काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ डेढ करोड मतपत्र छपाइ भएको जानकारी दिएको छ । आयोगले माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको छपाईमा हालसम्म डेढ करोड मतपत्रको छपाइ सकिएको जानकारी दिएको छ । आयोगले अब ५० लाख मतपत्र छपाइ हुन बाँकी रहेको बताएको छ । सो मतपत्र छपाइ सम्पन्न भए लगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्रको छपाइ कार्य सुरु हुनेछ । त्यसैगरी मनोनयन पत्र दर्ता प्रयोजनका लागि एक प्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पुन्याई सकिएको छ भने अन्य ३ प्रति मतपत्र छपाइ गर्ने कार्य आयोग परिसरमा सुचारु रहेको बताएको छ ।
त्यस्तै आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलबाट गत पौष १३ र १४ गते पेस भएका उम्मेदवारको बन्दसूचीको नामावली प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम माघ ४ गते सार्वजनिक गरिएको छ । उक्त नामावलीमा ५७ निर्वाचन चिन्हमा ६३ राजनीतिक दलबाट पेस भएका ३२१३ जना उम्मेदवारको नाम समावेश छ । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरुको योग्यता सम्बन्धमा दावी विरोध गर्न चाहने मतदाताले माघ ५ देखि १० सम्म कार्यालय समयमा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोधमा उजुरी पेश गर्न सकिने व्यवस्था अनुसार उक्त कार्यक्रम जारी रहेको आयोगले जनाएको छ ।
२- भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा गएराती भएको झडप र उत्पन्न असहज परिस्थितिको दीर्घकालीन समाधान खोज्न गृहमन्त्री ओम प्रकाश अर्याल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरू तथा उच्च पदस्थ अधिकारीहरूबिच छलफल भएको छ । सुधार गृहमा रहेका १८ वर्षमाथिका र कम उमेरका बालबिज्याइँकर्तालाई एकै ठाउँमा राख्दा पटक-पटक समस्या देखिएको समीक्षा गर्दै बैठकमा गृहमन्त्री अर्यालले मानव अधिकारको पूर्ण पालना हुनुपर्ने तर दण्डहीनता भने स्वीकार्य नहुने स्पष्ट पारेका थिए ।
उनले यस्ता घटना भविष्यमा दोहोरिन नदिन र सुधार गृहको व्यवस्थापन चुस्त बनाउन मातहतका सुरक्षा निकाय तथा पदाधिकारीहरूलाई कडा निर्देशन दिएका छन् । समस्याको दिगो समाधानका लागि मन्त्रिपरिषद्को निर्णय बमोजिम नुवाकोट कारागारको खाली ब्लकलाई बाल सुधार गृहमा परिणत गरी १८ वर्षमाथिका बालबिज्याइँकर्ताहरूलाई त्यहाँ सार्ने तयारी गरिएको छ । आजको बैठकमा दुवै मन्त्रीज्यूले सम्बन्धित मन्त्रालय र विभागहरूबिच प्रभावकारी समन्वय गरी १८ वर्ष नाघेकाहरूलाई यथाशीघ्र नुवाकोट स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशित गरेका छन् ।

३- काठमाडौँ । नेपाली काँग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् । उनले अहिले निर्वाचनअघि सार्बजनिक गरिएका प्रधानमन्त्रीको उम्मेदवारको तुलनामा थापा उत्कृष्ट र सहित प्रधानमन्त्रीको उम्मेदवार रहेको दाबी गरेका छन् ।

त्यस्तै प्रवक्ता देवराज चालिसेका अनुसार काँग्रेसको आजको बैठकले गरेका निर्णयहरु यस्ता छन्: १- २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री उम्मेदवारका लागि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गर्नु भएको प्रस्ताव र उपसभापति पुष्पा भुसालको गर्नु भएको समर्थनलाई कार्यसमितिको यो बैठक सर्वसम्मत पारित गर्दछ ।

२- २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार प्रसार समिति गठन गर्ने । ३- नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय गर्दछ । ४- २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ । ५- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गर्दछ ।

