काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सरकारले गठन गरेको सम्पत्ति छानविन आयोगलाई कुनै पनि काम अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै यस रिटलाई पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ । आदेशमा भनिएको छ- ‘प्रस्तुत रिट निवेदनमा उठाइएका प्रश्नहरू गम्भीर संवैधानिक र कानुनी प्रकृतिका देखिएका छन् ।
मुद्दाको अन्तिम टुङ्गो नलाग्दै आयोगले कामकारबाही अगाडि बढाउँदा र सम्पत्ति विवरण माग गर्दा व्यक्तिको गोपनीयता र कानुनी हकमा अपूरणीय क्षति पुग्न सक्ने देखिएकाले यो अन्तरिम आदेश जारी गरिएको छ ।’ सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्चमा दायर गरेको रिटमा आयोग गठनको निर्णय अवैधानिक भएको दाबी गरिएको छ । जाँचबुझ आयोग ऐन अनुसार गठन भएको आयोगले व्यक्तिको सम्पत्ति छानबिन गर्न नसक्ने र सर्वोच्च अदालतका पूर्वन्यायाधीशले यस्तो आयोगको नेतृत्व गर्नु गैरसंवैधानिक हुने दाबी रिटमा गरिएको छ ।
त्यस्तै, रिटमा सरकारको निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार तथा शाही आयोग खारेज गर्ने सर्वोच्च अदालतको फैसलासँग पनि बाझिने दाबी गरिएको छ। रिटमा आयोग खारेज गर्न माग गरिएको छ । सरकारले गत बैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डिराज ढकाल, पूर्व प्रहरी नायब निरीक्षक गणेश केसी र चार्टर एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन् । आयोगलाई २०६२ सालयताका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न कार्यादेश दिइएको छ ।
२- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ । रोजगारीका लागि काठमाडौंमा बस्दै आएका गणेश नेपालीको निधनलाई पार्टीले अत्यन्त दुःखद र राज्यको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाउने घटना भनेको छ ।
नेकपाले जारी गरेको विज्ञप्तिमा आत्मदाहको प्रयासपछि उनको जीवन रक्षा र मानवीय व्यवहार गर्नुपर्ने अवस्थामा राज्यका निकायबाट बल प्रयोग, जरिवानाको दबाब, धम्की तथा घिसारेर हिँडाउनेजस्ता अमानवीय व्यवहार भएको आरोप लगाएको छ । साथै निधनपछि पनि घटनाको वास्तविकता सार्वजनिक नगरिएकाले यसले घटनालाई अझ गम्भीर र हृदयविदारक बनाएको पार्टीको भनाइ छ ।पार्टीले राज्य र नागरिकबीचको विश्वास कमजोर हुँदै गएको, आम नागरिकका पीडा र आवाजप्रति राज्य संवेदनशील हुन नसकेको दाबी गरेको छ ।
यही कारण गणेश नेपालीजस्ता नागरिक चरम कदम चाल्न बाध्य भएको उल्लेख गर्दै सुकुम्बासी, भूमिहीन, श्रमिक, विपन्न, दलित, जनजाति, मधेसी, थारू, बेरोजगार युवा तथा अन्य उत्पीडित समुदायका समस्या तत्काल मानवीय र न्यायोचित ढंगले समाधान गर्न सरकारसँग आग्रह गरेको छ । नेकपाले गणेश नेपालीको आत्मदाह र निधनसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र न्याय उपलब्ध गराउन सरकारसँग माग गरेको छ । साथै संविधानले प्रत्याभूत गरेको नागरिकको सम्मान, सुरक्षा, रोजगारी र गरिमापूर्ण जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको पार्टीले जनाएको छ ।
