काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतको संबैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, विनोद शर्मा र शारङ्गा सुवेदीसहितको संवैधानिक इजलासले बहुमतका आधारमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
यस रिटमा न्यायाधीशद्वय विनोद शर्मा र शारङ्गा सुवेदीले फरक मत राखेका थिए । साथै, सर्वोच्चले दुवै पक्षलाई अन्तरिम आदेस बारे छलफल गर्न जेठ ६ गते बोलाएको छ । आदेशमा भनिएको छ- ‘हाललाई केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा १० कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९ को उपनियम (४) बमोजिम विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।’ न्यायाधीशद्वय सुवेदी र शर्माले अल्पकालीन आदेश जारी गर्ने विषयमा असहमति प्रकट गर्दै एकपक्षीय सुनुवाईबाट अल्पकालीन अन्तरिम आदेश जारी गर्न मुनासिब नदेखिएको राय राखेका छन् । सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध नेपाल निजामती कर्मचारी संगठन, केन्द्रीय कार्यसमितिको तर्फबाट अख्तियारप्राप्त अध्यक्ष भवानी दाहालसमेतले वैशाख २५ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
२- चालु आर्थिक वर्ष २०८२- ८३ को नौं महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले सार्बजनिक गरेको चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म (नौं महिना) को आर्थिक तथा वित्तीय स्थितिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६५९ अर्ब ४१ करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेको थियो । २०८२ चैत महिनामा मात्र विप्रेषण आप्रवाह २०९ अर्ब ७५ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १३९ अर्ब ५४ करोड रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.५ प्रतिशतले बढेको थियो । त्यस्तै यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८२० अर्ब ४२ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३०३ अर्ब १२ करोड रहेको थियो । नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ९४ हजार १८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ९३ हजार २५९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख ५८ हजार २२२ र २ लाख ४९ हजार ६५२ रहेको थियो ।

३ नेपालको कुल विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको विदेशी विनिमय सञ्चिति ३०.५ प्रतिशतले वृद्धि हुँदै २०८२ चैत मसान्तसम्म ३४ खर्ब ९४ अर्ब ७३ करोड पुगेको हो । अमेरिकी डलरमा गणना गर्दा पनि विदेशी मुद्रा सञ्चितिमा वृद्धि देखिएको छ । २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड अमेरिकी डलर रहेको सञ्चिति २०.८ प्रतिशतले बढेर २०८२ चैत मसान्तमा २३ अर्ब ५५ करोड अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकसँग रहेको विदेशी विनिमय सञ्चिति पनि बढेको छ । २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेको यस्तो सञ्चिति २७.७ प्रतिशतले बढेर २०८२ चैत मसान्तमा ३० खर्ब ८२ अर्ब ४१ करोड पुगेको छ ।

यस्तै, राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति अझ तीव्र गतिमा बढेको छ । २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेको सञ्चिति ५६.८ प्रतिशतले वृद्धि हुँदै २०८२ चैत मसान्तमा ४ खर्ब १२ अर्ब ३२ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार २०८२ चैत मसान्तसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनासम्मको आयातलाई आधार मान्दा हाल रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनासम्मको वस्तु आयात तथा १८.४ महिनासम्मको वस्तु र सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।

विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात पनि सुधारिएको छ । २०८२ चैत मसान्तमा यी अनुपात क्रमशः ५७.२ प्रतिशत, १५३.१ प्रतिशत र ४१.२ प्रतिशत पुगेका छन् । २०८२ असार मसान्तमा भने ती अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
४- प्रतिनिधि सभाले राष्ट्रपति रामचन्द्र पौडेलप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ । राष्ट्रपति पौडेलले प्रतिनिधि सभामा पेश गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पेश गरेकोप्रति धन्यवाद प्रस्ताव पारित भएको हो । त्यस्तै सभामुख डिपी अर्यालले बैशाख ३० गते नीति तथा कार्यक्रममाथि छलफल हुने र सोहि दिन प्रधानमन्त्रीले जवाफ दिने समय तोकेका छन् ।
५- नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कञ्चनपुर, सप्तरीका प्रमुख महेन्द्रकुमार दासविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर जडान गरी विद्युत लाइन उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले दासलाई नियन्त्रणमा लिएको थियो । उनी सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ परेका थिए ।
अनुसन्धानका क्रममा चार्जिङ स्टेशन सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा भइसकेपछि पनि दासले लाइन उपलब्ध गराइदिएबापत सेवाग्राहीसँग घुस रकमका लागि बार्गेनिङ गरेको खुलेको आयोगले जनाएको छ । आयोगका अनुसार उनले घुस नदिए विद्युत लाइन काटिदिने धम्कीसमेत दिएका थिए । त्यसपछि सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर भएको भन्दै आयोगले बिगो बराबर १ लाख ४० हजार रुपैयाँ कायम गरी कैद तथा जरिवानाको मागदाबी सहित सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।
६- नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले सार्बजनिक गरेको नीति तथा कार्यक्रम कर्मकाण्ड भएको टिप्पणी गरेका छन् । संसद भवन बाहिर प्रतिक्रिया दिदै ठुलो परिवर्तनपछि सम्बोधन गर्न नसकेको बताउडिया निरन्तरतामा कर्मकाण्ड, केही जलप र केही आर्कषण देखाएर गर्न खोज्या जस्तो भान पर्न खोजिएको टिप्पणी गरेका छन् । उनले गरिनेछ, हुनेछ, संयोजन हुनेछ, केन्द्रित हुनेछ, यी सबै कुराहरु पहिला पनि त्यस्तै हो ।
२०८७ सम्म शुद्ध खानेपानी भनेर यो भन्दा अगाडी पनि धेरै पटक भनेको हो । जनताको बीचमा देखिएको उरालिदो आकांक्षा जुन छ, राष्ट्रिय स्रोत र साधनमा जस्तो अवस्थामा छ, त्यसमा कस्तो बजेट आउछ भन्ने प्रतिक्षा गर्नुपर्छ । प्रारम्भिक प्रतिक्रियामा निरन्तरतामा कर्मकाण्ड, केही जलप र केही आर्कषण देखाएर गर्न खोज्या जस्तो भान पर्न खोजिएको छ ।’
७- नेपाली कांग्रेसका सभापति गगन थापाले १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । काँग्रेस केन्द्रीय कार्यालयका कावा मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
मनोनित हुने पूर्व सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका नेताहरु रहेका छन् । जसमा महेन्द्र यादव— धनुषा, जीवन परियार— कास्की, उमेश श्रेष्ठ — चितवन, रमेश रिजाल —पर्सा, सुजाता कोइराला- मोरङ, दिलेन्द्रप्रसाद बडू- दार्चुला, डा. चन्द्रकान्त भण्डारी- गुल्मी, अजयकुमार चौरसिया- पर्सा, लक्ष्मी परियार- उदयपुर, आङ्गेलु शेर्पा- सोलुखुम्बु, दिनेशकुमार यादव- सप्तरी, राजीव कोइराला- सुनसरी, राजीव ढुंगाना- सुनसरी, प्रा.डा. गोविन्दराज पोखरेल- प्यूठान, सुशिला मिश्र भट्ट- कैलाली, नागिना यादव- महोत्तरी, दिनेश कोइराला- चितवन, डा. जीवन राना- कैलाली र सीता थपलिया (उर्मिला)- धादिङ रहेका छन् ।
