काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- काठमाडौं । राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका थिए । प्रधानमन्त्री बालेन्द्र शाह सदनमा अनुपस्थित भएपछि अर्थमन्त्री डा. वाग्लेले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गरिएको हो ।
२- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका छन् विहिबारको बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ( कर प्रस्ताव वाहेक) प्रस्तुत गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण, निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापना र लगानीमैत्री वातावरण सिर्जना गरिने बताएका छन् ।
उनले सरकारले कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा सेवा क्षेत्रलाई आर्थिक वृद्धिको मुख्य आधार बनाउने, डिजिटल प्रशासन लागू गर्ने र सार्वजनिक सेवा प्रवाहलाई छरितो बनाउने बताउदै ठूला आयोजना ‘मिसन मोड’मा सञ्चालन गरिने, सडक, ऊर्जा, सिँचाइ र डिजिटल पूर्वाधार विस्तार गरिने तथा अधुरा आयोजना शीघ्र सम्पन्न गरिने उल्लेख गरिएको छ ।
३- स्कटल्याण्डले अमेरिकालाई डिएलएस मेथड अनुसार २ रनले पराजित गरेको छ । बर्षाले प्रभावित खेलमा अमेरिकालाई ३२ रनमा २४९ रनको लक्ष्य तय गरिएकोमा अमेरिकाले ३२ ओभरमा ८ विकेट गुमाउदै २४६ रन बनाएपछि स्कटल्याण्डले खेल २ रनले जितेको हो ।अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले १०४ रनको शतकीय पारी खेलेका थिए भने समित पटेलले ७२ रन बनाएका थिए । यसअघि स्कटल्याण्डले टस हारेर पहिला ब्याटिंग गर्दै ४७ ओभरमा ६ विकेट गुमाएर ३२१ रन बनाएको हो ।

बर्षाले प्रभावित हुदा यो खेल ४७ ओभरमा खेलाइएको छ । स्कटल्याण्डका लागि फिनले म्याकक्रीथले सर्बाधिक ७७ रन बनाए भने म्याथ्यु क्रसले ५८ र ब्राण्डम म्याकुलेनले ५५ रन बनाएका थिए । त्यस्तै अमेरिकी बलर सौरभ नेत्राभल्कर र जसदीप सिंहले २-२ विकेट लिएका थिए । यो जितपछि स्कटल्याण्ड डिभिजन लिग- २ को शिर्ष स्थानमा उक्लिएको छ । स्कटल्याण्डको ३० खेलमा ३८ अंक भएको छ । त्यस्तै अमेरिकाको २५ खेलमा ३६ अंक रहेको छ र दोस्रो स्थानमा झरेको छ । अब यस सिरिज अन्तर्गत शनिबार नेपाल र अमेरिकाबीच खेल हुने तालिका रहेको छ ।

४- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजामति कर्मचारीमा मात्र ट्रेड युनियन खारेजी गरको स्पष्ट गरेका छन् । राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री वाग्लेले सेवा प्रवाह र सुशासनलाई नतिजामुखी बनाउन निजामती तथा सरकारी सेवामा ट्रेड युनियन खारेज गरिएको स्पष्ट गरेका हुन् । उनले आफुहरुलाइ ट्रेड युनियन आन्दोलनको इतिहास र महत्व बारे जानकारी रहेको बताउदै रास्वपाले चुनावमा प्रस्तुत गरेको बाचा पत्रमा उल्लेख भए अनुसारनै निजामति कर्मचारीको ट्रेड युनियन खारेज गरेको बताए । उनले भने- ‘निजामती तथा अन्य सरकारी सेवालाई तटस्थ, निष्पक्ष, उत्तरदायी एवं व्यवसायिक संस्थाको रूपमा विकास गरी सेवा प्रवाह र सुशासन प्रवर्धनलाई नतिजामुखी बनाउने उद्देश्यले ट्रेड युनियन को खारेजी गर्ने भनेर नीति तथा कार्यक्रममा राखेका छौँ । समग्र ट्रेड युनियन मुभमेन्टलाई नै निषेध गर्ने, यसको ऐतिहासिक महत्त्वलाई खारेज गर्ने नियतले यो आएको होइन ।’ साथै मन्त्री वाग्लेले रास्वपाले आफ्नो चुनावी बचापत्रमा उल्लेख गरे अनुसार नै बजेट आउने बताउदै आफुहरुले जनताबाट अनुमोदित गराएका विषय मात्र ल्याएकोले जनमतको सम्मान गर्न आग्रह गरे ।