३- सर्लाहीमा एक युवकले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । सर्लाही ४ बाट निर्वाचित सांसद अमरेस कुमार सिंहका अनुसार गोडैता नगरपालिका-१० का ३५ वर्षीय विवेक मण्डलले बिहीबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । उनको शरीरको ९० प्रतिशत भाग जलेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । सांसद सिंहले मण्डलको अवस्था चिन्ताजनक रहेको जानकारी दिदै घाइतेलाई लिन हेलिकोप्टर पठाइएको र निःशुल्क उपचार हुने व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।
४- नेपालको चिया क्षेत्रमा हालै देखिएका समस्या समाधान र समग्र निर्यात प्रवर्धनका लागि गठित विशेष अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवसमक्ष बुझाएको छ । मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित ९ सदस्यीय कार्यदलले तीव्र गतिमा काम गर्दै मात्र दुई साताको छोटो अवधिमा यो महत्त्वपूर्ण प्रतिवेदन तयार पारेकर मन्त्री यादवलाई हस्तान्तरण गरेको हो । नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागू गरेको नयाँ व्यवस्था र यसले नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असरलाई सम्बोधन गर्ने गरी कार्यदलले तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू सिफारिस गरेको छ ।
प्रतिवेदन बुझ्दै मन्त्री यादवले चिया क्षेत्रको सुधार र निर्यातमा देखिएका नीतिगत तथा व्यावहारिक अड्चन हटाउन सरकार प्रतिबद्ध रहेको र कार्यदलका सुझावहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताएकी छन् । प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा २०,६०२ हेक्टर क्षेत्रफलबाट २ करोड ६१ लाख किलोग्रामभन्दा बढी तयारी चिया उत्पादन भएको थियो। उत्पादित चियामध्ये ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको १५,५९९ मेट्रिक टन चिया निर्यात भएकोमा ८६.७७ प्रतिशत हिस्सा भारततर्फ मात्रै रहेको छ, जसले नेपाली चिया निर्यात भारतमा अत्यधिक निर्भर रहेको देखाउँछ । तर, भारत सरकारको टी बोर्डले १ मे २०२६ देखि अनिवार्य गुणस्तर परीक्षण सम्बन्धी नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा गम्भीर अवरोध सिर्जना भएको थियो। प्रयोगशाला परीक्षणमा हुने ढिलाइ, चर्को परीक्षण शुल्क र सीमामा रोकावटका कारण चिया उद्योगी, निर्यातकर्ता, साना किसान र मजदुरहरूको जीविकोपार्जनमा प्रत्यक्ष नकारात्मक असर परेको प्रतिवेदनमा उल्लेख छ ।
५- नेपाली राष्ट्रिय टिमसँग तीन खेलको टी- २० सिरिज खेल्न भारतको ए टिम नेपाल आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सो सिरिज आगामी डिसेम्बरमा हुने जानकारी दिएको छ । क्यानका अनुसार नेपाल र भारत ए बीच डिसेम्बर ९, ११ र १३ मा टियु क्रिकेट मैदानमा खेल हुने भएको छ । स्कटल्याण्डमा सम्पन्न आइसीसी कन्फेरेन्सका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव देभजित साइकियाबीच सिरिज बारे सहमति भएको क्यानले जानकारी दिएको छ ।
६- धनुषास्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा आर्थिक वर्ष २०७४/०७५ मा माछाका भुरा वितरण कार्यक्रमअन्तर्गत ७२ लाख ५९ हजार ९० रुपैयाँ हिनामिना गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारको अनुसन्धानअनुसार नेपाल सरकारबाट मत्स्य भुरा वितरणका लागि विनियोजन गरिएको दुई करोड ३४ लाख २८ हजार बजेट कार्यान्वयनका क्रममा अनियमितता भएको देखिएको हो । अनुसन्धानबाट तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झा, लेखापाल रामचन्द्र ठाकुर र प्राविधिक सहायक देवेन्द्रलाल कर्णले मिलेमतोमा सरकारी फार्मबाट सीमित मात्रामा माछाका भुरा खरिद गरी बाँकी निजी माछा फार्मबाट लिएको देखाएको, तर प्राप्त नै नभएका भुरासमेत प्राप्त भएको देखाउँदै नक्कली बिल तथा कागजात तयार गरेको आरोप लागेको छ ।
