काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- बाग्मतीका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकोप्टर चढेर वनभोज खान सिराहा पुगेको विषय आलोचित बनेको छ । सिराहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको पिकनिक खान हेलिकप्टर चढेर पुगेको भन्दै सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचना भइरहेको छ । अंग्रेजी नयाँ वर्षको अवसर सभापति यादवले धनगढीमाई नगरपालिका-१४ स्थित सर्रेअम्बासमा पिकनिक गरेका थिए । मुख्यमन्त्री बानियाँ माउन्टेन एयरको हेलिकप्टर चढेर हेटौंडाबाट सिराहा पुगेका थिए । चर्को आलोचना भएपछि उनको सचिवालयले भन्दै आफ्नै खर्चमा हेलिकप्टर चढेको दाबि गरेको छ ।
मुख्यमन्त्री बानियाका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीले आफ्नै खर्चमा हेलिकप्टर चढेको दाबि गरेका हुन् । उनले आज जलवायु सम्बन्धी कार्यक्रममा भाग लिन सिन्धुपाल्चोकको गुम्बाडाँडा जाँदा हेलिकोप्टर लगिएको बताउदै त्यहाँ पुगेपछि सिराहाबाट कांग्रेस सभापति रामचन्द्र यादवको निम्तो आएको र त्यसतर्फ गएको बताएका छन् । उनले भनेका छन्- ‘बागमती प्रदेशका माननीय मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँज्यु आज बिहान सिन्धुपाल्चोकको गुम्बा डाँडामा भएको जलवायु परिवर्तन सम्बन्धि कार्यक्रम र सिरहामा भएको पार्टीको कार्यक्रममा सिरहाका आदरणीय पार्टी सभापति रामचन्द्र यादवज्यूले गर्नुभएको निमन्त्रणामा सडक मार्ग हुँदै दुवै तर्फको कार्यक्रममा सहभागी हुन असम्भव भएको हुँदा उहाँले नितान्त आफ्नो व्यक्तिगत खर्चमा हेलिकप्टर मार्फत दुवै कार्यक्रममा सहभागी हुनुभएको जानकारि गराउँदै भ्रमको पछि नलाग्नु हुन सबैमा जानकारी गराउँदछु ।’
२- नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन भएको भन्दै विशेष महाधिवेशन आव्हान गरेका छन् । विहिबार संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि विकल्पका रूपमा विशेष महाधिवेशन अघि आएको उल्लेख गरेका छन् । उनीहरुले पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो ।
उक्त जिम्मेवारी अन्तर्गतका कार्यहरू संभव भएसम्म सर्वसम्मतिले अगाडि बढाइने उल्लेख गरेका छन् । महामन्त्रीद्वयको विज्ञप्ति: नियमित महाधिवेशन स्थगन/विकल्प विशेष महाधिवेशन १. नियमित महाधिवेशनको कार्यतालिका तथा क्रियाशील सदस्यतासम्बन्धी अवस्था: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत स्थगित गरिएको जानकारी गराइन्छ । महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा आइपुग्दा समग्रमा ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भएको छ।

बाँकी रहेका खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा जिल्ला कार्यसमितिबाट नवीकरण प्रक्रिया टुंगिएपछि कुल नवीकरण संख्या करिब ६ लाखभन्दा बढी पुग्ने अनुमान छ । यस अवधिमा १ लाख ९५ हजार ७ सय ३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भएको छ। अन्य जिल्ला तथा जनसम्पर्क समितिहरूबाट पनि नयाँ सदस्यता इन्ट्रीको कार्य निरन्तर भइरहेको छ। नियमित महाधिवेशन तथा यससँग सम्बन्धित अन्य कार्यतालिका स्थगित भएको अवस्थामा पनि नयाँ क्रियाशील सदस्यता इन्ट्रीको कार्य निरन्तर जारी राख्न सबै तहलाई निर्देश गरिन्छ । पुस २६ गते नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार त्यसअघिका अन्य कार्यतालिका परिमार्जन गरी गति दिन नसकिएको कारण सम्पूर्ण कार्यतालिका प्रभावित भई निष्प्रभावी बन्न पुगेको छ।

