काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरे विरुद्ध विभागीय कारबाही प्रक्रिया टुंग्याउँदै निजामती सेवाबाट हटाउने निर्णय गरेको छ । मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम विभागीय सजाय सम्बन्धी प्रक्रिया पूरा गरी यसअघि लोक सेवा आयोगको परामर्श मागिएको थियो।
आयोगबाट प्राप्त परामर्शका आधारमा निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय लागू गर्ने निर्णय गरिएको हो । मन्त्रालयका अनुसार सम्बन्धित कर्मचारीविरुद्ध आवश्यक विभागीय कारबाही सम्पन्न गरी सोको जानकारी लोक सेवा आयोगलाई गराइने जनाइएको छ । यसैबीच, मन्त्रालय स्रोतका अनुसार यस्तै प्रकृतिका मुद्दामा थप १४ जना कर्मचारीविरुद्ध विभागीय कारबाही प्रक्रिया अघि बढिरहेको र कानुनी प्रक्रिया पूरा भएपछि आवश्यक निर्णय गरिने तयारी रहेको बताइएको छ ।
२- वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको सिर्सिया नदीको प्रदूषण नियन्त्रण गर्न सरकारले कडाइ थालेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनपछि वातावरणीय मापदण्ड पालना गर्न उद्योगहरूलाई दिइएको समयसीमा बेवास्ता गरेपछि १२ उद्योगलाई कारबाही गरिएको छ । वातावरण विभागको प्राविधिक टोलीले बारा र पर्साका २१ उद्योगको स्थलगत अनुगमन गरी फोहोर पानीको नमुना परीक्षण गर्दा १२ उद्योगले वातावरणीय मापदण्ड उल्लङ्घन गरेको पुष्टि भएको मन्त्रालयले जनाएको छ। त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रति उद्योग १० लाख रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो।
उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार कारबाहीमा परेका उद्योगमध्ये मधेश प्रदेश सरकारको अधिकारक्षेत्रमा पर्ने ६ उद्योगविरुद्ध वातावरण संरक्षण ऐन, २०७६ बमोजिम थप कारबाहीका लागि सम्बन्धित निकायलाई पत्राचार गरिएको छ। साथै सिर्सिया नदी आसपासका अन्य उद्योगहरूको पनि संयुक्त प्राविधिक टोलीबाट अनुगमन गरी आवश्यक कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ ।
तोकिएको समयभित्र जरिवाना नतिर्ने उद्योगलाई कानुनअनुसार तेब्बर जरिवाना लाग्ने चेतावनी पनि दिइएको छ। वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट प्रशोधन नगरी रसायनयुक्त फोहोर पानी नदीमा मिसाइँदा सिर्सिया नदी वर्षौंदेखि प्रदूषित बन्दै आएको छ। यसबाट स्थानीय बासिन्दाले दुर्गन्ध, स्वास्थ्य समस्या, खेतीपातीमा असर तथा पशुचौपायामा समेत नकारात्मक प्रभाव भोग्दै आएका छन्। कारबाहीमा परेका उद्योगहरूमा जगदम्बा स्टिल इन्डस्ट्रिज लिमिटेड, बारा, हुलास स्टिल इन्डस्ट्रिज प्रालि, बारा, शिवशक्ति घिउ उद्योग प्रालि, बारा, सुशील वनस्पति प्रालि, पर्सा, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स, बारा र अशोक स्टिल इन्डस्ट्रिज प्रालि, बारा लगायत रहेका छन् ।