८- ‘डिजिटल सुशासन ब्लुप्रिन्ट’ अनुरुप सरकारले राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गर्दै जी–क्लाउड र डाटा नीतिको कार्यान्वयनका लागि केन्द्रीय समन्वय प्रणाली विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रिय डिजिटल रणनीति, डिजिटल खरिद प्रणाली, डाटा नीति, अन्तरसञ्चालन मापदण्ड तथा सरकारी क्लाउड पूर्वाधारको विकासलाई प्राथमिकतामा राख्ने नीति सरकारले लिएको बताए ।
नीति तथा कार्यक्रममा डाटा, कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्रविधि र साइबर सुरक्षाको प्रयोगमार्फत नवप्रवर्तन तथा स्टार्टअप प्रवर्द्धन गर्दै ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिने उल्लेख छ । त्यस्तै दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मानदण्ड निर्माण तथा प्रभावकारी अनुगमन प्रणालीलाई सुदृढ बनाइने उल्लेख गरिएको छ ।
साथै दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच विस्तार गरी डिजिटल विभेद न्यूनीकरण गरिने जनाइएको छ । विज्ञापन तथा सञ्चार क्षेत्रको पारदर्शी र उत्तरदायी व्यवस्थापनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी नियामक संरचना बनाई सुदृढ बनाइने भएको छ । हुलाक सेवाको प्रविधीकरण, आधुनिकीकरण तथा डिजिटल रूपान्तरणलाई पनि प्राथमिकता दिइएको छ । त्यसैगरी चलचित्र, वृत्तचित्र, फोटोग्राफी तथा डिजिटल सामग्री उत्पादनलाई उद्योगका रूपमा विकास गरिने नीति सरकारले अघि सारेको छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन तथा सिर्जनात्मक सामग्री उत्पादनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ ।
९- नेपाल ए ले अभ्यास खेलमा अमेरिकालाई पराजित गरेको छ । सोमबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ए ले अमेरिकालाई ७ रनले पराजित गरेको हो । नेपाल ए ले दिएको २६५ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.१ ओभरमा अल आउट हुदै २५७ रन बनाएको थियो । अमेरिकालाई अल आउट गर्ने क्रममा शेर मल्लले४ र बसिर अहमदले ३ विकेट लिएका थिए ।
यसअघि नेपालले पहिला ब्याटिंग गर्दै ४९.५ ओभरमा अल आउट हुदै २६४ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले शतकीय पारि खेलेका थिए । सन्दीपले ११५ बलमा १११ रन बनाएका थिए । त्यस्तै बसिर अहमदले ३८, मयन यादवले २४, पवन सराफले २० रनको योगदान दिएका थिए । त्यस्तै अमेरिकाका बलर सौरभ नेत्राभल्करले ३ विकेट लिए भने जसदीप सिंहले २ विकेट लिएका थिए । योसँगै नेपाल ए ले यो अभ्यास खेलका चारै खेलमा जितेको छ । नेपाल ए ले स्कटल्याण्ड र अमेरिकाविरूद्ध २-२ खेलमा जित हासिल गरेको हो ।
१०- सरकारले सार्वजनिक खर्चलाई नतिजामुखी बनाउन र घाटामा रहेका सार्वजनिक संस्थानहरूलाई पुनःसंरचना, मर्जर वा विनिवेश गर्ने घोषणा गरेको छ । सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक संस्थान सुधार र खर्च कटौतीलाई सरकारले उच्च प्राथमिकतामा राखेको घोषणा गरेका हुन् ।
सरकारले सार्वजनिक संस्थानहरूको कार्यक्षमता र उत्पादकत्व वृद्धि गर्न तिनीहरूको वर्गीकरण गर्ने नीति बनाएको छ । त्यस्तै सार्वजनिक खर्चलाई नतिजामुखी बनाउँदै फजुल खर्च नियन्त्रण र चुस्त सेवा प्रवाहलाई सरकारले अभियानकै रूपमा अघि बढाउने घोषणा गरेको छ । त्यस्तै खर्च कटौतीका लागि प्रशासनिक सुधार र प्रविधिको प्रयोगमा जोड दिइने नीतिमा उल्लेख छ । आयोजना कार्यान्वयनको गति बढाउन र जवाफदेहिता सुनिश्चित गर्न सरकारले आयोजना प्रमुखहरूसँग प्रत्यक्ष कार्यसम्पादन सम्झौता गर्ने भएको छ । आयोजनाको प्रगति अनुगमनका लागि ‘डिजिटल पद्धति’ बाट ट्रयाकिङ गरिने र जग्गा प्राप्ति तथा वन क्षेत्रको प्रयोगमा देखिने कानुनी अड्चनलाई शीघ्र समाधान गरिने घोषणा गरिएको छ ।
