काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा गरेका छन् । आइतबार नै जनकपुर पुगेका शाहले सोमबार साँझ जानकी मन्दिरमा पूजा गरेका हुन् । जानकी मन्दिरमा पूर्वराजा शाहलाई मन्दिरका महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए । त्यस्तै शाहका समर्थकहरू पनि मन्दिर परिसरमै पुगेका थिए । शाहले जनकपुरमा समर्थकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
२- प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सुरु गरेको कल सेन्टरले मतदाता सरोकारवालाका विभिन्न जिज्ञासाको सम्बोधन गरिरहेको छ । माघ ५ गतेदेखि आयोग परिसरमा सुरु भएको कल सेन्टरमा आइतबारसम्म ७९२ जनाले जिज्ञासा राखेका छन् । आयोगमा प्राप्त प्रश्नमध्ये सबैभन्दा बढी मतदाता नामावलीसम्बन्धी छन् । यस अवधिमा मतदाता नामावलीका विषयमा ४२० जिज्ञासा सम्बोधन भएका छन् । यस्तै निर्वाचन आचारसंहिताका विषयमा ७२ प्रश्नको सम्बोधन भएका छन् । मतदाता शिक्षासम्बन्धी ३६ र अन्य २६४ प्रश्नको जिज्ञासा सम्बोधन भएका छन् । निर्वाचनलाई लक्षित गरेर आयोगले कल सेन्टरमार्फत मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइ गरिरहेको छ । हाल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म कल सेन्टर सञचालनमा रहेको छ। यो समय क्रमशः थपिँदै लगिने आयोगले जनाएको छ । निःशुल्क टोल-फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा राख्न सक्नेछन्। एकै पटक १५ जनासम्मले फोन गर्दा कलहरु होल्डमा रहनुपर्ने छैन । निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण अवधिसम्म कल सेन्टर सञ्चालनमा रहने छ ।
३- सरकारले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा काम गर्नका लागि सचिव चन्द्रकला पौडेललाई तोक्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्ने गरी तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन् । त्यस्तै बैठकले सुतिखोला जलविद्युत आयोजना, तामाकोशी पाचौं जलबिद्युत आयोजना, माथिल्लो संखुवासभा जलविद्युत् आयोजना र सेतिखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय पनि भएको प्रवक्ता अर्यालले बताए।
४- बंगलादेशको एक विशेष अदालतले ढाका प्रहरीका पूर्व आयुक्त र दुई अन्य प्रहरी अधिकारीहरूलाई मृत्युदण्डको सजाय सुनाएको छ । सोमबार अदालतले २०२४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई पद त्याग्न बाध्य पार्ने हिंसात्मक सडक विरोध प्रदर्शनमा उनीहरूको कथित भूमिकाको लागि मृत्युदण्डको सजाय सुनाएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको तीन न्यायाधीशको बेन्चले पूर्व ढाका महानगरीय प्रहरी आयुक्त हबिबुर रहमान, पूर्व संयुक्त आयुक्त सुदीप कुमार चक्रवर्ती र अतिरिक्त उपायुक्त मोहम्मद अख्तरुल इस्लामलाई सजाय सुनाएको हो ।

बेन्चको नेतृत्व न्यायाधीश मोहम्मद गोलाम मुर्तजा मजुमदारले गरेका थिए । पुनर्गठित न्यायाधिकरणको यो दोस्रो फैसला हो । यसअघि, न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमललाई पनि मृत्युदण्डको सजाय सुनाएको थियो । फैसलामा तीन प्रहरी अधिकारीहरूले आफ्ना मातहतका कर्मचारीहरूमाथि उच्च पद र अधिकार प्रयोग गरेको बताइएको छ । त्यस्तै न्यायाधिकरणले ढाकाका सहायक प्रहरी आयुक्त मोहम्मद इमरुललाई छ वर्ष, निरीक्षक अरशद हुसेनलाई चार वर्ष र तीन हवल्दार सुजान हुसेन, इमाज हुसेन र नसिरुल इस्लामलाई तीन-तीन वर्षको सजाय सुनाएको छ । मृत्युदण्डको सजाय सुनाइएका तीन पूर्व प्रहरी अधिकारीहरूमध्ये सहायक आयुक्त इमरुलको मुद्दा उनको अनुपस्थितिमा चलाइएको थियो किनभने न्यायाधिकरणले उनलाई पहिले नै फरार घोषित गरिसकेको थियो । बाँकी अभियुक्तहरूले अदालतमा मुद्दाको सामना गर्नुपरेको थियो ।

