काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- निर्वाचन आयोगले राष्ट्रिय सभाका उम्मेदवार खर्च गर्न पाउने सिमा निर्धारण गरेको छ । आयोगले माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्यका उम्मेदवारले बढीमा ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने सिमा निर्धारण गरेकोआयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । आयोगले अन्तर्क्रियामा सबैभन्दा बढी १ लाख र कार्यालय सञ्चालन र सवारी साधनमा ७०-७० हजार खर्च गर्न पाउने सीमा तोकेको छ ।
आयोगले, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० खर्च गर्न पाउने मापदण्ड तोकेको छ । आयोगले मतदाता नामावली खरिदमा एक हजार, सवारी साधनमा ७० हजार, सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) १० हजार, प्रचार प्रसार सामग्रीमा १४ हजार ५००, ढुवानीमा १० हजार, गोष्ठी-अन्तरक्रियामा एक लाख, अन्य प्रचार- प्रसार, छापा एंव विद्युतीय माध्यममा १४ हजार ५००, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार र विविधमा ३० हजार गरेर कुल ३ लाख ५० हजार खर्चको सीमा तोकेको जानकारी दिएको छ ।
२- सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । इनसाइड ट्रेडिङको आरोपमा पुस ४ गते पक्राउ परेका अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान गरिरहन नपर्ने भन्दै आइतबार काठमाण्डौ जिल्ला अदालतले धरौटी लिएर छाड्न आदेश दिएको हो । अग्रवाललाई काठमाडौँको चुनदेवी क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेपाल धितोपत्र बोर्डको सिफारिसअनुसार विभिन्न कम्पनीको सेयरको इनसाइड ट्रेडिङको आरोपमा पक्राउ गरेको थियो ।
३- प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना आफ्नो कार्यालयबाट बिदा भएकी छन् । आइतबार उपसभामुख रानाले आफुले प्रयोग गर्दै आएका सवारी साधन संसद सचिवालयलाई बुझाएर कार्यालयबाट बिदा भएकी हुन् । राना सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिएकी थिइन् । विगतको अभ्यास अनुसार सभामुख र उपसभामुखको पदावधि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

नेपालको संविधानको धारा ९१ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था गरेको छ । धारा ९१ को उपदफा ६ (क) मा प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने उल्लेख छ । यस व्यवस्था अनुसार निर्वाचनको उम्मेदवारी दाखिला समानुपातिक या प्रत्यक्ष भन्ने उल्लेख नहुदा विवाद रहेको छ । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने अभ्यास रहेता पनि आइतबारदेखि नै कार्यालय छोडेकी छन् ।

नाले निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न आइतबार र सोमबारका लागि समय निर्धारण गरे अनुसार नै आज आफ्नो कार्यकालको अन्तिम दिन मानेर बिदा भएको बुझिएको छ । सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन अर्थात् आगामी माघ ५ गतेदेखि बिदाइ हुने तयारी गरेको बुझिएको छ ।

४- बालेन शाह र रवि लामिछानेबीचको एकताप्रति नेपाली काँग्रेसको प्रतिक्रिया आएको छ । काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत्तले बालेन र रविको एकताले आफुहरु नआत्तिएको प्रतिक्रिया दिएका हुन् । आइतबार काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै खासै प्रभाव पर्ने आफुले नदेखेको बताउदै दुवै जना प्रश्न उठेकै व्यक्तिहरु भएको र जनताले प्रश्न सोधिरहेको बताएका छन् । उनीहरु मिलेको भनेर आत्तिनुपर्ने कारण नभएको उनले बताए ।काँग्रेसको बैठकले समानुपातिक सूची बनाइरहेको जानकारी दिदै प्रवक्ता महत्तले सोमबार काँग्रेसले समानुपातिक सुची बुझाउने जानकारी दिए ।