५- राष्ट्रपति सी जिनपीङले डोनाल्ड ट्रम्पलाई चीन र अमेरिका प्रतिष्पर्धी नभई साझेदार बन्नुपर्ने बताएका छन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भएको भेटमा द्विपक्षीय छलफलका क्रममा सी जिनपीङले व्यापार युद्धमा कसैको जित नहुने बताउदै चीन र अमेरिका आर्थिक सम्बन्धको आधार पारस्परिक लाभ र सहकार्य रहेको बताएको चिनियाँ मिडियाले उल्लेख गरेका छन् । बैठकमा जिनपीङले विश्वभरको ध्यान यस भेटवार्तातर्फ केन्द्रित रहेको बताउदै विश्व तीव्र रूपमा परिवर्तन भइरहेका बेला अमेरिका र चीनबीचको सम्बन्ध विश्व स्थिरताका लागि अत्यन्त महत्वपूर्ण रहेको बताएका थिए ।
ट्रम्पको चीन भ्रमणकै बीच बेइजिङले १५ महिनापछि अमेरिकी गाईको मासु आयातमा पुनः अनुमति दिएको छ । चीनले सयौं अमेरिकी मासु प्रशोधन कम्पनीलाई फेरि निर्यात अनुमति दिएको हो । यो निर्णय ट्रम्प र जिनपीङको भेटवार्ताअघि सार्वजनिक गरिएको हो । सन् २०२० मा चीनले ३०० भन्दा बढी अमेरिकी कम्पनीलाई गाईको मासु निर्यात अनुमति दिएको थियो । तर मार्च २०२५ मा ती अनुमति नवीकरण गरिएको थिएन । त्यसलाई ट्रम्प प्रशासनले लगाएको प्रारम्भिक भन्सार करको प्रतिक्रियाका रूपमा हेरिएको थियो । विभिन्न प्रतिवेदनका अनुसार नयाँ अनुमति सन् २०२९ सम्मका विभिन्न अवधिका लागि जारी गरिएको छ ।
यद्यपि यसले ठूलो परिमाणमा खरिद हुने सुनिश्चितता भने नदिने बताइएको छ, किनकि चीनले आयातमा कोटा प्रणाली लागू गर्दै आएको छ । यस वर्ष अमेरिकाका लागि गाईको मासु आयात कोटा एक लाख ६४ हजार मेट्रिक टन तोकिएको छ भने ब्राजिलका लागि ११ लाख मेट्रिक टन निर्धारण गरिएको छ । भेटवार्ताका क्रममा ट्रम्प र चिनफिङले अमेरिका–चीन सम्बन्धलाई रचनात्मक, रणनीतिक र स्थिर बनाउने विषयमा सहमति जनाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुवै देशबीच नयाँ ढाँचाको समझदारी बनेको छ, जसले आगामी तीन वर्ष र त्यसपछिका सम्बन्धलाई रणनीतिक दिशा दिनेछ ।
जिनपीङले आर्थिक तथा व्यापारिक टोलीबीच भएका वार्ताबाट सकारात्मक र सन्तुलित नतिजा आएको बताए । उनले सकारात्मक वातावरण कायम राख्न दुवै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले चीनको बजार अमेरिकी कम्पनीका लागि अझ खुला हुने पनि बताएका छन् । चिनफिङका अनुसार अमेरिकी कम्पनीले लामो समयदेखि चीनको आर्थिक विकास र सुधार प्रक्रियामा भूमिका खेल्दै आएका छन् । बेइजिङमा भएको बैठकमा इरान युद्ध, युक्रेन संकट तथा अन्य अन्तर्राष्ट्रिय विषयमा पनि छलफल भएको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार दुवै नेताले मध्यपूर्वको अवस्था, युक्रेन संकट र कोरियाली प्रायद्वीपको परिस्थितिबारे विचार आदानप्रदान गरेका थिए ।
६- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रालयको पुनर्संरचनासहित मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषदको पुनर्संरचना गर्दै मन्त्रीहरुको जिम्मेवारी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । जस अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा, गृह तथा विज्ञान, प्रविधि एवं नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । त्यस्तै डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, शिशिर खनालले परराष्ट्र, बिराज भक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रहेका छन् ।
