काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली कांग्रेसको विशेष महाधिवशेन पक्षधरले उद्घाटन समारोहमा बिभिन्न ६ स्थानबाट र्यालीसहित नेता तथा कार्यकर्ता महाधिवेशनस्थल भृकुटिमण्डपमा पुग्ने जनाएको छ । शुक्रबार काठमाडौंमा विशेष महाधिवेशनको जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले पत्रकार सम्मेलन गर्दै बिभिन्न ६ स्थानमा भेला भएर नेता तथा कार्यकता र्यालीसहित महाधिवेशनस्थल भृकुटिमण्डपमा पुग्ने जानकारी दिएको हो ।
सुन्धरा, रत्नपार्क, बागबजार, पद्मोदय मोड, कमलपोखरी र कुपण्डोलबाट र्याली आयोजना गरिने जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिका संयोजक जगदिश्वर नरसिंह केसीले जानकारी दिए । विशेष महाधिवेशनका लागि जनपरिचालनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै नेता केसीले उद्घाटन सत्रमा पार्टीका सभापति लगाएतका नेताहरु उपस्थित हुने विश्वास व्यक्त गरे ।
केसीले विशेष महाधिवेशनका लागि गठन गरिएको अन्य समितिहरुले पनि आफ्नो तयारी अन्तिम चरणमा पुराएको बताए । कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुष २७ र २८ गते भृकुटिमण्डपमा विशेष महाधिवशेनको घोषणा गरेपछि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु काठमाडौँ आउने क्रमपनि शुरु भएको छ । अहिलेसम्म दुई दर्जन भन्दा बढी जिल्ला कार्य समितिले विज्ञप्ति नै निकालेर विशेष महाधिवेशनप्रति ऐक्यवद्धता जाहेर गरिसकेका छन् भने यो क्रमजारी रहेको छ ।
प्रतिनिधिहरुका लागि काठमाडौँको सुन्धारा, ठमेललगायतका होटलहरु बुक गरिएको छ भने महाधिवेशन स्थल भृकुटीमण्डपमा तयारीको काम तिब्र गतिमा जारी रहेको छ । विशेष महाधिवेशन पक्षधरले यसअघि हस्ताक्षर गरेको भन्दा करिब ५ सय बढी महाधिवेशन प्रतिनिधिहरुले सहभागिता जनाउने दाबि गरेका छन् ।

२- जेनजी अभियन्ता सुदन गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । गुरुङले आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात भन्दै सामाजिक सञ्जाल मार्फत उम्मेदवार बन्ने घोषणा गरेका हुन् । सुदन राजनीतिक रुपमा कुनै दलमा अहिलेसम्म प्रवेश भने गरेका छैनन् ।

उनले पहल गरेर बालेन शाह र कुलमानलाई रास्वपामा प्रवेश गराएका थिए । गत निर्वाचनमा गोरखा-१ बाट नेपाली कांग्रेसका राजेन्द्र बजगाईं ३३ हजार ४२८ मत प्राप्त गरि विजयी भएका थिए । उनले एमालेका राम शरण बस्नेतलाई पराजित गरेका थिए । यस क्षेत्रमा रास्वपाले ४ हजार ८९२ मत प्राप्त गरेको थियो ।

३- सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । आशिकाले काठमाडौँ क्षेत्र नम्बर २ वा ९ बाट आफु स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । उनले पछिल्लो राजनीतिमा सक्रिय रूपमा प्रवेश गर्ने वा नगर्ने विषयमा गम्भीर छलफल र आत्ममन्थनपछि सम्पूर्ण सरोकारवालासँगको प्रत्यक्ष संवाद, सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण र विशेष गरी जेनजी भाइबहिनीहरूसँग छलफलपछि यस्तो निर्णय गरेको बताएकी छन् ।

छलफलहरूबाट केही सकारात्मक सुझावहरू प्राप्त भए भने धेरै आलोचनात्मक तथा नकारात्मक दृष्टिकोण आएको बताउदै आशिकाले अनुभव र जनभावनालाई मनन गर्दै, दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु नै जिम्मेवार निर्णय हुने ठानेको उनले उल्लेख गरेकी छन् । उनले भनेकी छन्- ‘यसै सन्दर्भमा, म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु ।

विशेष गरी जेनजीका भाइबहिनीहरूले उठाइरहेका आवाज, मुद्दा र परिवर्तनको चाहना अब संसदभित्र मात्र होइन, सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व हुनुपर्छ भन्ने भावनालाई सम्मान गर्दै यो निर्णयमा पुगेको हुँ ।’ उनले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानको प्रतिबद्धताबाट प्रेरित रहेको र युवाहरूको सपना, उनीहरूको भविष्य र देशको समग्र हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् ।
