काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट व्यक्तिगत मोबाइलमा आउने शंकास्पद सन्देश तथा लिंकप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ । प्राधिकरणका अनुसार पछिल्ला दिनहरूमा मोबाइल सेवा प्रदायकहरूको नेटवर्क पूर्वाधार तथा व्हाट्सएप जस्ता ओभर द टप एपमार्फत प्रयोगकर्ताको मोबाइल नम्बरमा फिसिङ्ग लिंकसहितका निर्देशनात्मक सन्देशहरू पठाउने घटनाबारे गुनासो बढेको छ ।
यस्ता लिंकहरू वास्तविक जस्तै देखिने भएकाले प्रयोगकर्तामा भ्रम सिर्जना हुने र ती लिंकमा क्लिक गर्दा व्यक्तिगत विवरण चोरी हुने, अनधिकृत पहुँच हुने तथा वित्तीय ठगीजस्ता साइबर अपराध हुन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यस्ता शंकास्पद सन्देश वा लिंकहरू नखोल्न, क्लिक नगर्न र प्रयोग नगर्न सबै उपभोक्तालाई हार्दिक आग्रह गरेको छ । यस प्रकारका गतिविधिबाट सचेत रहन र कुनै पनि शंकास्पद सन्देश प्राप्त भएमा सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।
२- सरकारले ‘ओभर–द–टप’ (ओटीटी) प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा संशोधन गर्दै डिजिटल प्रसारण प्रणालीअन्तर्गत सञ्चालन भइरहेका ओटीटी सेवा प्रदायकहरूलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो । सोमबार राजपत्रमा प्रकाशित संशोधित नियमावलीअनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ‘ओटीटी प्लेटफर्म’हरूले अनुमति लिनुपर्नेछ । यससँगै वर्षौँदेखि अनौपचारिक रूपमा सञ्चालन भइरहेका डिजिटल स्ट्रिमिङ सेवा तथा ओटीटी प्लेटफर्महरू पहिलोपटक स्पष्ट कानुनी संरचनाभित्र आउने भएका छन् ।
सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली २०५२ को विभिन्न अनुसूचीहरूमा संशोधन गर्दै ओटीटी तथा डिजिटल प्रसारण प्रणालीलाई स्पष्ट रूपमा समेटेको छ । संशोधित व्यवस्था अनुसार अनुसूची–३(क) मा ‘डाउनलिङ्क गरिने ओटीटी विदेशी कार्यक्रम तथा ओटीटी प्लेटफर्म’ सम्बन्धी विवरण अनिवार्य गरिएको छ । यसअन्तर्गत अब विदेशी ओटीटी सेवा प्रदायक वा डिजिटल कार्यक्रम वितरण गर्ने संस्थाले नेपालभित्र प्रसारण गर्न अनुमति लिनुपर्नेछ । यसअघि यस्ता ओटीटी प्लेटफर्महरू कुनै पनि सरकारी निकायमा दर्ता नभई स्वतन्त्र रूपमा सञ्चालन हुँदै आएका थिए । कानुनी अस्पष्टताका कारण नियमन, कर संकलन तथा सामग्री अनुगमन जटिल बन्दै आएको थियो ।

नयाँ संशोधनले अब ओटीटी प्लेटफर्महरूलाई अन्य प्रसारण माध्यमजस्तै नियमन र कानुनी दायरामा ल्याउने आधार तयार गरेको मन्त्रालयले जनाएको छ । संशोधित नियमावलीले ओटीटी तथा डिजिटल प्रसारण सेवाका लागि इजाजतपत्र तथा शुल्क संरचना पनि निर्धारण गरेको छ । नयाँ व्यवस्थाअनुसार कुनैपनि विदेशी कार्यक्रम उत्पादकले आफ्नो मुलुकमा उत्पादन गरेको ओटीटी डिजिटल कार्यक्रम नेपालमाल डाउनलिङ्क गरी प्रसारण गर्न प्रति प्लेटफर्म रु १० लाख शुल्क तोकिएको छ ।

त्यस्तै, डाउनलिङ्क अनुमति प्राप्त विदेशी ओटिटी डिजिटल कार्यक्रमको सिग्नल वितरणको लागि प्रति ओटिटी प्लेटफर्म २५ लाख तिर्नुपर्नेछ । ओटिटी प्रसारण सेवा सञ्चालनको लागि रु एक करोड शूल्क तोकिएको नियमावलीमा उल्लेख छ । विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेञ्चाइज) वा विदेशी कार्यक्रमको प्रत्यक्ष प्रसारणको स्वीकृतिको लागि रु पाँच लाख शूल्क तोकिएको छ भने अनलाइन रेडियो सञ्चालनका लागि रु ५० हजार इजाजतपत्र शुल्क तोकिएको छ ।