त्यसैगरी आयोजना सम्पन्न नभएसम्म दक्ष र प्रमुख जनशक्तिको जिम्मेवारी हेरफेर नगर्ने सुनिश्चितता गर्ने घोषणा नीति तथा कार्यक्रममार्फत गरिएको छ । सरकारले मुलुकको अर्थतन्त्रलाई सिमाहीन अर्थतन्त्र र तौलविहीन व्यापारको अवधारणामा लैजाने नयाँ रणनीतिक मार्गचित्रको घोषणा गरको छ भने यसअन्तर्गत सूचना प्रविधिमा आधारित सेवा निर्यातलाई विशेष प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । त्यस्तै सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी ‘सफ्टवेर’ ‘डिजिटल’ सेवालाई प्रवर्द्धन गर्ने जनाएको छ । त्यसैगरी सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत लगानी सहजीकरण, सरकारी सहलगानीसहित नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
११- इङ्ल्यान्डको राष्ट्रिय क्रिकेट टिम टी-२० सिरिज खेल्न नेपाल आउने भएको छ । सन् २०२७-३१ को सर्कलमा इङ्ल्यान्ड र नेपालबीचको सिरिज टियु क्रिकेट स्टेडियममा हुने भएको हो । क्यानका सचिव पारस खड्काले टियु क्रिकेट मैदानमा इङल्याण्डविरुद्ध नेपाल खेलेको हेर्न पर्खिन नसक्ने भन्दै आफ्नो उत्साह व्यक्त गरेका छन् । इङ्गल्याण्ड नेपाल आउने मिति बारे अहिले क्यान छलफल मै रहेको बताइएको छ । नेपाल र इङ्ल्यान्ड पछिल्लो पटक भारतको मुम्बईमा टी-२० विश्वकप अन्तर्गतको खेल खेलेका थिए, जुन खेलमा इङ्ल्यान्ड केवल ४ रनले विजयी भएको थियो । सो खेलपछि इङल्याण्डको जित भन्दा नेपालको प्रदर्शनको बढी चर्चा भएको थियो ।
१२- सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल लागू नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध नलगाउन सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । इजलासले यस विषयमा अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाएको छ । उक्त इजलासले दुवैपक्षको छलफलपछि अर्को आदेश नआउन्जेलसम्म उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । सरकारले विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेपछि अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष दिपक धामीसहित आठ विद्यार्थी संघठनले सर्वोच्चमा रिट दायर गरेका थिए ।
१३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ तारिखसम्म चीन भ्रमण गर्ने भएका छन् । चीनले सोमबार यसको औपचारिक पुष्टि गरेको हो । भ्रमणका क्रममा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता हुने तय भएको छ । भेटमा इरान, व्यापार, ताइवानलगायत विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ट्रम्पले चीनको राजकीय भ्रमण गर्न लागेको जानकारी दिएका छन् । यसअघि ट्रम्प मार्च वा अप्रिलमै चीन भ्रमणमा जाने तयारीमा थिए । तर इरानसँग सम्बन्धित युद्ध सुरु भएपछि उनले भ्रमण स्थगित गरेका थिए । अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले चीनमाथि इरानको विषयलाई लिएर दबाब बढाउन सक्नेछन् । चीन इरानी तेलको प्रमुख खरिदकर्ता मानिन्छ ।