५- मनोहर माध्यमिक बिद्यालय, काठमाडौंका तत्कालीन प्रधानाध्यापक प्राचार्य बासुदेब अधिकारी र शिक्षिका कल्पना पनेरुविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षिका पनेरुको नियुक्ति गर्दा प्रचलित कानुन विपरित गरेको, राज्य कोषको रकम हिनामिना हुदा कारवाही नगरेको, अस्थायी शिक्षकलाई प्रचलन र कानुन विपरित काज सरुवा गरेको लगायतको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी गरेको छ ।

६- इजरायलले सोमालील्याण्डलाई आधिकारिक रूपमा स्वतन्त्र देशको रूपमा मान्यता दिएपछि कडा विरोधको सामना गर्नुपरेको छ । इजरायलको निर्णय पछि मुस्लिम देशहरूमा आक्रोश बढ्दै गएको छ । विश्वभरका २१ देशहरूले संयुक्त विज्ञप्ति जारी गरेर इजरायलको निर्णयको विरोध गरेका छन् । सोमालील्याण्ड अफ्रिकाको हर्नमा अवस्थित छ । यो देशले १९९१ मा सोमालियाबाट स्वतन्त्रताको घोषणा गरेको थियो र त्यसबेलादेखि नै अन्तर्राष्ट्रिय मान्यता खोजिरहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमालील्याण्डका राष्ट्रपति अब्दिरहमान मोहम्मद अब्दुल्लाहीसँग संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।
सोमालील्याण्डलाई मान्यता दिने इजरायल पहिलो देश पनि बनेको छ । सोमालील्याण्डका राष्ट्रपतिले यसलाई ऐतिहासिक क्षण भने र यो निर्णयले मध्य पूर्व र अफ्रिकामा शान्ति र समृद्धिलाई प्रवर्द्धन गर्ने बताएका थिए । सोमालील्याण्ड र सोमालिया बीचको मुख्य विवाद सोमालील्याण्डको स्वतन्त्रता र अलगावको बारेमा हो । सोमालील्याण्ड (उत्तरपश्चिमी क्षेत्र) ले १९९१ मा आफूलाई स्वतन्त्र गणतन्त्र घोषणा गरेपनि सोमालियाले यसलाई देशको अभिन्न अंग मान्दछ र कुनै पनि अलगावलाई अस्वीकार गर्दछ । सोमाली सरकारले इजरायलको निर्णयलाई आफ्नो सार्वभौमिकतामाथि जानाजानी आक्रमण र क्षेत्रीय शान्तिको लागि खतरा भनेको छ । सोमालियाले इजरायललाई तुरुन्तै आफ्नो मान्यता फिर्ता लिन माग गरेको छ । साथै युरोपेली संघले सोमालियाको क्षेत्रीय अखण्डताको सम्मान गर्न अपील गरेको छ ।
अर्कोतर्फ, सोमालील्याण्डमा यो निर्णयलाई ठूलो उत्साहका साथ स्वागत गरिएको थियो, मानिसहरूले उत्सव मनाउन सडकमा उत्रिएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस विषयमा टिप्पणी गर्दै उनले अहिले अमेरिका त्यसो गर्ने योजनामा नभएको बताए । धेरै अन्तर्राष्ट्रिय संस्थाहरूले पनि इजरायलको कदमको कडा विरोध गरेका छन् । अरब लिग, खाडी सहयोग परिषद्, अफ्रिकी संघ र इस्लामिक सहयोग संगठनले इजरायलको कदमलाई सोमालियाको सार्वभौमसत्तामाथिको आक्रमण र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनको रूपमा निन्दा गरेका छन् । त्यस्तै जोर्डन, इजिप्ट, अल्जेरिया, कोमोरोस, जिबूती, गाम्बिया, इरान, इराक, कुवेत, लिबिया, माल्दिभ्स, नाइजेरिया, ओमान, पाकिस्तान, प्यालेस्टाइन, कतार, साउदी अरेबिया, सोमालिया, सुडान, टर्की र यमनले इजरायलको विरोध गरेका छन्।
७- लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साक्षर प्रदेशको औंपचारिक घोषणा गरेका हुन् । प्रदेशका १२ वटै जिल्लालाई घोषणा गरिसकेपछि लुम्बिनी प्रदेश परिषरमा विशेष समारोहको आयोजना गरि साक्षर प्रदेश घोषणा गरिएको हो । साक्षर नेपाल घोषणा अभियान अन्तरगत १५ देखि ६० वर्ष उमेर समुहका ९५ प्रतिशत नागरिक साक्षर भएसंगै सिङ्गो प्रदेशलाई साक्षर घोषणा गरिएको हो ।
संविधानको अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले माध्यमिक शिक्षा,अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रमको जिम्मेवारी स्थानीय तहलाई प्रदान गरिएको छ । नेपाल सरकारले यूनेसको मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहको ९५ प्रतिशत जनसंख्या साक्षर भएमा उक्त क्षेत्रलाई साक्षर घोषणा गर्ने व्यवस्था गरेको छ । पढ्न लेख्न सक्ने,सामान्य गणना, दैनिक व्यवहार, बैंकिङ, मोबाइल प्रयोग, समय र मिति बुझ्न सक्ने सीपलाई साक्षरताको आधार मानिएको छ । प्रदेशका पाल्पा,अर्घाखाँची, गुल्मी, दाङ, रुपन्देही, बाँके, कपिलवस्तु लगायत जिल्लामा साक्षरता दर ९६ प्रतिशतभन्दा माथि पुगेको छ ।