उत्पन्न भएको यस्तो अन्योल र अनिश्चिततालाई अन्त्य गर्न यो वक्तव्य जारी गर्न बाध्य भएका छौं । २. विशेष महाधिवेशन सम्बन्धी वैधानिक दायित्व: ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो। तर नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ । अत: पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो। उक्त जिम्मेवारी अन्तर्गतका कार्यहरू संभव भएसम्म सर्वसम्मतिले अगाडि बढाइनेछ ।

३- इङलिश प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक एन्जो मारेस्कालाई बर्खास्त गरेको छ । चेल्सीले विहिबार विज्ञप्ति जारी गर्दै मारेस्का क्लबसँग अलग भएको घोषणा गरेको हो । इटालियन प्रशिक्षक मारेस्कालाई तत्कालदेखि लागु हुने गरि चेल्सीले हटाएको हो । जुलाई १, २०२४ देखि चेल्सीको प्रशिक्षक बनेका मारेस्काले चेल्सीलाई २०२५ को फिफा क्लब विश्वकप र २०२४-२५ सिजनको युइएफए कन्फेरेन्स लिग जिताएका थिए ।

उनको नेतृत्वमा चेल्सीले ९२ खेल खेल्दा ५५ जित, १६ बराबरी र २१ हार बेहोरेको छ । मारेस्कालाई बर्खास्त गरेसँगै चेल्सीले नयाँ प्रशिक्षकको खोजी तिब्र बनाएको छ । मिडिया रिपोर्टका अनुसार चेल्सीले हाल आफ्नै सिस्टर क्लब स्ट्रासबर्गको इन्चार्ज रहेका लियाम रोसेनियरलाई प्रशिक्षक बनाउन सक्ने अनुमान गरिएको छ । उनले पहिले कहिल्यै प्रिमियर लिगमा प्रशिक्षण दिएका छैनन्, तर डर्बी र हल सिटीमा प्रशिक्षण टिममा काम गरेको अनुभव रहेको छ ।

४- प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई पनि मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । आज नेपाल मगर संघको एक प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा राखेकी हुन् । संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको अध्यक्षतामा आएको टोलीले प्रधानमन्त्री कार्कीलाई आउँदो माघे संक्रान्तिमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन निम्ता पनि दिएको छ । निमन्त्रणा प्रदान गर्न टोली आफ्नो परम्पराअनुसार सगुनसहित बालुवाटार आएको थियो । सांस्कृतिक पहिचान झल्किने गरी परम्परागत पोशाकमा आएको टोलीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले भनिन्- ‘अब राजनीति होस् या सांस्कृतिक फाँटमा किन नहोस्, युवालाई नै अघि सार्नुपर्छ। विविध मौलिक परम्परा र संस्कृति हाम्रा अमूल्य निधि हुन्। तिनको जगेर्ना गर्दै नयाँ पिँढीलाई हस्तान्तरण गर्दै जानुपर्छ।’ टोलीमा संघका पदाधिकारी, कलाकार तथा जेनजी अभियन्ताहरु पनि सहभागी थिए ।