विशेषगरी चिनियाँ तेल प्रशोधन कम्पनीहरूले सहुलियत दरमा इरानबाट तेल खरिद गर्दै आएका छन् । अमेरिका र चीनबीच व्यापारिक महसुलको विषयलाई लिएर लामो समयदेखि तनाव कायम छ । विभिन्न रिपोर्टअनुसार दुवै देशले व्यापारिक व्यवस्था स्थिर बनाउने तथा नयाँ व्यापार सम्झौताबारे छलफल गर्न सक्छन् । ताइवानको विषय पनि वार्ताको मुख्य एजेन्डामध्ये एक बन्न सक्ने बताइएको छ । चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ भने अमेरिकाले ताइवानलाई सैन्य तथा राजनीतिक समर्थन दिँदै आएको छ । अमेरिकी राष्ट्रपति कार्यालयकी प्रमुख उपप्रेस सचिव एना केलीले यो भ्रमण निकै महत्वपूर्ण हुने बताएकी छन् । उनले ट्रम्प केवल औपचारिकताका लागि भ्रमण नगर्ने भन्दै अमेरिकी नागरिकले यस भ्रमणबाट सकारात्मक सम्झौताको अपेक्षा गर्न सक्ने बताइन् । ह्वाइट हाउसका अनुसार ट्रम्पको भ्रमण तालिकामा बेइजिङस्थित ‘टेम्पल अफ हेवन’ भ्रमण र भव्य राजकीय भोजसमेत समावेश गरिएको छ ।
१४- नेप्सेमा आज वृद्धि भएको छ । आज सोमबार नेप्से ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगेर रोकिएको छ । आज ३३२ कम्पनिका एक करोड ४ लाख ३९ हजार ४३२ कित्ता शेयर ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ मा कारोबार भएको थियो ।
आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी फर्स्ट माइक्रो फाइनान्स लाघुवित्तको शेयरमा १४.१९ प्रतिशतको वृद्धि भएको छ भकुमारी धनबृद्धि योजनाको शेयर ११.३७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी त्रिशुली जलविद्युतको शेयर २.८७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको २१ करोड ११ लाखको कारोबार भएको छ भने नेशनल हाइड्रोको १७ करोड ६० लाख बराबरको कारोबार भएको छ ।
१५- प्रतिनिधि सभाको बैठकमा सरकारले जारी गरेका विभिन्न आठवटा अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश भएका छन् । सोमबार बसेको बजेट अधिवेशनको पहिलो बैठकमा सातवटै अध्यादेश सरकारले पेश गरेको हो । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश,२०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३,सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ पेस भएका हुन् । यसैगरी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८३ ,‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ , स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८३ विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८३ पेस भएका हुन् ।
१६- बार्सिलोनाले एल क्लासिकोमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई २–० ले पराजित गर्दै लगातार स्पेनीस ला लिगा उपाधि जितेको छ । आइतबार राति भएको जितसँगै बार्सिलोना शीर्ष स्थानमा १४ अंकको स्पष्ट अग्रता बनाउँदै तीन खेल बाँकी रहँदै लिग च्याम्पियन बनेको हो । बार्सिलोनाको जितमा मार्कस रासफोर्ड र फेरान टोरेसले सुरुआती गोल गरेका थिए । ती दुई गोल नै टोलीलाई उपाधि दिलाउन पर्याप्त बनेको थियो ।
ला लिगाको इतिहासमा एल क्लासिकोको नतिजाबाट प्रत्यक्ष रूपमा उपाधि निर्धारण भएको यो दोस्रो अवसर हो । यसअघि सन् १९३२ मा दुवै टोलीबीच २–२ को बराबरी भएपछि रियल म्याड्रिड च्याम्पियन बनेको थियो । तीन वर्षसम्म ला लिगा जित्न नसकेको बार्सिलोनाले पछिल्ला चार सिजनमध्ये तीन पटक उपाधि जितेको छ । सन् २०२४ मा जाभी हेर्नान्डेजको स्थानमा आएका फ्लिकले प्रशिक्षक बनेपछि दुवै सिजनमा ला लिगा जितेका छन् । बार्सिलोनाले कुल २९ पटक ला लिगा जितिसकेको छ । यस सूचीमा ३६ उपाधिसहित रियल म्याड्रिड शीर्ष स्थानमा छ भने एट्लेटिको म्याड्रिड ११ उपाधिसहित तेस्रो स्थानमा रहेको छ ।