उनीहरूले वितरण नै नभएका भुरा कृषकलाई दिएको देखाउन नक्कली नाम, ठेगाना, दस्तखत र भरपाई तयार गरी सरकारी रकम भुक्तानी गरेको अख्तियारको दाबी छ । यस प्रकरणमा सुदिश माछापालन केन्द्रका सञ्चालक राम सुदिश शरणलाई पनि गैरकानुनी लाभ लिने मतियारको रूपमा प्रतिवादी बनाइएको छ। अनुसन्धानअनुसार नक्कली कागजातका आधारमा माछा फार्मलाई सरकारी रकम भुक्तानी गराई राज्यलाई ७२ लाख ५९ हजार बराबरको हानी नोक्सानी पुर्याइएको निष्कर्ष निकालिएको छ । अख्तियारले चारै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार समान बिगो कायम गरी कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ। राम सुदिश शरणविरुद्ध मुख्य कसुरदारसरह सजायको मागसमेत गरिएको छ ।
७- बलिउड अभिनेता राजपाल यादव चेक बाउन्ससम्बन्धी मुद्दामा थप कानुनी समस्यामा परेका छन् । शुक्रबार दिल्ली उच्च अदालतले यस मुद्दामा यसअघि सुनाइएको सजालाई यथावत् राख्दै सम्बन्धित निकायलाई उनलाई पुनः जेल पठाउन आदेश दिएको छ । अदालतले यादवको व्यवहार शंकास्पद रहेको टिप्पणी गर्दै राहत दिन अस्वीकार गरेको हो । यो मुद्दाको सुरुआत सन् २०१० मा भएको थियो । निर्देशकका रूपमा आफ्नो पहिलो चलचित्र ‘अता पता लापता’ निर्माण गर्न राजपाल यादवले मेसर्स मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडबाट ५ करोड भारतीय रुपैयाँ ऋण लिएका थिए । चलचित्र व्यावसायिक रूपमा असफल भएपछि उनले समयमै ऋण तिर्न सकेनन् । त्यसपछि दिएको चेक बाउन्स भएपछि विवाद अदालतसम्म पुगेको थियो । मुद्दाको सुनुवाइका क्रममा दिल्ली उच्च अदालतले पटक-पटक प्रतिबद्धता जनाए पनि यादवले बाँकी रकम नतिरेको उल्लेख गर्दै उनको व्यवहारप्रति गम्भीर प्रश्न उठाएको छ ।
अदालतले उनले करिब ९ करोड भारतीय रुपैयाँ बराबरको बक्यौता रकम तिर्न पर्याप्त प्रयास नगरेको निष्कर्ष निकाल्दै पुनः जेल पठाउन आदेश दिएको हो । यसअघि अप्रिल २०१८ मा मजिस्ट्रेट अदालतले चेक बाउन्स मुद्दामा राजपाल यादव र उनकी पत्नी राधालाई दोषी ठहर गर्दै यादवलाई ६ महिनाको जेल सजाय सुनाएको थियो । त्यसपछि सन् २०१९ को सुरुमा सेसन अदालतले पनि उक्त फैसला सदर गरेको थियो । त्यसविरुद्ध यादवले दिल्ली उच्च अदालतमा पुनरावेदन दिएका थिए ।
उच्च अदालतले जुन २०२४ मा सजायमा अस्थायी रोक लगाउँदै बक्यौता रकम तिर्न गम्भीर पहल गर्न निर्देशन दिएको थियो । तर तोकिएको रकम तिर्न नसकेपछि अदालतले यस वर्ष फेब्रुअरी २ मा आत्मसमर्पण गर्न आदेश दिएको थियो । त्यसअनुसार यादवले फेब्रुअरी ५ मा दिल्लीस्थित तिहाड कारागारमा आत्मसमर्पण गरेका थिए र फेब्रुअरी १७ सम्म १२ दिन कारागारमा बसेका थिए । पछिल्लो आदेशमा उच्च अदालतले रकम फिर्ता गर्ने आफ्नो प्रतिबद्धता यादवले पटक-पटक पूरा गर्न असफल भएको उल्लेख गर्दै सजालाई कायम राखेको छ ।
८- अस्ट्रेलियाको चर्चित घरेलु टी-२० प्रतियोगिता बिग बास लिगको १६औँ संस्करणको उद्घाटन खेल भारतको चेन्नईस्थित एमए चिदम्बरम (चेपक) रङ्गशालामा हुने भएको छ । विदेशी क्रिकेट लिगको खेल भारतमा आयोजना हुन लागेको यो पहिलो अवसर हुनेछ । शुक्रबार अस्ट्रेलिया भ्रमणको तेस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे घोषणा गरेका हुन् । उनी अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग मेलबर्न क्रिकेट मैदान पुगेका थिए ।