३.- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले स्वदेश फर्कन लागेको जानकारी गराएका छन् । हाल हङकङमा रहेका देउवाले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफू स्वदेश फर्कन लागेको जानकारी गराएका हुन् । देउवाले विज्ञप्तिमा सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउदै स्वतन्त्र न्यायपालिका, संबैधानिक संस्थाहरु तथा लोकतान्त्रिक प्रणालीमाथि नै दबाब सिर्जना गर्ने संकेत देखिन थालेको उल्लेख गरेका छन् । साथै उनले भनेका छन्- ‘प्रतिशोध होइन, सहकार्य चाहिएको छ । त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ ।’ गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा दम्पति गत चैत्रमा हङकङ पुगेका थिए । विज्ञप्तिमा देउवाले स्वदेश फर्किने मिति भने उल्लेख गरेका छैनन् ।
४- अमेरिकाले इरानका प्रतिआक्रमणमा आफ्ना करिब एक सय सैनिक घाइते भएको स्वीकार गरेको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता सिन पार्नेलले जुलाई ७ यता भएका आक्रमणमा १०० जना सैनिक घाइते भएको जानकारी दिएका हुन् । पार्नेलका अनुसार घाइतेमध्ये करिब ९६ प्रतिशत सैनिक उपचारपछि पुनः ड्युटीमा फर्किसकेका छन् । अधिकांश सैनिकको टाउकोमा सामान्य चोट लागेको र उनीहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनले बताएका छन् । उनको यो प्रतिक्रिया अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले रक्षा मन्त्रालयले इरानसँगको युद्धमा घाइते भएका सैनिकको विवरण सार्वजनिक नगरेको दाबी गरेपछि आएको हो । पार्नेलले सैनिकहरूको सुरक्षालाई ध्यानमा राखेर जानकारी सार्वजनिक गर्न ढिलाइ गरिएको स्वीकार गरेका छन् ।
यसैबीच अमेरिका र इरानबीच आक्रमण-प्रत्याक्रमण जारी छ । इरानले सोमबार अमेरिकी सैन्य अड्डा रहेका विभिन्न स्थानलाई निशाना बनाएपछि त्यसको जवाफस्वरूप अमेरिकाले मंगलबार बिहान इरानका नौ सहरमा हवाई आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमका अनुसार अबदानान, बन्दर अब्बास, बन्दर लेंगेह, बुशेहर, चाबहार, केश्म टापु, सिरिक, शिराज र कोनारकमा अमेरिकी आक्रमण भएको छ । तनाव थप चुलिँदै गएपछि अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकका लागि विश्वव्यापी सुरक्षा सतर्कता जारी गरेको छ । मन्त्रालयले सुरक्षा अवस्था जुनसुकै बेला बिग्रन सक्ने भन्दै विशेष सावधानी अपनाउन र विशेषगरी मध्यपूर्वको यात्रा गर्नुअघि जोखिमको मूल्याङ्कन गर्न आग्रह गरेको छ ।
५- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, साझा स्वामित्व र परिणाममुखी सहकार्य आवश्यक रहेको बताएका छन् । सातै प्रदेशका ऊर्जा मन्त्री र सचिव सहभागी बैठकमा उनले समृद्ध नेपालको लक्ष्य तीनै तहका सरकारबीचको सहकार्यबाट मात्र हासिल गर्न सकिने उल्लेख गरेका छन् । मन्त्री श्रेष्ठले नदीलाई केवल जलस्रोतका रूपमा नभई सभ्यता, संस्कृति, जैविक विविधता र वातावरणीय सन्तुलनको आधारका रूपमा संरक्षण गर्ने नीति सरकारले लिएको बताए ।
नदी संरक्षण, वैज्ञानिक व्यवस्थापन र दिगो उपयोगलाई केन्द्रमा राखेर नयाँ जलस्रोत नीति र कानुनी संरचना निर्माण भइरहेको तथा जलस्रोत विधेयक चालु संसद अधिवेशनमै पेश गर्ने तयारी रहेको जानकारी दिए । उनले कृषियोग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा विस्तार, नवीकरणीय ऊर्जा प्रवर्द्धन, ऊर्जा दक्षता वृद्धि, हरित हाइड्रोजन, सौर्य, वायु तथा बायोमास ऊर्जाको विकासमा प्रदेश र स्थानीय सरकारसँग सहकार्य विस्तार गरिने बताए । साथै नदी व्यवस्थापन, बाढी नियन्त्रण, जलाशय संरक्षण र विपद् जोखिम न्यूनीकरणलाई तीनै तहको साझा प्राथमिकता बनाउनुपर्नेमा जोड दिए । बैठकमा जलस्रोतको विकास, उपयोग र संरक्षणका लागि संघ, प्रदेश र स्थानीय तहबीच अधिकार, दायित्व र जिम्मेवारी स्पष्ट हुने कानुनी व्यवस्था आवश्यक रहेको निष्कर्ष निकालिएको छ । साथै नवीकरणीय ऊर्जाको विस्तार, ऊर्जा दक्षता अभिवृद्धि र ठूला जलस्रोत आयोजनाको विकासमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा सहमति भएको छ ।
६- नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । उनले उक्त व्यवस्था सुरुदेखि नै अनुपयुक्त रहेको भन्दै आफूहरूले त्यसको विरोध गर्दै आएको बताएका छन् । थापाले निजी विद्यालय र अस्पताल रोज्ने सबै नागरिक सम्पन्न नहुने उल्लेख गर्दै धेरैका लागि निजी सेवा विलासिता नभई बाध्यता भएको बताएका छन् । निजी क्षेत्र देशको शिक्षा र स्वास्थ्य प्रणालीको महत्वपूर्ण साझेदार भएकाले सेवा प्रवाहमै अतिरिक्त करको भार थप्नु समाधान नभएको उनको भनाइ छ ।
उनले समता कर समानताको नीति नभई असमानतालाई थप बढावा दिने व्यवस्था भएको दाबी गर्दै सरकारले आर्थिक र सामाजिक यथार्थलाई स्वीकार गर्दै उक्त व्यवस्था खारेज गरेको बताएका छन् । साथै निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया समयमै पूरा गर्न सरकारसँग आग्रह गरेका छन् । सभापति थापाले बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लगायत अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै आमनागरिकको भावना अनुरूप निर्णय गर्न सरकारलाई सुझाव दिएका छन् ।
७- फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग १-० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले हारको पीडा व्यक्त गरेका छन् । उनले विश्वकपको उपाधि गुमाएको घाउ निको हुन समय लाग्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मेसीले हारको पीडा निकै गहिरो रहेको उल्लेख गरेका छन् । उनले टोलीले प्रतियोगिताभर गरेको संघर्ष, कठिन खेलमा प्राप्त पुनरागमन जित र सम्पूर्ण देशबाट पाएको साथ जीवनभर सम्झिरहने बताएका छन् । उनले भनेका छन्- ‘यो पीडा निकै गहिरो छ र यो घाउ निको हुन समय लाग्नेछ । तर हामीले सिर्जना गरेका सुन्दर सम्झना, कठिन खेलमा गरेको पुनरागमन र देशभरबाट प्राप्त साथ सधैँ हाम्रो मनमा रहनेछ । हाम्रो मेहनतले फेरि एकपटक अर्जेन्टिनालाई विश्वकै उत्कृष्ट टोलीमध्ये एक बनाएको छ ।’
अर्जेन्टिना समूह चरण सहज रूपमा पार गर्दै नकआउट चरणका लगातार चार खेलमा अन्तिम समयमा गोल गर्दै फाइनलसम्म पुगेको थियो । तर अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोलसँगै स्पेनले दोस्रो पटक विश्वकपको उपाधि जित्दा अर्जेन्टिनाको उपाधि रक्षा गर्ने सपना अधुरै रह्यो । ३९ वर्षीय मेसीले प्रतियोगितामा आठ गोल र चार गोलका अवसर सिर्जना गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । यद्यपि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन बल’ पुरस्कार प्राप्त गर्न नसक्नु उनको लागि दुर्भाग्यपूर्ण बनेको विश्लेषण गरिएको छ ।मेसीले आफ्ना टोलीका खेलाडीहरूको प्रशंसा गर्दै लगातार दुई विश्वकप फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि भएको बताएका छन् । उनले शुभेच्छा र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गर्दै स्पेनलाई विश्वकप जितेकोमा बधाई समेत दिएका छन् ।
