काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाल काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ । विहिबार काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दोस्रो सेमिफाइनलमा इरानले नेपालले सोझो सेटमा पराजित गरेको हो । इरानले नेपाललाई २५-२०, २५-१५ र २५- ११ को सोझो सेटमा पराजित गरेको थियो । यो जितपछि इरानले अब फाइनलमा काजकिस्तानसँग शुक्रबार खेल्ने छ । त्यस्तै नेपालले भने तेस्रो स्थानको लागि शुक्रबार भारतसँग खेल्ने छ ।
२- एमएमए फाइटर रविन्द्र ढाँट रोड टु यूएफसी सिजन-५ को बेन्टमवेट तौलको सेमिफाइनलमा प्रवेश गरेका छन् । उनले फिलिपिनी प्रतिद्वन्द्वी किम्बर्टलाई दोस्रो राउन्डमै पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । उनले १०-१ ले किम्बर्टलाई पराजित गरेका थिए ।
३- निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी र प्रशासनिक जटिलताका कारण निर्माण व्यवसायीहरू गम्भीर संकटमा परेको भन्दै नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरले मध्यपूर्वमा जारी युद्धको प्रभावका कारण निर्माण सामग्री, डिजेल तथा ढुवानी खर्चमा निरन्तर मूल्यवृद्धि भएको उल्लेख गर्दै त्यसले निर्माण व्यवसायीहरू आर्थिक दबाबमा परेको जनाएको छ ।
चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा रहेको मूल्य समायोजनसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा समस्या थप जटिल बनेको उल्लेख गरिएको छ । चेम्बरका अनुसार निर्माण लागत बढ्नु, समयमै भुक्तानी नहुनु तथा प्रशासनिक झन्झटका कारण विकास निर्माणका काम प्रभावित भइरहेका छन् । यसको असर सिमेन्ट, स्टिल, डण्डी, पाइप, तार उद्योगलगायत निर्माणसँग सम्बन्धित अन्य व्यवसायमा समेत परेको जनाइएको छ । नेपाल चेम्बर अफ कमर्सले निर्माण क्षेत्रलाई थप संकटमा जानबाट रोक्न आवश्यक नीति तथा निर्णय तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । साथै मूल्य समायोजनसम्बन्धी कानुनी व्यवस्था प्रभावकारी रूपमा लागू गरी निर्माण व्यवसायीलाई राहत दिनुपर्नेमा जोड दिएको छ ।

चेम्बरले सडक, ऊर्जा, जलस्रोत, सहरी विकास तथा औद्योगिक पूर्वाधारलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना बनाउन पनि सरकारलाई सुझाव दिएको छ । पूर्वाधार विकासलाई प्राथमिकता दिइए पनि निर्माण व्यवसायी पलायन हुने अवस्था सिर्जना हुनु चिन्ताजनक भएको चेम्बरको भनाइ छ । सरकार र निजी क्षेत्रबीच सहकार्य तथा विश्वासको वातावरण कायम भए आर्थिक विकासको लक्ष्य हासिल गर्न सहज हुने विश्वास पनि चेम्बरले व्यक्त गरेको छ ।

४- ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि हुने मैत्रीपूर्ण खेलहरू गुमाउने निश्चित भएको छ । साथै मोरक्कोविरुद्धको विश्वकप उद्घाटन खेलसमेत उनले गुमाएका छन् । ब्राजिलको राष्ट्रिय टिमका डाक्टर रोड्रिगो लासमारले नेइमारको चोटबारे जानकारी दिएका छन् ।

उनका अनुसार नेइमार टिमको प्रशिक्षण शिविरमा पुगेपछि विस्तृत स्वास्थ्य परीक्षण गरिएको थियो । उनले भने- ‘उनले यहाँ आएपछि सबै स्वास्थ्य परीक्षण गरियो । त्यसपछि गरिएको एमआरआई परीक्षणमा पिँडुलाको मांसपेशीमा दोस्रो स्तरको चोट देखियो। यो सामान्य सुन्निने समस्या मात्रै होइन ।’ चोटका कारण नेइमारले पानामाविरुद्ध आइतबार हुने मैत्रीपूर्ण खेल र जुन ६ मा इजिप्टसँग हुने अर्को अभ्यास खेल गुमाउने भएका छन् ।