३- अमेरिका र इरानबीच प्रारम्भिक सम्झौता भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको छ । यससँगै कच्चा तेल तीन महिनाकै न्यून स्तरमा पुगेको छ । मिडिया रिपोर्टका अनुसार मंगलबार ब्रेन्ट क्रुड तेलको मूल्य २.४ प्रतिशतले घटेर प्रतिब्यारेल ८१.१५ अमेरिकी डलरमा झरेको छ । कारोबारका क्रममा यो ८०.८९ डलरसम्म पुगेको थियो, जुन मार्च ४ पछिको सबैभन्दा कम स्तर हो । त्यसैगरी अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) क्रुड २.८ प्रतिशतले घटेर ७८.५३ डलर प्रति बैरलमा पुगेको छ । कारोबारका क्रममा यो ७८.२७ डलरसम्म झरेको थियो, जुन मार्च १० पछिको न्यूनतम स्तर हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिका–इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित अन्तरिम सम्झौता भएको घोषणा गरेका थिए । त्यसपछि सोमबार मात्रै तेलको मूल्य करिब ५ प्रतिशतले घटेको थियो । होर्मुज जलडमरू पुनः खुल्ने सम्भावनाले विश्वव्यापी तेल आपूर्तिमा अवरोध नआउने अपेक्षा बजारमा बढेको छ । यही कारण लगानीकर्ताको विश्वास बढेसँगै तेलको मूल्यमा थप दबाब परेको बताइएको छ ।
४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई लेबनानको विषयमा थप जिम्मेवार बन्न सुझाव दिएका छन् । जी ७ को सम्मेलनमा भाग लिन हाल फ्रान्समा रहेका ट्रम्पले नेतन्याहूलाई लेबनानको विषयमा थप जिम्मेवार बन्न सुझाव दिदै आफुले इजरायलका लागि धेरै काम गरेको दाबि गरेका छन् । ट्रम्पले भनेका छन्- ‘म नभएको भए इजरायल आजको अवस्थामा हुने थिएन, किनभने मैले जति काम अन्य कुनै अमेरिकी राष्ट्रपतिले गरेका छैनन् ।’ उनले नेतन्याहूसँग आफ्नो राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै अब लेबनानप्रति थप जिम्मेवार दृष्टिकोण अपनाउन आवश्यक रहेको बताए ।
कुनै एक व्यक्तिलाई निशाना बनाउन पूरै भवन ध्वस्त पार्नु उचित नभएको उनको भनाइ थियो । उनका अनुसार त्यहाँ बस्ने सबै मानिस हिजबुल्लाहका सदस्य हुँदैनन् । ट्रम्पले इजरायल र हिजबुल्लाहबीच तनाव जारी रहे पनि अमेरिका र इरानबीच भएको सम्झौता कायम रहन सक्ने दाबी गरे । उनले इरानलाई मुख्य विषयका रूपमा उल्लेख गर्दै लेबनानको द्वन्द्व त्यसको तुलनामा सानो मुद्दा भएको बताए । सिएनएनका अनुसार लेबनानमा हिजबुल्लाहविरुद्ध इजरायलले निरन्तर गरिरहेको आक्रमणले अमेरिका र इरानबीचको सम्झौता प्रयासलाई जटिल बनाइरहेको ट्रम्पको विश्वास छ । यता इरानले पनि कुनै पनि युद्धविराम सम्झौतामा लेबनानलाई समेटिनुपर्ने अडान राखिरहेको छ । यसअघि नेतन्याहूले इरानसँगको सहमतिप्रति टिप्पणी गर्दै ‘ट्रम्पको निर्णय’ भनेका थिए भने हिजबुल्लाहले आक्रमण जारी राखेसम्म लेबनानमा आक्रमण नरोकिने बताएका थिए ।
५- नेपाल प्रिमियर लिग (एनपीएल) को टिम विराटनगर किंग्सले आगामी सिजनका लागि ६ खेलाडी रिटेन गरेको छ । विराटनगरले आगामी सिजनका लागि मार्की खेलाडी सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिश जिसी र सुबास भण्डारीलाई रिटेन गरेको हो । विराटनगरले नरेन भट्ट, श्रवन किस्कु, आयुष न्यौपाने, शंकर राना, सुर्य तामाङलाई रिलिज गरेको छ ।