४- नेपाली काँग्रेसका सभापति गगन थापाले समय अभावका कारण पार्टीमा टिकट वितरण सोचे जस्तो गर्न नसकेको स्वीकार गरेका छन् । केन्द्रीय समितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेपछि केन्द्रीय कार्यालयमा बोल्दै उनले उम्मेदवार छनौटमा भएका कमि कमजोरीको जिम्मेवारी आफुले लिने भन्दै आफुहरुले काँग्रेसलाई बदलेको र बदलिएको काँग्रेसले देशलाई पनि बदल्ने बताए ।

सभापति थापाले नागरिकहरुमा सुशासनको भोक रहेको र भ्रष्टाचारको छटपटीबाट मुलुकलाई निकाल्नुपर्छ भन्ने रहेको बताएका छन् । उनले आजदेखि काँग्रेस आफ्नो पुरा शक्ति लगाएर निर्वाचनमा होमिएको बताए । अघिल्लो निर्वाचनमा मतदाता र काँग्रेसका शुभचिन्तकले रुखमा मत हाल्ने अवस्था बनाएर आउनुस भनेको उल्लेख गर्दै अब आफुहरु त्यो कुरा सुधारेर यस पटक सबै क्षेत्रमा रुखमा मतदान गर्ने अवस्था बनाएर आफुहरु चुनावमा जान लागेको बताए । उनले नयाँ युगले नयाँ कुरा खोजेको बताउदै युवाहरुमा रहेको देश बदल्ने हुटहुटीलाई नयाँ काँग्रेसले सम्बोधन गर्ने बताए ।
५- नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारीसहित नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमल न्यौपाने,सचिव अशोक थापा,उपसचिव राजीव कटुवालसहितका नेताहरु नेकपामा समाहित भएका हुन् ।
प्रतिनिधि सभाको टिकट वितरणमा केन्द्रले अन्याय गरेको भन्दै उनीहरुले पार्टीबाट विद्रोह गरेर नेकपामा समाहित भएका छन् । उनीहरुले जिल्लाले सिफारिस गरेका अम्बिरबाबु गुरुङलाई केन्द्रले टिकट नदिएर केन्द्रीय सदस्य अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका थिए । एमालेमा टिकट नपाएपछि गुरुङ नेकपाबाट उम्मेदवार बनेका थिए । उनीहरुलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले स्वागत गरेका थिए ।
६- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले फागुन २१ सम्म पार्टीका आन्तरिक बिषयमा सार्वजनिक बहस नगर्ने बताएका छन् । नेता भट्टराईले आफुले टिकट नपाएपनि आफु निरास र विचलित नभएको भन्दै आफ्नो मिसन सुर्य चिन्ह र एमाले भएको स्पष्ट गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीको कुराबाट चिन्तित र दुःखी भएको बताउदै कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने आफुलाई बिश्वास नभएको बताएका छन् ।
भट्टराईले ओलीले हालै दिएको एक अन्तर्वार्तामा आफूसहित सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा र विन्दा पाण्डेको बारेमा अध्यक्ष ओलीले गरेको टिप्पणी प्रति दुख गरेका छन् । ओलीले सो अन्तर्वार्तामा भनेका थिए- ‘सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति रहेन यस पटक । बिन्दा पाण्डेको कुनै आधारै छैन । गोकुलजीले कार्यकर्ता पंक्तिमा अलि बढी विभाजन ल्याउनुभयो । त्यहाँको कार्यकर्ता पंक्ति हिजो एकढिक्का भएर लागेको थियो, आज उहाँले अलि विभाजित गर्दा अप्ठ्यारो स्थिति भयो कि ?’ ताप्लेजुङबाट अघिल्लो निर्वाचन जितेका भट्टराईलाई यस पटक एमालेले टिकट दिएको छैन ।
७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानमाथि नजिकबाट निगरानी गरिरहेको बताएका छन् । उनले ठूलो संख्यामा अमेरिकी सैन्य बल इरानतर्फ अघि बढिरहेको समेत बताएका छन् । एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने- ‘एउटा ठूलो बल इरानतर्फ अघि बढिरहेको छ, तर अहिले केही भइरहेको देखिँदैन, तर हामी तिनीहरूलाई धेरै नजिकबाट हेरिरहेका छौं ।’