४- भारतले अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकको दाबीलाई झूटो भनेर खारेज गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ मा आठ पटक कुरा गरेको जानकारी दिदै प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष कुरा नगरेका कारण भारत-अमेरिका व्यापार सम्झौता हुन सकेन भन्ने अमेरिकी वाणिज्य सचिव लुटनिकको दाबीलाई झूटो भनेर खारेज गरेका हुन् ।
विदेश मन्त्रालयको साप्ताहिक मिडिया ब्रीफिंगमा उनले भने- ‘हाम्रा प्रधानमन्त्री र राष्ट्रपति ट्रम्पले २०२५ मा आठ पटक फोन वार्ता गरेका थिए, जसको क्रममा दुई नेताहरूले हाम्रो व्यापक साझेदारीको बारेमा छलफल गरेका थिए ।’ अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकको टिप्पणीको बारेमा, रणधीर जयसवालले भने- ‘हामीले यी टिप्पणीहरू देखेका छौं । भारत र अमेरिका गत वर्ष फेब्रुअरी १३ देखि द्विपक्षीय व्यापार सम्झौताको वार्ता गर्न प्रतिबद्ध छन् ।
त्यसबेलादेखि, दुई पक्षले सन्तुलित र पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौतामा पुग्न धेरै चरणका वार्ताहरू गरेका छन् । धेरै अवसरहरूमा, हामी सम्झौताको धेरै नजिक पुगेका छौं ।’ उनले टिप्पणीहरूका विवरण गलत भएको र दुई पूरक अर्थतन्त्रहरू बीच पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौतालाई निष्कर्षमा पुर्याउन तत्पर रहेको बताएका छन् । प्रवक्ता रणधीर जयसवालले अमेरिकाले भारतविरुद्ध ५०० प्रतिशत कर लगाउन सक्ने कानुन बनाउन लागेको विषयमा जानकार रहेको बताए । उनले भने- ‘हामीलाई प्रस्तावित विधेयकको बारेमा थाहा छ र यस विषयमा विचार गरिरहेका छौं ।’
५- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगले आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा जानकारी लिएकी छन् । बालुवाटारमा भएको छलफलमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो । आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरूको उपस्थिति थियो।
६- राप्रपाले पार्टीले संस्थागत रुपमा गरेका निर्णयको स्वामित्व हरेक तहले लिन निर्देशन दिएको छ । राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले केन्द्रको निर्णयको विरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा अनर्गल प्रचार भइरहेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउदै निर्णयको स्वामित्व लिन सबै तहलाई निर्देशन दिएको छ ।
निर्णयमा भनिएको छ- विषम परिस्थितिमा पनि पार्टीको लोकप्रियता बढ्दै गएको, देशले बलियो राष्ट्रवादी शक्तिको खोजी गरिरहेको, सम्पूर्ण राष्ट्रवादी शक्ति एकीकृत बन्दै गएको र निर्वाचन नजिकिदै गरेको समयमा पार्टीप्रति भ्रम फैलाउने, जथाभावी अभिव्यक्ति दिने, अनेकन टिकाटिप्पणी गर्ने, कार्यकर्ता विभाजित तुल्याउने कार्यहरु पार्टीको वृहत्तर हित विपरीत र अवाञ्छित हुने हुँदा यस्ता कार्यमा संलग्न नहुन राप्रपा समग्र पार्टी पंक्तिलाई हार्दिक आग्रह गर्दछ । पार्टीले संस्थागत रुपमा गरेको निर्णयको स्वामित्व हरेक तहले लिनु पार्टी सदस्यको कर्तव्य, धर्म र जिम्मेवारी रहेको सबैमा स्मरण गराउँदछ ।’ राप्रपाको समानुपातिक सूचिको विषयमा आलोचना गर्दै प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले सामाजिक सञ्जालमा कडा आलोचना गरेका थिए ।