६- स्वास्थ्य सेवा विभागकी पूर्वमहानिर्देशक संगीता कौशल मिश्रालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले मिश्रलाई सफाइ दिएको हो । पूर्वमहानिर्देशक मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद सापकोटा, शम्भुप्रसाद ढकाल, सीता भन्ने सीता घिमिरे र तिलकराम ढकालले पनि विशेष अदालतले सफाइ दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रासहित १४ जनाविरुद्ध २०८२ कात्तिक २ गते मेमोग्राफी मेसिन खरिद प्रक्रियामा लागत अनुमान तयार गर्ने चरणदेखि नै मिलेमतो गरी ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी कार्य सम्पन्न गरिएको र ठेक्का सम्झौताको सर्तअनुसार सम्पूर्ण सामग्री नआईकनै झुटो तथा नक्कली बिलबिजक तयार गरी १३ करोड ३७ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरिएको आयोगको दाबी गर्दै मुद्धा दायर गरेको थियो । ठेक्काको लागत अनुमान १२ करोड ७५ लाख रुपैयाँ स्वीकृत गरिएकामा आपूर्तिकर्ता कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिले १२ करोड ५५ लाख रुपैयाँ प्रस्ताव राखेको थियो ।
ठेक्का प्रक्रिया सुरु हुनुअघि नै आपूर्तिकर्ता कम्पनीसँग गोप्य विवरण साझा गरिएको र सम्पूर्ण खरिद प्रक्रिया मिलेमतोमै भएको प्रमाणित भएको दाबि अख्तियारको थियो । उत्पादन कम्पनी जनरल मेडिकल मिरेटटि इटलीबाट पठाइएको सामानको वास्तविक मूल्य करिब ६ करोड ८५ लाख रुपैयाँ मात्र रहे पनि विभागले झन्डै १४ करोड १८ लाख मूल्यमा भुक्तानी गरेको अख्तियारको दावी थियो । विशेष अदालतले श्रवणकुमार थापा, सुरेन्द्रप्रसाद चौरासिया, आशिष चौहान,पद्या मिश्र र सञ्जयकुमार साहलाई भने भ्रष्टाचारमा दोषी ठहर गरेको छ । उनीहरुलाई जनही ५ लाख ४७ हजार ८ सय बिगो, २० हजार जरिवाना र ४ महिना कैदको फैसला सुनाएको हो । विशेष अदालतले सप्लायर्स सुन्दर भुसाललाई मतियारको रुपमा दोषी ठहर गर्दै ५ लाख ४७ हजार बिगो र २० हजार जरिवाना तोकेको छ ।
७- काठमाडौँको चन्द्रागिरी नगरपालिका–५ गुर्जुधारास्थित यातायात कार्यालय परिसरमा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिने तथा सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने कार्यमा संलग्न रहेको आरोपमा ६ बिचौलिया पक्राउ परेका छन् । मंगलबार बिहान बिचौलियाहरूले सेवाग्राहीलाई अनावश्यक रूपमा हैरानी दिएको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ चन्द्रागिरी–५ का २७ वर्षीय रञ्जीत महर्जन, गोकर्णेश्वर नगरपालिका–८ का २३ वर्षीय दोर्जे लामा, चन्द्रागिरी–१२ का ३२ वर्षीय आशिष श्रेष्ठ, चन्द्रागिरी–५ का ४९ वर्षीय केदार श्रेष्ठ, धादिङ सिद्धलेक गाउँपालिका–१ का २७ वर्षीय डाक्सन गुरुङ र चन्द्रागिरी–६ का २५ वर्षीय सविन तामाङ रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
८- नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से ६.३१ अंकले घटेर २७०५. ४५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५५ कम्पनिका एक करोड ७ लाख ८ हजार ५९६ कित्ता शेयर ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सोपान फार्माको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अपोलो हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सयपत्री हाइड्रोको शेयर ४.९० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३१ करोड ९९ लाख बराबरको कारोबार भएको छ सिद्धार्थ बैंकको १८ करोड २७ लाख बराबरको कारोबार भएको छ ।
९- चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो । नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ (ख) थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानुनी बाटो खुलेको थियो ।
यसअघि विधायन ऐन, २०८१ को दफा ३५ का कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वतः अमान्य (खारेज) हुँदा कानुनी रिक्तता भएको थियो । उक्त समस्या समाधानका लागि असार १ गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो । कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निःशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह (डिएम, एमसिएचसमेत)मा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गराउने बाटो खुलेको छ । यस कार्यविधिले आयोगको तर्फबाट चिकित्साशास्त्र अध्ययन गराउने शिक्षण संस्थालाई सबै तहमा (स्नातकोत्तर तह डिएम, एमसिएचसमेत)मा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गर्ने बाटो खुलेको छ । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको सहअध्यक्षता तथा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी र अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।
१०- अमेरिका र इरानबीच भएको शान्ति सम्झौताको अमेरिकामै आलोचना सुरु भएको छ । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले नयाँ सम्झौता सन् २०१५ मा भएको आणविक सम्झौतासँग धेरै हदसम्म मिल्दोजुल्दो रहेको बताएका छन् । उक्त सम्झौताबाट डोनाल्ड ट्रम्पले सन् २०१८ मा अमेरिकालाई बाहिर निकालेका थिए । सन् २०१५ को सम्झौताअनुसार इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्ने र आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको थियो । साथै, अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई इरानले सम्झौताको पालना गरिरहेको छ वा छैन भन्ने जाँच गर्ने अनुमति पनि दिइएको थियो ।
यसको बदलामा इरानमाथि लगाइएका विभिन्न आर्थिक प्रतिबन्धहरू खुकुलो बनाउने सहमति भएको थियो । तर उक्त सम्झौतामा इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम वा हमास र हिजबुल्लाहजस्ता क्षेत्रीय सहयोगी समूहलाई दिइँदै आएको समर्थनसम्बन्धी विषय समेटिएको थिएन । इजरायल र त्यतिबेला राष्ट्रपति पदका उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले यिनै कमजोरीहरूको कडा आलोचना गरेका थिए । त्यसपछि ट्रम्पले आफ्नो पहिलो कार्यकालका क्रममा सन् २०१८ मा अमेरिकालाई उक्त सम्झौताबाट बाहिर निकालेका थिए र इरानमाथि फेरि कडा प्रतिबन्ध लागू गरेका थिए । त्यस्तै ट्रम्पकै पार्टी रिपब्लिकन नेताहरूले इरानसँग भएको शान्ति सम्झौताप्रति अझै पूर्ण समर्थन जनाएका छैनन् ।