त्यस्तै सुनिल लम्साललाई पूर्वाधार विकास, सोविता गौतम कानून, न्याय तथा संसदीय मामिला, सीता बादी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा, प्रतिभा रावलले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन, निशा मेहता स्वास्थ्य तथा खाद्य स्वच्छता, सस्मित पोखरेल शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा छन् । त्यस्तै खडक राज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. विक्रम तिमिल्सिना सूचना तथा सञ्चार, गीता चौधरी कृषि, वन तथा वातावरण, गौरी कुमारी उद्योग, वाणिज्य तथा आपूर्ति र रामजी यादवलाई युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
७- स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रमको छलफलमा उपस्थित नभएको प्रति आफ्नो धारणा राखेका छन् । पुनले बिहीबारको प्रतिनिधिसभा बैठकमा छलफलमा बोल्दै प्रधानमन्त्रीलाई सदनमा ल्याउन खोज्ने र प्रधानमन्त्रीको आउन नचाहने प्रयास चलिरहेको बताए । उनले भने- ‘हामीले पनि उहाँलाई ल्याउने कोसिस गरिरहेका छौँ । उहाँ पनि नआउने कोसिस गरिरहनुभएको छ । यो हाम्रो आन्तरिक कुरा होस् ।
भोलि चाहिँ इन्टरनेशनल मिडियामा गए के होला ?’ पुनले अन्तर्राष्ट्रिय मिडियामा पाइरहेको प्रधानमन्त्रीको ख्याको चिन्ता गर्दै भने- ‘प्रधानमन्त्रीज्यू इन्टरनेशलन मिडियामा प्रख्यात हुनुभएको छ । यो विचार नगर्दा ख्याति चाहीँ कता जान्छ कि । इन्टरनेशनलले नसुने त ठिकै छ ।’ पुनले सरकारले विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालय अलग बनाएकोमा सरकारलाई धन्यवाद दिए । तर उनले मन्त्रालयको नाममा अनुसन्धान समेत हुनुपर्ने बताउदै सुधार गर्न सुझाव समेत दिए । पुनले मन्त्रालय मात्र खडा गरेर नहुने भन्दै पुँजीगत खर्चको १ प्रतिशत बजेटसमेत छुट्याउन माग गरेका थिए ।
८- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय खेल संघहरुलाई असार १५ सम्म नवीकरण गरिसक्न निर्देशन दिएको छ । राष्ट्रिय खेल संघहरुले बारम्बारको सूचनामा पनि संघको नवीकरण प्रक्रिया पूरा नगरेपछि राखेपले वैशाख ३१ गते चेतावनीसहितको सूचना प्रकाशन गरेको हो । बारम्बारको सूचना प्रकाशन पश्चात पनि संघहरुले ताकेता चासो नदेखाएपछि राखेपले कानुन बमोजिमको कारबाही हुने भन्दै सूचनामा उल्लेख गरिएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को परिच्छेद २६ को १० मा राखेपमा दर्ता भएका संघहरुले ऐनमा उल्लेख गरिएअनुसार नवीकरणको प्रक्रिया पूरा नगरे संघहरु स्थानीय खेल संघ तथा क्लबको स्तरमा गरिने भनेर उल्लेख गरिएको छ ।
९- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रमको जवाफ दिन संसदमा आउनुपर्ने बताएका छन् । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको जवाफ दिनुपर्ने बताउदै जवाफ दिन प्रधानमन्त्री नआएमा श्रम संस्कृतिले बैठक बहिष्कार गर्ने बताए । साम्पाङले आफ्नो बिहेमा अरुलाई बेहुलो बनाएर पठाउन मिल्दैन भन्दै भने- ‘नीति तथा कार्यक्रममा छलफल गरिरहदा सरकारको प्रमुखले हामीलाई सुनिरहनु भएको छैन । यो संसदको मर्यादा विपरित छ । म माग गर्न चाहन्छु, उहाले छलफलमा सुन्न आउनु भएन तर उत्तर दिन आउनु हुनेछ भन्ने विश्वास लिएको छ । यदि उहाँ आउनुहुन्न भने श्रम संस्कृति पार्टी बाहिरिने छौं । हामीले अरुबाट सुन्नु पर्ने स्थिति होइन । एउटा सामाजिक परम्परा छ नी, आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुदैन ।’