सो अवसरमा अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ वा तथा पूर्वमहिला क्रिकेटर लिसा स्टालेकर पनि उपस्थित थिए । त्यसपछि क्रिकेट अस्ट्रेलियाले सन् २०२६-२७ सिजनको खेल तालिका सार्वजनिक गर्दै बिग बास लिगको उद्घाटन खेल आगामी डिसेम्बर १२ मा चेन्नईको चेपक रङ्गशालामा हुने जनाएको छ । उद्घाटन खेलमा मेलबर्न रेनेगेड्स र साविक विजेता पर्थ स्कर्चर्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा मेलबर्न रेनेगेड्स घरेलु टोलीका रूपमा मैदान उत्रिनेछ । क्रिकेट अस्ट्रेलियाका अनुसार बिग बास लिगको इतिहासमा पहिलो पटक प्रतियोगिताको खेल अस्ट्रेलियाबाहिर आयोजना हुन लागेको हो ।
विश्वकै ठूलो क्रिकेट बजार मानिने भारतमा प्रतियोगिताको पहुँच विस्तार गर्दै बिग बास लिगलाई अन्तर्राष्ट्रिय स्तरमा थप लोकप्रिय बनाउने उद्देश्यले यो निर्णय गरिएको जनाइएको छ । उक्त खेल अस्ट्रेलियामा च्यानल सेभेन, सेभेन प्लस, कायो स्पोर्ट्स र फक्स क्रिकेटमार्फत प्रत्यक्ष प्रसारण हुनेछ भने भारतमा जियोस्टारले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।
९- मुगुका गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन गरिएको छ । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा बोल्दै घटनाको छानबिन गर्न डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको जानकारी दिएका हुन् । साथै मन्त्री गुरुङले छानबिन तथा सोधपुछका लागि अहिले तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा पनि लिइएको जानकारी दिएका छन् ।
१०- त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको विषयमा वीर अस्पतालले शरीरको करिब ५५ प्रतिशत भाग जलेर अत्यन्तै नाजुक र जटिल अवस्थामा भर्ना भएका नेपालीको आज बिहान ११:१९ बजे निधन भएको जनाएको छ । मुगु जिल्ला सोरु गाउँपालिका- १ निवासी नेपालीलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएदेखि नै सघन उपचार कक्षमा राखी मेकानिकल भेन्टिलेटरको सहयोगमा चौबीसै घण्टा निरन्तर उपचार गरिएको अस्पतालले जानकारी दिएको छ ।
उनको ज्यान बचाउन अस्पतालका प्लास्टिक सर्जरी, एनेस्थेसिया, र क्रिटिकल केयर विधाका वरिष्ठ विशेषज्ञ चिकित्सक तथा नर्सिङ स्टाफको टोलीले निरन्तर प्रयास गरिरहेको अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको अस्पतालले उल्लेख गरेको छ । अस्पतालका अनुसार उनलाई थप उच्चस्तरीय उपचारका लागि विदेश लैजाने तयारी समेत भइरहेको भएपनि अचानक स्वास्थ्य स्थितिमा गम्भीर आकस्मिक जटिलता उत्पन्न भएपछि चिकित्सकहरूले तत्काल आपतकालीन सीपीआर र जीवनरक्षक औषधिहरू प्रदान गरी बचाउने अन्तिम क्षणसम्म प्रयास गरेका थिए । उपलब्ध उच्चतम चिकित्सा सेवा र अथक प्रयासका बाबजुद बिरामीलाई बचाउन नसकिएको अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।