७- टोपबहादुर रायमाझीलाई थुनामुक्तको माग गर्दै दायर भएको निवेदनमा उच्च अदालत पाटनले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ । भुटानी शरणार्थी प्रकरणमा थुनमा रहेका रायमाझीले जिल्ला अदालत काठमाडौंको आदेश बदरको माग गर्दै उच्चमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाले कारागार पठाउने जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले २०८० को असार १ मा रायमाझीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । यसअघि पुस ११ गते जिल्ला अदालत काठमाडौंमा रायमाझीले थुनामुक्तको निवेदन दिएका थिए । तर, जिल्ला अदालतले मागबमोजिम नहुने आदेश दिएपछि उनी उच्च अदालत पुगेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्लाको आदेशपछि रायमाझी, नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जना कारागार चलान भएका थिए । धरौटी बुझाएर खाँण थुनामुक्त भएपानी रायमाझी भने कारागारमै छन् ।
८- सरकारको चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को पाँच महिनाको देशको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १८ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५४ करोडले बचतमा रहेको छ । पाँच महिनामा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ५० करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ७ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.६ अर्ब ३ करोडरहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ४२१ अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २२५ अर्ब ३४ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९८ करोडले बचतमा रहेको छ । त्यस्तै २०८२ असार मसान्तमा २६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई मङ्सिर मसान्तसम्म ३२०१ अर्ब ४७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
त्यसैगरी कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४१४ अर्ब ६४ करोड रहेकोमा मङ्सिर मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई २८६६ अर्ब ४७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २६३ अर्ब ४ करोड रहेकोमा मङ्सिर मसान्तमा २७.४ प्रतिशतले वद्धि भई ३३५ अर्ब कायम भएको छ । मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेकोछ ।
आर्थिक वर्ष २०८२-८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५२.४ प्रतिशत, १५१.९ प्रतिशत र ३९.४ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
९- आर्थिक वर्ष २०८२- ८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको मङ्सिर मसान्त सम्मको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा रेमिटेन्स ३५.६ प्रतिशतले बढेर ८७० अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार २०८२ मङ्सिर महिनामा विप्रेषण आप्रवाह १८३ अर्ब १८ करोड रहेको छ भने अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह ११८ अर्ब ७९ करोड रहेको थियो । त्यस्तै समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो ।
त्यसैगरी समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९५४ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.७०० अर्ब ४३ करोड रहेको थियो । राष्ट्र बैंकले पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १,७५,५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १,६३,९२४ रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १,९०,३८४ र १,३५,४२५ रहेको थियो ।
१०- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सबै सहभागी हुने दाबि गरेका छन् । शुक्रबार विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा काँग्रेस नेताहरु चन्द्र भण्डारी र डा. सुनिल शर्मासँग पुगेका महामन्त्री शर्माले विशेष महाधिवेशनको बन्द सत्रले कार्यविधि बनाएपछि के के हुन्छ भन्ने स्पष्ट हुने बताएका छन् । उनले काँग्रेसका सबै नेताहरु सहभागी हुने दाबि गर्दै कसैकाप्रति टिप्पणी नगर्ने बताए । महामन्त्री शर्माले हस्ताक्षर गरेका भन्दा साढे ४ सय भन्दा बढीको सहभागीता हुने बताएका छन् । नेता चन्द्र भण्डारीले गगन थापा र विश्वप्रकाश शर्मा काँग्रेसको वर्तमान र भविष्य दुवै भएको बताउदै आफ्नो समर्थन रहेको बताएका छन् । त्यस्तै डा. शर्माले विशेष महाधिवेशनप्रति आफ्नो समर्थन रहेको बताउदै काँग्रेस अब बदलिने बताए ।