१०- नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १०.०७ अंकले घटेर २७३०.१७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३७ कम्पनिका ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर ३ अर्ब २९ करोड २ लाख ४४ हजार ६१९ मा कारोबार भएको थियो । आज जीवन वीमा, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी युनियन हाइड्रोको शेयरमा ९.७९ प्रतिशतले बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर ९.२२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एशियन हाइड्रोको शेयर ९.८९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी हिमालयन रिइन्सुरेन्सको ३७ करोड ६८ लाखको कारोबार भएको छ भने सहास उर्जाको १८ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।
११- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेको सचिवालय बैठक जेठ २ गते दिनको १ बजे पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने सचिव महेश बस्नेतले जानकारी दिएका हुन् । बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, जनताका अपेक्षा, सरकारको कामकारबाही, पार्टीको आगामी कार्यदिशा तथा राष्ट्रिय हितका विषयमा गम्भीर समीक्षा र महत्वपूर्ण निर्णय हुने उनले बताएका छन् ।
१२- सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभामा बोल्ने क्रममा शव्द चयनमा संवेदनशील हुन आग्रह गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड घ मा उल्लिखित असंसदीय शब्द प्रयोग नगर्न र बोल्ने क्रममा सो व्यवस्थालाई ख्याल गर्न आग्रह गरेका हुन् ।
उनले अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्च्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने भन्ने बिषयमा नियमावलीमा नै उल्लेख भएकाले यसमा विशेष ध्यान दिन उनले आग्रह गरेका छन् ।
१३- प्रतिनिधि सभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । विहिबार सभामुख डिपी अर्यालले अधिकारीलाई शपथ गराएका हुन् । शपथ ग्रहणपछि नवनियुक्त सचिव अधिकारीले आजै पदभार ग्रहण गरेका छन् । सभामुख अर्यालको सिफारिसमा तत्कालिन सचिव हर्कराज राईलाई बर्खास्त गर्दै राष्ट्रपति पौडेलले अधिकारीलाई प्रतिनिधि सभाको सचिव नियुक्त गरेका थिए ।
१४- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका हुन् । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य रहेका छन् । समितिले विद्युत् नियमन आयोगको अध्यक्षसहित चार सदस्य पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गर्ने तयारी गरेको छ ।
यसका लागि १५ दिनको समय सीमा राखेर सार्वजनिक सूचना जारी गरिने मन्त्रालयले जनाएको छ । यसअघि आयोगका अध्यक्ष र चार सदस्य सरकारले जारी गरेको ‘ सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो । विद्युत् नियमन आयोग ऐनअनुसार समितिले प्राप्त आवेदनहरूको मूल्यांकन गरी दरखास्त दिने अन्तिम मिति समाप्त भएको २१ दिनभित्र उपयुक्त उम्मेदवारहरूको नाम मन्त्रालयमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