उनीहरूले सम्झौताबारे सबै विवरण सार्वजनिक भएपछि मात्रै आफ्नो स्पष्ट धारणा बनाउने बताएका छन् । रिपब्लिकन पार्टीसँग आबद्ध नेताहरूले सम्झौताको पूर्ण दस्तावेज सार्वजनिक नभएसम्म र त्यसका सबै सर्तहरू बाहिर नआएसम्म समर्थन वा विरोधमा उभिनु हतारो हुने टिप्पणी गरेर समर्थन गर्न हिच्किचाएका छन् । ती नेताहरूले विशेषगरी यो शान्ति सम्झौताबाट अमेरिकाले के हासिल गर्नेछ भन्ने विषय बुझ्न चाहेका छन् । साथै, सम्झौताअन्तर्गत अमेरिकाले के गर्नुपर्नेछ, इरानले कस्ता रियायत पाउनेछ र भविष्यमा यसको राजनीतिक तथा सुरक्षा क्षेत्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने विषयमा पनि उनीहरू स्पष्ट हुन चाहिरहेको बताएका छन् ।
११- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ । अख्तियारले अर्याललाई सोमबार साँझ काठमाडौं विमानस्थलबाट नियन्त्रणमा लिएको हो । राहदानी खरिदमा अनियमितता आरोपमा अर्याललाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ ।
१२- अमेरिका र इरानबीच सम्झौता भएको घोषणा भए पनि होर्मुज जलडमरूमा जहाजहरूको आवागमन अझै सामान्य अवस्थामा फर्किन नसकेको पाइएको छ । जहाजको गतिविधि निगरानी गर्ने वेबसाइट मरीन ट्राफिकका अनुसार सम्झौता घोषणा भएपछि हालसम्म केवल चार तेल बोक्ने ट्यांकर, केही मालवाहक जहाज र केही साना जहाज मात्र उक्त जलमार्ग पार गर्न सफल भएका छन् । इरानको एउटा तेल ट्यांकर ‘डालिया’ मंगलबार बिहान दक्षिणी इरानको चाबहार बन्दरगाहबाट निस्केर होर्मुज जलडमरूमा प्रवेश गरेको देखिएको छ । रेकर्डअनुसार युद्ध सुरु भएयता यो जहाज पाँच पटक यही मार्ग प्रयोग गरिसकेको छ ।
यस क्रममा उसले धेरै पटक आफ्नो स्थान देखाउने उपकरण बन्द गर्ने गरेको पनि बताइएको छ । हाल उक्त ट्यांकर खाली रहेको रिपोर्टमा उल्लेख छ । अधिकांश तेल ट्यांकरहरू भने अझै पनि होर्मुज जलडमरूभन्दा टाढा ओमानको खाडी र फारसको खाडी क्षेत्रमा लंगर हालेर बसेका छन् । यसले सम्झौता भए पनि समुद्री यातायात कम्पनीहरू पूर्ण रूपमा विश्वस्त नभएको संकेत गर्छ । विज्ञहरूका अनुसार अवस्था सामान्य हुन अझै केही समय लाग्न सक्छ । यसैबीच अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इरानले कहिल्यै पनि आणविक हतियार नराख्ने विषयमा सहमति जनाएको दाबी गरेका छन् । उनले केही सञ्चारमाध्यममा आएको त्यो खबरलाई पनि अस्वीकार गरेका छन्, जसमा सम्झौताअन्तर्गत अमेरिका इरानलाई ३० करोड डलर आर्थिक सहायता दिने भनिएको थियो । ट्रम्पले त्यस्ता रिपोर्ट पूर्ण रूपमा गलत भएको बताएका छन् । यसअघि अमेरिकी उपराष्ट्रपतिले भने सोमबार प्रतिक्रिया दिँदै यदि इरानले शान्ति सम्झौतामा तोकिएका सबै जिम्मेवारी पूरा गर्छ भने उसले ३० करोड डलरको कोष प्राप्त गर्न सक्ने बताएका थिए ।
१३- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक असार ५ र ६ गते बस्ने गरी तय गरिएको छ । प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठकका एजेण्डाबारे छलफल गर्न असार ४ गते दिउँसो १२:३० बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । यसपटकको केन्द्रीय कार्यसमिति बैठक विशेषगरी महाधिवेशन केन्द्रित रहने र बैठकले महाधिवेशनको मिति पनि तोक्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिएका छन् । समयमा महाधिवेशन