८- नेपाल राष्ट्र बैंकले चाँदीको आयातको भुक्तानीको सीमामा संशोधन गरेको छ । राष्ट्र बैंकले विद्यमान प्रावधानलाई संशोधन गर्दै महिनामा एकपटक मात्र आयात गर्ने उद्योग र व्यवसायीको हकमा उपर्युक्त सीमा क्रमश: अमेरिकी डलर बीस लाख (उद्योगको लागि) र अमेरिकी डलर चार लाख (अन्य व्यवसायीको लागि) को सीमासम्म हुनेगरी सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरेको छ । यसअघि औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चादी आयात गर्दा प्रति पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था रहेको थियो ।
त्यस्तै अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था रहेको थियो । साथै राष्ट्र बैंकले चाँदीको गरगहना / कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश भएमा चाँदी आयातमा भुक्तानीको सीमा लागू नहुने यस अघिकै प्रावधानलाई कायमै राखेको छ ।
९- नेप्से आज दोहोरो अंकले बढेको छ । आइतबार नेप्से ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेर रोकिएको छ । आज ३२८ कम्पनिका एक करोड ३४ लाख ६८ हजार १४५ कित्ता शेयर ५ अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज मिड सोलु हाइड्रोको सबै भन्दा बढी ९.४९ प्रतिशतले बढेको छ भने जोशी हाइड्रोको शेयर ६.९७ प्रतिशतले बढेको छ । त्यस्तै आज वीन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २७ करोड ६० लाख कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको २४ करोड ८९ लाखको कारोबार भएको छ ।
१०- नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले फागुन २१ मा हुने निर्वाचनमा चुनाव नलड्ने घोषणा गरेकी छन् । आइतबार नेतृ भुसालले आफु तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष चुनाव जितेको म एक्ली महिला उम्मेदवार भएको बताउदै आफुले पटक पटक मन्त्री बनेर समेत अवसर पाएको भन्दै आफु यसपटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने बताएकी छन् । उनले अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने आफ्नो मत रहेको बताएकी छन् ।
११- नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेटवार्ता गरेको छ । नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वमा गएको टोलीले आज राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर नेपाली कांग्रेस संसदीय दलको निर्णबारे जानकारी गराउँदैं यस्तो माग गरेका हुन् ।
गत पौष १० गते बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक बिषम परिस्थीतिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरु उठाउने सार्वभौम संघीय संसद अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय अध्यक्षज्यूलाई सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने निर्णय गरेको थियो । भेटमा राष्ट्रिय सभा सदस्य कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, बिष्णु सापकोटा र पदम परियार लगायतका सहभागी थिए ।
१२- गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त भएको रसुवागढीस्थित मितेरी पुल निर्माण भएसँगै आजदेखि नाका सञ्चालनमा आएको छ । मितेरी बेलिब्रिज पुलको निर्माण पुरा भएको र निरीक्षण समेत पास भएकाले आजदेखि सीमापार ढुवानीमा संलग्न चालक र यात्रुहरूलाई प्रवेश गर्न अनुमति दिइएको हो । यसअघि चीनियाँ पक्षले सूचना प्रकाशित गर्दै सबै सम्बन्धित पक्षलाई आवश्यक तयारी पूरा गरी सवारी साधन लोड लगायतका अग्रिम तयारी गर्न आग्रह गर्दै आजदेखि आवतजावत शुरु हुने जानकारी गराएको थियो ।