८- नेप्सेमा आज पनि वृद्धि भएको छ । आज मंगलबार नेप्से ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा पुगेर रोकिएको छ । आज ३४३ कम्पनिका एक करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स, हाइड्रो, जीवन बीमा, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९८ ले बढेको छ भने कलंगा हाइड्रोको शेयर ७.५० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी नबिल डिभेन्चर २०८९ को शेयर ७.४४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ५५ करोड ७७ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ३१ करोड ३७ लाख बराबरको कारोबार भएको छ ।
९- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने तपाइ हाम्रो सहकारीका ९० जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।
१०- प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक उद्योग (टेक्सटाइल)को विकास र प्रवद्र्धनमा सरकारले जोड दिइरहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगको विकास र विस्तारका निम्ति सरकार सबै किसिमको सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता जनाएका हुन् ।
छलफलका क्रममा संघका पदाधिकारीको माग बमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहने गरी ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन गर्ने काम तत्काल अघि बढाउन प्रधानमन्त्री शाहले सम्बन्धित मन्त्रीलाई निर्देशन दिए । काउन्सिल गठनले स्वदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित तयारी पोसाकको निर्यात प्रवद्र्धन र आयात व्यवस्थापन गर्न सहज हुने अपेक्षा पदाधिकारीले गरेका थिए । पदाधिकारीले राखेको मागबमोजिम प्रधानमन्त्री शाहले निजी क्षेत्रका तयारी पोसाकका रुग्ण उद्योगहरुलाई समेत तुरुन्तै सुचारु गर्न उद्योग मन्त्रालयलाई थप निर्देशन दिएका छन् ।
यस्तै, उनले निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक लगानी (एफडीआइ) ल्याउन तत्कालै काम गर्ने, अमेरिकामा तयारी पोसाक लगायतका वस्तु रोकिएको र ‘टेस्टिङ सर्टिफिकेसन’ नभएकाले अब त्यसको बाटो खुलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् । ‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ उद्देश्य पूरा गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरिने पनि उनले प्रतिवद्धता जनाएका छन् । ग्रिन गार्मेन्ट भिलेज सम्बन्धी व्यवस्था सरकारको नीति तथा कार्यक्रममा भए पनि बजेट नआएको भन्दै प्रतिनिधिले गुनासो गरेकोमा प्रधानमन्त्री शाहले तत्काल उपयुक्त ठाउँमा जग्गा खोज्न उहाँहरुलाई आग्रह गर्दै आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिए ।
प्रधानमन्त्री शाहले नेपालमा २०४० सालतिर निर्यातका आधारमा आयात गर्ने अभ्यास भएकोमा त्यससम्बन्धी पुनः अध्ययन गरी आवश्यक काम गर्न पदाधिकारीलाई आग्रह गरेका थिए । नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा पुर्याउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि तयारी पोसाक उद्योगले खेपिरहेका सबैखाले समस्या समाधान गर्न लागिपर्नेमा जोड दिए । साथै, तयारी पोसाक उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थलगायत समाग्रीहरु नेपालमै उत्पादन गर्न सक्षम हुनुपर्ने उनको भनाइ थियो। छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी थिए ।