५- प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई पनि मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । आज नेपाल मगर संघको एक प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा राखेकी हुन् । संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको अध्यक्षतामा आएको टोलीले प्रधानमन्त्री कार्कीलाई आउँदो माघे संक्रान्तिमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन निम्ता पनि दिएको छ । निमन्त्रणा प्रदान गर्न टोली आफ्नो परम्पराअनुसार सगुनसहित बालुवाटार आएको थियो । सांस्कृतिक पहिचान झल्किने गरी परम्परागत पोशाकमा आएको टोलीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले भनिन्- ‘अब राजनीति होस् या सांस्कृतिक फाँटमा किन नहोस्, युवालाई नै अघि सार्नुपर्छ। विविध मौलिक परम्परा र संस्कृति हाम्रा अमूल्य निधि हुन्। तिनको जगेर्ना गर्दै नयाँ पिँढीलाई हस्तान्तरण गर्दै जानुपर्छ।’ टोलीमा संघका पदाधिकारी, कलाकार तथा जेनजी अभियन्ताहरु पनि सहभागी थिए ।
६- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कुनै पनि परिस्थितिमा कमजोर वा अस्थायी शान्ति सम्झौता स्वीकार नगर्ने बताएका छन् । नयाँ बर्षको शुभकामना सन्देश दिदै जेलेन्स्कीले आफुले युद्ध अन्त्य गर्न चाहेको तर आत्मसमर्पण स्वीकार नगर्ने स्पष्ट गरेका हुन् । आफ्नो सम्बोधनमा जेलेन्स्कीले लगभग चार वर्षको युद्धले युक्रेनीहरूलाई थकित बनाएको छ तर थकान भनेको हार वा आत्मसमर्पण नभएको बताएका छन । उनले उनी केवल त्यस्तो सम्झौतामा हस्ताक्षर गर्नेछन् जुन बलियो होस् र युक्रेनमा दीर्घकालीन शान्ति ल्याउन सक्छ । जेलेन्स्कीले शान्ति सम्झौता लगभग ९० प्रतिशत तयार रहेको बताउदै युक्रेनी क्षेत्रको नियन्त्रण र जनताको सुरक्षाको ग्यारेन्टी सम्बन्धी सम्झौता १० प्रतिशत बाँकी रहेको बताए । युक्रेनले हालको सीमानाहरू रहिरहोस् भन्ने चाहन्छ, जबकि रूस डोनबास र अन्य दक्षिणपूर्वी क्षेत्रहरूमा थप नियन्त्रण चाहेको छ ।
७- भारत र पाकिस्तानले कूटनीतिक माध्यमबाट आफ्ना आणविक प्रतिष्ठान र सुविधाहरूको सूची आदानप्रदान गरेका छन् । भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै आणविक प्रतिष्ठान र सुविधा बारे पाकिस्तानसँग सूचना आदान प्रदान गरेको जानकारी दिएको हो । भारत र पाकिस्तान बीचको आणविक प्रतिष्ठान र सुविधाहरू विरुद्ध आक्रमण निषेध सम्झौता अन्तर्गत यी सुचना आदानप्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
यो सम्झौता डिसेम्बर ३१, १९८८ मा हस्ताक्षर गरिएको थियो र जनवरी २७, १९९१ मा लागू भएको थियो । यसमा भारत र पाकिस्तानले प्रत्येक वर्ष जनवरी १ मा यस सम्झौताले समेटेका आणविक प्रतिष्ठान र सुविधाहरूको बारेमा जानकारी आदानप्रदान गर्ने व्यवस्था गरिएको छ । यो दुई देशहरू बीच लगातार यो सहित ३५औं पटक यस्तो आदानप्रदान भएको छ । यो सूची पहिलो पटक जनवरी १, १९९२ मा साझा गरिएको थियो ।
८- पर्वतको कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङसमेत ४ जना र मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्सविरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुस्मा नगरपालिका- ७ स्थित खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन निर्माणमा दुई पटक ठेक्का गरेर भ्रष्टाचार गरेको पाइएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
अख्तियारले पुरानो ठेक्काबाटसमय सीमामा निर्माण कार्य नगरी निर्माण व्यवसायी सम्पर्कमा नरहेको अवस्थामा निर्माण व्यवसायी मल्ल कन्स्ट्रक्सन तथा सप्लायर्ससँगको ठेक्का सम्झौता अन्त्य गरी नयाँ ठेक्का प्रकृयामा जानुपर्नेमा आर्थिक बर्ष २०७९-८० मा नेपाल सरकारको बिशेष अनुदान विनियोजन भएको भनी पुरानो ठेक्का सम्झौताबाट गर्नुपर्ने कार्यसमेतको लागि नयाँ ठेक्का गरी निर्माण गराएको देखिएको जनाएको छ ।