११- नेप्सेमा आज पनि सामान्य गिरावट आएको छ । आज शुक्रबार नेप्से १.१३ अंकले घटेर २६००.७८ विन्दुमा पुगेर रोकिएको छ । आज ३६७ कम्पनिका एक करोड ६ लाख ६० हजार ५३७ कित्ता शेयर ६ अर्ब ८६ करोड ७ लाख १८ हजार ६५८ मा कारोबार भएको थियो । आज लगानी, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयर १०.६६ प्रतिशतले बढेको छ भने कुमारी इक्विटी फण्डको शेयर ९.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी भगवती हाइड्रोको शेयर ७.८४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल बैंक डिभेन्चर ८७ को ८९ करोड ९१ लाख बराबरको कारोबार भएको छ भने आरबिबिएल डिभेन्चर ८३ को ६९ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।
१२- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफलका लागि बिभिन्न उपसमिति गठनमा भागबन्डा गरिएको छ । शुक्रबार सिंहदरबारमा समिति बैठकले बेरुजु छलफलका लागि बिभिन्न पाँच वटा उपसमिति गठन गरेको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिएका छन् । जस अनुसार तीन उपसमितिको नेतृत्व रास्वपाले गर्ने भएको छ भने एक एक उपसमितिको नेतृत्व एमाले र राप्रपाले गर्ने सहमति गरिएको छ । यसअघि पाँच वटै उपसमितिको संयोजकमा रास्वपाले दावी गरेपछि सहमति हुन सकेको थिएन ।
१३- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले २०७९ सालमा प्रेम आचार्यले संसद भवन बानेश्वर अगाडी आत्मदाह गर्दा बालेनले लेखेको स्ट्याटस संसद्मा पढेर सुनाएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह स्मरण गर्दै प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्ट्याटस स्मरण गराएका हुन् । त्यति बेला काठमाडौँ महानगरको प्रमुख रहेका बालेनले सामाजिक सञ्जालमा लेखेका थिए- ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् ।
एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर निराशा पोख्छन् । त्यो निराशाका कारण र धेरै संकेतहरू होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।’ सांसद पुनले प्रधानमन्त्री बालेनको यो बुझाइमा अहिले पनि छ वा फेरियो भन्दै प्रश्न समेत गरेका छन् ।
१४- नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको घटनाले राज्य, समाज र सामूहिक चेतनालाई गम्भीर रूपमा झस्काएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै सभापति थापाले यसलाई राजनीतिक आरोप-प्रत्यारोपको विषय नबनाई राज्य सञ्चालन, सामाजिक उत्तरदायित्व र नागरिकप्रतिको संवेदनशीलतासँग जोडेर आत्मसमीक्षा गर्नुपर्ने बताएका हुन् । थापाले यस्तो घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय बनाउन नहुने उल्लेख गर्दै एउटा नागरिक आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्नको इमानदार जवाफ खोज्नुपर्ने बताएका छन् ।
राज्यका सेवा, संयन्त्र र नीतिले नागरिकलाई आड, भरोसा र सुरक्षा दिन नसक्दा यस्ता दुःखद घटना दोहोरिन सक्ने भएकाले त्यसतर्फ गम्भीर ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले भनेका छन्- ‘हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ । एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन् ? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ ?’ उनले समाज, परिवार, राज्य र नागरिक सबैले आफ्नो भूमिका आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । भविष्यमा कुनै पनि नागरिकले निराशाको चरम अवस्थामा पुगेर यस्ता कदम चाल्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने थापाको धारणा छ ।