फ्लिकको नेतृत्वमा बार्सिलोनाले हालसम्म पाँच उपाधि जितिसकेको छ । टोलीले दुवै सिजन स्पेनी सुपर कप जितेको थियो भने गत वर्ष कोपा डेल रे पनि हात पारेको थियो । त्यस्तै बार्सिलोनाले लगातार ५५ खेलमा गोल गर्ने कीर्तिमान पनि कायम राखेको छ । यो सन् २०१२–१३ को बार्सिलोनापछि दोस्रो उत्कृष्ट प्रदर्शन हो । उक्त सिजन बार्सिलोनाले लगातार ६४ खेलमा गोल गरेको थियो । युरोपेली प्रतियोगितामा भने फ्लिकको टोली सफल हुन सकेको छैन । गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टर मिलानसँग पराजित भएको बार्सिलोना यस वर्ष क्वार्टरफाइनलमा एट्लेटिकोसँग बाहिरिएको थियो । घरेलु प्रतियोगितामा भने बार्सिलोनाको प्रदर्शन प्रभावशाली रह्यो । अक्टोबरमा सान्टियागो बेर्नाबेउमा भएको एल क्लासिकोमा रियलसँग पराजित हुँदा बार्सिलोना शीर्ष स्थानभन्दा पाँच अंकले पछाडि परेको थियो । तर डिसेम्बरसम्म बार्सिलोनाले पुनः शीर्ष स्थान कब्जा गर्यो । त्यसक्रममा रियलले पाँच लिग खेलमध्ये केवल एक खेल जित्न सकेको थियो ।
कमजोर प्रदर्शनकै कारण प्रशिक्षक जाभी अलोन्सो पदमुक्त भएका थिए । सिजनभर अंक तालिकामा उतारचढाव जारी रह्यो । जनवरीमा रियल सोसिडाडसँग र फेब्रुअरीमा जिरोनासँग पराजित भएपछि बार्सिलोनाले अग्रता गुमाएको थियो । त्यसपछि लगातार आठ लिग खेल जितेर रियल फेरि शीर्ष स्थानमा पुगेको थियो । तर रियलले लय कायम राख्न सकेन । ओसासुना, गेटाफे र मायोर्कासँग हार तथा जिरोनासँग बराबरीपछि बार्सिलोनाले सात खेल बाँकी रहँदा नौ अंकको बलियो अग्रता बनाएको थियो । रियल बेटिससँग अंक बाँडिएपछि बार्सिलोनाको अग्रता अझ बढ्यो । गत साता ओसासुनामाथि प्राप्त जित बार्सिलोनाको लगातार दशौं लिग विजय थियो, जसले टोलीलाई अस्थायी रूपमा १४ अंकले अगाडि पुर्याएको थियो । मे ३ मा रियलले इस्पानियोललाई हराउँदै अन्तर ११ अंकमा झारेपछि बार्सिलोनाको उपाधि उत्सव केही समयका लागि रोकिएको थियो । तर आइतबारको एल क्लासिको हारपछि रियलले उपाधि दौड जोगाउन सकेन । यो नतिजासँगै लगातार दोस्रो सिजन रियल म्याड्रिड कुनै पनि प्रतियोगितामा उपाधिविहीन बनेको छ ।
१७- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा जोगाउन नागरिकलाई सुन खरिद नगर्न आग्रह गरेपछि सोमबार भारतीय सेयर बजारमा गहना कम्पनीहरूको सेयरमा ठूलो गिरावट आएको छ । प्रमुख गहना कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले घटेको देखिएको छ । सबैभन्दा धेरै गिरावट स्काई गोल्डको सेयरमा देखिएको छ । कम्पनीको सेयर मूल्य करिब १२ प्रतिशतले घटेर ४७५ भारतीय रुपैयाँमा पुगेको छ । त्यस्तै, सेनको कम्पनीको सेयर झण्डै ११ प्रतिशतले घटेर ३२५. ०५ रुपैयाँमा झरेको छ । यसअघि उक्त कम्पनीको सेयर मूल्य ३६५. ४० रुपैयाँ रहेको थियो ।
कल्याण ज्वेलर्सको सेयर पनि करिब १० प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य ४२४. ५५ रुपैयाँबाट घटेर ३८२. १० रुपैयाँमा पुगेको छ । त्यस्तै टाइटन कम्पनीको सेयर प्रारम्भिक कारोबारमै करिब ८ प्रतिशतले घटेर ४१५०. १० रुपैयाँसम्म झरेको थियो । सोमबार बिहान १० बजेतिर सेन्सेक्स १. ३५ प्रतिशतले घटेर ७६२८२. २८ अंकमा कारोबार भइरहेको थियो भने निफ्टी १. २३ प्रतिशतले घटेर २३८७७. ८० अंकमा पुगेको थियो । क्षेत्रगत सूचकहरू पनि रातो चिन्हमा कारोबार भइरहेका थिए । विशेषगरी निफ्टी उपभोक्ता टिकाउ वस्तु समूह सबैभन्दा धेरै प्रभावित भएको देखिएको छ । उक्त क्षेत्रगत सूचक ३ प्रतिशतभन्दा बढीले घटेको थियो ।
१८- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ४०० ले घटेर तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९८ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ५३४० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५३०० मा कारोबार भएको थियो ।