नाकाबाट आयात निर्यातको गतिबिधि भने जनवरी १ देखि शुरु हुने भएको छ । जी२१६ सीमा क्षेत्रमा सडक कालोपत्रेको काम भइरहेकाले जनवरी १ देखि अर्को बर्षको जनवरी ८ सम्म आधा दिन मात्र सीमापार आवागमनका लागि प्रयोग हुने र यस अवधिमा चिनियाँ समय अनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आवागमन खुला रहनेछ भने बाँकी समय दुवै तर्फबाट आवागमन नियन्त्रण गरिने चिनियाँ पक्षले जानकारी दिएको छ । २०७६ जेठदेखि सञ्चालनमा आएको उक्त पुल बाढीले बगाएसँगै दुई देश बीचको सडकसम्पर्क बिच्छेद भएको छ । उक्त पुल चिनियाँ लगानीमा निर्माण भएको हो ।
१३- चलचित्र विकास बोर्डले कलाकारहरुको नामबाट पछिल्लो समय सामाजिक सञ्जालमा ठगीका घटना बढेको भन्दै सचेत रहन सबै कलाकारहरुलाई आग्रह गरेको छ । शुक्रबार अभिनेता अनमोल केसीले आफ्नो नाम र तस्बिर प्रयोग गरेर नक्कली नम्बरबाट आफन्त र साथीहरूसँग पैसा मागिएको स्क्रिनसट सार्वजनिक गरेका थिए । अनमोलले यो घटना आफैँ जानकारी दिँदै कसैलाई पैसा नदिन र नम्बर ब्लक गर्न आग्रह गरेका थिए । त्यस्तै केकी अधिकारी, स्वस्तिमा खड्का, रिमा विश्वकर्मा, धिरज मगरसहितका कलाकारले आफ्नो नाम र फोटो दुरुपयोग गरेर रकम मागिएको गुनासो गरेका थिए ।
उनीहरूले सामाजिक सञ्जालमा फ्यान र आफन्तजनलाई सचेत रहन आग्रह गरेका थिए । यी घटनापछि बोर्डले सबै चलचित्रकर्मीलाई आफ्नो सामाजिक सञ्जालको पासवर्ड बलियो बनाउन र दुई चरणको प्रमाणीकरण अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । बोर्डले भनेको छ: चलचित्र विकास बोर्डको जानकारीमा आए अनुसार पछिल्लो समय फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा कलाकार तथा चलचित्रकर्मीको तस्बिर प्रयोग गरी नक्कली आईडी बनाउने, वास्तविक आईडी ह्याक गर्ने र साथीभाई एवं शुभचिन्तकहरुसंग पैसा माग्ने ठगीका घटनाहरू बढिरहेका छन् । चलचित्रकर्मीहरूले आफ्ना सबै सामाजिक सञ्जाल खातामा बलियो पासवर्ड र टू फ्याक्टर अथेन्टिकेसन अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गरिन्छ । कसैले कलाकार वा चलचित्रकर्मीको नाममा पैसा मागेमा, वास्तविक व्यक्ति हो भनी पुष्टि नगरी कुनै पनि रकम नपठाउनुहोस् । सचेत रहौँ, ठगीबाट जोगिऔँ ।
१४- बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ भारतीय बक्स अफिसमा सात सय करोड क्लबमा प्रवेश गरेको छ । चौथो साताको दोस्रो दिन शनिबार २०.९० करोड कमाई गरेसँगै धुरन्धरले भारतमा ७०६.४० करोड कमाई गरेको हो । फिल्म धुरन्धरले तेस्रो सातामा मात्र १८९.३० करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । फिल्मले घरेलु बक्सअफिसमा तीन सातामा ६६८.८० करोड भारु कमाई गरेको छ । धुरन्धरले पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको थियो भने दोस्रो सातामा २६१.५० करोड कमाई गरेको थियो ।
फिल्मले बलिवुड बक्स अफिसका कैयौं किर्तिमान तोडेको छ । धुरन्धर भारतीय बक्स अफिसमा अहिलेसम्म धेरै कमाई गर्ने फिल्मको सूचीमा दोस्रो स्थानमा रहेको छ । यसअघि २०२४ मा रिलिज भएको फिल्म पुष्पा-२ ले ८३० करोड कमाएको थियो । चौथो सातामा फिल्मले क्रिसमस र नयाँ बर्षको छुट्टीको फाइदा उठाउदै दर्शकको पहिलो रोजाइमा नै रहने विश्लेषण गरिएको छ । फिल्मको सामाजिक सञ्जाल र मिडियामा सकारात्मक प्रचार भएको फाइदा बक्स अफिसमा देखिएको छ । त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ । रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ ।
फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ । त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।
