काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपालले काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले किर्गिस्तान ३-० को सोझो सेटमा पराजित गरेको हो । नेपालले २५-१८, २५-२० र २५-१३ को सोझो सेटमा किर्गिस्तानलाई पराजित गरेको हो । यसअघि शुक्रबार सम्पन्न प्रतिष्पर्धात्मक खेलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो । अब नेपालले आइतबार माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ । नेपाल सेमिफाइनलमा पुग्न माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्नुपर्ने अवस्था बनेको छ ।
२- सरकारले आ.व.२०८२/८३ का लागि नविकरण भएका शैक्षिक परामर्शदातृ संस्थाहरूसँग मात्र सेवा लिन आग्रह गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयबाट स्वीकृति प्राप्त ७६० शैक्षिक परामर्शदातृ संस्था (कन्सल्टेन्सी) बाट मात्र सेवा लिन आग्रह गरेको हो ।
मन्त्रालयले भनेको छ- ‘आर्थिक वर्ष २०८२/०८३ का लागि हालसम्म नविकरण भएका संस्थाहरूको सूची मिति २०८३/०२/०६ को सचिव स्तरिय निर्णय अनुसार प्रकाशन गरिएको छ । शैक्षिक परामर्श लगाएतका सेवाहरु लिदा सँलग्न सूचिबाट सैस्थाहरुले उपलब्ध गराउन पाउने सेवाहरु पहिचान गरेर मात्र सेवा लिनुहुन समेत सम्बन्धित सबैमा सूचित गरिन्छ । शैक्षिक परामर्शदातृ निकायहरुले समेत स्वीकृत सेवाहरुको अधिनमा रहेर सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउनुहुन समेत जानकारी गराइन्छ ।’ मन्त्रालयले आ.व.२०८२/८३ का लागि कुल ७६० कन्सल्टेन्सी नवीकरण भएको जानकारी दिएको छ ।
३- नेकपा एमालेको सचिवालय बैठक भोली पनि बस्ने भएको छ । उपमहासचिव लेखराज भट्टका अनुसार आज महासचिव, उपमहासचिव र पाँच सचिवले आफ्नो धारणा राखेको र आइतबार चार जना सचिवले आफ्नो धारणा राख्ने बताएका हुन् । बैठकमा पाँच सचिवले बोलेपछि यसअघि प्रस्तुत गरिएका एजेण्डामा छलफल हुने बताए । भट्टले शुक्रबारको बैठकमा नेताहरुले बोलेका विषय अतिरन्जित किसिमले मिडियामा आएको समेत बताए । उनले आजको बैठकमा धारणा राख्नेहरुले कमि कमजोरी सच्याएर ओलीकै नेतृत्वमा पार्टीलाई एकताबद्ध भएर अगाडी जानुपर्छ भन्ने बताएको उल्लेख गरे । जेठ ४ गतेदेखि शुरु भएको बैठक आइतबार बिहान ११: ३० बजे अध्यक्षकै निवासमा पुनः बस्ने तय भएको भट्टले बताए ।

४- नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले सहकारी ठगी प्रकरण र कानुनी प्रक्रियाबारे गम्भीर प्रश्न उठाउँदै विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता र लोकतान्त्रिक प्रणालीको विश्वसनीयतामाथि बहस आवश्यक रहेको बताएका छन्। उनले कुनै एक व्यक्ति वा पार्टी लक्षित प्रश्न नभई समग्र न्याय प्रणाली र राज्य संयन्त्रप्रति उठेको प्रश्न भएको स्पष्ट पारेका छन्। उनका अनुसार जब जवाफदेही निकाय स्वयं विवादास्पद निर्णयमा संलग्न हुन्छन्, तब समान न्यायको सुनिश्चितता कसरी हुन्छ भन्ने मूल प्रश्न उठ्छ। चालिसेले ‘चयनात्मक न्याय’ को विषय उठाउँदै सहकारी ठगी र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा फरक–फरक अभियोग र व्यवहार किन भयो भन्ने प्रश्न गरेका छन् ।