ट्रम्पले इरानमा ८३७ जनाको मृत्युदण्ड रोकेको र जसमध्ये धेरैजसो युवा रहेको बताए । उनले भने- ‘मैले भनेको थिएँ, यदि तपाईंले ती मानिसहरूलाई मृत्युदण्ड दिनुभयो भने, यो तपाईं विरुद्ध गरिएको सबैभन्दा कडा कारबाही हुनेछ । हामीले तपाईंको आणविक कार्यक्रममा जे गर्यौं त्यो यो कारबाहीको तुलनामा धेरै सानो देखिनेछ ।’ बढ्दो मुद्रास्फीति र कमजोर अर्थतन्त्रको विरुद्धमा सरकार विरोधी प्रदर्शनको क्रममा इरानमा हजारौं प्रदर्शनकारीहरू मारिएका छन् । धेरै प्रदर्शनकारीहरूलाई इरानी अधिकारीहरूले पक्राउ गरेका थिए । गत हप्ता, धेरै रिपोर्टहरूले इरानले यी प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिने योजना बनाएको दाबी गरेका थिए । पछि, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी प्रदर्शनकारीहरूको मृत्युदण्ड रोकेको दाबी गरेका छन् ।
८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ- १ मा उम्मेदवार बनेकी अभियन्ता आशिका तामाङले आफुले उम्मेदवारी फिर्ता नलिएको स्पष्ट गरेकी छन् । यसअघि निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोन गर्दै उम्मेदवारी फिर्ता लिने जानकारी दिएकी आशिकाले सामाजिक सञ्जालमा लेख्दै आफुले उम्मेद्वारी फिर्ता नलिएको स्पष्ट गरेकी हुन् । उनले भनेकी छन्- ‘हल्लाको पछि नलागौं, चुनाब जित्न उठेको म उम्मेद्बारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउछु म ।’ उनले इमेल र फोनमा उम्मेदवारी फिर्ता लिने भनेपछि निर्वाचन अधिकृतको कार्यालयले स्वयं उपस्थित भएर सनाखत गर्न आग्रह गरेको थियो ।
९- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा) बाट रुपन्देही-२ मा उम्मेदवारी मनोनयन दर्ता गराएकी कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन् । थापाले स्थायी आवसीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि नपुगेकाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएकी छन् ।
नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त स्थायी आवासीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि पुगेपछि मात्र नेपालको कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पाउने व्यवस्था गरिएकोले उनले आफूविरुद्ध उजुरी नपरेपनि पार्टीको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बताएकी हुन् ।
थापाले अध्ययनका क्रममा विदेशमा स्थायी आवास अनुमति (पिआर) लिएको भए पनि नेपाली नागरिकता र राहदानीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको स्पष्ट परेकी छन् । रुपन्देहीमा काँग्रेसबाट चुन्नप्रसाद पौडेल, एमालेबाट विष्णु पौडेल र रास्वपाबाट सुलभ खरेल र नेकपाबाट विश्वदीप पाण्डे उम्मेदवार रहेका छन् ।
१०- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट गोरखा-२ मा उम्मेदवार बनेका भट्टराईले उम्मेदवारी घोषणा गरेका हुन् । उनले बाहिर रहेर नै दलहरू र उम्मेदवारहरुलाई सघाउने बताएका छन् ।
११- मनाङमा नेकपा एमाले र राप्रपाले काँग्रेसका उम्मेदवार पूर्वमन्त्री टेक बहादुर गुरुङलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका उम्मेदवार पोल्देन छेपाङ र राप्रपाका उम्मेदवार कुविरसिंह गुरुङले उम्मेदवारी फिर्ता लिएका हुन् ।
