काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- यस वर्षको प्रि-मनसुन अवधिमा पछिल्ला ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार औसतभन्दा निकै बढी वर्षा भएपछि सन् १९९० को पुरानो रेकर्डसमेत तोडिएको हो । विभागका अनुसार नेपालमा प्रि-मनसुन सिजनमा औसत २२६.३ मिलिमिटर वर्षा हुने गर्छ । तर यस वर्ष औसतको १४५.५ प्रतिशत बढी अर्थात् ३३९.७ मिलिमिटर वर्षा मापन गरिएको छ । विभागले सन् १९८१ देखि देशभरका १२६ वटा वर्षा मापन केन्द्रको तथ्याङ्कका आधारमा प्रि-मनसुन अवधिको विश्लेषण गर्दै आएको छ । यसअघि प्रि-मनसुन अवधिमा सबैभन्दा धेरै वर्षा सन् १९९० मा भएको रेकर्ड थियो । १९९० मा ३३१.४० मिलिमिटर बर्षा भएको थियो । त्यस्तै सन् २००० मा ३२३.१९ मिलिमिटर, २०२१ मा ३१७.८८ मिलिमिटर बर्षा भएको थियो । तर यस वर्ष भएको अत्यधिक वर्षाले उक्त रेकर्डलाई समेत उछिनेको विभागले जनाएको छ ।
२- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रमा देखिएका समस्या, अनियमितता र बचतकर्ताको बढ्दो गुनासोलाई नियन्त्रण गर्न १० बुँदे कार्ययोजना ल्याएको छ। मन्त्रालयले सातै प्रदेश र स्थानीय तहहरुलाई तहहरुलाई कार्ययोजना कार्यान्वयन गर्न पत्राचार गरेको हो। मन्त्रालयका अनुसार देशभर कानुनविपरीत सञ्चालन भएका सहकारी संस्थामाथि निगरानी बढाउन तथा निष्क्रिय सहकारीहरूको वास्तविक अवस्था पहिचान गर्न १० बुँदे कार्ययोजना ल्याईएको हो । कार्ययोजनाअनुसार सबै सहकारी संस्थालाई अनिवार्य रूपमा कोपोमिस प्रणालीमा आबद्ध गराइनेछ।
त्यस्तै सहकारी ऐनअनुसार संस्थाहरूको विवरण तथा अभिलेख अद्यावधिक गर्ने कामलाई तीव्रता दिइनेछ । मन्त्रालयले दुई वर्षभन्दा बढी समयदेखि साधारण सभा नगरेका, लेखापरीक्षण नगरेका तथा कोपोमिसमा आबद्ध नभएका सहकारी संस्थाको नामावली तयार गरी विस्तृत विवरण संकलन गर्नसमेत निर्देशन दिएको छ। यसबाट निष्क्रिय तथा जोखिमयुक्त सहकारी संस्थाको पहिचान गरी आवश्यक कारबाहीको बाटो खुल्ने मन्त्रालयले जनाएको छ ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले वित्तीय कारोबार सञ्चालनका लागि आवश्यक इजाजतपत्र प्राप्त गरे- नगरेको यकिन गर्न तथा त्यसका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणसँग समन्वय गर्न पनि मन्त्रालयले भनेको छ । अनुगमनपछि जारी भएका आदेश, निर्देशन, जरिवाना तथा अन्य कारबाहीको अभिलेख अद्यावधिक राख्ने, वित्तीय जोखिम देखिएका संस्थामाथि थप निगरानी तथा सुपरिवेक्षण गर्ने व्यवस्था पनि कार्ययोजनामा समावेश गरिएको छ । यस्तै सहकारी प्रशासन, दर्ता, नियमन, अनुगमन तथा खारेजी प्रक्रियालाई थप प्रभावकारी बनाउन आवश्यक कानुनी सुधारका लागि प्रदेश र स्थानीय तहबाट सुझाव मागिएको छ। मन्त्रालयले १५ दिनभित्र सुझाव पठाउन आग्रह गरेको छ ।

३- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो महाधिवेशन आगामी मङ्सिरमा गर्ने भएको छ । विहिबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् । महाधिवेशनको कार्यतालिका अनुसार भाद्र मसान्तसम्ममा जिल्ला अधिवेशन गर्ने, असोज मसान्तसम्ममा सक्रिय सदस्यता वितरण गर्ने निर्णय गरिएको छ ।

आजको बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिका समेत परिमार्जन सहित पारित गरेको छ भने केन्द्रीय कार्यसम्पादन समितिबाट प्रस्तावहरूलाई शुक्रबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने निर्णय गरेको छ । राप्रपाको वर्तमान कार्यसमितिको कार्यकाल गत मङ्सिरमै सकिएको थियो । त्यसपछि कार्यसमितिको कार्यकाल ६ महिना थपेपछि जेठ १७ गते सकिएको थियो । अब भने कार्यकाल सकिएको एक बर्षपछि महाधिवेशन प्रस्ताव गरिएको छ ।