११- सरकार निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत करबाट पछि हटेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेख्दै हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ गते बजेट भाषणमा साउन १ गतेदेखि लागु हुने गरि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशतका दरले समता कर लगाएपछि चौतर्फी आलोचना भएको थियो ।
१२- फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई पराजित गरेपछि फकल्यान्ड (माल्भिनास) टापु विवादसँग सम्बन्धित ब्यानर प्रदर्शन गरेका अर्जेन्टिनाका खेलाडीमाथि बेलायतमा कारबाहीको माग चर्किएको छ । विशेषगरी इङ्ग्लिस प्रिमियर लिगमा खेलिरहेका तीन अर्जेन्टिनी खेलाडीको कार्य भिसा रद्द गर्नुपर्ने आवाज उठ्न थालेको छ । विश्वकप टोलीका लिसान्द्रो मार्टिनेज, एन्जो फर्नान्डेज र क्रिस्टियन रोमेरोले इङ्ग्ल्यान्डविरुद्धको जितपछि ‘माल्भिनास (फकल्यान्ड) टापु अर्जेन्टिनाकै हो’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए । उक्त घटनापछि बेलायतमा तीव्र प्रतिक्रिया देखिएको हो ।
बेलायतकी पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरका पूर्वसल्लाहकार नाइल गार्डिनरले बेलायतविरोधी प्रदर्शनमा सहभागी भएका अर्जेन्टिनी खेलाडीको कार्य भिसा तत्काल रद्द गर्नुपर्ने माग गरेका छन् । सामाजिक सञ्जालमा पनि धेरै बेलायती समर्थकले सार्वजनिक माफी माग्न र भिसा खारेज गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । यसैबीच, ब्यानर विवादबारे फिफाले औपचारिक अनुसन्धान सुरु गरेको छ । बेलायतका केही राजनीतिक नेताले खेलमा राजनीतिक विषय घुसाइएको आरोप लगाउँदै अर्जेन्टिनामाथि कारबाही गर्न माग गरेका छन् । यद्यपि फिफाले अहिलेसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन ।
यद्यपि बेलायतका अध्यागमनसम्बन्धी कानुनी विज्ञहरूले भने केवल विश्वकपका क्रममा ब्यानर प्रदर्शन गरेकै आधारमा खेलाडीको कार्य भिसा रद्द गर्न कानुनी रूपमा निकै कठिन हुने बताएका छन् । उनीहरूका अनुसार यस घटनामात्रैलाई आधार बनाएर प्रिमियर लिगमा आबद्ध खेलाडीको भिसा रद्द गर्न पर्याप्त कानुनी आधार नहुने भएकाले तत्काल भिसा खारेज हुने सम्भावना न्यून छ । अब फिफाको अनुसन्धान निष्कर्षपछि यस विषयमा थप कुनै अनुशासनात्मक कारबाही हुन्छ वा हुँदैन भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।
१३- दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले च्याम्पियनसिप २०२६ बङ्गलादेशको राजधानी ढाकामा आयोजना हुने घोषणा गरेको छ । प्रतियोगिता आगामी कात्तिक १८ देखि मंसिर १ गते (नोभेम्बर ४-१७) सम्म सञ्चालन हुनेछ । दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा साफका सबै सदस्य राष्ट्रको सहभागिता रहने अपेक्षा गरिएको छ । यस संस्करण साफ च्याम्पियनसिपको १५औँ संस्करण हुनेछ भने सन् २०१८ पछि पहिलो पटक बङ्गलादेशले प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिताको तयारीस्वरूप आगामी जुलाई २५ मा ढाकामा आधिकारिक लोगो सार्वजनिक गरिनेछ । त्यसपछि अगस्ट १ मा भुटानको थिम्फुमा समूह विभाजनका लागि गोलाप्रथा कार्यक्रम आयोजना गरिने साफले जनाएको छ । नेपाल भने हाल फिफाको निलम्बनमा रहेकाले प्रतियोगितामा सहभागिता स्पष्ट भएको छैन ।