अख्तियारले कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङविरुद्ध एक करोड १३ लाख ४४ हजार २१६ बिगो कायम गरेको छ भने लेखा अधिकृत कृष्ण प्रसाद शर्माविरुद्ध १७ लाख २ हजार ३४१, तत्कालिन इन्जिनियर आशिष शाक्यविरुद्ध ९६ लाख ४१ हजार ८७४, मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स पर्वत र उक्त फर्मका प्रमुख लाल बहादुर मल्लविरुद्ध एक करोड १३ लाख ४४ हजार २१६ विगो माग गर्दै कानुन अनुसारको कारवाहीको माग गरेको जानकारी दिएको छ ।
९- दुर्गा प्रसाईले आइतबारसम्म सरकारसँग सहमति नभए आन्दोलनको घोषणा गर्ने बताएका छन् । विहिबार सरकारसँगको वार्तापछि प्रतिक्रिया दिदै सरकारले आइतबारसम्मको समय मागेकाले आफुहरुले पर्खिने र सहमति नभए आन्दोलनमा जाने बताएका हुन् । प्रसाईले भने- ‘मैले गम्भीर रुपमा मुद्धाहरु राखे । हामीले उठाएका मुद्धा जनता मुद्धा हुन् भनेर राखे । उहाँहरुले आइतबारसम्मको समय दिनुस ।
आइतबार बसेर दुई पक्ष बसेर हस्ताक्षर गरौँ र सोमबारको क्याबिनेटबाट निर्णय गर्छौं भन्नु भएको छ ।’ प्रसाईले एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान नसक्ने भन्दै आफुहरुका माग ठुला नभएको बताए । उनले आफुहरुले घर लिलाम नगर, जग्गा लिलाम नगर, सुकम्बासी नबनाउन, ऋण तिर्ने मौका देउ भनेको बताए । प्रसाईले आफुले प्रधानमन्त्रीसँग आफ्ना माग पुरा नभए गाउँबाट जग्गा लिलामी गरिदिने लघुवित्त र बैंक लखेट्ने बताएको जानकारी दिए ।
१०- भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगले तत्कालिन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गरेको छ । आयोगले विहिबार लेखकको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छोड्न नपाउने व्यवस्था फुकुवा गरेको हो । आयोगले गत असोज १२ गतेको निर्णय अनुसार लेखकलाई स्थानहद लागाएको थियो । आयोगले लेखकसँग भदौ २३ र २४ का घटनाका बारेमा बयान लिइसकेको छ ।
११- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा धरौटीमा छोड्ने जिल्ला अदालत काठमाडौँको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ । विहिबार पाटन उच्च अदालतका न्यायाधिश खडानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतको आदेश सदर गरेको हो । आदेशमा भनिएको छ- यसमा जाहेरी व्यहोरा, प्रतिवादीहरुको वयान व्यहोरा, रकम प्रयोगको अवस्था, प्रतिवादीहरुको संलग्नता समेतलाई विचार गरी पछि ठहरे बमोजिम हुने गरी तत्काल धरौटी माग गरेको पाइएको, माग गरेको धरौटी दाखिल गरी प्रतिवादीहरु तारिखमा रहेको पाइएको अवस्थामा पछि थप प्रमाण बुइदै जाँदा ठहरे बमोजिम हुनेनै हुँदा मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा ६८ बमोजिम प्रतिवादीहरु रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा, कमल लामाबाट मुद्दा पुर्पक्षका लागि धरौट माग गर्ने गरेको तहाँ अदालतको मिति २०८१/१०/०२, मिति २०८१।१०।०७ र मिति २०८१/०९/२३ को आदेश वेरीतको नदेखिंदा परिवर्तन गरीरहतु पर्ने देखिन आएन। कानून बमोजिम गर्नू ।’ जिल्ला अदालत काठमाडौँले लामिछानेलाई ६० लाख धरौटीमा छोडेको थियो ।