११- नेपाली काँग्रेसका नेता महेश आचार्य विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन् । पार्टीमा देखिएको पछिल्लो विवाद बारे आफ्नो धारणा राख्दै नेता आचार्यले कांग्रेस विधान अनुसार केन्द्रिय समिति नभएर केन्द्रिय महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएको जिकिर गरेका छन् । उनले भाद्र २३ र २४ पछि देशको गम्भीर बन्दै गएको अवस्थासँगै काँग्रेस पार्टी विधानको निरन्तर वेवास्ता, नीतिगत अन्योल, सांगठनिक दुरावस्था र नेतृत्वको वर्तमान संकटले पार्टीको विशेष महाधिवेशन अपरिहार्य बनाएको बताएका छन् ।
१२- नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले विशेष महाधिवेशन आजको आवश्यकता नभएको बताएका छन् । शुक्रबार संचारकर्मीहरुसँग कुरा गर्दै निर्वाचनमा जानुपर्ने समयमा खैला बैला गर्नु आवश्यक नभएको टिप्पणी गरेका हुन् । उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई नै कार्यान्वयन गर्नु नै पार्टीको एकता भएको बताउदै पार्टीमा प्रतिष्पर्धा गर्ने बेला नै नभएको बताए ।
उनले भने- ‘आजसम्म जे परिस्थिति जे देखिएको छ, त्यो राम्रो मानिन्न । तथापी हामी पार्टी एकताको पक्षमा लागि रहन्छौँ । पक्षमा कति छन् विपक्षमा कति छन् त्यो अलग कुरा हो, विशेष महाधिवेशन आजको आवश्यकता होइन, आजको आवश्यकता पार्टीमा एकता देखाउने र निर्वाचनमा तयारीमा सबैले जुट्नु पर्ने बेला हो । यस्तो बेलामा खैला बैला गर्नु उचित छैन । केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन गर्नु पार्टीको हितमा हुन्छ ।’ सिटौला शुरु देखि नै विशेष महाधिवेशनको विपक्षमा रहेका छन् ।
१३- शिक्षामन्त्री महावीर पुनले दुई देशको भ्रमणको निमन्त्रणा अस्वीकार गरेको बताएका छन् । उनले साउदी अरेबिया र इजरायलमा आयोजना हुने कार्यक्रममा सहभागी नहुने निर्णय गरेको जानकारी दिएका छन् । शुक्रबार फेसबुकमार्फत पुनले विगतजस्तै पहिल्ला तीन वटा भ्रमणको निमन्त्रणा अस्वीकार गरेको बताउदै फेरी दुई निमन्त्रणा आएको बताएका छन् ।
मन्त्री पुनले यी निमन्त्रणामा पनि विदेश नजाने बताउदै उनले देशको अर्थतन्त्र सुधार नभएसम्म प्रधानमन्त्री वा अर्थमन्त्री फेरिए पनि ठोस प्रगति नहुने उल्लेख गरेका छन् । साउदी अरेबियाले रियादमा आयोजना गर्ने मानव क्षमता पहलको तेस्रो संस्करणमा वक्ताका रूपमा सहभागी हुन मन्त्रीलाई निमन्त्रणा गरेको थियो भने इजरायलको जेरुसेलममा आयोजना हुने शैक्षिक सम्मेलनका लागि पनि औपचारिक निमन्त्रणा गरिएको थियो ।
उनले भनेका छन्- ‘म मन्त्री भए पछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गइन। अहिले पनि दुई वटा निमन्त्रणा आएछ । यसमा पनि जान्न। देशको अर्थतन्त्र नसुधारे सम्म जो सुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किन भने केही गर्न पैसा चाहिन्छ । विदेश घुमेर अर्थतन्त्र बन्छ ??’ खेलकुदमन्त्री बब्लु गुप्ताको विदेश भ्रमण स्वीकृत भएपछि विवादमा परेको बेला नागरिक सरकारमै रहेका पुनले भने विदेश भ्रमणका निमन्त्रणा अस्वीकार गरिरहेको बताएका छन् ।
१४- नेपाली महिला राष्टिय क्रिकेट टिमले अभ्यास खेलमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ । शुक्रबार नेपाल स्कटल्याण्डसँग २७ रनले पराजित भएको हो । स्कटल्याण्डले दिएको १८४ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । यस अघि नेपाल अभ्यास खेलमा अमेरिकासँग ८ विकेटले पराजित भएको थियो । अब नेपालले अर्को अभ्यास खेल जनवरी ११ मा जिम्बाबेसँग खेल्ने तालिका छ । जनवरी १८ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् ।