२०७९ को निर्वाचनमा पनि काँग्रेसका गुरुङ विजयी भएका थिए । उनले एमालेका पोल्देन छेपाङलाई पराजित गरेका थिए । मनाङमा रास्वपाले समयमा पुग्न नसकेर मनोनयन दर्ता गर्न सकेको थिएन भने नेकपाबाट यशोदा सुवेदी गुरुङ उम्मेदवार बनेकी छन् ।
१२- अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट पूर्ण रुपमा बाहिरिएको छ । अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग र अमेरिकी विदेश विभागले अमेरिका डब्लुएचओबाट पुर्णरुपमा बाहिरिएको घोषणा गरेका हुन् । स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट एफ. केनेडी, जुनियर र विदेश सचिव मार्को रुबियोले डब्लुएचओमा अमेरिकी सदस्यता समाप्त भएको घोषणा गरेका चाहन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०, २०२५ मा डब्लुएचओ छोड्ने घोषणा गरेका थिए । वर्षभरि चलिरहेको प्रक्रियामा, अमेरिकाले डब्लुएचओलाई दिने सहयोग बन्द गरेको थियो भने आफ्ना सबै कर्मचारी समेत फिर्ता बोलाएको थियो । डब्लुएचओबाट बाहिरिएसँगै, अमेरिकाले डब्लुएचओसँग सीमित रूपमा मात्र समन्वय गर्ने बताएको छ ।
डब्लुएचओले कोभिड १९ को प्रारम्भिक चरणहरूमा विश्वव्यापी जनस्वास्थ्य आपतकाल र महामारी घोषणा गर्न ढिलाइ गरेको र चीनबाट फैलिएको भनिएको कोभिड बारे डब्लुएचको चीनप्रति कडा रवैया नअपनाएको भन्दै ट्रम्पले यसको औचित्य नरहेको बताउदै आएका थिए । अब अमेरिकाले अन्य देशहरू, निजी क्षेत्र, गैर-सरकारी संस्थाहरू, र धार्मिक संस्थाहरूसँग प्रत्यक्ष रूपमा अवस्थित र नयाँ संलग्नताहरू मार्फत विश्वव्यापी स्वास्थ्य नेतृत्वलाई निरन्तरता दिने बताएको छ । अमेरिकाले औसतमा बार्षिक रुपमा डब्लुएचओमा १११ मिलियन डलर आर्थिक सहयोग गर्ने गर्दथ्यो । यस बाहेक कैयौं स्वयं सेवकहरु पनि खटाउने गर्दथ्यो ।
१३- जापानी प्रधानमन्त्री साने ताकाइचीले संसदको तल्लो सदन विघटन गरेकी छन् । फेब्रुअरी ८ मा मध्यावधि निर्वाचनको घोषणा गर्दै संसद विघटन गरेको एनएचकेले जानकारी दिएको छ । अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचित ताकाइचीले अहिलेसम्म लगभग ७० प्रतिशतको उच्च लोकप्रियता मूल्याङ्कन हासिल गरिसकेकी छिन् । सत्तारुढ दललाई बलियो बनाउन र अहिलेको लोकप्रियतालाई उपयोग गर्न उनले संसद भंग गरेर ताजा जनादेशमा गएको बताइएको छ । यद्यपि, संसदको विघटनले बजेटमा मतदान स्थगित भएको छ, जुन कमजोर अर्थतन्त्रलाई समर्थन गर्ने र बढ्दो मुद्रास्फीतिलाई सम्बोधन गर्ने उद्देश्यले गरिएको थियो ।
४६५ सदस्यीय तल्लो सदनको विघटनले १२ दिने चुनावी अभियानको सुरुवात गर्नेछ, जुन औपचारिक रूपमा मंगलबारबाट सुरु हुनेछ । प्रधानमन्त्री ताकाइचीले संसद भंग गर्दै आफु प्रधानमन्त्री रहने वा नरहने जनताले निर्णय गर्नुपर्ने बताएकी छन् । उनले यो चुनावलाई आफ्नो राजनीतिक भविष्यसँग जोड्दै आएको स्पष्ट पारिन् । कट्टरपन्थी रूढिवादी नेता ताकाइचीले आफ्ना पूर्ववर्ती शिगेरु इशिबाको भन्दा फरक नीतिहरू अगाडि बढाउन चाहन्छिन् । उनको एजेन्डामा सरकारी खर्च बढाउने, सैन्य शक्ति बढाउने र जापानलाई बलियो र समृद्ध बनाउन कडा आप्रवासन नीति अपनाउने बताएकी छन् । यद्यपि युवा मतदाताहरूमाझ ताकाचीको छवि लोकप्रिय छ । यसले धेरै परम्परागत मतदाताहरूलाई उदीयमान दक्षिणपन्थी विपक्षी दलहरूतिर फर्काएको छ । यस चुनावमा प्रधानमन्त्रीको लक्ष्य तल्लो सदनमा बलियो बहुमत प्राप्त गर्नु रहेको छ ।
१४- राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा शुक्रबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छन् । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका हुन् । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ ।