ब्राजिलले विश्वकपको पहिलो खेल जुन १३ मा मोरक्कोविरुद्ध खेल्ने तालिका छ। उक्त खेल हुन अब १६ दिन बाँकी रहेको छ । ब्राजिलले विश्वकप अघि जुन १ मा पानामासँग र जुन ७ मा इजिप्टसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । त्यस्तै विश्वकपमा समुह सि मा रहेको ब्राजिलले पहिलो खेल जुन १४ मा मोरक्कोसँग, जुन २० मा हैटीसँग र जुन २५ मा स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।
५- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत कुल १८०८ दरबन्दी अन्तिम स्वीकृत भएको छ । मन्त्रालयका अनुसार अब ती स्वीकृत दरबन्दीमा लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिनेछ । यसअघि रहेको ८३१ दरबन्दीमा थप ९७७ दरबन्दी थपिएपछि अब कुल १८०८ दरबन्दी कायम भएको मन्त्रालयले जनाएको छ । नयाँ दरबन्दीमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको संख्या उल्लेखनीय रूपमा बढाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यो स्वीकृत सूची केवल संघीय पुल दरबन्दीको संरचनासम्बन्धी व्यवस्था भएको स्पष्ट गरेको छ । साथै, सिएमए, अहेब र अनमी जस्ता प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीका लागि प्रदेश र स्थानीय तहमा निकट भविष्यमा ठूलो संख्यामा दरबन्दी खुल्ने जानकारी पनि दिइएको छ ।
६- ईरान फुटबल महासंघले फिफा समक्ष सन् २०२६ मा हुने विश्वकपका लागि आफ्ना खेलाडी तथा टोलीलाई अमेरिकाको बहुप्रवेश भिसा उपलब्ध गराउन माग गरेको छ । महासंघले अमेरिकी भिसा नियमका कारण टोलीको यात्रा प्रभावित हुन सक्ने आशंका व्यक्त गर्दै फिफाले आवश्यक समन्वय गर्नुपर्ने जनाएको छ । ईरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले टोलीलाई यस्तो भिसा व्यवस्था मिलाइदिन फिफासँग अपेक्षा गरिएको बताएका छन् ।
उनका अनुसार खेलाडीहरूले अमेरिकामा प्रवेश गरेर पुनः मेक्सिको फर्कन सक्ने व्यवस्था आवश्यक छ । यसअघि ईरानी टोलीले विश्वकपका क्रममा आफ्नो बेस क्याम्प अमेरिकाको एरिजोना राज्यको टक्सन शहरमा राख्ने योजना बनाएको थियो । तर पछि त्यो योजना परिवर्तन गरी मेक्सिकोको तिजुआना शहरमा सारिएको छ । मेहदी ताजले यसअघि नै अमेरिकी भिसासँग सम्बन्धित जटिलताबाट बच्न चाहेको बताउँदै टोलीलाई ईरान एयरको उडानमार्फत सीधै मेक्सिको पठाउने प्रयास भइरहेको जानकारी दिएका थिए ।
७- मध्यपूर्वमा जारी युद्धका कारण इन्धन तथा निर्माण सामग्रीको मूल्य तीव्र रूपमा बढेपछि नेपाल निर्माण क्षेत्रमा गम्भीर असर परेको भन्दै नेपाल उद्योग परिसंघले सरोकारवाला निकायसँग तत्काल समस्या समाधान गर्न आग्रह गरेको छ । परिसंघका अनुसार युद्ध सुरु हुनुअघि फेब्रुअरी १५ मा डिजेलको मूल्य प्रति लिटर १३९ रुपैयाँ रहेकामा हाल बढेर २२५ रुपैयाँ पुगेको उल्लेख गर्दै परिसंघले बिटुमिनको मूल्य प्रति केजी ७५ रुपैयाँबाट बढेर १५५ रुपैयाँ पुगेको उल्लेख गरेको छ ।
निर्माण क्षेत्रमा अत्यावश्यक डिजेल, मट्टितेल, बिटुमिनलगायत सामग्री र ढुवानी लागतमा भएको उच्च वृद्धिका कारण निर्माण उद्योग नै ठप्प हुने जोखिममा पुगेको नेपाल निर्माण व्यवसायी महासंघले जानकारी गराएको परिसंघले जनाएको छ । महासंघका अनुसार मूल्यवृद्धिका कारण मात्र निर्माण व्यवसायीहरूले हालसम्म १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी बेहोरेको उल्लेख गर्दै परिसंघले परियोजनाहरू प्रभावित हुँदा यससँग सम्बन्धित अन्य उद्योगहरू पनि शिथिल हुने खतरा रहेको बताएको छ । परिसंघले निर्माण व्यवसायीमाथि परेको आर्थिक तथा मानसिक दबाब कम गर्न र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन तत्काल आवश्यक नीतिगत तथा व्यवहारिक सम्बोधन गर्न सरकार तथा सम्बन्धित निकायसँग अनुरोध गरेको छ ।
८- राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको भदौ २३- २४ को आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनले किटान गरेका सांसद, व्यक्ति तथा निकायमाथि विधिसम्मत कारबाही प्रक्रिया अघि बढाउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधि, अत्यधिक बल प्रयोग तथा मानव अधिकार उल्लंघनका घटनामा संलग्न जोसुकैलाई पनि राजनीतिक संरक्षण बिना कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गरिएको छ । कांग्रेसले विगतको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको आफूहरूले पहिलेदेखि नै बताउँदै आएको स्मरण गराउँदै राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनले समेत उक्त आयोगको अनुसन्धान अपर्याप्त रहेको देखाएको जनाएको छ ।
आयोगकै अध्यक्षमाथि समेत सुक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको भन्दै कांग्रेसले कार्की आयोगको प्रतिवेदन निष्पक्ष नरहेको र आमनिर्वाचनअघि प्रतिवेदन सार्वजनिक नगरिनुमा नियोजित उद्देश्य रहेको आफ्नो आशंकालाई बल पुगेको दाबी गरेको छ । विज्ञप्तिमा आन्दोलनको प्रारम्भिक चरण संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण विरोध तथा सुशासनको मागसँग सम्बन्धित भए पनि पछि योजनाबद्ध रूपमा हिंसात्मक घुसपैठ भएको, सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, हत्या, लुटपाट र अराजक गतिविधि भएको उल्लेख गरिएको छ ।
यस्ता गतिविधिमा संलग्न रहेको आशंकामा राज्यका जिम्मेवार व्यक्ति र सांसदहरूमाथि थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने तथ्य आयोगले औंल्याएको कांग्रेसको भनाइ छ । कांग्रेसले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने तथा निर्दोष नागरिकको ज्यान लिने कार्यमा संलग्न जोसुकैलाई कानुनअनुसार कारबाही हुनुपर्नेमा जोड दिएको छ । सुरक्षा निकायबाट भएको अत्यधिक बल प्रयोगलाई पनि आयोगले मानव अधिकार उल्लंघन मानेकाले दोषीमाथि संवैधानिक परिधिभित्र रही कानुनी कारबाही हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले सरकारसमक्ष आयोगको सिफारिसबारे आधिकारिक धारणा सार्वजनिक गर्न, अत्यधिक बल प्रयोगबाट मृत्यु भएका तथा घाइते नागरिकका परिवारलाई न्याय, राहत र पुनर्स्थापनाको व्यवस्था गर्न तथा निजी क्षेत्रमा भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । त्यस्तै सुरक्षा निकायलाई मानव अधिकारमैत्री र प्रभावकारी बनाउन सुधार गर्नुपर्ने तथा गौरीबहादुर कार्की आयोगसम्बन्धी थप अनुसन्धान तत्काल प्रारम्भ गर्नुपर्ने कांग्रेसको माग छ ।
९- नेपाल एशियन गेम्सको क्रिकेटतर्फको क्वालिफायर्सको सेमिफाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको । इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले ४२ रन बनाएकी थिइन् भने सोनी पाख्रिनले २९ रन, कबिता कुवरले १४ र सिता राना मगरले १३ रन बनाएकी थिइन् । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो ।