५- सरकारले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा काम गर्नका लागि सचिव चन्द्रकला पौडेललाई तोक्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्ने गरी तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन् । त्यस्तै बैठकले सुतिखोला जलविद्युत आयोजना, तामाकोशी पाचौं जलबिद्युत आयोजना, माथिल्लो संखुवासभा जलविद्युत् आयोजना र सेतिखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय पनि भएको प्रवक्ता अर्यालले बताए ।

६- राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ । सोमबार सिंहदरबारमा बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई समयानूकल बनाउन विधेयकले धेरै विषय समेटेको धारणा राखेका थिए । २०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गरी संघीय संरचना र नयाँ प्रविधि अनुरुप बनाउन सरकारले चलचित्रसम्बन्धी विधेयक तर्जुमा गरेको थियो । विधेयकमा चलचित्र विकास बोर्डलाई स्वायत्त र अधिकार सम्पन्न संस्थाका रूपमा विकसित गर्नेदेखि नियम, जवाफदेहीता लगायतमा समेत जोड दिइएको छ । चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेस गर्ने कार्यसूची छ ।

७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्ट्याटसमा गरेको कमेन्ट निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक अभिव्यक्ति दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी परेको हो । आयोगमा धर्मराज तिमिल्सिनाले सो उजुरी दिएका हुन् । उजुरीमा बालेनले कमेन्टमा प्रयोग गरेको ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू गम्भीर र तथ्यहीन आरोप भएको दाबी गर्दै यसले राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदाताको मानसिकता भ्रम उब्जाउने उल्लेख गरिएको छ ।

उजुरीमा नेपालको संविधान, निर्वाचन आचारसंहिता र प्रचलित कानूनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति तथा अपुष्ट आरोप प्रयोग गरी मतदातालाई प्रभावित पार्न निषेध गरेको स्मरण गराउँदै सो अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आचारसंहिता विपरीत ठहर भएमा आवश्यक कारबाही गर्न माग गरिएको छ । आइतबार ओलीले लेखेको स्टाटसमा कमेन्ट गर्दै बालेनले ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिने भन्दै बहसमा नबस्ने बताएका छन् । बालेनले लेखेका छन्- ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो ! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’ यस अघि भावि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चुनावमा होमिएका नेताबिच पब्लिक डिबेट हुनुपर्ने माग भइरहेको समयमा ओलीले यसका लागि आफू तयार भएको बताएका थिए ।
८- काठमाडौँमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसका समुह चरणका खेलहरु सकिएका छन् । १० देशले भाग लिएको यस प्रतियोगितामा समुह चरणका खेलहरुसकिएसँगै आयोजक नेपालसहित चार देश बाहिरिएका छन् भने अन्य ६ देश सुपर सिक्समा प्रवेश गरेका छन् । समुह ए बाट पीएनजी र नामिबिया बाहिरिएका छन् भने समुह बी बाट नेपाल र जिम्बाबे बाहिरिएका छन् । त्यस्तै समुह ए बाट बंगलादेश, आयरल्याण्ड र अमेरिका तथा समुह बी बाट नेदरल्याण्डस, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन् । नेपालले समुह चरणका ४ मध्ये एक खेलमा जितेपछि बाहिरिएको हो । नेपालले एक मात्र जित जिम्बाबेविरुद्ध हासिल गरेको थियो । अब सुपर सिक्समा हरेक देशले अर्को समुहका देशसँग एक एक खेल खेलेपछि शिर्ष चारमा हुने देश महिला टी-२० विश्वकपमा छनौट हुने छन् । सुपर सिक्सका खेल बुधबार, शुक्रबार र आइतबार हुदैछन् ।