१४- संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरुको सुनुवाई साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ । मंगलबार बसेको समितिको बैठकले आयोगको दुई आयुक्त पदमा सिफारिस भएकाहरुको सुनुवाई साउन १२ गते र प्रमुख निर्वाचन आयुक्तको संसदीय सुनुवाई साउन १३ गते गर्ने निर्णय गरिएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका हुन् ।
बैठकमा सभापति श्रेष्ठले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा एउटा उजुरी र एउटा सुझाव प्राप्त भएको जानकारी दिए । प्राप्त उजुरी र सुझाव समिति सदस्यहरुलाई उपलव्ध गराइने र अध्ययनपश्चात साउन १२ र १३ गते सुनुवाई हुने उनले बताए । संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
१५- कीर्तिपुरको ट्याङलाफाटमा एक निजी गाडीमा आगलागी भएको छ । कीर्तीपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको हो । आगलागी भएको निजी कारका चालक सीट बेल्ट बाँधेको अवस्थामा मृत फेला परेका छन् । मृतकको अन्य पहिचान हालसम्म खुलेको छैन । प्रहरीले मृतकको पहिचान खुल्न बाँकी रहेको बताएको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको एक हजारले बढेर तोलाको २ लाख ८५ हजारमा ६ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८४ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर तोलाको ४३७० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४३२० मा कारोबार भएको थियो ।
१७- सरकारले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा कर बिजक (बिल) लिन प्रोत्साहन गर्न ‘कर बिजक प्रोत्साहन योजना, २०८३’ लागू गरेको छ । आन्तरिक राजस्व विभागले जारी गरेको कार्यविधिअनुसार कर बिजक माग्ने उपभोक्तालाई चिठ्ठामार्फत नगद तथा अन्य पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ । कार्यविधिअनुसार मूल्य अभिवृद्धि कर वा अन्तःशुल्क लाग्ने वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले वैधानिक कर बिजक लिनुपर्नेछ । त्यस्ता बिजकमा रहेको विवरण विभागले तोकेको विद्युतीय प्रणालीमा दर्ता गरेपछि सम्बन्धित उपभोक्ता पुरस्कारका लागि योग्य हुनेछन् ।
योजनाको सञ्चालन, चिठ्ठा प्रक्रिया, विजेता छनोट तथा पुरस्कार वितरणका लागि विभागले छुट्टै समिति गठन गर्ने व्यवस्था गरिएको छ । चिठ्ठा प्रक्रिया पारदर्शी बनाउन आवश्यक मापदण्ड अपनाइने र योग्य ठहरिएका सहभागीमध्ये गोलाप्रथाबाट विजेता छनोट गरिने उल्लेख छ । कार्यविधिअनुसार प्रत्येक दिन एक जना चिठ्ठामा छनोट हुने विजेताले एक लाख ३३ हजार तीन सय ३४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, पाक्षिक रुपमा एक जना विजेतालाई १० लाख रुपैयाँ प्रदान गरिने व्यवस्था छ । पुरस्कार रकममा आयकर ऐन, २०५८ अनुसार आकस्मिक लाभमा लाग्ने २५ प्रतिशत कर भने कट्टी गरिनेछ । पाक्षिक विजेताको छनौट हरेक महिनाको १ गते र १६ गते गरिने बताइएको छ । योजनामा सहभागी हुन उपभोक्ताले खरिद गरेका वस्तु वा सेवाको वैधानिक कर बिजक सुरक्षित राख्नुपर्नेछ।