इन्डोनेसियाकी कप्तान नि पुटु आयु नन्दा सकारिनीले ५६ रन बनाएकी थिइन् भने रत्ना देवीले २३ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर मनिषा उपाध्यायले २ तथा रिया शर्माले एक विकेट लिएकी थिइन् । अब नेपालले सेमिफाइनलमा शनिबार मलेसियासँग खेल्ने छ । त्यस्तै अर्को सेमिफाइनलमा थाइल्याण्ड र चीन खेल्ने छन् । यस प्रतियोगिताबाट शिर्ष तीन देश एशियन गेम्समा छनौट हुने छन् । एशियन गेम्समा जापान आयोजकको रुपमा छनौट भएको छ भने आइसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । एशियन गेम्सको महिला क्रिकेट प्रतियोगितामा कुल ८ देशले भाग लिदैछन् ।
१०- माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधमा वियर गेट जडान तथा परीक्षण सञ्चालन सफलतापूर्वक सम्पन्न भएको छ । २१६ मेगावाट क्षमताको यो आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत आयोजनामध्ये एक मानिन्छ । कोरियाली कम्पनीहरूको अगुवाइमा निर्माण भइरहेको आयोजनाको बाँध क्षेत्रमा तीनवटा वियर गेटमध्ये एकको जडान र परीक्षण गरिएको हो । बिहीबार आयोजित कार्यक्रममा रसुवाका संघीय सांसद मोहन आचार्य, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतम, कोरियाली साउथ–इस्ट पावर कम्पनीका कार्यकारी उपसभापति योङ कि ली, नेपालका लागि कोरियाली राजदूत पार्क ताएयोङ तथा विद्युत विकास विभागकी महानिर्देशक मनदेवी श्रेष्ठलगायत सहभागी थिए ।
वियर गेट जलविद्युत आयोजनाको महत्वपूर्ण हाइड्रो–मेकानिकल संरचना हो । यसले नदीको पानीको बहाव नियन्त्रण गर्दै आवश्यक मात्रामा सुरुङतर्फ मोड्ने, बाँधमा पानीको सतह स्थिर राख्ने र बढी पानीलाई सुरक्षित रूपमा नदीमा फर्काउने काम गर्छ। प्राविधिक मापदण्डअनुसार जडान तथा परीक्षण सफल भएपछि आयोजनाको निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकु क्षेत्रमा बाँध तथा संरचना निर्माण भइरहेको छ भने उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृह निर्माण भइरहेको छ। उत्पादन हुने विद्युत आन्तरिक खपतका लागि प्रयोग गरिनेछ । आयोजनाको मुख्य निर्माण कार्य सन् २०७८ पुसबाट सुरु भएको हो। हालसम्म ९.५ किलोमिटर लामो मुख्य सुरुङ निर्माण सम्पन्न भई कंक्रिट लाइनिङ भइरहेको छ। २९२ मिटर लामो ठाडो सुरुङ निर्माण कार्य पनि पूरा भइसकेको छ।
विद्युतगृहको सिभिल संरचना सम्पन्न भइसकेको छ भने टर्वाइन र जेनेरेटर जडान लगायत इलेक्ट्रो–मेकानिकल काम जारी छ। आयोजनाको समग्र भौतिक प्रगति करिब ८२ प्रतिशत पुगेको छ। उपकरण जडान कार्य सन् २०२६ डिसेम्बरसम्म पूरा गर्ने लक्ष्य राखिएको छ भने सम्पूर्ण आयोजना सन् २०२७ को मध्यसम्म सम्पन्न गर्ने योजना छ। सन् २०२४ र २०२५ मा आएको त्रिशूली नदीको बाढीका कारण केही ढिलाइ भए पनि अहिले निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ । आयोजनाबाट वार्षिक करिब १ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुने अनुमान गरिएको छ। यसमध्ये करिब ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ। उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३बी हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