९- सोलु हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ । सोमबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले आवेदन दिएका थिए । आईपीओ ८ लाख २० हजार लगानीकर्ताले १०-१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको थियो ।
कम्पनीले गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणका लागि निष्काशन तथा बिक्री गरेको थियो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेर बाँकी रहेको ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो । आईपीओको नतिजा सीडीएस एन्ड क्लियरिङको वेबसाइट, बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङको वेबसाइट र मेरो सेयरको वेभसाइटबाट हेर्न सकिन्छ ।
१०- मेक्सिकोमा गिरोह युद्धको भयानक रूप देखिएको छ । मध्य मेक्सिकोको एक फुटबल मैदानमा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सलामान्काका मेयर सेजर प्रिएटोले सामाजिक सञ्जाल प्लेटफर्ममा पोस्ट गरिएको एक विज्ञप्तिमा फुटबल खेल सकिएपछि बन्दुकधारीहरू आइपुगेको बताएका छन् । घटनास्थलमै दश जनाको मृत्यु भएको थियो र एक जनाको पछि अस्पतालमा मृत्यु भएको थियो । मेयरले घाइतेहरूमा एक महिला र एक नाबालिग रहेको बताएका छन् ।
प्रिएटोले यो आक्रमण शहरमा ‘अपराध लहर’ को एक हिस्सा भएको बताए र हिंसा नियन्त्रण गर्न राष्ट्रपति क्लाउडिया शेनबाउमलाई सहयोगको लागि अपील गरेका छन् । समग्रमा, मेक्सिकोको सरकारले देशको २०२५ हत्या दर २०१६ पछिकै सबैभन्दा कम रहेको र प्रति एक लाख बासिन्दामा १७.५ हत्या भएको बताएको छ, यद्यपि विश्लेषकहरूले यो संख्याले देशको हिंसालाई पूर्ण रूपमा प्रतिबिम्बित नगर्न सक्ने बताएका छन् ।
११- म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका निर्वाचन आयोगले उनको किताब बेच्न रोक लगाएको छ । निर्वाचन आचार संहितामा उम्मेदवारको चुनाव चिन्ह भएको कुनै पनि बस्तु वा सामान बनाएर बितरण गर्न र बेच्न नपाउने भन्ने व्यवस्था रहेकाले सो अनुसार पुनले किताब बेच्न नपाएको बताएका हुन् । उनले भनेका छन्- ‘नेपालको निर्वाचन कानुनले गर्दा किताब बेच्न पाईएन- आचार संहितामा उम्मेदवारको चुनाव चिन्ह भएको कुनै पनि बस्तु वा सामान बनाएर बितरण गर्न र बेच्न नपाउने भनेको रहेछ ।
त्यहि कुरामा टेकेर विरोधीहरुले मलाई म्याग्दीमा मेरो आत्मकथाको किताव बेच्न पाईदैन भनेर निर्वाचन आयोगमा उजुरी गरेछन र निर्वाचन आयोगले मलाई नबेच्न भनेको छ ।’ उनले आत्मकथाको कितावमा मेरो चुनाव चिन्ह त्रिभुज नभएको र आफु त्यो कितावको लेखक मात्र भएको बताउदै त्यो कितावबाट कुनै रोयल्टी नलिएको स्पष्ट गरेका छन् । पुनले किताब बेचेर आएको सम्पूर्ण पैसा बीरगञ्ज कृषि औजार कारखानामा जाने र सो औजार कारखाना सारा नेपालीको साझा सम्पत्ति भएको स्पष्ट गरेका छन् ।
१२- नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार दिउसो भक्तपुरको गुण्डुस्थित निवासमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा, नेपालको झन्डा र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् । अध्यक्ष राजेश लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको बताए । कमिटीका अध्यक्ष राजेश लामासँगै जिल्ला कमिटीका सदस्य विष्णु जोशीले पनि पार्टी प्रवेश गरेका छन् ।
१३- नेप्सेमा आज सामान्य करेक्सन आएको छ । सोमबार नेप्से ३.०७ अंकले घटेर २७६९.०९ विन्दुमा पुगेर रोकिएको छ । आज ३३२ कम्पनिका ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ४६६ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, उत्पादन र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज एसवाई प्यानल, हिमस्टार उर्जा, सान्भी इनर्जी, सप्तकोशी विकास बैंक र माउन्टेन हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९१ प्रतिशतले बढेको छ । त्यस्तै आज नेशनल हाइड्रोको सबै भन्दा बढी ३.१२ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी हिमालयन पावरको ६५ करोड ९३ लाख कारोबार भएको छ भने अन्खु खोला हाइड्रोको ५६ करोड १६ लाख बराबरको कारोबार भएको छ । त्यस्तै मन्जुश्री फाइनान्सको ५२ करोड र एसवाई प्यानलको ५० करोडको कारोबार भएको छ ।