१५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदमा सम्बोधन गर्दा प्रयोग गरेका शब्द रेकर्डबाट हटाइएको छ । पराजुलीले बैशाख २९ गते बोल्ने भरौटेहरु र यहाँ लुगा लगाएर नांगै हिडे जस्तो गरि’ भन्ने शब्दहरु सभाको अभिलेखबाट हटाउन सभामुख डिपी अर्यालले निर्देशन दिएका हुन् । यसअघि बुधबारको बैठकमा विपक्षी दलका सांसदहरुले पराजुलीले संसदमा बोलेका यी शब्द हटाउन माग गरेका थिए ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ३ सयले बढेर तोलाको ३ लाख २ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख २ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर ५७४५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५७१० मा कारोबार भएको थियो ।
१७- सन् २०२६ को वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न भएको छ । सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग संघ नेपालमार्फत उक्त काम सम्पन्न गरिएको हो । पर्यटन विभागका अनुसार वैशाख ३० गते बिहान १०: २५ बजे सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने कार्य पूरा भएपछि आरोहण मार्ग खुला भएको छ ।
विभागका अनुसार भौगोलिक जटिलता, मौसमी विषमता तथा व्यवस्थापकीय जोखिमका बाबजुद आधारशिविरदेखि चुचुरोसम्मको मार्ग निर्माण तथा खुला गर्ने काम सफलतापूर्वक सम्पन्न गरिएको हो । विभागले यस कार्यमा संलग्न आइसफल डाक्टर तथा पथप्रदर्शकलाई धन्यवाद दिएको छ । मन्त्रालयको मार्गदर्शन र पर्यटन विभागको समन्वयमा काम सम्पन्न भएको जनाइएको छ । डोरी टाँग्ने कार्यमा आधारशिविरदेखि क्याम्प–२ सम्म आइसफल डाक्टरहरु आङ सार्की शेर्पा, दावा जाङ्बु शेर्पा, तेन्दु शेर्पा, ङिमा तेन्जी शेर्पा, फुरा छेतेन शेर्पा, दावा छिरिङ शेर्पा, सोनाम ग्याल्जेन शेर्पा र मिङ्मा ग्याल्जेन शेर्पा संलग्न थिए । यस्तै क्याम्प–२ देखि चुचुरोसम्म पथप्रदर्शकहरु मिङ्मा दोर्ची शेर्पा, पासाङ तासी शेर्पा, लोप्साङ भुटिया, मिङ नुर्बु शेर्पा, छोम्बा तेन्जी शेर्पा, गुरु भोटे, पाम दोर्जे शेर्पा, मिङ्मा तेन्जी शेर्पा, मिङ तेम्बा शेर्पा, डेन्डी शेर्पा र पासाङ नुर्बु शेर्पा सहभागी रहेका थिए ।
१८- पिएसजीले सन् २०२५–२६ सिजनको फ्रेन्च लिग वानको उपाधि जितेको छ । प्रशिक्षक लुइस एनरिकेको टोलीले दोस्रो स्थानमा रहेको लेन्सलाई २–० ले हराउँदै लगातार पाँचौँ पटक लिग उपाधि कब्जा गरेको हो । स्टेड बोलार्ट डेलिलिसमा भएको खेलमा पिएसजीलाई जित दिलाउन ख्भिचा क्वारात्स्खेलियाले पहिलो गोल गरेका थिए भने इन्जुरी समयमा इब्राहिम म्बायेले अर्को गोल थप्दै टोलीको जित पक्का गरेका थिए । गोलरक्षक मात्भेई साफोनोभले चार महत्वपूर्ण बचाउ गर्दै टोलीलाई क्लिन सिट दिलाएका थिए ।
यो सँगै पिएसजीले लगातार पाँच पटक लिग उपाधि जित्ने नयाँ क्लब कीर्तिमान बनाएको छ । यसअघि क्लबले सन् २०१२ देखि २०१६ सम्म लगातार चार पटक उपाधि जितेको थियो । कतारी लगानी समूहले क्लब सम्हालेपछि पिएसजीले १५ सिजनमा १२ पटक लिग जितिसकेको छ । पिएसजीको यो समग्र १४औँ फ्रान्सेली शीर्ष डिभिजन उपाधि हो । यससँगै उसले सेन्ट एटिनभन्दा चार उपाधिको अग्रता बनाएको छ । कतारी स्वामित्वपछि मोन्टपेलियर, मोनाको र लिलिले मात्रै पिएसजीको वर्चस्व तोडेका छन् । अब पिएसजीले मे ३० मा हुने च्याम्पियन्स लिग फाइनलमा आर्सनलसँग खेल्नेछ । यता लेन्सले मे २२ मा फ्रेन्च कप फाइनलमा निससँग प्रतिस्पर्धा गर्नेछ ।