उनले रवि लामिछाने, जीबी राईलगायतका नाम उल्लेख गर्दै समान प्रकृतिका मुद्दामा फरक कानुनी व्यवहार देखिनु असमानताको संकेत हो कि होइन भन्ने जिज्ञासा राखेका छन् । उनले भनेका छन्- ‘एउटै प्रकृतिको सहकारी ठगी र सम्पत्ति शुद्दिकरणको मुद्दामा अन्य मुद्दाका आरोपितहरूलाई कडा अभियोजन हॅुदा रवि लामिछाने, जीवी राई लगायतलाई अभियोग हटाएर छुट दिईनु असमान व्यवहार मानिन्छ कि मानिदैन ? सरकारले भनिदिनु पर्यो जीवी राई र ईच्छाराम तामाङविरुद्धको अभियोगमा के फरक छ ।’ उनले कानुनी प्रक्रियाबारे प्रश्न उठाउँदै अपराधको प्रकृति समान हुँदा कानुनी व्यवहार किन फरक हुन्छ भन्ने प्रश्न गरेका छन् ।

साथै, सामान्य नागरिक र प्रभावशाली व्यक्तिमाथि एउटै अपराधमा एउटै निर्णय हुन्छ कि हुँदैन भन्ने विषयमा पनि स्पष्टता आवश्यक रहेको बताएका छन् । त्यस्तै, महान्यायाधिवक्ताको निर्णय, अभियोग संशोधन तथा मिलापत्रमार्फत मुद्दा व्यवस्थापन गर्दा न्यायिक स्वतन्त्रता कमजोर हुन्छ कि राजनीतिक प्रभाव बढ्छ भन्ने प्रश्न पनि उनले उठाएका छन् । चालिसेले लोकतान्त्रिक प्रणालीबारे प्रश्न गर्दै यो ‘कानुनको शासन’ हो कि ‘शक्तिको शासन’ हो भन्ने गम्भीर बहस आवश्यक भएको बताएका छन् । संविधान र अदालतप्रति जनविश्वास कमजोर भए लोकतन्त्र कता जान्छ भन्ने चिन्ता पनि उनले व्यक्त गरेका छन् ।
उनले अदालतका निर्णयप्रति नागरिक चासो स्वाभाविक भएको भन्दै पीडितको रकम फिर्ता र मिलापत्रलाई मात्र आधार बनाउँदा न्यायको मूल उद्देश्य पूरा हुन्छ कि हुँदैन भन्ने प्रश्न समेत उठाएका छन् । नागरिकले न्यायिक निष्पक्षतामाथि प्रश्न उठाउनु र जवाफदेहिता माग्नु लोकतान्त्रिक अधिकार भएको उल्लेख गर्दै उनले यसलाई राजनीतिक दृष्टिकोणभन्दा माथि राखेर बहस गर्नुपर्ने बताएका छन् । त्यसैगरी उनले यो प्रकरण संगठित ठगी हो कि होइन भन्ने विषय पनि स्पष्ट हुनुपर्ने भन्दै संरचित योजना र निरन्तर लाभको सम्भावनाबारे प्रश्न उठाएका छन् । चालिसेले अन्त्यमा अपराधको राजनीतिकरण र राजनीतिमा अपराधको प्रवेशले सुशासन कमजोर बनाउँछ कि बनाउँदैन भन्ने विषयमा पनि गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् ।
५- पोखरा बसपार्क क्षेत्रभित्रका जग्गाधनी प्रमाणपत्र भएका व्यक्तिहरूलाई आवश्यक कागजात पेश गर्न तथा सटर र कवल लगायतका संरचना हटाउन पोखरा उपत्यका नगर विकास समितिले अत्यन्त जरुरी सूचना जारी गरेको छ । समितिका अनुसार पोखरा बसपार्क क्षेत्रभित्र रहेको आफ्नै स्वामित्वको जग्गा दाबी गर्ने सम्पूर्ण जग्गाधनीहरूले आफ्नो प्रमाण खुल्ने कागजातहरू सात दिनभित्र कार्यालयमा बुझाउनुपर्नेछ ।
त्यसैगरी पोखरा बसपार्क क्षेत्र, पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर तथा पूर्वतर्फ सेती नदी क्षेत्रसम्म पसल, सटर तथा कवल निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र ती सबै संरचना हटाउन आग्रह गरिएको छ। समितिले तोकिएको समयभित्र संरचना नहटाइएमा पोखरा उपत्यका नगर विकास समितिले आफैं हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने स्पष्ट पारेको छ । समितिले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षको सम्पत्ति कर वा भूमिकर तिरेको रसिद र जग्गासँग सम्बन्धित अन्य प्रमाणित कागजातहरू सहित सम्पर्क गर्न आग्रह गरेको छ । साथै समितिले बसपार्क निर्माण कार्यलाई सहज बनाउन सबै पक्षलाई सहयोग गर्न समेत अनुरोध गरेको छ ।
६- काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा भारतले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । भारतले २५-९, २५-१४ र २५-१७ को सोझो सेटमा जित हासिल गरेको हो । भारतले यसअघि शुक्रबार नेपाललाई पराजित गरेको थियो । त्यस्तै आजै सम्पन्न अर्को खेलमा काजकिस्तानले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ । काजकिस्तानले २५-९, २५-१८ र २५-१५ को सोझो सेटमा जित हासिल गरेको थियो ।
७- म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेज प्रिमियर लिग सिजनकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रिमियर लिगले पोर्चुगाली मिडफिल्डर फर्नान्डेजले एर्लिङ हालान्ड, एन्टोइन सेमेन्यो, गाब्रियल, डेक्लान राइस, डेभिड राया, मोर्गन गिब्स ह्वाइट र इगोर थियागोलाई पछि पार्दै अवार्ड जितेको घोषणा गरेको छ । फर्नान्डेज म्यानचेस्टर युनाइटेडको सिजनको दोस्रो चरणको उत्कृष्ट प्रदर्शनका मुख्य खेलाडी बने ।
उनले यस सिजन ८ गोल गर्नुका साथै २० गोल असिस्ट गरेका छन् । उनको २० असिस्टसँगै उनले एकै प्रिमियर लिग सिजनमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमान बराबरी गरेका छन् । यसअघि यो कीर्तिमान थिएरी हेनरी र केभिन डी ब्रुनेको नाममा रहेको थियो । सन् २०१०-११ मा नेमान्जा भिडिचपछि प्रिमियर लिगको उत्कृष्ट खेलाडी बन्ने पहिलो म्यानचेस्टर युनाइटेड खेलाडी पनि फर्नान्डेज बनेका छन् । अब सिजनको अन्तिम खेलमा ब्राइटनविरुद्ध मैदान उत्रँदा उनी सर्वाधिक असिस्टको नयाँ कीर्तिमान बनाउने अवसरमा रहनेछन् । म्यानचेस्टर युनाइटेडले यस सिजनमा तेस्रो स्थानमा रहदै सिजन समाप्त गर्दैछ । यस सिजनको प्रिमियर लिग उपाधि भने आर्सनलले जितेको छ ।
८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्लाको बैठकमा विवाद भएको छ । शनिबार बसेको विस्तारित बैठकमा हङ्गामा भएपछि जिल्लाका सांसदहरु बैठकबाट भाग्नुपर्ने अवस्था सिर्जना भएको थियो । बैठक शुरु हुनासाथ कार्यकर्ताहरुले होहल्ला र विरोध गरेका थिए । विस्तारित बैठकमा विवाद चर्किँदा चार सांसद बैठकस्थलबाटै लखेटिएका छन् । रास्वपाले हालै जिल्ला समिति बिघटन गरेपछि जिल्लामा विवाद बढेको छ । बैठकमा भएको हङ्गामापछि जिल्लाका सांसदहरु गणेश धिमाल, चन्दन कुमार सिंह, अरविन्द शाह र रहवर अन्सारीलाई सुरक्षाकर्मीहरुले सुरक्षित निकालेका थिए । जिल्लामा संस्थापकहरूमाथि धोका भएको भन्दै पार्टी स्थापनादेखि रगत पसिना बगाएका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका जिल्ला पदाधिकारी र स्थानीय तहका सभापतिहरूलाई संगठनबाटै पाखा लगाएर आफ्ना मान्छे ल्याउन खोजेको भन्दै जिल्लामा विरोध भएको छ ।
९- नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेकी छन् । शाक्यले ओलीले लगातार तीन कार्यकालसम्म पार्टी नेतृत्व गरिसकेको उल्लेख गर्दै अब कार्यकर्ताको भावना बुझेर नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने बताएकी हुन् । उनले निर्वाचनपछि गौरवपूर्ण इतिहास बोकेको एमाले कमजोर अवस्थामा पुगेको दाबी गर्दै पार्टीलाई पुनः आन्दोलनको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्न सकिने उल्लेख गरिन् । शाक्यले ओलीमा अझै पनि दम्भ, घमण्ड र गुटगत सोच देखिएको आरोप लगाउदै एमाले कुनै एक व्यक्तिको निजी सम्पत्ति वा गुटको कम्पनी नभएको बताउँदै लाखौं कार्यकर्ताको त्याग, संघर्ष र बलिदानबाट बनेको पार्टी भएको स्मरण गराइन् ।