१२- सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय शाहको मृत्यु भएको विषयमा प्रशासन र स्थानीयबीच पाँच बुँदे सहमति भएको छ । सुनसरीको लौकही स्थित ३ नम्बर पोस्टमा बुधबार राति सशस्त्र प्रहरीको गोली लागेर स्थानीय विजय साहको मृत्यु भएको थियो । साहको मृत्यु भएपछि स्थानीयले विरोध जनाउँदै पूर्व पश्चिम राजमार्गको लौकहीमा सडक बन्द गरेर प्रदर्शन गरिरहेका छन् ।
सशस्त्र प्रहरीको गोली लागेर साहको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजक तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी र राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान अधिकृत सदस्य रहेको तीन सदस्य छानबिन गठन गरिएको छ । समितिले सात दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ । साथै सहमतिमा मृतक विजय शाहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी तथा सहजीकरण गरिदिने तथा मृतकको छोरा सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा निजलाई भर्ना हुनका लागि सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग एवं सहजीकरण गरिदिने उल्लेख छ ।
सहमतीका बुदाहरुः १- सशस्त्र प्रहरी बलको गोलीका कारण मृत्यु भएका विजय साहको मृत्यु र गोली प्रहार गर्नु पर्ने कारण र परिणामका सम्बन्धमा छानविन गरी सत्य तथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरीका प्र.ना.उ. र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि रहने गरी ७ (सात) दिन भित्र प्रतिवेदन पेश गर्ने गरी छानविन समिति गठन गर्ने । ।
२- छानविन समितिको प्रतिवेदन प्राप्त भए पछी सुरक्षा अधिकारीको लापरवाहीको कारण मृत्यु भएको पाइएमा नियमानुसारको राहत एवं क्षतिपुर्तीका लागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरी पठाउने । ३- मृतक विजय शाहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी तथा सहजीकरण गरिदिने । ४- मृतकको छोरा सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा निजलाई भर्ना हुनका लागि सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग एवं सहजीकरण गरिदिने । ५- मृतक विजय शाहको शव पोष्टमार्टमको लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र सो पश्चात मृतक परिवारले दाहसंस्कार गर्ने गराउने ।
१३- स्वीजरल्याण्डको क्र्यान्स-मोन्टानाको स्की रिसोर्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या यकिन भएको छैन । प्रहरीले पत्रकार सम्मेलन गरेर दर्जनौंको मृत्यु भएको बताएपनि संख्या भने स्पष्ट भनेको छ । प्रहरीले विस्फोटमा परेकाको उद्धार गर्न १० हेलिकप्टर, ४० एम्बुलेन्स र १५० स्वास्थ्यकर्मीलाई खटाएको जानकारी दिएको छ । विस्फोटको समयमा रिसोर्टमा सय भन्दा बढीको उपस्थिति रहेको बताइएको छ ।
साथै प्रहरीले यो आतंकवादी घटना नभएको स्पष्ट गरेको छ । अहिलेसम्म आतंकवादी घटनाको कुनै प्रमाण नभेटिएको जानकारी दिइएको छ । रिसोर्टमा नयाँ वर्षको पूर्वसन्ध्यामा उत्सव आयोजना गरिरहेको समयमा विस्फोट भएकोले धेरै हताहत भएको अनुमान गरिएको छ । क्र्यान्स-मोन्टान स्विस आल्प्स पर्वत शृङ्खलामा अवस्थित एक लक्जरी स्की रिसोर्ट हो । यो स्विट्जरल्याण्डको राजधानी बर्नबाट लगभग दुई घण्टाको ड्राइभमा छ । यो शहर बेलायती पर्यटकहरूमाझ लोकप्रिय छ ।