४- नेपाल प्रिमियर लिग (एनपीएल) को टिम लुम्बिनी लायन्सए कप्तान रोहित पौडेलसहित ७ खेलाडी रिटेन गरेको छ । एनपीएलको डिफेन्डिङ च्याम्पियन समेत रहेको लुम्बिनीले रोहितसहित सन्दीप जोरा, शेर मल्ल, दिनेश अधिकारी, दिलिप नाथ, अभिषेक गौतम र तिलक भण्डारीलाई रिटेन गरेको छ । त्यस्तै लुम्बिनीले समीर अली, दुर्गेश गुप्ता, आदील खान, समित महर्जन र बिशाल पटेललाई रिलिज गरेको छ ।
५- औद्योगिक क्षेत्रभित्रको भाडा विवादको अन्तिम कानुनी निर्णय नहुँदासम्म उद्योगहरूमा विद्युत लाइन नकाट्न नेपाल उद्योग परिसंघले अनुरोध गरेको छ । परिसंघले सो विवादलाई लिएर उद्योग सञ्चालनमा अवरोध नआओस् भन्ने उद्देश्यले यस्तो आग्रह गरेको जनाएको छ । परिसंघका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा वृद्धि सम्बन्धी गरेको निर्णयबारे सर्वोच्च अदालतले २०८१ चैत १२ गते नयाँ भाडादर २०७९ असार २२ गतेदेखि मात्रै लागू हुने गरी फैसला गरेको थियो । सो निर्णयलाई उद्योगीहरूले स्वीकार गरिसकेको अवस्थामा पनि हाल उक्त मुद्दामा पुनरावलोकनका लागि सर्वोच्च अदालतमा निवेदन परेको अवस्था छ ।
यस्तो अवस्थामा अन्तिम कानुनी निर्णय नआउँदासम्म कुनै पनि उद्योगमा विद्युत लाइन नकाट्न र काटिएका उद्योगहरूको लाइन पुनः जडान गर्न परिसंघले सम्बन्धित पक्षलाई आग्रह गरेको छ । त्यस्तै, सर्वोच्च अदालतको फैसलाअनुसार केही उद्योगले भाडा तिरिसकेको र अन्य उद्योगले पनि तिर्न तयार रहेको भए पनि सात दिनको समय कम भएको भन्दै समय थप गर्न पनि परिसंघले अनुरोध गरेको छ । परिसंघले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगहरूको संरक्षण र प्रोत्साहन आवश्यक रहेको भन्दै उद्योगहरूलाई निर्वाध रूपमा सञ्चालन गर्न सहजीकरण गर्न सबै पक्षलाई आग्रह गरेको छ ।
६- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महरा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भएका छन् । करिब ४८ वर्षदेखि कम्युनिष्ट आन्दोलनका विभिन्न चरणमा निरन्तर सहभागी हुँदै आएका महराले लामो समयको राजनीतिक यात्रापछि अब स्वास्थ्य अवस्थाका कारण सक्रिय भूमिकाबाट अलग हुने निर्णय गरेको बताएका छन् । उनले आफूले विभिन्न आन्दोलन, संगठनात्मक परिवर्तन र संघर्षका चरणमा पार्टी, देश र जनताको सेवामा जीवनको महत्वपूर्ण समय समर्पण गरेको स्मरण गरेका छन् । महराले पछिल्ला केही वर्षयता नसासम्बन्धी र मांसपेशी क्रमशः खुम्चिने प्रकारको रोगबाट पीडित रहेको बताएका छन् । नियमित उपचार, थेरापी र औषधि सेवन जारी रहे पनि स्वास्थ्यले अपेक्षित साथ नदिँदा पार्टीका दैनिक गतिविधि र जिम्मेवारी सम्हाल्न कठिन हुँदै गएको उनले उल्लेख गरेका छन् ।
यसै परिस्थितिलाई ध्यानमा राख्दै उनले आजैदेखि सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गरेको जानकारी दिएका छन् । यो निर्णय कुनै असन्तुष्टि वा वैचारिक फरकका कारण नभई पूर्ण रूपमा स्वास्थ्य बाध्यताका कारण भएको उनले स्पष्ट गरेका छन् । महराले आफ्नो लामो राजनीतिक यात्रामा साथ दिने सबै नेता, कार्यकर्ता, शुभेच्छुक तथा जनसमुदायप्रति आभार व्यक्त गरेका छन् । साथै, उनले देश र जनताप्रतिको आफ्नो भावना र समृद्ध नेपालको सपना अन्तिमसम्म रहने बताएका छन् । उनले नयाँ पुस्ताले देशलाई अझ समृद्ध र आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्दै उनीहरूको सफलतामा नै पुरानो पुस्ताको संघर्षको सार्थकता देखिने उल्लेख गरेका छन् ।
७- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा अघि बढाएको बताएका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिँदै उनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मन्त्रालयलाई १ खर्ब १४ अर्ब २ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । जसमध्ये ऊर्जातर्फ ७० अर्ब १२ करोड ४६ लाख र जलस्रोत तथा सिँचाइतर्फ ४३ अर्ब ९० करोड ३६ लाख रुपैयाँ छुट्याइएको मन्त्री श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगामी वर्ष ६७० मेगावाट जलविद्युत् र ३७० मेगावाट सौर्य ऊर्जा गरी कुल १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिनेछ।
यससँगै देशको कुल जडित क्षमता ५ हजार ५३५ मेगावाट पुग्नेछ । सरकारले १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुर्याउने लक्ष्य लिएको पनि उनले बताए। साथै, १२ वटा रणनीतिक प्रसारण लाइन निर्माण सम्पन्न गर्ने, ऊर्जा व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउने र ठूला जलाशययुक्त आयोजनालाई प्राथमिकता दिने नीति लिइएको जानकारी दिए । सिँचाइतर्फ आगामी वर्ष थप १५ हजार ७७६ हेक्टर क्षेत्रमा सुविधा विस्तार गरी कुल सिञ्चित क्षेत्र ६४ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । साथै, थप ७० किलोमिटर तटबन्ध निर्माण गरी नदी नियन्त्रण र कृषि उत्पादन वृद्धि गर्ने योजना पनि सरकारले अघि सारेको मन्त्री श्रेष्ठले बताए ।
८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा महाधिवेशनमा २५ सयदेखि तीन हजारसम्म महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने भएका छन् । महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनमा २५ सयदेखि तीन हजारसम्म महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने अनुमान गरिएको र त्यसबाहेक हरेक जिल्लाबाट जिल्ला समितिले एक जना पर्यवेक्षक पठाउन सक्ने र प्रदेश समितिले तीन जना प्रदेशबाट पर्यवेक्षक पठाउन सक्ने गरी निर्णय भएको जानकारी दिएका छन् । विहिबार बसेको सचिवालय बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पदअनुसारको लेवी तिरेको हुनुपर्ने र लेवी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय गरेको उनले बताए ।
साथै बैठकले महाधिवेशनमा निर्वाचन आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन समेत निर्देशन दिएको छ । सचिवालय बैठकले महाधिवेशन अगावै बिभिन्न पदमा दावी गर्ने र आवश्यकता भन्दा बढि प्रचारप्रसार देखिएकाले आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए । महाधिवेशनमा पार्टीको केन्द्रीय समिति १५१ र प्रदेश समितिका सभापतिहरू पदेन रहने छलफल अघि बढेको बुर्लाकोटीले जानकारी दिएका छन् । साथै रास्वपाले पार्टीको महाधिवेशन उद्घाटन सत्रमा शुभकामनाका लागि बिभिन्न दलका सभापति तथा अध्यक्षहरुलाई निमन्त्रणा गरेको छ । सचिवालय बैठकले सातै प्रदेशको अधिवेशनको समीक्षा गर्दै मधेश प्रदेश बाहेक अन्य प्रदेशको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ । रास्वपाको प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ ।
९- देशभरका विभिन्न स्थानमा तापक्रम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालदेखि मधेशसम्मका तराई क्षेत्रहरूमा अत्यधिक गर्मी देखिएको छ भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा तुलनात्मक रूपमा चिसोपना कायम रहेको छ । जसअनुसार विहिबार दिउसो ३ बजे बाँकेको नेपालगञ्जस्थित खजुरामा सबैभन्दा धेरै ४०.२ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । त्यस्तै, लुम्बिनी, मधेश र मध्य तराईका विभिन्न स्थानमा ३५ देखि ३९ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ। पश्चिम तराईका केही क्षेत्रमा ३९.१, ३८.८ र ३८ डिग्री सेल्सियस आसपास तापक्रम पुगेको देखिएकाले ती क्षेत्रमा तातो हावा र अत्यधिक गर्मीको प्रभाव रहेको छ ।