उनले भनेकी छन्- ‘अहिले पनि तपाईँले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच .म उस्तै देख्छु । बलिदानको रगतले जन्मेको पार्टी हो एमाले । लाखौं कार्यकर्ताहरूको त्याग र सङ्घर्षबाट अगाडि बढेको पार्टी हो एमाले । यो पार्टी तपाईं को मात्र पेवा होइन । एमाले तपाईँको गुटको कम्पनी पनि होइन । त्यसैले कमरेड शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ । अहिले एक्काइसौँ शताब्दीमा छौं हामी आजको समयको माग विचार, सामूहिकता सङ्घर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो ।’ शाक्यले अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण गर्नुपर्ने धारणा राख्दै सम्मानपूर्वक अध्यक्ष पदबाट विदा लिन ओलीलाई आग्रह गरेकी छन् ।
१०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानसँग भइरहेको युद्धविराम र आणविक वार्ताबाट इजरायललाई लगभग बाहिर राखेको दाबी गरिएको छ । न्युयोर्क टाइम्सको रिपोर्टअनुसार इजरायली अधिकारीहरूले अमेरिका–इरान वार्ताबारे प्रत्यक्ष जानकारी वासिङ्टनबाट पाउन छाडेका छन् । उनीहरूले अहिले क्षेत्रीय नेताहरू, कूटनीतिक सम्पर्क र इरानभित्रको गुप्तचर निगरानीमार्फत जानकारी संकलन गर्नुपरेको बताइएको छ । यो परिवर्तनलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका लागि ठूलो राजनीतिक झट्का मानिएको छ ।
नेतन्याहूले लामो समयदेखि आफूलाई ट्रम्पमाथि सबैभन्दा बढी प्रभाव पार्ने नेताका रूपमा प्रस्तुत गर्दै आएका थिए । युद्ध सुरु भएपछि उनले ट्रम्पसँग लगभग दैनिक संवाद हुने र संयुक्त रूपमा निर्णय लिने दाबी गरेका थिए । रिपोर्टका अनुसार ट्रम्प प्रशासन अहिले इरानसँग सीमित अवधिका लागि मात्र आणविक गतिविधिमा रोक लगाउने प्रकारको सम्झौतामाथि विचार गरिरहेको छ । यो प्रस्ताव सन् २०१५ को आणविक सम्झौतासँग मिल्दोजुल्दो रहेको बताइएको छ, जसको नेतन्याहूले त्यसबेला कडा विरोध गरेका थिए । इजरायलको अर्को ठूलो चिन्ता भनेको वार्तामा इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम समावेश नहुन सक्ने विषय हो । मार्च र अप्रिलमा इरानी क्षेप्यास्त्र आक्रमणका कारण इजरायलको जनजीवन प्रभावित भएको थियो ।
यस्तो अवस्थामा यो मुद्दा वार्तामा नआए इजरायलका लागि ठूलो झट्का हुने बताइएको छ । त्यस्तै, अमेरिका यदि इरानमाथिका आर्थिक प्रतिबन्ध हटाउने दिशामा अघि बढे तेहरानले अर्बौं डलर प्राप्त गर्न सक्ने र त्यसबाट हतियार कार्यक्रम तथा हेजबुल्लाहजस्ता सहयोगी समूहलाई थप बलियो बनाउन सक्ने चिन्ता पनि इजरायलले व्यक्त गरेको छ । रिपोर्टमा युद्धको सुरुआती चरणमा अमेरिका र इजरायलबीच निकै नजिकको समन्वय रहेको उल्लेख गरिएको छ । दुवै देशका सेनाले संयुक्त रणनीतिमा काम गरिरहेका थिए । तर युद्ध लम्बिँदै जाँदा र इरानले होर्मुज जलडमरु बन्द गरी तेलको मूल्य बढाएपछि ट्रम्प प्रशासनको ध्यान युद्ध अन्त्यतर्फ केन्द्रित हुन थालेको बताइएको छ । त्यससँगै अमेरिका र इजरायलका प्राथमिकतामा दूरी बढ्न थालेको रिपोर्टमा उल्लेख छ ।