१५- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । नेपालीको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल भक्तपुर बसिरहेका मुगुको सोरू गाउँपालिका-२ का २५ वर्षीय नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी मोटरसाइकल पार्किङको विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आफ्नो शरीरमा आगो लगाएका थिए ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको २७ सयले बढेर तोलाको २ लाख ८७ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८४ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७० रुपैयाँले घटेर तोलाको ४५१० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४३४० मा कारोबार भएको थियो ।
१७- विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण गर्नेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नवीस मान सिं प्रधान, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. सूर्यमान मेन्याङबो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अजय कुमार मिश्र रहेका छन् । सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूलाई सम्बन्धित प्रतिष्ठानहरूको उपकुलपतिमा नियुक्त गरेको हो ।
१८- ह्यारी ब्रुक र फिल साल्टको अविजित १४६ रनको साझेदारीमा इङ्ग्ल्यान्डले चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतलाई ९ विकेटले पराजित गर्दै पाँच खेलको सिरिज ३ -० ले आफ्नो पक्षमा पारेको छ । यससँगै इङ्ग्ल्यान्डले एक खेल बाँकी रहँदै सिरिज जितेको हो । भारतले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो । जवाफमा इङ्ग्ल्यान्डले १३.५ ओभरमै एक विकेटको क्षतिमा १५९ रन जोड्दै सहज जित निकाल्यो ।
ब्रुक र साल्टले अर्धशतक बनाउँदै भारतका बलरमाथि पूर्ण नियन्त्रण कायम गरेका थिए । यो हारसँगै कप्तान श्रेयस अय्यरको नेतृत्वमा भारतले लगातार दोस्रो टी-२० सिरिज गुमाएको छ । यसअघि भारत आयरल्यान्डसँग २-० ले पराजित भएको थियो । सन् २०१९ यता पहिलो पटक भारतले लगातार दुई टी-२० द्विपक्षीय सिरिज हारेको हो । इङ्ग्ल्यान्डका लागि पनि यो ऐतिहासिक सफलता बनेको छ । भारतविरुद्ध दुई वा सोभन्दा बढी खेलको टी-२० द्विपक्षीय सिरिज जितेको यो पहिलो अवसर हो । यसअघि दुवै टोलीबीच भएका छ सिरिजमध्ये पाँचमा भारत विजयी भएको थियो भने एक सिरिज बराबरीमा टुङ्गिएको थियो । यो हार भारतको टी-२० इतिहासमा बाँकी बलका आधारमा तेस्रो ठूलो हार हो । इङ्ग्ल्यान्डले ३७ बल बाँकी छँदै लक्ष्य पूरा गर्दै भारतविरुद्ध टी-२० मा बाँकी बलका हिसाबले आफ्नो सबैभन्दा ठूलो जित दर्ता गरेको छ । अब सिरिजको पाँचौं खेल शनिबार हुने छ ।
१९- इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि उनको गृहनगर मशहदमा सम्पन्न भएको छ । उनलाई इमाम रेजा दरगाह परिसरमा दफन गरिएको हो । यससँगै छ दिनसम्म चलेको राजकीय शोक तथा अन्त्येष्टि कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको छ । इरान र इराकका विभिन्न सहरबाट लाखौँ मानिस अन्तिम श्रद्धाञ्जलिमा सहभागी भएका थिए । अन्त्येष्टिअघि खामेनीको पार्थिव शरीर तेहरान, कोमलगायत प्रमुख सहरमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । अन्तिम दिन उनको शव मशहद पुर्याइएपछि ठूलो संख्यामा समर्थक भेला भएका थिए । अन्तिम यात्राका क्रममा अमेरिका र इजरायलविरुद्ध नाराबाजी गरिएको थियो । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार १०१ वर्षीय धर्मगुरु अयातोल्लाह हुसेन नुरी हमदानीले जनाजाको नमाज पढाएका थिए ।
