनहरूद्वारा रूसी ऊर्जा प्रतिष्ठानहरूलाई पनि लक्षित गरेको छ । यी ड्रोन आक्रमणहरूले क्रास्नोडार क्षेत्रको टेम्रयुक बन्दरगाहमा रहेको तेल ट्याङ्कहरू र ओरेनबर्गमा रहेको ग्यास प्रशोधन केन्द्रलाई लक्षित गरेको छ ।
ओरेनबर्ग प्लान्ट युक्रेनी सीमाबाट लगभग १४ सय किलोमिटर टाढा अवस्थित छ । रूसी अधिकारीहरूले टेम्रयुक बन्दरगाहमा ड्रोन आक्रमणपछि दुई तेल ट्याङ्कहरूमा आगो लागेको बताए । हालैका महिनाहरूमा, युक्रेन र रूस दुवैले एकअर्काको ऊर्जा सुविधाहरूमा आक्रमणहरू बढाएका छन् । अगस्टदेखि, युक्रेनले रूसी तेल प्रशोधन केन्द्रहरू र ऊर्जा पूर्वाधारहरूलाई बढ्दो रूपमा लक्षित गरेको छ, जसले रूसको तेल राजस्वलाई हानि पुर्याउने लक्ष्य राखेको छ, जुन यसको युद्ध खर्चको प्रमुख स्रोत हो ।
१७- सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको उक्त व्यवस्था गत २७ कात्तिकको राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ । नयाँ व्यवस्था अनुसार प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने भएता पनि सुरक्षाका मापदण्ड भने यथावत् रहने छन् ।
प्रसारण लाइनको राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रभित्र घरलगायतका संरचना निर्माण, अग्ला रुख रोप्न वा जोखिमयुक्त गतिविधि गर्न भने पाइँदैन । प्रसारण लाइन निर्माण तथा सञ्चालनका क्रममा लाइनको सुरक्षित सञ्चालन, मर्मतसम्भार र सार्वजनिक सुरक्षालाई ध्यानमा राखी लाइनको केन्द्रबाट दायाँ र बायाँ दुवैतर्फ निश्चित दूरीसम्मको क्षेत्रलाई राइट अफ वे तोकिएको हुन्छ । राइटअफ वेको चौडाइ प्रसारण लाइनको भोल्टेज स्तर, टावरको उचाइ, तारको झुन्डिने अवस्था स्याग तथा प्राविधिक मापदण्डका आधारमा निर्धारण गरिन्छ । ६६ तथा १३२ केभी प्रसारण लाइनका लागि तारेको केन्द्रबाट दायाँवायाँ ९-९ मिटर गरी १८ मिटर, २२० केभी प्रसारण लाइनको १५-१५ गरी ३० मिटर र ४०० केभीको २३-२३ गरी ४६ मिटर राइट अफ वे रहने व्यवस्था छ । प्रसारण लाइन निर्माण गर्दा टावर प्याड रहने ठाउँको जग्गा मुआब्जा रकम दिएर अधिग्रहण गरिन्छ ।
अर्थात जग्गाको स्वामित्व आयोजनाको नाममा रहन्छ । तर, राइट अफ वेमा भने जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी निश्चित प्रतिशत क्षतिपूर्ति दिइन्छ । हाल राइट अफ वेमा पर्ने जग्गाको मूल्याङ्कन गरिएको रकमको १०–२५ प्रतिशतसम्म क्षतिपूर्ति सम्बन्धित जग्गाधनीलाई दिंदै आएको छ । सम्बन्धित आयोजनाबाट जग्गा प्राप्तिको निर्णय र क्षतिपूर्ति प्रदान गरिएको प्रमाणसहित लेखी आएमा जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा कायम रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था गरिएको हो ।
‘सम्बन्धित जग्गाधनीलाई क्षतिपूर्ति दिई त्यस्तो जग्गामा परेको विद्युतीय प्रसारण लाइनको राइट अफ वे क्षेत्रको कित्ताकाट गरिदिन प्रचलित कानून बमोजिम सम्बन्धित आयोजनाबाट जग्गा प्राप्तिको निर्णय र क्षतिपूर्ति प्रदान गरिएको प्रमाणसहित लेखी आएमा जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा कायम रहने गरी कित्ताकाट गर्न सकिनेछ,’ भूउपयोग नियमावलीमा उल्लेख छ । प्रसारण लाइनको राइट अफ वेमा पर्ने निश्चित क्षेत्र पर्ने तर पुरै क्षेत्रको कित्ताकाट नहुँदा जग्गाधनीहरुलाई कित्ताकाट, नामसारी तथा बैंक तथा वित्तीय संस्थामा धितो राख्न नपाउँदा आर्थिक तथा समाजिक समस्या पर्दै आएको थियो । अब राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रलाई कित्ताकाट गर्न सकिने हुँदा जग्गाको कारोबार सहज हुने र जग्गाधनीले आफ्नो सम्पत्तिको कानुनी उपयोग गर्न पाउने देखिएको छ ।