११- फ्रान्सको कान्समा भएको यस वर्षको फिल्म फेस्टिभल नेपालीले गौरव महसुस गर्ने स्तरमा भएको प्रतिक्रिया दिँदै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, यो क्षण नेपाली चलचित्र उद्योगका लागि गर्व गर्न लायक भएको बताएकी छन् । फेस्टिभलमा भाग लिएर स्वदेश फर्किएपछि आज विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले, फेस्टिभलमा अविनाश विक्रम शाहले निर्देशन गर्नुभएको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरु)’ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले नेपाली चलचित्र तथा रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ अझ अग्लिएको धारणा राखिन् । उनले भनिन्- ‘नेपाली चलचित्र वर्ल्ड प्रिमियर हुँदा कलाकारसँगै बसेर चलचित्र हेर्दा गौरव अनुभूति भयो ।
चलचित्रले लगातार ७ मिनेटसम्म स्टयान्डिङ ओभेसन (लगातार ताली) प्राप्त गरेको थियो । सबै दर्शक इमोसनल हुनुभएको थियो । फेस्टिभलको इतिहासमा नेपाली चलचित्रलाई प्राप्त भएको यो पहिलो अवसर फुटवलप्रेमीहरुका लागि विश्वकपमा जिते जत्तिकै महत्वपूर्ण र ऐतिहासिक बन्यो । यो स्थान हासिल गर्नका लागि अथक प्रयत्न गर्ने पर्दा अगाडिका कलाकार र पर्दा पछाडि निर्माण तथा सिर्जनामा काम गर्ने सबैप्रति हामी आभार र कृतज्ञता प्रदान गर्न चाहन्छौँ ।’
महोत्सवको काठमाडौँ सम्बन्धका विषयमा कुराकानी गर्दै उनले भनिन्- ‘काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने फिल्म फेस्टिभलको विषय कान्स महोत्सवमार्फत अन्तरराष्ट्रिय मञ्चमा पुर्याउनु, चलचित्र विधाका नगरहरुका बिचमा आपसी सम्बन्ध, सिकाइ तथा प्राविधिक क्षमता आदान प्रदानको विषय प्रवेश हुनु हामी सबैका लागि सुखद कुरा हो । अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सिप र अनुभवको उपयोग र फिल्म महोत्सव मार्फत हामी रचनात्मक उद्योगसँग सम्बन्धित क्षेत्रको सन्तुलित विकास गराउन चाहन्छौँ ।’ फेस्टिभलमा परम्परागत पोशाकमा सहभागी भएको बारे उनले भनिन्- ‘मैले नेवार समुदायको मौलिक पोशाक हाकुपटासी लगाएकी थिएँ । म नेवार, त्यसमा पनि ज्यापू समुदायको प्रतिनिधित्व गर्छु । हाम्रो संस्कार, संस्कृति र परम्पराको प्रतिनिधित्व गर्दै हाकुपटासी लगाएकी हुँ ।
यो नेपालको मौलिक पोशाक भएकोले नेवार समुदायले मात्र होइन । विश्वभर बसेका नेपालीले गौरव महसुस गर्ने विषय हो । यसले हाम्रो पहिचानलाई विश्व सामु पु¥याएको छ ।’ फ्रान्सको कान्स नगरका मेयर डेभिड लिसनार्डको निमन्त्रणा गएको आइतबार फ्रान्स प्रस्थान गरेकी डंगोलले, मेयर लिसनार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएकी छन् ।
मेयर डेभिडले, काठमाडौँ फिल्म फेस्टिभलको सफलताका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन् । फेस्टिभलमा चलचित्र उत्पादनसँग सम्बन्धित प्रविधि र प्राविधिक स्थलको अवलोकन, यी विषयमा नगरका प्रमुखहरु तथा रचनात्मक उद्योग क्षेत्रका अधिकारीहरुसँग आपसी सिकाइ, भोगाइ तथा अनुभव आदानप्रदान भएको थियो । चलचित्रबाट गीत, संगीत, साहित्य, फेसन, खाना जस्ता कला, शैली र शिल्पलाई रचनात्मक उद्योगमा विकसित गर्ने सम्भावनाका विषयमा कुराकानी भएको थियो । स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय क्षेत्रका चलचित्रलाई सिर्जनात्मक उद्योगमा जोड्ने, शिक्षा तथा प्राज्ञिक क्षेत्र, पेशाकर्मीको सहभागिता, आपसी सिप र हितका विषय भेट र छलफलमा समेटिएका थिए । कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् ।