१४- जोहरान ममदानीले न्यूयोर्क शहरका पहिलो मुस्लिम मेयरको शपथ लिएका छन् । ममदानीले बिहीबार कुरानमा हात राखेर पदको शपथ लिएका हुन् । यससँगै उनको मेयरको कार्यकाल आजदेखि औपचारिक रुपमा शुरु भएको छ । अहिलेसम्म, धेरैजसो न्यूयोर्क शहरका मेयरहरूले बाइबलमा हात राखेर शपथ लिएका थिए । यद्यपि, संविधानले शपथको लागि कुनै पनि धार्मिक ग्रन्थको प्रयोगलाई अनिवार्य गरेको छैन ।
३४ वर्षीय डेमोक्र्याट ममदानी न्यूयोर्क शहरका पहिलो मुस्लिम, पहिलो दक्षिण एसियाली र पहिलो अफ्रिकी मूलका मेयर हुन् । ममदानीले न्यूयोर्क शहरको सिटी हल मुनि रहेको बन्द सबवे स्टेशनमा शपथ लिए । यो ममदानीको परिवारको उपस्थिति रहेको एक निजी समारोह थियो । दिउँसो सार्वजनिक शपथ ग्रहण समारोह हुनेछ। ममदानीले दुई कुरानमा हात राखेर शपथ लिए । एउटा उनका हजुरबुबाको कुरान थियो र अर्को सानो खल्ती आकारको कुरान थियो । खल्ती आकारको कुरान १८औं शताब्दीको अन्त्य वा १९औं शताब्दीको सुरु तिरको भनिन्छ । यो न्यूयोर्क पब्लिक लाइब्रेरीमा रहेको स्कोम्बर्ग सेन्टर फर रिसर्च इन ब्ल्याक कल्चरको संग्रहको अंश हो ।
१५- नेप्से आज दोहोरो अंकले घटेको छ । विहिबार नेप्से १२.८३ अंकले बढेर २६२०.९२ विन्दुमा पुगेर रोकिएको छ । आज ३३६ कम्पनिका एक करोड १ लाख ५३ हजार २२६ कित्ता शेयर ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार ४७० मा कारोबार भएको थियो । आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज वीन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर ९.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज ग्लोबल आइएमई सम्मुन्नत योजना- २ को शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको २३ करोड ४१ लाख कारोबार भएको छ भने शिभम सिमेन्टको १३ करोड ८० लाखको कारोबार भएको छ ।
१६- गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यथास्थानबाट सरोकारवाला सबैको यथोचित भूमिकाको अपेक्षा गरेको बताएका छन् । बिहीबार अध्यागमन विभागद्वारा काठमाडौँमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको यथोचित भूमिकाको अपेक्षा गरेको बताएका हुन् ।
उनले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने उदेश्यले शुभारम्भ भएको यस प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणालीमा एक कोशे ढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार यस प्रणालीले अध्यागमन कानुन बमोजिम विदेशी नागरिकको आवतजावत, बसाईलाई प्रभावकारी बनाउने उनीहरूको व्यक्तिगत सुरक्षा थप मजबुत बनाउन, विपद्को समयमा खोजी तथा उद्धार कार्यमा सहजीकरण गर्न, उनीहरूको नेपाल बसाइका क्रममा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र अपराधको अनुसन्धान प्रभावकारी बनाउन र विश्व स्तरमा नेपाल लाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सहयोग गर्ने बताए ।
१७- जनमत पार्टीले राष्ट्रिय धोती दिवस मनाएको छ । बिहीवार अंग्रेजी नयाँ बर्षको दिन विहिबार जनमत पार्टीले देशका विभिन्न स्थानमा धोती दिवस मनाएको हो । पार्टीका नेता–कार्यकर्ताहरूले धोती–कुर्ता लगायत मौलिक पोशाक लगाएर र्याली निकालेका थिए । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले धोती लगाएर काठमाडौंको माइतीघर मण्डला, जनकपुर, वीरगन्जलगायतका स्थानमा धोती दिवस मनाएका छन् ।