१८- अमेरिकाले नाइजेरियामा आइएसआइएसको निशानामा हवाई आक्रमण गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइएसआइएसले त्यहाँ क्रिश्चियनहरूलाई क्रूरतापूर्वक लक्षित गरी मारिरहेको आरोप लगाएका छन् । उनले आइएसआइएस आतंककारीले लामो समयदेखि निर्दोष क्रिश्चियनहरूलाई मार्दै आएकोले अमेरिकी सेनाले यस कारबाहीमा धेरै सटीक हमलाहरू गरेको बताएका छन् ।
ट्रम्पले अमेरिकाले ‘कट्टरपन्थी इस्लामिक आतंकवादलाई फस्टाउन नदिने बताएका छन् । ट्रम्पले सेनाको प्रशंसा गर्दै रक्षा मन्त्रालयलाई युद्ध विभाग भनेर सम्बोधन गर्दै अमेरिकाले मात्र यस्तो सटीक कारबाही गर्न सक्ने बताएका छन् । नागरिक स्वतन्त्रता र कानूनको शासनको लागि अन्तर्राष्ट्रिय समाजको रिपोर्ट अनुसार, धार्मिक हिंसा बढ्दै जाँदा जनवरी र अगस्ट १० बीच नाइजेरियामा ७ हजार भन्दा बढी क्रिश्चियनहरू मारिएका छन् । यी हत्याका लागि बोको हराम र फुलानी समूह जस्ता आतंकवादी समूहहरू जिम्मेवार छन् । ट्रम्पले यसअघि नोभेम्बर २ मा नाइजेरियालाई कडा चेतावनी दिएका थिए । उनले यदि नाइजेरियामा क्रिश्चियनहरूमाथि हुने हत्या र आक्रमणहरू रोकिएन भने, अमेरिकाले नाइजेरियाली सरकारलाई दिइने सबै आर्थिक र सैन्य सहायता तुरुन्तै निलम्बन गर्नेछ ।
१९- राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकका रूपमा रहेको बताएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहका नेपालीमा सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि शुभकामना व्यक्त गर्दै उनले माया, ममता र करुणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण जरुरी रहेको उल्लेख गरेका हुन् ।
राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको मर्यादित जीवनयापनमा सहजीकरण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सफलताको शुभकामना व्यक्त गरेका छन् । विसं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै सरकारको निर्णयबमोजिम सोही दिनलाई आधार मानी राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो । यस वर्ष पनि ‘हाम्रो साझा अभियान : ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको उनले स्मरण गरेका छन् ।
उनले भनेका छन्- ‘ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानको कदर गर्दै उनीहरूलाई घर, परिवार, टोल, समाज साथै राज्यबाट समेत उ उचित सम्मान र संरक्षण गर्न सकेमात्र यो दिवस सार्थक हुन सक्छ भन्ने मलाई लाग्छ ।’ सरकारले व्यवस्था गरेको सामाजिक सुरक्षा र संरक्षणका विभिन्न सेवा सुविधाको प्रभावकारितामा वृद्धि गर्दै दक्षतापूर्वक कार्यान्वयन गर्न सम्बद्ध सबैमा राष्ट्रपतिले आह्वान समेत गरेका छन् ।
२०- बंगलादेशमा अर्को हिन्दु युवालाई भीडले कुटपिट गरी हत्या गरेको छ । घटना बुधबार राति ११ बजेतिर राजबारी जिल्लाको होसेन्डांगा गाउँमा भएको बंगलादेशको अनलाइन डेली स्टारले उल्लेख गरेको छ । प्रहरीले मृतक हुने युवक २९ वर्षीय अमृत मण्डल भएको जानकारी दिएको छ । उनलाई सम्राटको रूपमा पनि चिनिने बताइएको छ । यसअघि, डिसेम्बर १८ मा, ढाका नजिकै एक हिन्दू युवा दिपु चन्द्र दासको भीडले हत्या गरेको थियो।
पछि उनलाई झुण्ड्याएर जलाइएको थियो । प्रहरीले अमृत मण्डललाई जबरजस्ती चन्दा असुलीको आरोपमा भीडले हत्या गरेको बताएको छ । मृतक होसेन्डांगा गाउँका बासिन्दा थिए । प्रहरीले अमृतका साथी मोहम्मद सलीमलाई पक्राउ गरेको छ र उनीबाट दुई हतियार बरामद गरेको छ । डेली स्टारमा प्रकाशित रिपोर्ट अनुसार, स्थानीयहरूले सम्राटमाथि आपराधिक गिरोह बनाएको आरोप लगाएका छन् । उनी लामो समयदेखि जबरजस्ती चन्दा असुल्ने र अन्य आपराधिक गतिविधिहरूमा संलग्न रहेको उल्लेख छ । भारतमा लामो समय लुकेर बसेपछि, उनी हालै घर फर्किएको बताइएको छ ।
FACEBOOK COMMENTS