१९-महिलाको सुरक्षाका दृष्टिले अफगानिस्तानलाई संसारकै सबैभन्दा असुरक्षित देश ठहर गरिएको छ । हालै सार्वजनिक गरिएको ग्लोबल वुमन सेफ्टी इन्डेक्स अनुसार अफगानिस्तान सूचीको सबैभन्दा तल रहेको हो भने यमन दोस्रो स्थानमा परेको छ । वर्ल्ड पपुलेसन रिभ्युको प्रतिवेदनअनुसार सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि अफगानिस्तान महिलाका लागि विश्वकै सबैभन्दा जोखिमपूर्ण देश बनेको उल्लेख गरिएको छ । युद्ध, राजनीतिक अस्थिरता र कट्टर सामाजिक मान्यताका कारण धेरै देशमा महिलाको जीवन गम्भीर जोखिममा परेको प्रतिवेदनमा जनाइएको छ । महिला सुरक्षा सूचकांकमा अफगानिस्तानले ०.२७९ अंक पाएको छ । त्यहाँ महिलाको सार्वजनिक जीवनमा सहभागिता अत्यन्त न्यून रहेको र उनीहरूमाथि कडा सामाजिक प्रतिबन्ध लागू गरिएको बताइएको छ ।
शिक्षा र रोजगारीजस्ता आधारभूत अधिकार समेत स्थानीय नीतिमा निर्भर रहेको तथा महिलाको स्वतन्त्रता लगभग समाप्त भएको प्रतिवेदनमा उल्लेख छ । यस सूचीमा ०.३२३ अंकसहित यमन दोस्रो स्थानमा रहेको छ । लामो समयदेखि जारी गृहयुद्धका कारण त्यहाँको स्वास्थ्य सेवा र पूर्वाधार प्रणाली ध्वस्त बनेको जनाइएको छ । त्यसपछि मध्य अफ्रिकी गणराज्य ०.३६२ अंकसहित तेस्रो र सिरिया ०.३६४ अंकसहित चौथो स्थानमा रहेका छन् । सिरियामा वर्षौंदेखिको द्वन्द्वले महिलालाई विस्थापन, असुरक्षा र मानसिक तनावतर्फ धकेलेको प्रतिवेदनमा उल्लेख गरिएको छ । लोकतान्त्रिक गणतन्त्र कंगो ०.३८४ अंकसहित सूचीको अर्को जोखिमपूर्ण देश बनेको छ । विज्ञहरूले यी तथ्यांक केवल अंक नभई दैनिक डर, असुरक्षा र विस्थापनबीच बाँचिरहेका लाखौं महिलाको वास्तविक पीडा झल्काउने संकेत भएको बताएका छन् । सुडान ०.३९७ र दक्षिण सुडान ०.४११ अंकसहित सूचीमा परेका छन् ।
ती देशमा राजनीतिक अस्थिरता र आर्थिक संकटका कारण महिलाको जीवन अझ चुनौतीपूर्ण बनेको प्रतिवेदनमा जनाइएको छ । यस सूचीमा डेनमार्क ०.९३९ अंकसहित महिलाका लागि सबैभन्दा सुरक्षित देश बनेको छ भने आइसल्याण्ड दोस्रो, नर्वे तेस्रो, स्विडेन चौथो, फिनल्याण्ड पाँचौं स्थानमा रहेका छन् । त्यस्तै यस सूचीमा अस्ट्रेलिया ११औं स्थानमा रहेको छ भने क्यानडा १६औं स्थानमा रहेको छ । महिला सुरक्षा इन्डेक्समा अमेरिका ३१औं स्थानमा छ । त्यसैगरी नेपाल ०.६३१ अंकसहित १२०औं स्थानमा रहेको छ । त्यसैगरी भारत यस सूचीमा १३१औं स्थानमा रहेको छ भने चीन ८९औं स्थानमा रहेको छ ।
२०- रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले लखनउलाई २ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १६७ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बैंगलुरुको जितमा क्रुनाल पाण्डेयले सर्बाधिक ७३ रन बनाएका थिए भने ज्याकब बेठेलले २७, जितेश शर्माले १८ र देवदत्त पाडिकलले १२ रन बनाएका थिए ।
त्यस्तै मुम्बईका बलर क्रोबिन बोस्चले ४ विकेट लिए भने दीपक चहरले २ विकेट लिएका थिए । यसअघि पहिला ब्याटिंग गरेको मुम्बईले तिलक बर्माको ५७ र नमन धीरको ४७ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १६६ रन बनाएको थियो । त्यस्तै बैंगलुरुका बलर भुवनेश्वर कुमारले ४ विकेट लिएका थिए । यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ११ खेलमा १४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बई इण्डियन्स भने यस सिजनको प्लेअफको दौडबाट बाहिरिएको छ । जारी आइपिएल अन्तर्गत आज पञ्जाव किंग्स र दिल्ली क्यापिटल्ससँग हुदैछ ।