१२- प्रहरीले काठमाडौँको गोंगबुबाट ४५ राउण्ड गोली र एसएलआर हतियारको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँको टोखा नगरपालिका- ९ स्थित गोंगबु शिव मन्दिरस्थित काबेली गेस्टहाउसमा चेकजाँचको क्रममामा सप्तरीका २७ बर्षिय खगेन्द्र शर्मा र काठमाडौँको नरेफाँट बस्ने सप्तरीका २२ बर्षिय ओमशंकर गुप्तालाई ४५ राउण्ड गोली र एसएलआर हतियारमा प्रयोग हुने म्यागजिनसहित पक्राउ गरेको हो । साथै प्रहरीले मेटलको नक एक थानपनि बरामद गरेको जानकारी दिएको छ ।
१३- चीनको शान्सी प्रान्तस्थित एक कोइला खानीमा भएको भीषण विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु भएको छ । यो घटना पछिल्लो एक दशकयताकै चीनको सबैभन्दा ठूलो कोइला खानी दुर्घटना मानिएको छ । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोट शुक्रबार किनयुआन काउन्टीमा भएको हो । उक्त क्षेत्र राजधानी बेइजिङबाट करिब ५२० किलोमिटर दक्षिणपश्चिममा पर्छ । दुर्घटनाअघि खानीभित्र कार्बन मोनोअक्साइड ग्यासको मात्रा बढेको चेतावनी जारी गरिएको थियो । त्यसको केही समयपछि शक्तिशाली विस्फोट भएको बताइएको छ ।
विस्फोट हुँदा खानीभित्र २४७ मजदुर काम गरिरहेका थिए । अझै कति मजदुर भित्र फसेका छन् भन्ने स्पष्ट हुन सकेको छैन । राहत तथा उद्धार कार्य जारी रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन् । दुर्घटनापछि सुरुमा सरकारी सञ्चारमाध्यमले ८ जनाको मृत्यु भएको र २०० भन्दा बढी मजदुरलाई सुरक्षित निकालिएको जानकारी दिएका थिए । तर केही समयपछि मृतक संख्या अचानक बढेर ८२ पुगेको र पछि ९० पुगेको बताइएको छ । संख्या कसरी यति छिट्टै बढ्यो भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन । चिनियाँ राष्ट्रपति सी जिनपिङले दुर्घटनापछि उद्धार टोलीलाई बेपत्ता मजदुरको खोजीमा सबै प्रयास गर्न निर्देशन दिएका छन् ।
उनले घटनाका जिम्मेवार व्यक्तिलाई कारबाही गरिने पनि बताएका छन् । प्रारम्भिक अनुसन्धानमा खानीभित्र कार्बन मोनोअक्साइड ग्यासको मात्रा अत्यधिक बढेकाले विस्फोट भएको आशंका गरिएको छ । घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ । राष्ट्रपति जिनपिङले सबै सरकारी निकाय र क्षेत्रलाई यस घटनाबाट पाठ सिक्न, कार्यस्थल सुरक्षामा विशेष ध्यान दिन र यस्ता ठूला दुर्घटना रोक्न जोखिमको गम्भीर मूल्यांकन गर्न निर्देशन दिएका छन् ।
१४- नेपाली कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रीत लुम्बिनी प्रदेश स्तरीय कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि जेठ १४ र १५, २०८३ तय गरिएकोमा सो कार्यक्रम १८ र १९ जेठ, २०८३ मा सम्पन्न गर्ने गरि मिति परिवर्तन भएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । काँग्रेसले यसअघि सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा भेला गरिसकेको छ ।