१५- एक अन्तरिक्ष यात्रीको स्वास्थ्य विग्रिएपछि नासाको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि चलिरहेको अभियानमा अवरोध पुगेको छ । नासाले केही दिनमै चार सदस्यीय क्रू-११ टोलीलाई पृथ्वीमा फिर्ता ल्याउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको २५ वर्षको इतिहासमा पहिलो पटक कुनै चालक दलको सदस्यलाई चिकित्सा समस्याका कारण समयभन्दा पहिले फिर्ता ल्याइन लागेको हो । प्रभावित अन्तरिक्ष यात्री अब स्थिर अवस्थामा छन्, तर अन्तरिक्ष स्टेशनमा पर्याप्त निदान र उपचार सुविधाहरूको अभावका कारण उनलाई पृथ्वीमा फिर्ता ल्याउन आवश्यक ठानिएको थियो ।
गोपनीयताका कारण, नासाले अन्तरिक्ष यात्रीको नाम वा अवस्था खुलासा गरेको छैन । यो टोली अगस्ट २०२५ मा स्पेसएक्स ड्र्यागन क्याप्सुलमा फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो र छ महिनासम्म अन्तरिक्ष स्टेशनमा बस्ने तालिका थियो । यसमा अमेरिकी अन्तरिक्ष यात्री जीना कार्डम्यान र माइक फिन्के, जापानका किमिया युई र रूसका ओलेग प्लेटोनोभ रहेका छन् ।
यो टोली फर्किएपछि, स्टेशनमा केवल तीन अन्तरिक्ष यात्रीहरू रहनेछन्, जसमा अमेरिकी क्रिस विलियम्स, रूसी सर्गेई मिखीभ, र रूसी सर्गेई कुड-स्भरचकोभ । स्वास्थ्य समस्याका कारण, नासाले २०२६ को पहिलो अन्तरिक्षयात्रा पनि रद्द गरेको छ, जसमा फिन्के र कार्डम्यानले स्टेशनको पावर प्रणालीको लागि नयाँ सौर्य प्यानलहरू स्थापना गर्ने तयारी रहेको थियो । नासाका प्रमुख जेरेड आइज्याकम्यानले उनीहरूले अन्तरिक्ष यात्रीहरूको सुरक्षा सुनिश्चित गर्न द्रुत कदम चालिरहेको र चालक दलको सुरक्षाको लागि यो निर्णय गरिएको बताएका छन् ।
१६- नेपाली बजारमा आज सुनको मुल्य वृद्धि भएको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको २१ सयले बढेर तोलाको २ लाख ६७ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ६५ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर तोलाको ४७८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८३५ रुपैयाँमा कारोबार भएको थियो ।
१७- इरानमा लगातार १२ दिनदेखि सरकार विरोधी प्रदर्शनहरू जारी छन् । यी प्रदर्शनहरू राजधानी तेहरान र देशभरका धेरै अन्य शहरहरूमा भइरहेका छन् । अहिलेसम्म यी प्रदर्शनहरूमा कम्तिमा ४५ प्रदर्शनकारी र चार सुरक्षाकर्मी मारिएका छन् । थप रूपमा, दुई हजारभन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको छ । एक अनुगमन समूहका अनुसार, आन्दोलन चर्किएका शहरहरूमा देशभर इन्टरनेट सेवा काटिएको छ ।
इन्टरनेट अनुगमन समूह नेटब्लक्सले राष्ट्रव्यापी विरोध प्रदर्शनहरूमा तेहरान र इरानका धेरै अन्य भागहरूमा डिजिटल ब्ल्याकआउट भएको रिपोर्ट गरेको छ, जसले इन्टरनेट जडानमा बाधा पुर्याएको छ । देशभर इन्टरनेट र फोन सेवाहरू अस्थायी रूपमा बन्द गरिएको छ। तेहरान विमानस्थल पनि बन्द गरिएको छ र सेनालाई सतर्क राखिएको छ । तेहरानका बजारहरू बन्द रहेका छन् र विद्यार्थीहरूले विश्वविद्यालय क्याम्पसहरू कब्जा गरेका छन् । त्यसको केही समयपछि, सरकारले देशभर इन्टरनेट र फोन लाइनहरू काटेको छ । तैपनि, केही मानिसहरूले एलोन मस्कको उपग्रह-संचालित इन्टरनेट सेवा स्टारलिङ्कबाट भिडियोहरू पोस्ट गरिरहेका छन् ।
बिहीबार निर्वासित राजकुमार रेजा पहलवीले मानिसहरूलाई सडकमा आउन अपील गरेपछि विरोध प्रदर्शन तीव्र भएको छ । रेजा पहलवी इरानका अन्तिम शाह मोहम्मद रेजा पहलवीका छोरा हुन् । उनका बुबा १९७९ को इस्लामिक क्रान्तिको समयमा सत्ताबाट हटाइएका थिए । राजकुमार पहलवी हाल अमेरिकामा बस्छन् । यस अशान्तिको बीचमा, अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि धम्की दिएका छन् । यदि प्रदर्शनकारीहरू मारिए भने अमेरिकाले इरानमा आक्रमण गर्ने उनले बताएका थिए ।