१४- नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही जानु अघि काठमाडौँ-४ का मतदातालाई सन्देश दिदै मधेशसँगको सम्बन्ध प्रगाढ बनाउन सर्लाही–४ मा उम्मेदवार बनेको बताएका छन् । सोमबार भिडियो सन्देश जारी गर्दै सभापति थापाले काँग्रेसको सभापति भएपछि देशको मन जित्नुपर्छ भन्ने लागेर मधेश गएको बताएका हुन् । उनले काठमाडौं–४ का मतदातालाई तीनपटक निर्वाचित गरेको प्रति कृतज्ञता व्यक्त गर्दै सधै भरि आफ्नो मन मुटुमा रहने बताएका हुन् । उनले भने- ‘एउटा परिवार जस्तो माया यो क्षेत्रमा सधैं पाएँ । जीवनको महत्त्वपूर्ण चरणहरू त्यहिँभित्र बिताएँ ।मधेशको प्रतिनिधित्व गर्दै गर्दा त्यहाँका मुद्दा बुझ्दै गर्दा प्रकारान्तरले नेपालको सिंगो समस्या समाधानको गर्न सक्छु भन्ने विश्वास राखेको छु ।
उनले मधेशका कुरा काठमाडौंमा सुनाउन र काठमाडौंका कुरा मधेशमा सुनाउन चाहेको बताउदै पहाडबाट झरेको आफ्नो परिवार, काठमाडौंको हुर्काइ भएको हुँदा मधेशसँग चुनावी उम्मेदवार बनेर झन् नजिकिन चाहेको बताए । उनले भनेका छन्- म मधेश जादैछु, किनकी म देश जोड्न चाहन्छु । म काठमाडौँका कथाहरु मधेश लगेर सुनाउन चाहन्छु, मधेशका कथाहरु, मधेशका पिडाहरु, मधेशका व्यथाहरु बुझेर काठमाडौँ ल्याएर सुनाउन चाहन्छु । म सबैको सम्मान रहदा मात्र हामी सबैको नेपालीको सम्मान हुन्छ भन्ने कुरामा विश्वास राख्छु ।’ सभापति थापाले आफुले उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने उल्लेख गर्दै सबैले अधिकार नपाएसम्म सबैको बीचमा एकता हुने नसक्ने जिकिर गरे । सर्लाही-४ बाट वारेसमार्फत उम्मेदवारी दिएका थापा सोमबार बिहान पहिलो पटक सर्लाही पुगेका छन् ।
१५- रास्वपाका वरिष्ठ नेता बालेन शाहकी पत्नी सबिना काफ्ले झापा-५ मा घरदैलो शुरु गरेकी छन् । सबिनाले चुनावी प्रचारमा सक्रिय हुदै झापा- ५ का विभिन्न स्थानमा घरदैलो गरेकी हुन् । उनले रास्वपाका कार्यकर्ता तथा झापा–५ का स्थानीय मतदातासँग मत माग्न शुरु गरेकी छन् । बालेन सुदूरपश्चिम तर्फ जाने भएपछि झापा-५ मा सबिनाले चुनावी अभियानलाई निरन्तरता दिएकी छन् । यस अघि मनोनयन दर्ता गरेपछि बालेनले झापा-५ मा चुनावी गतिबिधिलाई तिब्रता दिएका थिए । बालेन ताप्लेजुङ, पाँचथर, इलामलगायतका पूर्वी जिल्लाहरुमा पुगेर नेता कार्यकर्ताको उत्साह बढाएका थिए ।
१६- विश्वबजारमा सुनको मूल्य आकासिएको छ । सुन पहिलो पटक प्रति औंस ५ हजार डलर भन्दा माथि पुगेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपदेखि क्यानडासम्मका प्रमुख सहयोगीहरूसँगको सम्बन्ध बिगारेपछि लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित भएपछि सुनको मुल्य बढेको बताइएको छ । यस वर्षको पहिलो २६ दिनमा, सुनको मूल्य १५ प्रतिशतले बढिसकेको छ । २०२५ मा सुनको मुल्य ६५ प्रतिशतले बढेको थियो । जुन १९७९ पछिको सबैभन्दा ठूलो वृद्धि थियो । विश्वभर नै अनिश्चितताको समयमा सुनलाई प्रायः आश्रय र सुरक्षित लगानीको सम्पत्तिको रुपमा हेरिन्छ ।
ग्रीनल्याण्डलाई आफ्नो कब्जामा लिनेदेखि क्यानडा र युरोपमा कर लगाउने धम्की दिएपछि विश्वव्यापी रुपमा ट्रम्पको आलोचना भइरहेको छ भने यसले लगानीकर्तालाई शेयर बजार र अन्य सम्पत्ति भन्दा सुरक्षित लागेको छ । कमजोर अमेरिकी डलर, अपेक्षाभन्दा बढी मुद्रास्फीति र फेडले यस वर्ष ब्याजदर थप कटौती गर्ने भविष्यवाणीले पनि सुनको माग बढाएको छ । सोमबार सुन २.०२ प्रतिशतले बढेर प्रति औँस ५ हजार ८० डलर पुगेको छ । योसँगै सुनको मार्केट क्याप ३५.३२२ ट्रीलियन डलर पुगेको छ । त्यसैगरी अर्को सुरक्षित सम्पत्ति, चाँदी, ६.२८ प्रतिशतले बढेर १०७.७० डलर प्रति औंस पुगेको छ । यो १९७९ पछिको सबैभन्दा बढी हो । त्यस्तै २०२५ मा चाँदी १४१ प्रतिशतले वृद्धि भएको थियो ।