१५- विश्वकै सबैभन्दा शक्तिशाली मानिने ‘स्टारशिप’ रकेटको नयाँ तथा ठूलो संस्करण (भी–३) को पहिलो परीक्षण सफलतासँगै केही प्राविधिक चुनौतीहरू देखिएको छ । टेक्सासको दक्षिणी भागमा रहेको स्टारबेस प्रक्षेपण केन्द्रबाट उडान भरेपछि रकेटको इन्जिनमा समस्या देखिएको थियो । जसका कारण रकेट नियन्त्रण गुमाउने जोखिमसमेत उत्पन्न भएको थियो । तर करिब एक घण्टापछि स्टारशिप अन्तरिक्ष यान हिन्द महासागरमा सुरक्षित अवतरण गर्न सफल भयो । यो परीक्षण स्टारशिप शृंखलाको १२औँ परीक्षण हो भने भी–३ संस्करणको पहिलो परीक्षण थियो । नेपाली समयअनुसार यो प्रक्षेपण शनिबार बिहान गरिएको हो ।
एलन मस्कको कम्पनी स्पेसएक्सले निर्माण गरेको यो रकेट ‘स्टारशिप’ र ‘सुपर हेभी बूस्टर’ मिलेर बनेको हो, जसको कुल उचाइ ४०३ फिट छ । यो पूर्ण रूपमा पुनः प्रयोग गर्न मिल्ने रकेट हो । परीक्षणका क्रममा ‘सुपर हेभी बूस्टर’ आफ्नो नियन्त्रित अवतरण प्रक्रिया पूरा गर्न असफल भयो । बूस्ट–ब्याक बर्न प्रक्रिया अधुरो रहेपछि बूस्टर पानीमा नियन्त्रित रूपमा अवतरण हुन सकेन । मुख्य स्टारशिप अलग भएपछि पनि अर्को समस्या देखियो । यसको ६ मध्ये ५ मात्र इन्जिन सुरु हुन सके, जसका कारण यो पूर्ण रूपमा निर्धारित कक्षीय मार्गमा पुग्न सकेन । यद्यपि यसको उडान सुरक्षित सीमाभित्र रहेकाले यो सब–अर्बिटल उडान पूरा गर्न सफल भयो । तर इन्जिन पुनः परीक्षण गर्ने अर्को चरण भने पूरा हुन सकेन । यो परीक्षणको मुख्य उद्देश्य रकेटलाई प्रक्षेपण, अलग हुने प्रक्रिया, इन्जिन पुनः सञ्चालन र समुद्रमा तोकिएको स्थानमा सुरक्षित अवतरणसम्मको सम्पूर्ण प्रणाली परीक्षण गर्नु थियो ।
यसअघि स्टारशिपको ११औँ परीक्षण २०२५ अक्टोबर १४ मा गरिएको थियो, जसमा सुपर हेभी बूस्टर अमेरिकाको खाडी क्षेत्रमा पानीमा अवतरण भएको थियो भने स्टारशिप हिन्द महासागरमा अवतरण भएको थियो । १०औँ परीक्षण २०२५ अगस्ट २७ मा सफल भएको थियो, जसमा स्टारलिङ्क सिमुलेटर उपग्रहहरू अन्तरिक्षमा छोड्ने र इन्जिन सञ्चालनजस्ता सबै लक्ष्य पूरा भएका थिए । त्यसअघि २०२५ जुन २९ मा हुने भनिएको परीक्षण स्थिर परीक्षणका क्रममा भएको विस्फोटका कारण असफल भएको थियो । उक्त घटनामा रकेटको माथिल्लो भागमा अचानक विस्फोट भई सम्पूर्ण संरचना आगोमा जलेको थियो ।
१६- नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ । यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र अगाडी बढ्न सक्ने भन्दै ओलीलाई पद छोड्न दबाब दिएका छन् । उनले कुनै पनि बहानामा यसलाई रोक्न खोज्नु अधोगति निम्त्याउनु भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्- ‘ यतिवेला नेकपा (एमाले) आत्मसमीक्षा र पुनर्गठन को बाटो बाट मात्र अगाडि बढ्न सक्छ ! जुनसुकै बहानामा यसलाई रोक्न खोज्नु अधोगति निम्त्याउनु हो ।’ यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पनि पाँच मध्ये चार उपाध्याक्षले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । बैठकमा उपाध्यक्ष राम बहादुर थापा बादलले मात्र ओलीको बचाउ गरेका थिए ।