मध्य तथा पूर्वी तराईका धेरै स्थानमा पनि तापक्रम ३२ देखि ३७ डिग्री सेल्सियसको बीचमा रहेको छ । यता काठमाडौँ उपत्यका र आसपासका पहाडी जिल्लाहरूमा तापक्रम २५ देखि २८ डिग्री सेल्सियसको हाराहारीमा रहेको देखिन्छ । यसले तराईको तुलनामा मध्यम खालको मौसम रहेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा भने तापक्रम उल्लेखनीय रूपमा कम रहेको छ। पूर्वी हिमाली क्षेत्रका केही स्थानमा १३.६ डिग्री सेल्सियससम्म तापक्रम झरेको देखिन्छ भने अन्य हिमाली क्षेत्रमा १७ देखि २१ डिग्री सेल्सियसको बीचमा रहेको छ । तराईका जिल्लामा गर्मीका कारण स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्। विशेषगरी दिउँसोको समयमा लामो समय घाममा नबस्न, प्रशस्त पानी पिउन, हल्का कपडा लगाउन र वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगीलाई विशेष ध्यान दिन आग्रह गरिएको छ ।
१०- नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से ५.०६ अंकले घटेर २७००. ४७ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका ७७ लाख ४३ हजार ३० कित्ता शेयर ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार ७९८ मा कारोबार भएको थियो । आज बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स, म्युचुअल र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी अपोलो हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सोपान फार्माको १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी प्रभु बैंक डिभेन्चरको शेयर ५.५४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३१ करोड ९८ लाख बराबरको कारोबार भएको छ युनाइटेड मोदी हाइड्रोको २३ करोड ५ लाख बराबरको कारोबार भएको छ ।
११- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ । बुधबार बूढानीलकण्ठस्थित देउवा निवासमै पुगेर तीन दिनभित्र उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको आयोग स्रोतले जानकारी दिएको छ । आरजु हाल उपचारका लागि विदेशमा रहेकाले तोकिएको तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी आयोगलाई गराएकी छन् ।
उनले इमेलमार्फत आयोगलाई जानकारी गराउदै आफूले अनुसन्धानमा सहयोग गर्ने तर उपचार गरिरहेकाले तत्काल नेपाल फर्किन नसक्ने जानकारी गराएको आयोग स्रोतले जानकारी दिएको छ । अख्तियारले राहदानी खरिद प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनीलकुमार केसी, जर्मन कम्पनी मुह्रबाउरका नेपाली एजेन्ट मनिन्द्रराज मल्ल र विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई पक्राउ गरेको छ । अख्तियारले यस प्रकरणमा ठेक्का प्रक्रियासँग सम्बन्धित सरकारी कर्मचारी तथा कम्पनीका प्रतिनिधिहरुमाथि अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा यस प्रकरणमा ८ अर्ब अनियमितता भएको दाबि गरिएको छ ।
१२- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै उनले उपलब्ध स्रोतका आधारमा शिक्षा तथा खेलकुद क्षेत्रका लागि अधिकतम बजेट छुट्ट्याइएको जानकारी दिए । उनले भने आव २०८३-८४ को कुल राष्ट्रिय बजेट २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाखमध्ये शिक्षा तथा खेलकुद क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड ५० लाख विनियोजन गरिएको छ । यो कुल राष्ट्रिय बजेटको १०.२८ प्रतिशत हो ।’ उनले प्रतिशतका हिसाबले यो बजेट चालु आवको तुलनामा ०.४७ प्रतिशतले कम भए पनि परिमाणका हिसाबमा चालु आवको भन्दा प्रस्तावित बजेट सात अर्बले बढेको जानकारी दिए ।