काठमाडौँ नजिकको लोड सेन्टरमा रहेको र हिउँदमा समेत करिब १०४ मेगावाट स्थिर ऊर्जा उत्पादन गर्न सक्ने भएकाले यो आयोजना राष्ट्रिय ऊर्जा प्रणालीका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ । आयोजनाले स्थानीय क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सुधार, सांस्कृतिक संरक्षण, जीविकोपार्जन तथा रोजगारी सिर्जनामा सहयोग गर्दै आएको छ। हालसम्म करिब २३ करोड ६० लाख रुपैयाँभन्दा बढी सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि खर्च गरिएको छ। साथै स्थानीयका लागि सीपमूलक तालिम तथा रोजगारी कार्यक्रम पनि सञ्चालनमा छन् ।
११- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्डअनुसार गुणस्तर नभेटिएको ‘तेज’ ब्रान्डको तोरी तेल तत्काल बजारबाट फिर्ता (रिकल) गर्न आदेश दिएको छ । विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको खाद्य पदार्थको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त तेल न्यूनस्तरको पाइएको जनाएको हो । विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम परीक्षण गरिएको नमुनाको विश्लेषण गर्दा नेपाल सरकारले तोकेको गुणस्तर मापदण्ड पूरा नभेटिएपछि सम्बन्धित ब्याचका सम्पूर्ण उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिइएको हो ।
विभागले ऐनको दफा ३८(२) अनुसार सम्बन्धित उत्पादकलाई उक्त ब्याचका सबै खाद्य पदार्थ बजारबाट फिर्ता गर्न तथा दफा ३८(४) बमोजिम बिक्री–वितरण नगर्न वा नगराउन आदेश जारी गरिएको जनाएको छ । विभागका अनुसार फिर्ता गर्न आदेश दिइएको उत्पादन आयातित तोरी गेडाबाट उत्पादन गरिएको ‘तेज’ ब्रान्डको तोरी तेल हो । उक्त उत्पादनको ब्याच नम्बर २० रहेको छ भने उत्पादन मिति २०८२ फागुन २८ र उपभोग्य अवधि ६ महिना तोकिएको छ । यो तेल सिद्धार्थ आयल इन्डस्ट्रीजद्वारा रुपन्देहीको गुरबानियामा उत्पादन गरिएको विभागले जनाएको छ ।
१२- नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न सात विषयगत उपसमिति गठन गर्दै तिनका संयोजक चयन गरेको छ । प्रतिष्ठानले अर्थ, वातावरण, युवा, श्रमिक, बालअधिकार, सार्वजनिक सेवा तथा गैरसरकारी संस्थासम्बन्धी विषय समेटेर उपसमिति बनाएको हो । अर्थ योजना तथा पार्टीको नीति, दृष्टि र योजना उपसमितिको संयोजकमा प्राध्यापक डा. गोविन्दराज पोख्रेल चयन भएका छन् । उक्त उपसमितिले निजी क्षेत्र, शेयर बजार, बिमा, सहकारीलगायत समग्र वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा काम गर्ने जनाइएको छ । जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी चयन भएकी छन् ।
यस उपसमितिले हिमालमा परेको असर न्यूनीकरणदेखि वातावरण संरक्षण अभियानसम्मका विषयमा काम गर्नेछ । त्यस्तै नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमितिको संयोजकमा मीनबहादुर भाम चयन भएका छन् । यस उपसमितिले युवापुस्तादेखि नागरिक समाजका प्रबुद्ध वर्गसम्म संवाद र समन्वयमा ध्यान केन्द्रित गर्ने बताइएको छ । त्यसैगरी अनौपचारिक क्षेत्रका श्रमिक नीति तथा न्याय सम्बन्धी उपसमितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन् । त्यस्तै बाल अधिकार उपसमितिको संयोजकमा उमंग लोहनी चयन भएका छन् । उक्त उपसमितिले बाल श्रमको मुद्दादेखि समग्र बालबालिकाको हित संरक्षण अभियानसम्मका विषयमा काम गर्ने जनाइएको छ । त्यसैगरी सार्वजनिक सेवा प्रवाह, नीति तथा थिती संवाद उपसमितिको संयोजकमा गोपालप्रसाद पोख्रेल चयन भएका छन् । त्यस्तै गैरसरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिको संयोजकमा अञ्जु झा चयन भएकी छन् । प्रतिष्ठानका अनुसार सबै उपसमितिका संयोजकहरूले प्रारम्भिक अवधारणा तथा कार्ययोजना आगामी चौथो बैठकमा पेश गर्ने बताइएको छ ।