विजेता घोषित भएपछि १५ दिनभित्र सक्कल बिजक, नागरिकता वा अन्य परिचयपत्र, बैंक खाताको विवरण र स्थायी लेखा नम्बर सहित नजिकको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। आवश्यक जाँचपछि १० दिनभित्र पुरस्कार वितरण गरिने कार्यविधिमा उल्लेख छ । विभागले विजेताको नाम आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नेछ। सरकारले यो योजनामार्फत उपभोक्तामा कर बिजक माग्ने बानीको विकास, कारोबारलाई औपचारिक प्रणालीमा ल्याउने तथा कर छली नियन्त्रण गरी राजस्व संकलन वृद्धि गर्ने लक्ष्य राखेको छ। कार्यविधिमा सहभागी हुन मिल्ने कर बिजक, अमान्य हुने अवस्था, विवरण प्रमाणीकरण, उजुरी तथा अनुगमन, पुरस्कार वितरण प्रक्रिया र आवश्यक कागजातसम्बन्धी व्यवस्था पनि समेटिएको छ ।
झुट्टा विवरण पेश गर्ने, नक्कली वा दोहोरो बिजक प्रयोग गर्ने वा नियमविपरीत कार्य गर्ने सहभागीलाई योजनाबाट अयोग्य ठहर गरिने व्यवस्था गरिएको छ । विभागका अनुसार यस योजनाको मुख्य उद्देश्य उपभोक्तामा कर बिजक लिने बानीको विकास गर्नु, कर छली नियन्त्रण गर्नु, कारोबारलाई औपचारिक प्रणालीमा ल्याउनु तथा राजस्व संकलनलाई थप प्रभावकारी बनाउनु हो। कार्यविधि लागू भएसँगै कर बिजक माग्ने संस्कृतिलाई प्रवर्द्धन हुने र व्यवसायीलाई पनि अनिवार्य रूपमा वैधानिक बिल जारी गर्न थप दबाब पर्ने अपेक्षा गरिएको छ ।
१८- फिफा विश्वकप २०२६ को उपाधि जितेसँगै स्पेनको राजधानी म्याड्रिड उत्सवमय बनेको छ । हजारौं फुटबल समर्थक सडकमा ओर्लिएर ऐतिहासिक सफलताको भव्य रूपमा खुसी मनाइरहेका छन् । रातभर गीत, नाराबाजी र झण्डासहितको उत्सवले राजधानीका मुख्य सडकहरू रातो र पहेँलो रङले भरिएका देखिएका छन् । स्पेनको राष्ट्रिय टोलीले १६ वर्षपछि विश्वकपको उपाधि जितेपछि समर्थकहरूले शहरभर विजय उत्सव मनाएका हुन् । समर्थकहरू स्पेनको राष्ट्रिय जर्सी लगाएर, अनुहारमा राष्ट्रिय रङ पोतेर तथा विशाल राष्ट्रिय झण्डा बोकेर विजयको उल्लासमा सहभागी भएका थिए ।
विश्वकप जितको सम्झनामा स्पेन सरकारले म्याड्रिडस्थित सिबेल्स सञ्चार भवनमा ‘विश्वका नदीहरू’ शीर्षकमा सार्वजनिक विजय समारोह आयोजना गरेको छ । कार्यक्रममा लाखौ समर्थक सहभागी भएका थिए । खेलाडीहरुलाई स्पेनको शाही परिवारले विशेष स्वागत गरेको थियो भने त्यसपछि उनीहरुलाई खुला बसमा राखेर परेड गराइएको थियो । स्पेनले न्यूयोर्क–न्यु जर्सी रंगशालामा सम्पन्न फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि जितेको हो। यससँगै सन् २०१० पछि १६ वर्षको प्रतीक्षाको अन्त्य गर्दै स्पेन पुनः विश्व फुटबलको शिखरमा पुगेको छ । स्पेनका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फेरान टोरेसले अतिरिक्त समयको १०६औँ मिनेटमा निर्णायक गोल गरेका थिए । पेड्रो पोरोको क्रस र निको विलियम्सको सहयोगमा उनले गरेको गोल नै स्पेनलाई विश्व च्याम्पियन बनाउन पर्याप्त बन्यो । ऐतिहासिक जितसँगै स्पेनभरि अहिले उत्सवको माहोल छ भने राजधानी म्याड्रिड विश्वकप विजयको उल्लासमा पूर्ण रूपमा डुबेको छ ।