सङ्घीय तहबाट आगामी वर्षका लागि शिक्षा तथा खेलकुद क्षेत्रमा विनियोजन भएको बजेट १०.२८ प्रतिशत रहेको भए तापनि विगत वर्षमा प्रदेश सरकारबाट विद्यालय नर्स, शिक्षण अनुदान कोटा, सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ल्याब र विद्यालय पूर्वाधार निर्माणमा बजेट विनियोजन हुने बजेट उल्लेख्य नै रहने छ । विद्यालय शिक्षामा सबैभन्दा बढी, ६९.४९ प्रतिशत, उच्च शिक्षातर्फ ११.०४, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा २.५६ प्रतिशत, खेलकुदमा १.७४ प्रतिशत र व्यवस्थापनमा १५.१७ प्रतिशत बजेट विनियोजन गरिएको उनले जानकारी दिए । विद्यालय शिक्षा उपक्षेत्रमा विनियोजित बजेट १ खर्ब ५१ अर्ब ६९ करोड ७१ लाखमध्ये पूर्वाधार निर्माणमा जम्मा १० अर्ब ४५ करोड २४ लाख ४ हजार विनियोजन गरिएको उनले जानकारी दिए । आगामी वर्षको बजेटमा सात हजार ६६० जनाका लागि नवीनतम तथा बजार माग अनुकूलका सीप विकास तालिमका लागि बजेट विनियोजन गरिएको जानकारी दिँदै मन्त्री पोखरेलले एसइई परीक्षा सञ्चालनको कार्य प्रदेश तहबाट गर्ने गरी ३५ करोड विनियोजन गरिएको उल्लेख गरे ।
विद्यालय शिक्षा क्षेत्र योजनाअन्तर्गत प्रदेश तहका लागि विनियोजन गरिएको ६२ करोड ४० लाखमध्ये भौतिक पूर्वाधारमा २७ करोड ६० लाख र शिक्षक तालिममा २७ करोड ५० लाख विनियोजन भएको उनले जानकारी दिए । मन्त्री पोखरेलले गोरखा भूकम्पबाट प्रभावित १४ जिल्ला र पश्चिम नेपाल भूकम्पबाट प्रभावित बझाङ, जाजरकोट र रुकुम पश्चिम; र मनाङ र मुस्ताङ गरी १९ जिल्ला बाहेकका सबै स्थानीय तहका विद्यार्थी सङ्ख्याका आधारमा रु दुई अर्ब ३७ करोड दुई लाख स्थानीय तहको साझेदारीमा विद्यालयको भौतिक निर्माण अनुदानका लागि छुट्ट्याइएको जानकारी दिए । मन्त्री पोखरेलले साबिकको कर्णाली अञ्चलका जिल्लाका विद्यार्थीका लागि प्रतिदिन रु २५ र अन्य जिल्लाका विद्यार्थीका लागि प्रतिदिन रु २० का दरले बजेट विनियोजन गरिएको बताए ।
मन्त्री पोखरेलले संरचनागत र संस्थागत सुधारका साथसाथै विनियोजन कुशलता कायम गरी गुणस्तरीय खर्च सुनिश्चित गर्ने सम्बन्धमा आगामी आवमा उल्लेख्य कदम चालिने अवगत गराए । शिक्षा मन्त्रीले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपको परिमार्जनका लागि कार्यदल गठन गरी काम अगाडि बढाइएको उल्लेख गर्दै उक्त प्रारूपले विद्यालय शिक्षामा रहने विषय र पाठ्य भार यकिन गर्ने बताए । हाल आधारभूत तहको खुद भर्ना दर ९७.७ प्रतिशत र सो तहको शिक्षा पूरा गर्ने दर ७४ प्रतिशत रहेको जानकारी दिँदै उनले आधारभूत शिक्षाको पहुँच बाहिर रहेका बालबालिकालाई विद्यालय शिक्षामा ल्याउनका लागि विभिन्न प्रयत्नहरू गरिएको स्पष्ट पारे ।
१३- नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिनसम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केरुङले गृहमन्त्रीले कुन आधारमा सफाइ पाए भन्ने विषयमा संसद् र जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने बताउदै छानबिन आयोगको प्रतिवेदन सार्बजनिक गर्न माग गरेका हुन् । साथै सांसद केरुङले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन समेत सार्वजनिक गरी कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई कार्यालयमा बोलाएर दबाब दिदै पक्राउ पुर्जी जारी गराइएको विषय बाहिर आएको उल्लेख गर्दै त्यसबारे सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । साथै सांसद केरुङले प्रधानमन्त्रीको सीमा सम्बन्धि अधिव्यक्ति बारे आफुहरुको विरोध कायम राखेको जानकारी दिदै प्रधानमन्त्रीले संसदमा आएर आफ्नो भनाई फिर्ता लिन माग गरेका थिए ।
१४- प्रतिनिधि सभाको बैठकमा सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै नेकपा एमालेले रुलिङको माग गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संसदमा सांसद बोलिरहेको र सभामुखले बैठक संचालन गरिरहेको समयमा सरकारका मन्त्रीहरु अगाडीबाट हिडेर प्रतिनिधिसभाको गरिमा र मर्यादा नराखेको भन्दै संसदीय मर्यादा उल्लंघन गरेको भन्दै रुलिङको माग गरेका हुन् । प्रतिनिधि सभाको नियमावली २०८३ को २० को छ मा ‘सभामुखको आसन तथा बोलिरहेको सांसदको बीचबाट हिड्न नहुने’ भन्ने उल्लेख छ ।