सो अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेलले उक्त अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना पनि गरेका थिए । वसन्तश्रवण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित मन्त्री गण तथा विशिष्ट महानुभावहरूको उपस्थिति थियो । वसन्तपञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ भने वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ ।
१५- टिकटकले अमेरिकी व्यवसायलाई निरन्तरता दिन ह्वाइट हाउससँग सम्झौता गरेको छ । यद्यपि, कम्पनीको अमेरिकी सञ्चालनको जिम्मेवारी कसले लिने भन्ने कुरा अझै स्पष्ट भएको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक सम्झौतालाई अनुमोदन गरेकोमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका छन् ।
सम्झौता अन्तर्गत, एउटा नयाँ अमेरिकी संस्था सिर्जना गरिनेछ जुन टिकटकको विश्वव्यापी सञ्चालनबाट अलग हुनेछ, जुन हाल चीनबाट सञ्चालन भइरहेको छ । यस सम्झौता अन्तर्गत, टिकटकको एल्गोरिदमहरू केवल अमेरिकी प्रयोगकर्ता डेटामा सञ्चालन हुनेछन् र यो डेटा अमेरिकी नियमहरू अनुसार सुरक्षित गरिनेछ । यसको अर्थ टिकटकसँग अमेरिकी प्रयोगकर्ताहरूको अनुभव परिवर्तन हुन सक्छ । टिकटकमाथि प्रतिबन्ध पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकालमा आदेश दिइएको थियो ।
टिकटकको मूल कम्पनी, बाइटडान्सलाई यसको अमेरिकी सञ्चालनहरू अलग गर्न जनवरी २०२५ सम्मको समय दिइएको थियो। यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध लागू गर्ने निर्णयलाई बारम्बार स्थगित गर्दै आएका थिए र उनले जनवरी २३ सम्मको अन्तिम डेडलाइन दिएका थिए । यो संयुक्त उद्यमको नेतृत्व संयुक्त राज्य अमेरिकामा अमेरिकी प्रयोगकर्ताहरूको डेटा सुरक्षित गर्न टिकटकको प्रयासको नेतृत्व गर्ने सीईओ एडम प्रेसर र यस प्रयासको लागि गोपनीयता र सुरक्षाको नेतृत्व गर्ने प्रमुख सुरक्षा अधिकारी विल फारेलले गर्नेछन् ।
त्यस्तै टिकटकका अमेरिकी सीईओ शौ च्यु, ओरेकलका प्रमुख कार्यकारी अधिकृतको कार्यालयका कार्यकारी उपाध्यक्ष केनेथ ग्लुक र लगानी फर्म सुस्केहाना इन्टरनेशनल ग्रुप तथा निजी इक्विटी फर्म सिल्भर लेक, एमिरेटी लगानी फर्म एमजीएक्सका प्रतिनिधिहरू लगायत अन्य व्यक्तिहरू सम्मिलित बोर्डले गर्नेछ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको ९ हजार २ सयले बढेर तोलाको ३ लाख एक हजार ४०० मा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९२ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३२० रुपैयाँले बढेर तोलाको ६१९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५८७० रुपैयाँमा कारोबार भएको थियो ।
१७- कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यही माघ १८ गते दिनको १ बजे कर्णाली प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिएका हुन् । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि पहिलो पटक प्रदेश सभाको बैठक बस्न लागेको हो ।
१८- मेक्सिकोको मेक्सिको सिटी विश्वकै सबैभन्दा बढी ट्राफिक जाम हुने शहर बनेको छ । टमटम ट्राफिक इन्डेक्सले सार्बजनिक गरेको सूचकांकमा मेक्सिको सिटीको औसत ट्राफिक जामको स्तर ७५.९ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा ३.६ प्रतिशतले घटेको हो । मेक्सिको सिटीमा ४.४ किमी पर औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । मेक्सिको सिटीमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १८४ घण्टा समय बिताउने गर्दछन् । यस सूचीमा भारतको बैंगलुरु शहर दोस्रो स्थानमा छ । बैंगलुरुको औसत ट्राफिक जामको स्तर ७४.४ प्रतिशत रहेको छ ।