१९- भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट रोक लगाएको छ । यो प्रतिबन्ध कम्तिमा आगामी सेप्टेम्बर ३० सम्म वा अर्को आदेश नआएसम्म लागू रहनेछ । देशभित्र चिनीको उपलब्धता कायम राख्न र मूल्य नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको जनाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले यससम्बन्धी सूचना जारी गरेको हो । सूचनाअनुसार कच्चा, सेतो तथा प्रशोधित चिनीको निर्यातमा रोक लगाइएको छ । सरकारले चिनीलाई अब ‘निषेधित श्रेणी’मा राखेको छ । यद्यपि हाल कायम रहेको शुल्क दर कोटा तथा व्यवस्थाअनुसार युरोपेली सङ्घ र अमेरिकातर्फ हुने चिनी निर्यातमा भने यो प्रतिबन्ध लागू नहुने बताइएको छ । भारतको यो निर्णयले अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा सेतो चिनीको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ ।
साथै ब्राजिल र थाइल्यान्डजस्ता प्रतिस्पर्धी उत्पादक देशलाई एशिया र अफ्रिकाका खरिदकर्तातर्फ थप चिनी निर्यात गर्ने अवसर मिल्ने देखिएको छ । भारत ब्राजिलपछि विश्वकै दोस्रो ठूलो चिनी निर्यातकर्ता देश हो । यसअघि भारत सरकारले चिनी मिलहरूलाई १५ लाख ९० हजार टन चिनी निर्यातको अनुमति दिएको थियो । तर लगातार दोस्रो वर्ष पनि उत्पादन खपतभन्दा कम हुने अनुमान गरिएपछि सरकारले नयाँ निर्णय लिएको हो । मुख्य उखु उत्पादन क्षेत्रमा उत्पादन कमजोर भएको तथा एल निनो मौसम प्रणालीका कारण यस वर्षको मनसुन प्रभावित हुन सक्ने जोखिमले आगामी सिजनको उत्पादन प्रारम्भिक अनुमानभन्दा कम हुन सक्ने चिन्ता बढेको छ । निर्यातका लागि स्वीकृत १५ लाख ९० हजार टनमध्ये व्यापारीहरूले करिब आठ लाख टन चिनीको सम्झौता गरिसकेका थिए ।
तीमध्ये छ लाख टनभन्दा बढी चिनी निर्यात भइसकेको बताइएको छ । सरकारले भने केही अवस्थामा पहिले नै प्रक्रियामा रहेका निर्यातलाई अनुमति दिने जनाएको छ । सरकारी राजपत्रमा सूचना प्रकाशित हुनुअघि नै मालसामान जहाजमा चढाउन सुरु गरिएको भए, सिपिङ बिल दर्ता भइसकेको भए वा जहाज भारतीय बन्दरगाहमा पुगिसकेको भए निर्यात गर्न पाइनेछ । त्यस्तै सूचना जारी हुनुअघि नै चिनी भन्सार वा संरक्षक निकायलाई बुझाइसकिएको अवस्थामा पनि निर्यातलाई अनुमति दिइनेछ । प्रतिबन्ध घोषणा भएपछि न्युयोर्कमा कच्चा चिनीको वायदा मूल्य दुई प्रतिशतभन्दा बढीले बढेको छ भने लन्डनमा सेतो चिनीको वायदा मूल्य तीन प्रतिशतले उकालो लागेको छ ।
२०- रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले कोलकोतालाई ६ विकेटले पराजित गरेको हो । कोलकोताले दिएको १९३ रनको लक्ष्य पछाएको बैंगलुरुले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बैंगलुरुको जितमा विराट कोहलीले शतकीय पारी खेलेका थिए । विराटले ६० बल खेल्दै अविजित १०५ रन बनाएका थिए । यो खेल खेलेपछि उनी सबैभन्दा बढी २७९ आइपिएल खेल खेल्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै बैंगलुरुका लागि देवदत्त पाडिकलले ३९ रन बनाएका थिए ।
त्यसैगरी कोलकोताका बलर कार्तिक त्यागिले ३ विकेट लिए भने सुनिल नारनले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ४ विकेट गुमाएर १९२ रन बनाएको थियो । कोलकोताका लागि अंगकृश रघुबंशीले सर्बाधिक ७१ रन बनाएका थिए भने रिंकु सिंहले अविजित ४९ रन बनाएका थिए । त्यस्तै क्यामरुन ग्रीनले ३२, कप्तान आजिख्य रहानेले १९ र फिन एलेनले १८ रन बनाएका थिए । यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरु १२ खेलमा १६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै कोलकोताको भने ११ खेलमा ९ अंक रहेको छ र आठौँ स्थानमा रहेको छ । यो हारले कोलकोताको प्लेअफको सम्भावना कठिन भएको छ ।