१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको १०० ले घटेर तोलाको २ लाख ९७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर तोलाको ४९४५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९८० मा कारोबार भएको थियो ।
१६- कोलम्बियाले विश्वकपमा डेब्यु टोली उज्बेकिस्तानलाई पराजित गरेको छ । एस्तादियो अज्टेका मैदानमा भएको खेलमा कोलम्बियाले ३–१ को जित निकाल्दै समूह केमा शीर्ष स्थान हासिल गरेको हो । सन् २०२२ को विश्वकपमा छनोट हुन नसकेको कोलम्बियाले यसपटक मजबुत सुरुआत गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ । खेलको २०औँ मिनेटमा ड्यानियल मुन्योसले उत्कृष्ट भली प्रहारमार्फत कोलम्बियालाई अग्रता दिलाएका थिए । लुइस डियाजको सुन्दर पासलाई नियन्त्रण गर्दै उनले नजिकको दूरीबाट बल जाली चुमाएका थिए । त्यसअघि नै डियाजले नै गोल गर्ने राम्रो अवसर पाएका थिए तर उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
इटालियन विश्वकप विजेता डिफेन्डर फाबियो कानाभारोको प्रशिक्षणमा रहेको उज्बेकिस्तानले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको थियो । ६०औँ मिनेटमा अब्बोसबेक फाइजुलाएभले गोल गर्दै टोलीलाई १-१ को स्थितिमा पुर्याएका थिए । कोलम्बियाका गोलरक्षक क्यामिलो भार्गासले रोकेको बलमा उनले हेडमार्फत गोल गरेका थिए । तर कोलम्बियाले लामो समय अग्रता गुमाउन दिएन । केही समयमै लुइस डियाजले गरेको प्रहार उज्बेकिस्तानका गोलरक्षक उत्किर युसुपोभले दुई हातले छोए पनि बल जालीमा पुगेपछि कोलम्बियाले फेरि अग्रता लिएको थियो । खेलको अन्त्यतिर उज्बेकिस्तानले बराबरी गर्ने अवसर पाएको थियो । अकमाल मोजगोभोयको प्रहार थोरै टाढा हुँदै बाहिरिएको थियो भने अतिरिक्त समयमा जाखोङ्गिर उरोजभको प्रहार बारमा ठोक्किएको थियो । त्यसपछि वैकल्पिक खेलाडी जामिन्टोन क्याम्पाजले तेस्रो गोल थप्दै कोलम्बियाको जित सुनिश्चित गरेका थिए ।
फिफा वरियतामा ५०औँ स्थानमा रहेको उज्बेकिस्तानले बलियो प्रदर्शन गरे पनि अन्तिम क्षणमा खेल आफ्नो पक्षमा ल्याउन सकेन र कोलम्बियाले महत्वपूर्ण जित हात पार्यो । अब कोलम्बियाले अर्को खेल जुन २४ मा डिआर कंगोसँग र जुन २८ मा पोर्चुगलसँग खेल्ने छ । त्यस्तै उज्बेकिस्तानले भने जुन २३ मा पोर्चुगलसँग र जुन २८ मा डिआर कंगोसँग खेल्ने तालिका छ ।
१७- घानाले अतिरिक्त समयको पाँचौँ मिनेटमा गरेको निर्णायक गोलको मद्दतमा पनामालाई १-० ले पराजित गर्दै विश्वकपमा महत्वपूर्ण जित निकालेको छ । क्यानडाको टोरन्टोमा भएको खेलमा कालेब यिरेन्कीले अन्तिम क्षणमा गोल गर्दै घानालाई तीन अंक दिलाए भने पनामा पहिलो पटक विश्वकपमा अंक जोड्ने अवसरबाट वञ्चित भयो । खेलको निर्धारित समय सकिएपछि थप गरिएको छ मिनेटको अतिरिक्त समयको अन्तिम क्षणमा ब्रान्डन थोमस आसान्टेले बायाँ भागबाट विपक्षी खेलाडीलाई छलाएर दिएको पासमा यिरेन्कीले सहज रूपमा गोल गरेका थिए । सन् २०१८ मा पहिलो पटक विश्वकप खेलेको पनामाले आफ्नो चौथो विश्वकप सहभागितामा चार पटकको अफ्रिकी च्याम्पियन घानालाई कडा चुनौती दिएको थियो । त्यसैले अन्तिम समयमा हार बेहोर्नु पनामाका लागि निकै निराशाजनक बन्यो । खेलको दोस्रो मिनेटमै पनामाले अग्रता लिने अवसर बनाएको थियो ।