नगरेको र निर्वाचनमा असफल भएको भन्दै नेतृत्वप्रति असन्तुष्ट हुदै राप्रपाको धवलशमशेर राणा समुह पार्टी छोडेर नयाँ पार्टी निर्माणमा दुर्गा प्रसाईसँग सहकार्य गरेको समयमा राप्रपाको बैठक बस्न लागेको हो । राप्रपाको महाधिवेशन २७८ सालको मङ्सिरमा भएको थियो र सो महाधिवेशनबाट राजेन्द्र लिङदेन अध्यक्ष बनेका थिए । लिङदेन कार्यसमितिको कार्यकाल गत मङ्सिरमै सकिएको थियो भने त्यसपछि जेठ १७ गतेसम्म म्याद थप गरिएको थियो ।
१४- नेकपाका सांसद प्रमेशकुमार हमालले विश्वकप हेर्न लिएको शुल्कप्रति आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै हमालले विश्वकप फुटबल हेर्न ९९९ रुपैयाँ लिएकोप्रति आपत्ति जनाउदै निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् । उनले भने- ‘वर्ल्डकप मेरो पनि चासोको विषय हो । युवाहरूको त झनै चासो छ । तर, ९९९ रुपैयाँ तिनुपर्छ । मनोपोली छ । कयौँ मान्छे व्यघ्र हुँदा पनि आफ्नो पहुँच पुर्याउन सकेका छैनन् । अब त पुग्यो होला नि ! उठाउने जति आम्दानी भइसक्यो होला । म नेपाल सरकारलाई आफ्नो टेलिभिजन च्यानलमार्फत निःशुल्क उपलब्ध गराउन अनुरोध गर्छु ।’
१५- सेफ सन्तोष साह हाजिर जमानीमा रिहा भएका छन् । साह सोमबार साँझ हाजिर जमानीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । साहले चार लाख ५० हजार रुपैयाँ बिगो रकम बुझाएर रिहा भएका हुन् । साहलाई ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । सकुन्तला अधिकारीको जाहेरीको आधारमा उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले पक्राउ गरेको थियो । अधिकारीले गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्दा पूरा रकम भुक्तानी नगरेको भन्दै जाहेरी दिएकी थिइन् । साहविरुद्ध बैकिङ कसुरको अर्को मुद्दामा काठमाडौं जिल्ला अदालतले २०८२ जेठ ३० गते २५ लाख बिगो भएको मुद्दामा एक महिना कैद र एक लाख २५ हजार रुपैयाँ जरिवाना तोकेको समेत खुलेको छ । सो कसुरमा अदालतमा हाजिर हुन जाने म्याद बाँकी रहेकोले उनलाई हाल छोडिएको प्रहरीले जानकारी दिएको छ ।
१६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ६४ जिल्लामा अधिवेशन सकिएको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार रास्वपाले हालसम्म ६४ जिल्ला, ६०९ पालिका र ४ हजार ३६३ वडामा अधिवेशन सकेको छ । रास्वपाका अधिवेशन नभएका जिल्लाहरूमा कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेस प्रदेशका धनुषा, सप्तरी बारा र सर्लाही रहेका छन् । त्यसैगरी अधिवेशन प्रक्रिया सुरु भई स्थगन भएका जिल्लाहरूमा सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट रहेका छन् । त्यस्तै रास्वपाको कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेस प्रदेशको अधिवेशन स्थगन छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालु रहेको महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन् । रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ चितवनमा आयोजना हुनेगरी तयारी तीव्र गरिरहेको छ ।