खामेनीका छोरा तथा सम्भावित उत्तराधिकारी अयातोल्लाह मोज्तबा खामेनी भने अन्त्येष्टिमा सार्वजनिक रूपमा देखिएनन् । इरानी सञ्चारमाध्यमका अनुसार सुरक्षा र स्वास्थ्यका कारण उनले सार्वजनिक कार्यक्रममा सहभागिता जनाएनन् । उनले भने लिखित सन्देशमार्फत शोक व्यक्त गर्ने र श्रद्धाञ्जलि दिने सबैप्रति आभार प्रकट गरेका छन् । यसैबीच अमेरिका र इरानबीचको सैन्य तनाव फेरि तीव्र बनेको छ । अमेरिकाले बिहीबार बिहान इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ हवाई आक्रमण गरेको छ । इरानले बुशेहर परमाणु ऊर्जा केन्द्र नजिक आक्रमण भएको आरोप लगाए पनि केन्द्रमा कुनै क्षति नभएको जनाएको छ ।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार पछिल्ला दुई दिनमा इरानका १७० भन्दा बढी सैन्य लक्ष्यमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरिएको छ । आक्रमणमा १४ जनाको मृत्यु भएको बताइएको छ । अमेरिकी सेनाले वायु प्रतिरक्षा प्रणाली, ड्रोन तथा क्षेप्यास्त्र भण्डार, सैन्य डुङ्गा र होर्मुज जलडमरूमध्य आसपासका सैन्य संरचनालाई निशाना बनाएको जनाएको छ । सार्वजनिक गरिएको दृश्यमा विमानस्थलको धावनमार्ग र क्षेप्यास्त्र प्रक्षेपणस्थलमा आक्रमण गरिएको देखाइएको छ ।
अमेरिकी आक्रमणको जवाफमा इरानले कतार, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामाथि ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ । इरानले कुवेतको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली, कतारको प्रारम्भिक चेतावनी प्रणाली र बहराइनमा रहेको अमेरिकी सेनाको इन्धन भण्डारण केन्द्रलाई निशाना बनाएको दाबी गरेको छ । साथै जोर्डनको अजराक सैन्य अड्डातर्फ पनि क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ, जहाँ अमेरिकी सैनिक र लडाकु विमान तैनाथ छन् ।
२०- किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै फिफा विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । खेलको पहिलो हाफमा एमबाप्पेले जिताएको पेनाल्टी अवसरलाई भने गोलमा परिणत गर्न सकेनन् । मोरक्कोका रक्षक नुसैर माजराउईको फउलपछि प्राप्त पेनाल्टीमा एमबाप्पेको कमजोर प्रहारलाई मोरक्कोका गोलरक्षक यासिन बोनोले सहजै बचाएका थिए । तर दोस्रो हाफको ६०औँ मिनेटमा एमबाप्पेले आफ्नो गल्ती सच्याउँदै पेनाल्टी क्षेत्रको किनाराबाट आकर्षक घुमाउरो प्रहारमार्फत फ्रान्सलाई अग्रता दिलाए । त्यसको छ मिनेटपछि उसमान डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको जित सुनिश्चित गरे ।
बोनोले बल छोए पनि गोल रोक्न सकेनन् । यस गोलसँगै एमबाप्पेले प्रतियोगितामा आफ्नो आठौँ गोल पूरा गरेका छन् । उनी अर्जेन्टिनाका लियोनेल मेसीसँग सर्वाधिक गोलको बराबरीमा पुगेका छन् । तर धेरै गोलका अवसर सिर्जना गरेका कारण एमबाप्पे अहिले गोल्डेन बुटको दौडमा मेसी भन्दा अगाडि रहेका छन् । दुई पटकको विश्व विजेता फ्रान्सले अब सेमिफाइनलमा स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सन् २०२२ को विश्वकपको फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।