१५- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले आफ्नो सम्मान र स्वाभिमान त्यसलाई नमेटाई सहकार्य गर्न तयार रहेको बताएका छन् । आइतबार बिहान पोखरास्थित उज्यालो नेपाल पार्टीको कास्की जिल्लाको भेलामा सम्बोधन गर्दै मन्त्री घिसिङ जनताले सबै वैकल्पिक शक्ति एक ठाउँमा हेर्न चाहेको बताउदै उज्यालो नेपाल पार्टीले आफ्नो सम्मान र स्वाभिमान त्यसलाई नमेटाई सबै वैकल्पिक शक्तिसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले धेरै समुह र दलसँग कुरा भइरहेको र त्यसको नतिजा पनि छिट्टै आउने बताएका छन् । आइतबार बिहान बालेन शाह र रवि लामिछानेबीच भएको सहमति पछि कुलमानको यस्तो अभिव्यक्ति आएको हो । कुलमानले रवि लामिछानेसँग बालेनको सहमति प्रति असहमति राखेका छन् ।
१६- नेकपा एमालेका महासचिव शंकर पोखरेलले भाद्र २३ र २४ गतेको षड्यन्त्रको दोस्रो चरणको तयारी शुरु भएको टिप्पणी गरेका छन् । बालेन र रवि लामिछानेबीचको सहमतिप्रति उनीहरुको नाम उल्लेख नगरी त्यसतर्फ इंगित गर्दै महासचिव पोखरेलले भदौ २३ र २४ का विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै गरेको बताएका हुन् ।
उनले यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक रहेको बताएका छन् । उनले भनेका छन्: भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरियो । त्यसको आडमा भाद्र २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो ।
यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदैछ । भाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो । अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ । यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ । नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सकृय भूमिका खेल्नुपर्छ ।
१७- नेपाली बजारमा आज सुनचाँदी मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको १३ सयले बढेर तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि शुक्रबार सुन तोलाको २ लाख ६९ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २७० रुपैयाँले बढेर ४८३५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि शुक्रबार चाँदी तोलाको ४५८५ मा कारोबार भएको थियो ।
१८- उत्तरपूर्वी अमेरिकामा आएको हिम आँधी डेभिनका कारण अमेरिकामा ९ हजारभन्दा बढी घरेलु उडानहरू रद्द वा ढिलाइ भएका छन् । रिपोर्टका अनुसार, आँधीले क्रिसमस बिदापछिको यात्रालाई पूर्ण रूपमा अवरुद्ध पारेको छ । आँधीले न्यूयोर्क र न्यू जर्सीलाई राज्य आपतकाल घोषणा गर्न बाध्य पारेको छ । फ्लाइटअवेयरका अनुसार, शुक्रबारदेखि शनिबारसम्म अमेरिकामा २७ सयभन्दा बढी उडानहरू रद्द गरिएका छन् र हजारौं ढिलाइ भएका छन् ।
शुक्रबार १८०२ उडानहरू रद्द गरिएका थिए । जेटब्लू, डेल्टा, अमेरिकन र युनाइटेड जस्ता प्रमुख एयरलाइन्सहरूले सयौं उडानहरू रद्द गरेका छन् र यात्रुहरूलाई निःशुल्क टिकट परिवर्तनको प्रस्ताव गरेका छन् । राष्ट्रिय मौसम एजेन्सीका अनुसार, आँधीले न्यूयोर्क शहरलाई हिउँको कम्बलले ढाके जस्तै ढाकेको छ । शनिबार बिहानसम्म न्यूयोर्कबाट लङ आइल्याण्ड र कनेक्टिकटमा लगभग ६ देखि १० इन्च (१५ देखि २५ सेन्टिमिटर) हिउँ परेको थियो । यसैबीच, शनिबार राति २ देखि ४ इन्च हिउँ परेको थियो, सेन्ट्रल पार्कमा ४.३ इन्च हिउँ परेको थियो, जुन २०२२ पछिको सबैभन्दा धेरै हो ।
हिउँ र चिसो वर्षाले केही क्षेत्रहरूमा अवस्था बिग्रिएको छ । राष्ट्रिय मौसम सेवाले हिउँदको आँधीबेहरीको चेतावनी जारी गरेको छ, चिप्लो सडक, कम दृश्यता र बिजुली अवरुद्ध हुने चेतावनी दिइएको छ । न्यूयोर्कका गभर्नर क्याथी होचुलले राज्यको आधा भन्दा बढी भागमा आपतकालीन अवस्था घोषणा गर्दै भनेकी छन्- ‘न्यूयोर्कवासीहरूको सुरक्षा मेरो सर्वोच्च प्राथमिकता हो। यस आँधीबेहरीको समयमा अत्यधिक सावधानी अपनाउनुहोस् ।’