१७- विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा दिइने भएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडी बढाईएको छ भने सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीलाई सहायक हवल्दार पदमा बढुवा भएको अवधि पुगेपछि हवल्दारमा बढुवा गरिने भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा राखिएको सम्मान कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सो घोषणा गरेका हुन् । सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिईन् भने सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथा र जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको सफल आरोहण गरेकी थिईन् । सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरु पहिलो महिला आरोही हुन् ।
१८- नेपाली चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेको छ । अभिनाश विक्रम शाहद्वारा निर्देशित चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले ७९औँ कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत जुरी पुरस्कार जितेको छ । यो उपलब्धि केवल एउटा चलचित्रको सफलता मात्र नभई नेपाली चलचित्र उद्योगकै लागि ऐतिहासिक क्षणका रूपमा हेरिएको छ । यसअघि नै उक्त चलचित्र प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुने पहिलो नेपाली पूर्णलम्बाइ चलचित्र बनेको थियो । अब यसले सोही विधाको महत्वपूर्ण सम्मानसमेत जित्न सफल भएको हो ।
चलचित्रमा नेपालको जंगल आसपास बसोबास गर्ने किन्नर समुदायको कथा प्रस्तुत गरिएको छ । यसले प्रेम, जिम्मेवारी, पहिचान र अस्तित्वको संघर्षलाई गहिराइ र मानवीय संवेदनासहित चित्रण गरेको बताइएको छ । कान्सको विश्वमञ्चमा नेपाली टोलीको उपस्थितिदेखि चलचित्र प्रदर्शन र अन्तर्राष्ट्रिय सम्मानसम्मको यात्राले नेपाली चलचित्र क्षेत्रलाई गौरवान्वित बनाएको छ । फिल्ममा मुख्य कलाकारहरू पुष्प थिङ लामा, सहद दिन मिया, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, चयन अधिकारीलगायतको अभिनय रहेको छ ।
१९- महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका अनुसार सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस मागिएको भन्ने सूचना र उजुरीका आधारमा टोली खटिएको थियो ।
टोलीले यादवलाई सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । पक्राउका क्रममा स्रोत नखुलेको ८३ हजार १४५ रुपैयाँ पनि बरामद गरिएको छ । यस्तै, उनीसँग रहेको एउटा ल्यापटप, दुई वटा मोबाइल र अन्य सरकारी कागजातसमेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । यादवलाई महोत्तरीको गौशाला नगरपालिका–५ निगौलस्थित सम्सी–गौशाला सडकखण्डमा गौशालतर्फ जाँदै गरेको सरकारी नम्बर प्लेटको सवारीसाधनबाट शुक्रबार नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
२०- सनराइजर्स हैदरावादले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई ५५ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २५६ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा ४ विकेट गुमाउदै २०० रन बनाएको थियो । यसअघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ४ विकेट गुमाउदै २५५ रन बनाएको थियो ।
यस खेलको नतिजाले अंक तालिकामा भने कुनै फरक परेको छन् । जितका बाबजुत सनराइजर्स हैदरावाद १४ खेलमा १८ अंकसहित तेस्रो हुदै लिग चरण समाप्त गरेको छ । हारपछि पनि बैंगलुरु १४ खेलमा १८ अंकसहित शिर्ष स्थानमा कायम रहदै प्लेअफमा पुगेको छ । त्यस्तै १४ खेलमा १८ अंक नै रहेको गुजरात दोस्रो हुने निश्चित भएको छ । अब बैंगलुरु र गुजरातबीच पहिलो क्वालिफायर्स खेल हुने छ ।