१३- वेस्ट इन्डिजका महान् ब्याट्सम्यान क्रिस गेलले भारतीय युवा खेलाडी वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङको खुलेर प्रशंसा गरेका छन् । उनले सनराइजर्स हैदराबादविरुद्धको खेलपछि सूर्यवंशीलाई ‘नयाँ सिक्स मेसिन’ को संज्ञा दिएका हुन् । क्रिस गेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्- ‘वैभव शानदार खेलाडी हुन् । यो युवा खेलाडीले उत्कृष्ट मनोरञ्जन दिए । नयाँ सिक्स मेसिन ।’
वैभव सूर्यवंशीले जारी आइपिएलमा क्रिस गेलको महत्वपूर्ण कीर्तिमान तोडेका छन् । उनले यस सिजन अहिलेसम्म ६५ छक्का प्रहार गरिसकेका छन् । यससँगै उनले आइपिएलको एक सिजनमा सर्बाधिक छक्काको यसअघि गेलको नाममा रहेको रेकर्ड तोडेका हुन् । गेलले २०१२ को आइपिएलमा ५९ छक्का प्रहार गरेर यो रेकर्ड बनाएका थिए । त्यस्तै, आइपिएलको एक इनिङमा १० वा सोभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमानमा पनि सूर्यवंशीले गेलको बराबरी गरेका छन् । अब दुवैले चार–चार पटक एकै इनिङमा १० भन्दा बढी छक्का प्रहार गरेका छन् । यस सिजनमा सुर्यबंशीले १५ खेलमा ६८० रन बनाएर सर्बाधिक रन बनाउने सुचिमा शिर्ष स्थानमा छन् ।
१४- उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार भएको भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, नेपाल–चीन आर्थिक सहयोग तथा भविष्यको सहकार्यका दृष्टिकोणहरुबारेमा विचार–विमर्श भएको थियो । उपराष्ट्रपति यादवले राजदूत माओमिङलाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
उनले चीन सरकारद्वारा नेपालमा हालै सम्पन्न संसदीय निर्वाचनमा प्रदान गरिएको सहयोगप्रति धन्यवाद दिँदै नेपाल–चीन सम्बन्ध अझ प्रगाढ र सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । चीनका राजदूत चाङ माओमिङले नेपालमा हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनप्रति खुशी व्यक्त गर्दै यसबाट नेपालमा राजनीतिक स्थायित्व प्राप्त हुने विश्वास व्यक्त गरेका थिए । उनले चीनको नीतिमा नेपालको राम्रो स्थान रहेको उल्लेख गर्दै चीनले नेपाललाई विद्युत, सडक,पर्यटन लगायतका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताएका थिए ।
१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ५५ सयले घटेर तोलाको २ लाख ८५ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९० हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २१५ रुपैयाँले घटेर ४८६५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५०८० मा कारोबार भएको थियो ।
१६- इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी सरकारी निकट सञ्चारमाध्यमका अनुसार उक्त सैन्य अड्डाबाट बिहीबार बिहान इरानी लक्ष्यमा अमेरिकी आक्रमण गरिएको भन्दै त्यसको जवाफस्वरूप कारबाही गरिएको हो । रिभोलुसनरी गार्डले कुन अमेरिकी सैन्य अड्डालाई निशाना बनाइएको हो भन्ने खुलाएको छैन । अमेरिकाका मध्यपूर्व क्षेत्रका विभिन्न देशमा सैन्य अड्डा रहेका छन् ।
फार्स समाचार संस्थाले रिभोलुसनरी गार्डको जनसम्पर्क कार्यालयलाई उद्धृत गर्दै प्रकाशित गरेको विवरणअनुसार बन्दर अब्बास विमानस्थल बाहिरको क्षेत्रमा अमेरिकी सेनाले बिहीबार बिहान हवाई प्रक्षेपास्त्रमार्फत आक्रमण गरेको थियो । त्यसपछि बिहान ४ बजेर ५० मिनेटमा उक्त आक्रमणको स्रोत मानिएको अमेरिकी सैन्य अड्डालाई निशाना बनाइएको जनाइएको छ । रिभोलुसनरी गार्डले आफ्नो प्रतिक्रिया अमेरिकाका लागि ‘गम्भीर चेतावनी’ भएको उल्लेख गर्दै अमेरिकी आक्रमणको जवाफ नदिइने अवस्था नरहेको चेतावनी दिएको छ ।