व्यावसायिक सवारी साधनहरूलाई सडकबाट प्रतिबन्ध लगाइएको छ । धेरै राजमार्गहरू बन्द गरिएका छन् र पेन्सिलभेनिया र म्यासाचुसेट्समा चेतावनी जारी गरिएको छ । टाइम्स स्क्वायरबाट सेन्ट्रल पार्कसम्म हिउँ हटाउन हिउँको हलो र बेलचा प्रयोग गरिएको थियो । डिसेम्बर २५-२६ मा आँधी द्रुत गतिमा अघि बढ्यो र शनिबार बिहानसम्म कमजोर भएको थियो । यो आँधी २०२५ को अन्तिम प्रमुख मौसमी झट्काहरू मध्ये एक भएको मौसमविदले बताएका छन् ।
१९- अफगानिस्तानलाई दिइने अन्तर्राष्ट्रिय सहायतामा कटौतीले देशमा मानवीय संकटलाई अझ बढाएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले देशका अनुमानित २ करोड २९ लाख मानिसहरू भोकमरीको सामना गर्ने अनुमान गरेको छ, अर्थात् देशको लगभग आधा जनसंख्यालाई सहयोगको आवश्यकता पर्नेछ । श्व खाद्य कार्यक्रमले यो पनि चेतावनी दिडिया अफगानिस्तानमा १ करोड ७० लाखभन्दा बढी मानिसहरू अब जाडोमा भोकमरीको खतराको सामना गरिरहेको बताएको छ ।
यो भोकमरी संकटमा एक वर्ष अघिको भन्दा ३० लाख बढी मानिसहरू परेको बताइएको छ । अफगानिस्तान आर्थिक संकटमा छ, र बारम्बार आएको खडेरी र दुई विनाशकारी भूकम्पले स्थितिलाई बिगारेको छ । इरान र पाकिस्तान जस्ता देशहरूबाट निष्कासित अफगान शरणार्थीहरूको ठूलो आगमनले पनि देशमा आर्थिक दबाब बढाएको छ । यस्तो अवस्थामा, सहायता कटौती खतरनाक छ । यहाँको अवस्था अब अझ जटिल भएको रिपोर्ट गरिएको छ ।
संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले २०२६ मा लगभग २ करोड २० लाख अफगानीहरूलाई संयुक्त राष्ट्रसंघको सहयोगको आवश्यकता पर्नेछ, तर कम दाता योगदानका कारण, उनको संस्थाले केवल ३९ लाख मानिसहरूमा ध्यान केन्द्रित गर्नेछ। यसले अवस्था झनै बिग्रने अनुमान गरिएको बताएका छन् । फ्लेचरले यो जाडो वर्षौंमा पहिलो पटक हो जब लगभग कुनै पनि अन्तर्राष्ट्रिय खाद्य वितरण भएको छैन । २०२५ मा १० लाखभन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृभूमिमा फर्किए पनि, २० लाखभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानमा नै छन् ।
पाकिस्तानी पत्रिका डनले संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको तथ्याङ्क उद्धृत गर्दै यो रिपोर्ट गरेको छ । रिपोर्टमा नोभेम्बरमा मात्र एक लाख ७१ हजार ५५ अफगान नागरिकहरू अफगानिस्तान फर्किएका थिए, जसमध्ये ३७ हजार ८९९ जनालाई चमन, तोरखाम र बारबाचा सीमाना हुँदै देश निकाला गरिएको थियो । थप रूपमा, नोभेम्बरमा ३१ हजार ५०० भन्दा बढी अफगान दर्ता प्रमाणपत्र धारकहरूलाई युएनएचसीआरले स्वदेश फिर्ता केन्द्रहरू मार्फत अफगानिस्तान फिर्ता पठाइएको थियो ।
२०- काठमाडौँ महानगरका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सहमति भएको छ । ७ बुँदे सहमतिपछि रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडी बढाउने सहमति गरेको छ । ७ बुँदे सहमति: १- नवयुवाहरुले भ्र’ष्टाचार र कुशा”सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने, २- समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने, ३- पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ‘घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने, ४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने, ५- बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने, ६- आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने, ७- राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने ।
FACEBOOK COMMENTS