सेसिलियो वाटरम्यानको प्रहारलाई घानाका गोलरक्षक लरेन्स अटी जिगीले उत्कृष्ट बचाउ गर्दै बारमाथि पठाएका थिए । दोस्रो हाफमा पनामाका क्रिस्टियन मार्टिनेजले गोलनजिकैबाट गरेको शक्तिशाली प्रहार भने जालीको बाहिरी भागमा लागेको थियो । खेलको अन्त्यतिर पनामाका गोलरक्षक ओर्लान्डो मोस्केरा पनि आक्रमणमा सहभागी भएका थिए । उनले सेट पिसमा हेडमार्फत बल इस्माइल डियाजतर्फ पठाए पनि डियाजको हेडर सिधै घानाका वैकल्पिक गोलरक्षक बेन्जामिन आसारेको हातमा पुग्यो । घानाका मुख्य प्रशिक्षक कार्लोस क्वेरोजले पहिलो हाफमै चोट बोकेका लरेन्स अटी जिगीको स्थानमा बेन्जामिन आसारेलाई दोस्रो हाफ सुरु हुनासाथ मैदानमा उतारेका थिए । जिगी पहिलो हाफमा असहज रूपमा खस्दा घाइते भएका थिए । घानाले खेलभर धेरै अवसर सिर्जना गर्न नसके पनि यस विश्वकपको हालसम्मकै सबैभन्दा ढिलो निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको छ । यद्यपि, अर्को खेलमा समूह एलको शीर्ष स्थानमा रहेको इङ्ग्ल्यान्डविरुद्ध सकारात्मक नतिजा निकाल्न उसले आफ्नो प्रदर्शनमा सुधार गर्नुपर्ने देखिएको छ । घानाले अब अर्को खेल इङ्ग्ल्यान्डसँग खेल्नेछ भने पनामाले क्रोएसियाविरुद्ध खेल्दै विश्वकप इतिहासको पहिलो अंक जोड्ने प्रयास गर्नेछ ।
१८- अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ अन्तरिम समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार इरानी राष्ट्रपति मसुद पेजेशकियान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान सम्झौतामा हस्ताक्षर गरेका हुन् । आईआरएनएले सार्वजनिक गरेका तस्बिरमा राष्ट्रपति पेजेशकियानले सम्झौतासम्बन्धी दस्तावेजमा हस्ताक्षर गरिरहेको तथा दुवै नेताको हस्ताक्षर भएको कागजात देखाउँदै गरेको दृश्य समावेश गरिएको छ ।
राष्ट्रपति ट्रम्पले फ्रान्सको भर्साय दरबारमा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता सम्पन्न भएको भर्साय दरबार ऐतिहासिक रूपमा पनि महत्वपूर्ण स्थान मानिन्छ । सन् १८७१ मा फ्रान्सले जर्मनीसँग प्रारम्भिक शान्ति सन्धिमा यहीँ हस्ताक्षर गरेको थियो भने सन् १९१९ मा जर्मनीले यही स्थानमा आत्मसमर्पण गरेको थियो । सम्झौताअनुसार इरानमा जारी युद्ध अन्त्य गर्ने र लेबनानमा पनि द्वन्द्व समाप्त गर्ने लक्ष्य राखिएको छ । साथै, होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने र अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी हटाउने विषयमा पनि सहमति भएको जनाइएको छ । आईआरएनएले सार्वजनिक गरेका थप तस्बिरमा पेजेशकियानले फारसी भाषामा तयार पारिएको समझदारीपत्र हातमा समातेको देखिन्छ । उक्त दस्तावेजको तल्लो भागमा राष्ट्रपति पेजेशकियान र राष्ट्रपति ट्रम्प दुवैको हस्ताक्षर रहेको देखाइएको छ ।
१९- इङ्ग्ल्यान्डले विश्वकप अभियानको सुरुआत रोमाञ्चक जितसँग गरेको छ । डलासमा भएको खेलमा इङ्ग्ल्यान्डले क्रोएसियालाई ४–२ ले पराजित गर्दै समूह एलमा महत्वपूर्ण तीन अंक जोडेको हो । मुख्य प्रशिक्षक थोमस टुचेलको टोलीले आक्रमणमा उत्कृष्ट प्रदर्शन गरे पनि रक्षापङ्क्तिमा केही कमजोरी देखायो । त्यसका बाबजुद इङ्ग्ल्यान्डले आफ्नो आक्रमण शक्ति प्रयोग गर्दै जित निकाल्न सफल भयो । खेलको १२औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाएका थिए । लुका मोड्रिचले नोनी माडुकेमाथि फल गरेपछि इङ्ग्ल्यान्डले पेनाल्टी पाएको थियो । क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले पहिलो प्रहार रोके पनि गोललाइन छाडेर अघि बढेको भन्दै पुनः पेनाल्टी दिइएको थियो, जसमा केनले गल्ती गरेनन् ।