१९- विश्वकप फुटबलको फाइनलपछि भएको विवादास्पद घटनाबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान सुरु गरेको छ । फिफाले फाइनल समाप्तिपछि अमेरिकाको मेटलाइफ रङ्गशालामा भएको घटनाको छानबिन गर्न अनुशासन तथा आचारसंहिता सम्बन्धी अभियोजक नियुक्त गरेको जनाएको छ । अनुसन्धानका आधारमा घटनामा संलग्न खेलाडी वा प्रशिक्षकमाथि निलम्बनको कारबाही हुन सक्नेछ भने अर्जेन्टिना फुटबल संघलाई जरिवाना पनि हुन सक्ने फिफाले जनाएको छ । विश्वकपको फाइनलमा स्पेनसँग १-० ले पराजित भएपछि अर्जेन्टिनाका केही खेलाडी र टोलीका पदाधिकारी स्पेनका खेलाडीहरू विजयोत्सव मनाइरहेका बेला झडपमा उत्रिएका थिए । उक्त घटनामा नाहुएल मोलिना, लिएन्ड्रो परेडेस, थियागो अल्माडा र सहायक प्रशिक्षक रोबर्टो आयाला संलग्न रहेको बताइएको छ ।
सुरुआतमा परेडेसले स्पेनका एरिक गार्सियाको घाँटी समातेपछि मुख्य रेफ्री स्लाभ्को भिन्चिचले रातो कार्ड देखाएको खबर सार्वजनिक भएको थियो । तर केही समयपछि उक्त रातो कार्डको अभिलेख हटाइएको थियो । फिफाले पनि खेलकै क्रममा परेडेसविरुद्ध कुनै अनुशासनात्मक कारबाही नगरिएको स्पष्ट पारेको छ । यसअघि अर्जेन्टिनाका एन्जो फर्नान्डेज अतिरिक्त समयमा दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए । यसैबीच, इंग्ल्यान्डलाई २-१ ले हराउँदै सेमिफाइनल जितेपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्यान्ड टापुमाथिको आफ्नो देशको दाबी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेको विषयमा पनि फिफाले सम्भावित अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।
२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । अमेरिकी सवारीसाधन, दुग्धजन्य पदार्थ र मदिराप्रति क्यानडाले “असमान व्यवहार” गरेको आरोप लगाउँदै ट्रम्पले यो कदम चालेका हुन् । ह्वाइट हाउसका अनुसार नयाँ भन्सार शुल्क ३० दिनपछि लागू हुनेछ । नयाँ निर्णयअनुसार मदिरा, हक्की खेलका सामग्री, सिमेन्टसहित विभिन्न उपभोग्य तथा औद्योगिक वस्तुमा ५० प्रतिशत भन्सार लाग्नेछ । तर ऊर्जा, पोटास, महत्वपूर्ण खनिज र माछाजस्ता क्यानडाका प्रमुख निर्यात वस्तुलाई भने यसबाट छुट दिइएको छ ।
यो व्यवस्था उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत पर्ने वस्तुमा समेत लागू हुने जनाइएको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी निर्णयप्रति असन्तुष्टि जनाउँदै आगामी केही साताभित्र व्यापार वार्तालाई अझ तीव्र बनाइने बताएका छन्। उनले अमेरिकाले पछिल्ला महिनामा एकपछि अर्को गर्दै एकतर्फी व्यापारिक निर्णय लिँदै आएको र यसले दुई देशबीचको व्यापार सम्बन्धमा थप दबाब सिर्जना गरेको बताएका छन् । अमेरिका र क्यानडाबीच यसअघि पनि इस्पात, आल्मुनियम, तामा, काठ तथा सवारीसाधनका पुर्जामा भन्सार शुल्कको विवाद चलिरहेको छ। क्यानडाले पनि अमेरिकी इस्पात, आल्मुनियम र सवारीसाधनमा २५ प्रतिशत प्रतिशोधात्मक भन्सार लगाएको छ। पछिल्लो निर्णयले उत्तर अमेरिकाका दुई प्रमुख व्यापारिक साझेदारबीचको सम्बन्धमा थप तनाव सिर्जना गर्ने र व्यापार सम्झौताबारे जारी वार्तामा असर पर्ने विश्लेषण गरिएको छ।