१७- ‘सेतो धरती’को सफल मञ्चनपछि कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरले आजदेखि अर्को नाटक ‘महाभारत’ मञ्चन सुरु गर्दैछ । ‘महाभारत’मा हास्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेल पहिलो पटक नाटकमा अभिनय गर्दैछन् । साथै वरिष्ठ कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ । सन्दीप श्रेष्ठ, प्रतिक चौधरी, सुपज्ञा शर्मा लगायत अन्य २० जना कलाकारहरू पनि ‘महाभारत’का लागि कान्तिपुर थिएटरको मञ्चमा देखिँदैछन् । भारतीय प्रसिद्ध लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गरेका छन् । नाटकको अनुवाद प्रकाश दाहालले गरेका हुन् भने सेट डिजाइन तुफान थापा, लाइट डिजाइन दीपेश गजुरेल, सङ्गीत संयोजन तथा गायन अनुप तिमिल्सिना, कोरियोग्राफी अनिष क्षेत्री र निर्माण रमेश पुरीले गरेका छन् । आजदेखि असार ७ गतेसम्म हरेक दिन (बुधबार बाहेक) साँझ ५: १५ बजे नाटक मञ्चन हुनेछ ।
सार्वजनिक बिदाको दिन अतिरिक्त शो दिउँसो १: १५ बजे पनि हुनेछ । नाटक कान्तिपुर थिएटर, गैह्रीधारामा मञ्चन हुनेछ । ५०० र १००० रुपैयाँ टिकट दर तोकिएको नाटक विद्यार्थीहरूले सीमित कोटामा ३०० रुपैयाँमै हेर्न पाउनेछन् । कान्तिपुर थिएटरको वेबसाइट तथा सामाजिक सञ्जालमा दिइएको लिंकमार्फत दर्शकहरूले सजिलै अनलाइन टिकट बुक गर्न सक्नेछन् । रेखा थापा, जीवन लुईंटेल, सनिशा भट्टराई, बेनिशा हमाल लगायत कलाकारहरूलाई स्टेज थिएटरमा डेब्यु गराइसकेको यस थिएटरले यसअघि ‘मीरा’, ‘शिरीषको फूल’, ‘महारानीको जात्रा’ र ‘सेतो धरती’ मञ्चन गरिसकेको छ । यी नाटकमार्फत कान्तिपुर थिएटरले आफ्नो छुट्टै दर्शक वर्ग निर्माण गरिसकेको छ । ‘महाभारत’ मा पनि दर्शकहरूको उल्लेखनीय उपस्थिति रहने विश्वास थिएटरले लिएको छ । ‘महाभारत’पछि कान्तिपुर थिएटरले सुविन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित नाटक पनि मञ्चन गर्ने घोषणा गरिसकेको छ ।
१८- सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक भएको छ । सरकारले सार्वजनिक गरेको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । प्रतिवेदनमा नेपालको संविधानले परिकल्पना गरेको तीनखम्बे अर्थनीति अन्तर्गत सहकारी क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा रहेको भए पनि पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा थप गर्ने क्रममा पर्याप्त अध्ययन, आवश्यकता विश्लेषण तथा मापदण्डको पालना नगरी स्वीकृति दिइएको पाइएको छ।
आयोगले यस्ता निर्णय प्रक्रियामा भएका गम्भीर कमजोरीकै कारण धेरै सहकारी संस्थाहरू समस्याग्रस्त बनेको निष्कर्ष निकालेको छ । आयोगले केही सहकारी सञ्चालक तथा व्यवस्थापकहरूले सहकारीको मूल उद्देश्यबाट विचलित हुँदै बचतकर्ताको रकम हिनामिना, अपारदर्शी कारोबार तथा व्यक्तिगत स्वार्थ केन्द्रित गतिविधि सञ्चालन गरेको पनि उल्लेख गरेको छ । प्रतिवेदनमा विगतको कमजोर नियमन, जथाभाबी दर्ता तथा कार्यक्षेत्र विस्तार प्रक्रिया, सहकारी सञ्चालक र व्यवस्थापकहरूको राजनीतिक आबद्धता तथा प्रत्यक्ष–अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले वर्तमान सङ्कट निम्त्याएको स्पष्ट पारिएको छ ।