१७- परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य वाङ यीबीच द्विपक्षीय वार्ता भएको छ । वार्तामा नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षबारे विस्तृत छलफल भएको बेइजीङस्थित नेपाली दुताबासले जनाएको छ । भेटवार्तामा दुवै पक्षले मित्रता, सद्भाव र सहकार्यमा आधारित सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा जोड दिएका छन् ।
नेपाल पक्षले एक चीन सिद्धान्तप्रति नेपाल सरकारको दृढ प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि चीनविरुद्धका गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट गरेको छ भने चीन पक्षले नेपालको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दै सुशासन र आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतामा पूर्ण सहयोग रहने आश्वासन दिएको छ । दुवै पक्षले आपसी सम्मान र प्राथमिकता तथा संवेदनशीलताप्रतिको साझा समझदारीका आधारमा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेको दुताबासले उल्लेख गरेको छ । यसमा पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि र डिजिटलकरण, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध विस्तारजस्ता क्षेत्र समेटिएका छन् ।
यसअघि भएका सहमति तथा कार्यक्रमहरूको छिटो कार्यान्वयनमा दुवै पक्षले जोड दिदै बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा साझा चासोका विषयमा सहकार्य थप विस्तार गर्ने विषयमा पनि सहमति भएको दुताबासले जानकारी दिएको छ । वार्तापछि मन्त्री खनालको सम्मानमा चीनका परराष्ट्रमन्त्री वाङ यीले रात्रिभोज आयोजना गरेका थिए । यसअघि सोमबार नै मन्त्री खनालले चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइशिङसँग पनि भेटवार्ता गरेका थिए । भेटमा नेपाल–चीन सम्बन्ध र पार्टी–पार्टी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरिएको थियो ।
त्यस्तै मन्त्री खनालले बेइजिङस्थित चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको तिब्बती पठार अनुसन्धान संस्थानको पनि भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले त्यहाँका गतिविधिबारे जानकारी लिँदै त्रिभुवन विश्वविद्यालयलगायत नेपाली संस्थासँग भइरहेको सहकार्यबारे ब्रिफिङ लिएका थिए । उनले विज्ञान तथा प्रविधि क्षेत्रमा दुई देशबीच सहकार्य अझ गहिरो बनाउनुपर्ने आवश्यकता समेत औँल्याएका थिए । मन्त्री खनाल आफ्नो चीन भ्रमण पुरा गरेर बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
१८- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संघर्ष अझै समाप्त नभएको छ । उनले हालको शान्ति सम्झौतालाई ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय’ भन्दै इजरायल आफ्ना प्रतिकारात्मक कारबाही गर्ने अधिकारमा कुनै सम्झौता नगर्ने स्पष्ट गरेका छन् । नेतन्याहूका अनुसार यदि हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेमा इजरायलले लेबनानमा प्रतिकार गर्ने स्पष्ट गरेका हुन् ।