१८- नवलपरासीको बर्दघाट नगरपालिका–१२ भटौलियास्थित कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई मजदुरको मृत्यु भएको छ । गएराति उद्योगमा काम गरेर कोठामा सुतेका एक भारतीय र नेपाली मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षिय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्लाका ३० वर्षिय विनोदकुमार रहेका छन् । मृतक दुबै जना अग्नी नियन्त्रण प्लान्ट काम गर्ने मजदुर रहेको उद्योगले जनाएको छ । उनीहरु उद्योगको ग्यासी फायरको पोकिङ् फ्लोरमा एकै ठाउँमा गत्ता ओछ्याएर सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनापछि स्थानीय आक्रोशित हुदै उद्योगको लापरबाहीले घटना घटेको र दोषीलाई कारबाहीको माग गर्दै उद्योग घेराउन गरेका छन् । शव पोष्टमार्टमका लागि लैजान खोजेपनि स्थानीयले दोषीलाई कारवाहीको माग गर्दै अवरोध गरेपछि अहिलेसम्म पठाउन नसकिएको प्रहरीले जनाएको छ ।
१९- नेपाली बजारमा आज पनि सुनचाँदी मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ५९ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ६१ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर ४४१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४७० मा कारोबार भएको थियो ।
२०- इरानको मुद्रा, रियाल, अमेरिकी डलरको तुलनामा इतिहासकै सबैभन्दा कम स्तरमा झरेको छ । पछिल्लो तथ्याङ्क अनुसार, अब एक अमेरिकी डलर किन्न लगभग १४ लाख इरानी रियाल खर्च लाग्छ । यो गिरावटले देशमा मुद्रास्फीतिलाई अझ बढाएको छ । रियालमा यो तीव्र गिरावट यस्तो समयमा आएको छ, जब इरान पहिले नै अमेरिकी र पश्चिमी प्रतिबन्धहरू, क्षेत्रीय तनावहरू र घरेलु आर्थिक संकटसँग जुधिरहेको छ ।
डलरको तुलनामा रियालको गिरावटले आयातलाई अत्यन्तै महँगो बनाएको छ, जसले आम जनताको जीवनमा प्रत्यक्ष असर पारेको छ । अवस्था यति बिग्रिएको छ कि इरानको केन्द्रीय बैंकका प्रमुख मोहम्मद रेजा फरजिनले सोमबार आफ्नो पदबाट राजीनामा दिए । देशमा महंगी बढेपछि तेहरान र अन्य धेरै शहरहरूमा विरोध प्रदर्शनहरू भईरहेका छन् । बढ्दो मुद्रास्फीति, घट्दो क्रयशक्ति र सरकारको आर्थिक नीतिहरूबाट मानिसहरू क्रोधित छन् । इरानको राज्य तथ्याङ्क केन्द्रका अनुसार, डिसेम्बरमा देशको मुद्रास्फीति दर ४२.२ प्रतिशतमा पुगेको छ, जुन गत वर्षको सोही समयको तुलनामा उल्लेखनीय रूपमा बढी हो ।
यो दर नोभेम्बरको तुलनामा १.८ प्रतिशतले बढी हो । आम जनताको दैनिक आवश्यकता सबैभन्दा बढी प्रभावित भएको छ । तथ्याङ्क अनुसार, गत वर्षको डिसेम्बरको तुलनामा खाद्यान्नको मूल्य लगभग ७२ प्रतिशतले बढेको छ । स्वास्थ्य र चिकित्सा सेवाको लागत लगभग ५० प्रतिशतले बढेको छ । यसैबीच, इरानको सरकारी मिडियामा आएका रिपोर्टहरूले चिन्तालाई थप बढाएको छ । रिपोर्टका अनुसार, सरकारले मार्च २१ बाट सुरु हुने इरानी नयाँ वर्षबाट कर बढाउने योजना बनाइरहेको छ । मानिसहरू पहिले नै मुद्रास्फीतिबाट पीडित भइरहेका बेला, कर वृद्धिको सम्भावनाले क्रोध र डर दुवै बढाएको छ ।
FACEBOOK COMMENTS