साथै बहु नियामक निकायबिच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय अनुशासनहीनता, सुशासनको कमजोरी तथा दक्ष जनशक्तिको अभाव पनि सहकारी क्षेत्रका प्रमुख समस्या रहेको आयोगको ठहर छ । आयोगले प्रभावकारी तथा एकीकृत नियामक संरचना निर्माण, विश्वसनीय सूचना प्रणाली विकास, कडा सुशासन, बचतकर्ता हित संरक्षण तथा संस्थागत क्षमता अभिवृद्धिलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको छ । प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि नीतिगत, संस्थागत तथा व्यवहारगत सुधारका प्रयासलाई तीव्रता दिने प्रतिबद्धता जनाएकी छिन् ।
सरकारले वर्तमान कार्यकालमा सहकारी क्षेत्रलाई पुनः विश्वसनीय, पारदर्शी, उत्तरदायी तथा सदस्य केन्द्रित बनाउने लक्ष्यसहित सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने, सहकारी ऐन तथा नियमावलीलाई समयानुकूल संशोधन गर्ने तथा कर्जा असुली र बचत फिर्ता प्रक्रियालाई थप प्रभावकारी र नतिजामुखी बनाउने कार्य अघि बढाएको मन्त्री रावलले बताइन् । मन्त्रालयले आयोगले दिएका सुझाव तथा सिफारिसहरूको प्रभावकारी कार्यान्वयनमार्फत सहकारी क्षेत्रमा विद्यमान बेथितिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ ।
१९- विभिन्न ८ विश्वविद्यालयमा परेमा आवेदनमध्ये योग्य दरखास्त स्वीकृत गरिएको छ । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम उपकुलपति पदमा नाम सिफारिस गर्न प्रकाशित सूचनाबमोजिम प्राप्त २१८ आवेदनहरूमध्ये कार्यविधिको व्यवस्थाबमोजिम विश्वविद्यालयगत रूपमा १८८ दरखास्त स्वीकृत गरिएको हो ।
जस अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जना, पूर्वाञ्चल विश्वविद्यालयका लागि ३४ जना, पोखरा विश्वविद्यालयको लागि ३३ जना, राजर्षि जनक विश्वविद्यालयका लागि २१ जना, सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १८ जना, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको लागि १९ जना, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १३ जना, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ७ जनाको आवेदन स्वीकृत भएको समितिले जानकारी दिएको छ ।
२०- राजस्थान रोयल्स जारी आइपिएलको दोस्रो क्वालिफायरमा पुगेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले सनराइजर्स हैदरावादलाई ४७ रनले पराजित गरेर दोस्रो क्वालिफायरमा पुगेको हो । राजस्थान रोयल्सले दिएको २४४ रनको लक्ष्य पछाएको सनराइजर्सले १९.२ ओभरमा अल आउट हुदै १९६ रन बनाएको थियो । सनराइजर्सका लागि नितिश रेड्डीले ३८, सलिल अरोराले ३५ र इशान किशनले ३३ र शिभांग कुमारले २७ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चरले ३ विकेट लिएका थिए भने नान्द्रे बर्गर, सुशान्त मिश्रा र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै २४३ रन बनाएको थियो ।
राजस्थानका लागि वैभव सुर्यबंशीले २९ बलमा ९७ रन बनाएका थिए । उनले आफ्नो इनिंगमा १२ छक्का र ५ चौका प्रहार गरेका थिए । त्यस्तै ध्रुव जुरेलले २१ बलमा ५० रन बनाएका थिए भने यशश्वी जैसवालले २९ र कप्तान रियान परागले २६ रन बनाएका थिए । अब राजस्थानले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग शुक्रबार खेल्ने छ । यस खेलको विजेताले आइतबार हुने फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग खेल्ने छ ।