यसअघि नेतन्याहूले ट्रम्पलाई युद्ध सुरु गर्न मनाउन महत्वपूर्ण भूमिका खेलेका थिए र अमेरिकासँग मिलेर इरानमाथि पनि आक्रमण गराइएको दाबी गरिएको छ । इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन ग्वीरले पनि यो सम्झौता ट्रम्पको निर्णय भएको भन्दै इजरायल त्यसमा बाध्य नरहेको बताएका छन् । त्यस्तै रक्षामन्त्री इजरायल काट्जले दक्षिणी लेबनानबाट सेना फिर्ता नहुने स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले भने इरानले सम्झौताका सबै सर्त पालना नगरेसम्म प्रतिबन्ध खुकुलो नहुने बताएका छन् । अमेरिकाले तत्काल कुनै आर्थिक राहत नदिने पनि स्पष्ट गरेको छ । यता इरानका राष्ट्रपति मसूद पजशकियानले अमेरिकासँग भएको सम्झौतालाई ‘विजयको दस्तावेज’ भन्दै इजरायलको असन्तुष्टिले वार्तामा इरान बलियो अवस्थामा रहेको पुष्टि भएको दाबी गरेका छन् ।
१९- नेपाली बजारमा आज सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ३ सयले बढेर तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९८ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर तोलाको ४९९० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५०१५ मा कारोबार भएको थियो ।
२०- विश्वकप उपाधिको बलियो दाबेदार तथा युरोपेली च्याम्पियन स्पेनविरुद्ध केप भेर्ड़ेले अविश्वसनीय प्रदर्शन गर्दै गोलरहित बराबरी खेलेपछि आफ्नो फुटबल इतिहासकै सबैभन्दा सम्झनलायक नतिजा हासिल गरेको छ । एटलान्टा रंगशालामा अन्तिम सिट्टी बज्नासाथ क्यामेरा केप भेर्ड़ेका ४० वर्षीय गोलरक्षक भोजिन्हातर्फ सोझियो । आँसु झारिरहेका उनी आफूले प्राप्त गरेको ऐतिहासिक उपलब्धिको महत्व विस्तारै महसुस गरिरहेका थिए । ९० मिनेटभर निरन्तर समर्थन गरेका हजारौँ केप भेर्ड़े समर्थक खुसीले उफ्रिए । उनीहरूले एकअर्कालाई अँगालो हाल्दै, नाच्दै र यो अविस्मरणीय नतिजाको उत्सव मनाए ।
मैदानभित्र खेलाडीहरू पनि खुसीले एकअर्कातर्फ दौडिए । तटस्थ समर्थकहरू समेत यो क्षणबाट प्रभावित बने र खेल सकिँदासम्म धेरैजसोले केप भेर्ड़ेको सफलताको उत्सवमा साथ दिए । स्पेनजस्तो बलियो टोलीविरुद्ध अनुभवी गोलरक्षक भोजिन्हाले आफ्नो जीवनकै उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै कुनै गोल हुन दिएनन् । उनको शानदार प्रदर्शनले केप भेर्ड़ेलाई देशको इतिहासकै सबैभन्दा ठूलो फुटबल उपलब्धि दिलायो । खेलको उत्कृष्ट खेलाडी घोषित भएपछि भावुक बनेका भोजिन्हाले भने-‘म रोएँ किनभने म मेरा हजुरबुबा र हजुरआमासँग हुर्किएको थिएँ । दुर्भाग्यवश उहाँहरू यहाँ हुनुहुन्न। केही वर्षअघि उहाँहरूको निधन भयो ।
उहाँहरू मेरो लागि सबैथोक हुनुहुन्थ्यो, मेरो जीवनकै आधार हुनुहुन्थ्यो ।’ उनले आफ्नी आमाको सम्झना पनि गरे । ‘मेरी आमा यहाँ आउन सक्नुभएन । भिसाका कारण र त्यसका लागि तिर्नुपर्ने खर्चका कारण समयमै व्यवस्था मिलाउन सकेनौँ। उहाँ यहाँ भएको भए म निकै खुसी हुन्थेँ,’ उनले भने । भोजिन्हाले टोलीको सबैभन्दा ठूलो शक्ति एकता भएको बताए । उनले भने, ‘हाम्रो सबैभन्दा ठूलो हतियार भनेको हाम्रो एकता हो। आज टोलीमा आउने खेलाडी होस् वा १०–१५ वर्षदेखि टोलीसँग जोडिएको खेलाडी, हामी परिवारलाई जसरी व्यवहार गर्छौँ, त्यही नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो ।’ उनले थपे, ‘धेरैले हामी विश्वकपको आनन्द लिन मात्रै यहाँ आएका हौँ भन्ने सोचेका थिए। तर त्यस्तो होइन। यो हाम्रो पहिलो सहभागिता भए पनि हामी सबै टोलीको सम्मान गर्छौँ। हामी प्रतिस्पर्धा गर्न आएका हौँ र आफ्नो देशका लागि लड्न आएका हौँ ।’