यो २०२४ को तुलनामा १.७ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ४.२ किमी पर औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै बैंगलुरुमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १६८ घण्टा समय बिताउने गर्दछन् । त्यसैगरी यस सूचीको तेस्रो स्थानमा आयरल्याण्डको डब्लिन शहर रहेको छ । डब्लिनको औसत ट्राफिक जामको स्तर ७२.९ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा १.७ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ४.४ किमी पार गर्न औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै डब्लिनमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १९१ घण्टा समय बिताउने गर्दछन् । यस सूचीको चौथो स्थानमा पोल्याण्डको लोडज शहर रहेको छ । लोडजको औसत ट्राफिक जामको स्तर ७२.८ प्रतिशत रहेको छ ।
यो २०२४ को तुलनामा १.१ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ५.६ किमी पार गर्न औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै लोडजमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १३५ घण्टा समय बिताउने गर्दछन् । यस सूचीमा पाँचौं स्थानमा भारतको पुणे शहर रहेको छ । पुणेको औसत ट्राफिक जामको स्तर ७१.१ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा ५.४ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ४.५ किमी पार गर्न औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै पुणेमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १५२ घण्टा समय बिताउने गर्दछन् ।
१९- भक्तपुरको मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा गएराति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोड भएको प्रहरीले जनाएको छ ।
झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी परिचालन गरिएको थियो । सुधारगृहमा भएको आगलागी भक्तपुर र काठमाडौँका वारुणयन्त्रले आगो निभाएका थिए । उक्त बालगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् । प्रहरीले हाल स्थिति नियन्त्रणमा रहेको र पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको बताएको छ ।
२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डाभोसमा भेटवार्ता गरेका छन् । ह्वाइट हाउसका अनुसार, भेटवार्ता लगभग एक घण्टासम्म चलेको थियो ।
ट्रम्पलाई भेटवार्ता बारे सबैजना (रूस-युक्रेन) युद्ध अन्त्य होस् भन्ने चाहेको बताए । ट्रम्पसँगको भेटपछि, जेलेन्स्कीले विश्व आर्थिक मञ्चमा भाषण दिए । भेटवार्ताको क्रममा, उनले ट्रम्पसँगको आफ्नो भेटको उल्लेख गर्दै युद्ध अन्त्य गर्ने उद्देश्यले बनाइएका कागजातहरू लगभग तयार रहेको बताए ।
उनले युक्रेनले इमानदारी र दृढताका साथ काम गरिरहेको छ र रूसले यो आक्रामकता अन्त्य गर्न तयार हुनुपर्ने बताए । त्यसपछि जेलेन्स्कीलाई ट्रम्पसँगको उनको भेटवार्ताको बारेमा प्रश्न गरिएको थियो । उनले बैठकलाई राम्रो र धेरै महत्त्वपूर्ण भेटवार्ता भएको बताउदै राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिए । उनले अमेरिका, युक्रेन र रूसका प्रतिनिधिमण्डलहरूले संयुक्त अरब इमिरेट्समा दुई दिने त्रिपक्षीय बैठक गर्ने बताइएको छ ।
FACEBOOK COMMENTS