१७- नेपाल आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको समुह चरणबाटै बाहिरिएको छ । समुह चरणको अन्तिम खेलमा सोमबार स्कटल्याण्डसँग ७२ रनले पराजित भएपछि नेपालको विश्वकपमा छनौटको सम्भावना सकिएको हो । स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछाएको नेपाल १३.५ ओभरमा ६८ रन बनाएर अल आउट भएको थियो । नेपालका लागि रोमा थापा र बिन्दु रावलले १४-१४ रन बनाए भने रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन् । यसअघि टस हरेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा अल आउट हुदै १४० रन बनाएको थियो । यो हारसँगै नेपाल समुह बि बाट सुपर सिक्समा छनौट हुन असफल भएको छ । नेपालले ४ खेलमा एक मात्र जित हासिल गरेको थियो । योसँगै समुह बी बाट नेदरल्याण्डस, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा पुगेका छन् ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ५२ सयले बढेर तोलाको ३ लाख ९ हजारमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि आइतबार सुन तोलाको ३ लाख ३ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २८५ रुपैयाँले बढेर तोलाको ६७५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ६४८० रुपैयाँमा कारोबार भएको थियो ।
१९- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले हरिबोल गजुरेललगायतका नेताहरुमाथि भएको कारवाहीप्रति असन्तुष्टि जनाएका छन् । नेता खनालले गजुरेललगायतका नेताहरुमाथि भएको कारवाहीप्रति असन्तुष्टि जनाउदै यस प्रकारका कारबाहीलाई अविलम्ब स्थगित गर्न माग गरेका हुन् । उनले भनेका छन्- ‘हरिबोल गजुरेल सहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुपर्यो यस बारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायवादी शैली होइन सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु ।’
नेता खनालले कारवाही स्थगित नगरेमा एकीकरण भई नसक्दै बिश्रृखलता तिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुने चेतावनी समेत दिएका छन् । उनले नेकपामा नेतृत्वदायी कमिटी नै बन्न नसकेको, संस्थागत निर्णय प्रक्रिया विकसित नभएको, एकाध व्यक्तिहरूको इच्छा वमोजिम ठुलठुला निर्णयहरू गर्न थालिएको, गजुरेल जस्ता वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासन सम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रुपमा जानकारी सम्म पनि नहुनु र संचार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएको समेत बताएका छन् । पार्टीका अधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गर्न भूमिका खेलेको भन्दै नेकपाले गजुरेल लगायतका सात नेताहरुलाई शनिबार पार्टीबाट निष्कासित गरेको थियो ।
२०- इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले आर्सनलमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाईटेडको जितमा ब्रायन एमबेउमो, प्याट्रिक डोर्गु र माथेउस चुन्हाले एक एक गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि मिकेल मेरिनोले एक गोल गरेका थिए भने एक गोल लिसेन्द्रो मार्टिनेजले एक गोल आत्मघाती गोल गरेका थिए । यो जितपछि म्यानचेस्टर युनाईटेड २३ खेलमा ३८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । त्यस्तै आर्सनलको भने २३ खेलमा ५० अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।
FACEBOOK COMMENTS