देशमा आर्थिक संकटले जेनजी युवाहरु आन्दोलनमा होमिएका छन् । डिसेम्बर २०२५ मा, इरानी मुद्रा, रियाल, प्रति अमेरिकी डलर लगभग १.४५ मिलियनमा झरेको छ, जुन अहिलेसम्मकै सबैभन्दा कम स्तर हो । वर्षको सुरुवातदेखि, रियालको मूल्य लगभग आधा भएको छ । मुद्रास्फीति यहाँ शिखरमा पुगेको छ । खाद्यान्नको मूल्य ७२ प्रतिशतले र औषधिको मूल्य ५० प्रतिशतले बढेको छ । यस बाहेक, २०२६ को बजेटमा ६२ प्रतिशतले कर बढाउने सरकारको प्रस्तावले आम जनतामा ठूलो आक्रोश सिर्जना गरेको छ ।
१८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा लामो समयसम्म सरकारलाई नियन्त्रणमा लिने संकेत गरेका छन् । न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा ट्रम्पले भेनेजुएलाको अन्तरिम सरकारले ‘आवश्यक सबै कुरा प्रदान गरिरहेको छ’ बताउदै भेनेजुएलामा अमेरिकाको नियन्त्रण लामो समयसम्म रहने बताएका छन् । भेनेजुएलामा अमेरिकाले कति समयसम्म प्रत्यक्ष नियन्त्रण कायम राख्नेछ भनेर सोध्दा ट्रम्पले समयले मात्र बताउने, तर यो धेरै लामो समय हुने बताए ।
भेनेजुएलामा चुनाव कहिले हुनेछ भन्ने बारेमा ट्रम्पले कुनै जानकारी दिएनन् । उनले अमेरिकी सेनाको तैनाथीको बारेमा पनि प्रत्यक्ष जवाफ दिएनन् । ट्रम्पले भविष्यमा भेनेजुएला भ्रमण गर्न चाहेको बताए । उनले भने- ‘मलाई लाग्छ त्यो समय चाँडै आउनेछ जब त्यहाँ जान मेरो लागि सुरक्षित हुनेछ ।’ ट्रम्प अघि, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले भेनेजुएलाको तेल बिक्रीलाई अनिश्चितकालसम्म नियन्त्रणमा राख्ने बताएका थिए ।
रिपब्लिकन सांसदहरूले यस कदमलाई ठूलो मात्रामा समर्थन गरेका छन्, तर डेमोक्र्याटहरूले अमेरिका स्पष्ट कानुनी अधिकार बिना लामो अन्तर्राष्ट्रिय हस्तक्षेप तर्फ अगाडि बढिरहेको भन्दै चेतावनी दिएका छन् । ट्रम्पले मादुरो सरकारकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई भेनेजुएलाको नयाँ नेताको रूपमा मान्यता दिने बारे प्रश्नहरूको जवाफ दिएनन्, न त उनले विपक्षी नेता मारिया कोरिना माचाडोलाई किन समर्थन गरेनन् भनेर व्याख्या गरे, जसको पार्टीले २०२४ को चुनाव जित्यो र हालै उनले नोबेल शान्ति पुरस्कार जितेकी थिइन् ।
१९- रियल म्याड्रिड स्पेनिस सुपरकोपाको फाइनलमा पुगेको छ । साउदी अरेबियामा जारी स्पेनिस सुपर कोपाको सेमिफाइनलमा रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । रियल म्याड्रिडको जितमा फेडेरिको भलभेर्डे र रोड्रीगोले एक एक गोल गरेका थिए । त्यसैगरी एटलेटिकोका लागि एक गोल एलेक्जेन्डर सार्लोथले गरेका थिए । यसअघि अर्को सेमिफाइनलमा बार्सिलोनाले एथलेटिक क्लबलाई पराजित गरेर फाइनलमा पुगेको छ । अब फाइनल खेल जनवरी ११ मा बार्सिलोना र रियल म्याड्रिडबीच एल क्लासिकोको रुपमा हुने भएको छ ।
२०- नेपाली कांग्रेसका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशन पक्षसँग वार्ता गर्न सभापति शेरबहादुर देउवासहित पार्टी नेतृत्वलाई अपिल गरेका छन् । विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न उनीहरूले अपिल गरेका हुन् । ललितपुरको कुपन्डोलमा शुक्रबार बिहान भएको छलफलपछि विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यहरुले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेको हो ।
उनीहरुले भनेका छन्- ‘कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ । अत: माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं ।’ प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसलाई जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टी बनाउन जरूरी रहेको जोड दिँदै उनीहरूले परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्ने अवस्था रहेको स्मरण गराएका छन् ।
FACEBOOK COMMENTS