क्रोएसियाले ३६औँ मिनेटमा खेल बराबरीमा ल्यायो । मार्टिन बातुरिनाले शक्तिशाली प्रहार गर्दै गोल गरे । इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले बलमा हात लगाए पनि त्यसलाई रोक्न सकेनन् । पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा डेक्लान राइसको कर्नरमा ह्यारी केनले हेडमार्फत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई पुनः अग्रता दिलाए । योसँगै उनले विश्वकपमा १० गोल पुर्याउँदै ग्यारी लाइनकरको कीर्तिमान बराबरी गरेका छन् । साथै, यो इङ्ग्ल्यान्डका लागि उनको ११५ खेलमा ८१औँ गोल पनि बन्यो ।
तर इङ्ग्ल्यान्डको रक्षापङ्क्ति फेरि कमजोर देखियो। पहिलो हाफको अतिरिक्त समयअघि नै इभान पेरिसिचको हेडर पासलाई पेटार मुसाले गोलमा परिणत गर्दै क्रोएसियालाई २-२ को बराबरीमा ल्याए । दोस्रो हाफ सुरु भएको केहीबेरमै जुड बेलिङ्घमले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै गोल गरे । शक्तिशाली दौडपछि उनले सुन्दर फिनिसिङ गर्दै इङ्ग्ल्यान्डलाई ३-२ को अग्रता दिलाए । खेलको अन्त्यतिर वैकल्पिक खेलाडी मार्कस रासफोर्डले संयमित फिनिसिङमार्फत चौथो गोल गर्दै इङ्ग्ल्यान्डको जित सुनिश्चित गरेका थिए । यस जितसँगै इङ्ग्ल्यान्डले समूह एलमा सकारात्मक सुरुआत गरेको छ भने पहिलो खेलमा हार बेहोरेर क्रोसिया दबाबमा आएको छ । अब इङ्ग्ल्यान्डले अर्को खेल जुन २४ मा घानाविरुद्ध खेल्ने छ भने जुन २८ मा पनामाविरुद्ध खेल्ने छ । त्यस्तै क्रोसियाले जुन २४ मा पनामासँग र जुन २८ मा घानासँग खेल्ने तालिका छ ।
२०- पोर्चुगलले विश्वकपको आफ्नो पहिलो खेलमा डिआर कङ्गोसँग निराशाजनक बराबरी खेलेको छ । प्रभावशाली प्रदर्शन गरेको डिआर कङ्गोले बलियो पोर्चुगललाई रोक्दै महत्वपूर्ण एक अंक बटुल्न सफल भएको हो । खेलको छैटौँ मिनेटमै मिडफिल्डर जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । पेड्रो नेटोको बायाँ विङबाट आएको क्रसलाई उनले जाली चुमाएका थिए । त्यसपछि पोर्चुगलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि त्यसलाई प्रभावकारी आक्रमणमा बदल्न सकेन । लगातार बल नियन्त्रणमा राखे पनि गोल गर्ने अवसर सिर्जना गर्न टोली असफल रह्यो । पोर्चुगलको यही कमजोरीको फाइदा डिआर कङ्गोले पहिलो हाफको अतिरिक्त समयको पाँचौँ मिनेटमा उठायो । आर्थर मासुआकुको क्रसमा न्युक्यासलका फरवार्ड योआने विस्साले कुनै मार्किङबिना छ यार्डबाट हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
यो डिआर कङ्गोको विश्वकप इतिहासकै पहिलो गोल पनि बन्यो । यसअघि सन् १९७४ मा तत्कालीन जायरेका रूपमा विश्वकप खेलेको डिआर कङ्गोले तीनवटै खेल हार्दै १४–० को समग्र नतिजा बेहोरेको थियो । तर ५२ वर्षपछि विश्व वरीयताको ४६औँ स्थानमा रहेको डिआर कङ्गो निकै बलियो टोलीका रूपमा देखिएको छ । डिआर कङ्गोले रक्षात्मक रूपमा उत्कृष्ट प्रदर्शन गर्नुका साथै प्रतिआक्रमणमा पनि लगातार खतरा सिर्जना गर्यो । सेड्रिक बाकाम्बुले नजिकको दूरीबाट गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
उनले अर्को अवसरमा गरेको प्रहार भने लक्ष्यभन्दा बाहिरिएको थियो । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरी गर्दै छैटौँ पटक विश्वकपको अन्तिम चरण खेलेका छन् । तर ४१ वर्षीय रोनाल्डोले लगातार छैटौँ फरक विश्वकपमा गोल गर्ने इतिहास रच्ने अवसर भने पहिलो खेलमै पूरा गर्न सकेनन् । दोस्रो हाफको मध्यतिर वैकल्पिक खेलाडी फ्रान्सिस्को कोन्सेइसाओले दिएको दुईवटा लो कटब्याक पासमा रोनाल्डोले प्रहार गरे पनि दुवै प्रयास लक्ष्यभन्दा थोरैले बाहिरिए । पोर्चुगलसँग धेरै प्रतिभावान खेलाडी भए पनि टोलीले पूरै खेलमा जम्मा चारवटा प्रहार मात्र गर्न सकेको थियो । पोर्चुगलले अब अर्को खेल जुन २३ मा उज्बेकिस्तानसँग खेल्दैछ भने त्यसपछि जुन २८ मा कोलोम्बियासँग खेल्ने तालिका छन् । त्यस्तै डिआर कंगोले भने जुन २४ मा कोलोम्बियासँग र जुन २८ मा उज्बेकिस्तानसँग खेल्ने छ ।
Single Image