काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले उपसभापति डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न निर्देशन दिएका छन् । सोमबार राष्ट्रिय सभागृहमा पार्टी समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले डा. वाग्लेलाई आगामी बर्षको बजेट लेख्न शुरु गर्न आग्रह गरेका हुन् ।
लामिछानेले भने- ‘ डा. साप आगामी बर्षको बजेट लेख्न सुरु गर्नुस् ।’ कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पुराना दलको आलोचना गर्दै निर्वाचन रोक्ने, नयाँलाई अवरोध गर्नेलगायतका गतिविधि नगर्न चेतावनी दिएका छन् । उनले आफुहरुले नयाँ शक्तिलाई एक ठाउमा ल्याउन जे गर्न आवश्यक छ सबै गर्ने समेत बताए । उनले पुराना दलले कवि, कलाकार, मोडलहरूलाई गरिखान नदिए पछि हस्तक्षेप गर्न राजनीतिमा आएको टिप्पणी गरे । साथै उनले नेता कार्यकर्तालाई सबै सांसद हुन सम्भव नभएकोले सबै तहमा नेतृत्व लिन तयार हुन निर्देशन समेत दिएका थिए ।
२- प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई संयम, सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गरेकी हुन् । पूर्वसांसद मञ्चको एक प्रतिनिधिमण्डलसँग बालुवाटारमा सोमबार साँझ भएको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिले मुलुकको अवस्था निकै संवेदनशील छ।
प्रत्येक नेपाली नागरिकले यो देश मेरो पनि हो भन्ने जिम्मेवारीबोधका भूमिका खेल्नुपर्नेछ। समाजमा शान्ति र सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्नका लागि सबैको जिम्मेवार भूमिका आवश्यक छ। यसका लागि तपाईँहरुले पनि भूमिका खेलिदिनुहोस् ।’ निर्वाचनका लागि सबै राजनीतिक दलहरु तयार भइसकेको र अब मतदाता शिक्षामा सबैले काम गर्नुपर्ने धारणा पनि उनले राखेकी छन् । उनले भनिन्- ‘निर्वाचन त हुन्छ नै। अब यो निर्वाचनले मुलुकलाई निकास पनि दिनुपर्छ। नयाँ पुस्ताको हातमा मुलुकको शासन व्यवस्था गएमा मुलुकले पक्कै लय समाउनेछ ।’

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा पूर्वसांसदहरु रामेश्वर राय, विश्वेश्वरा दाहाल, रमा गुरागाईँ, गोविन्दबहादुर शाह, हिक्मतबहादुर शाही, शंकरनाथ शर्मा, शिवराज जोशी, नरबहादुर हमाल, अक्कलबहादुर विष्ट, विष्णुबहादुर राउत लगायत सहभागी थिए । मञ्चका तर्फबाट अध्यक्ष श्रेष्ठले मुलुकका सामु निर्वाचन नै निकासको एक मात्र लोकतान्त्रिक विकल्प रहेकाले यसमा सरकार सफल हुनुपर्ने धारणा राखे । उनले भने- ‘यो अफ्ठ्यारो अवस्थामा मुलुकलाई सम्हाल्न आइदिनुभएकामा धन्यवाद छ। हामी आभारी छौँ। यहाँकै नेतृत्वमा निर्वाचन हुनुपर्छ र त्यो वातावरण बन्दै पनि गइरहेको छ। निर्वाचन सफल पार्न हामी सरकारको साथमा छौँ। निर्वाचनमार्फत जननिर्वाचित संसद आए मात्र मुलुकमा लोकतन्त्र जीवित रहन्छ। मुलुकले निकास पाउँछ।’ पूर्वसांसद मञ्चका लागि आवश्यक कार्यालय र स्रोत व्यवस्थाका लागि पनि प्रतिनिधिमण्डलले सरकारलाई आग्रह गरेको छ ।

३- जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरका क्षेत्रमा कर्फ्यु जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला सुरक्षा समितिको निर्णयानुसार आज साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागिवीरगन्ज महानगरपालिकाका क्षेत्रका पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फु आदेश जारी गरेका हुन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्युको समयमा अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन र निस्कुनुपर्ने भएमा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरि निस्किन आग्रह गरिएको छ । कर्फ्यु आदेशको समयमा अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मी, पर्यटकका सवारी साधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधन संचालनका लागि सुरक्षाकर्मीहरुले सहजीकरण गर्ने बताइएको छ ।

४- भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग सहकार्य गर्ने प्रस्ताव गरेकी छिन् । कार्यवाहक राष्ट्रपतिको रूपमा आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकपछि रोड्रिगेजले देश शान्तिप्रति प्रतिबद्ध रहेको र अमेरिकासँग ‘सन्तुलित र सम्मानजनक’ सम्बन्धतर्फ अघि बढ्न प्राथमिकता दिने बताएकी छन् । उनले अमेरिकी सरकारलाई अन्तर्राष्ट्रिय कानूनको ढाँचा भित्र ‘सहयोगको एजेन्डा पछ्याउन मद्दत गर्न’ आमन्त्रित गरेकी छन् ।

रोड्रिगेजले भनिन्- ‘राष्ट्रपति डोनाल्ड ट्रम्प, हाम्रा जनता र हाम्रो क्षेत्र युद्ध होइन, शान्ति र संवादको हकदार छन् । यो सधैं राष्ट्रपति निकोलस मादुरोको सन्देश रहेको छ र यो अहिले सबै भेनेजुएलाको सन्देश हो । भेनेजुएलासँग शान्ति, विकास, सार्वभौमिकता र भविष्यको अधिकार छ ।’ ट्रम्पले भने अमेरिकाले अब भेनेजुएलालाई नियन्त्रण गर्ने बताएका छन् ।

५- सर्लाहीको साविक हरिपूर्वा गाबिसका तत्कालीन सचिव राम प्रकाश सिंह दनुवार र हरिपूर्वा नगरपालिकामा कार्यरत कार्यालय सहायक अरुण कुमार यादव उपर गलत लिखत तयार गरेर सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय सहायक पदमा नियुक्ति दिदा सरकार नियुक्ति पत्र सच्याएर उमेर नपुगेका यादवलाई नियुक्ति दिएको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको हो । अख्तियारले दुवैलाई कानुन अनुसार सजायको माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।
६- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पुस १९ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म झरी पछिको इन्द्रेणीले ९३ लाख ८३ हजार ५१६ कमाई गरेको छ । फिल्मले अहिलेसम्म २९ हजार ६८३ टिकट बिक्री भएको छ । त्यस्तै परानले अहिलेसम्म करिब १७ करोडभन्दा बढी कमाई गरेको छ । परानले अहिलेसम्म १७ करोड ७१ लाख १७ हजार ८३० ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ६ लाख २८ हजार ७९३ टिकट बेचेको छ ।
त्यस्तै निकै प्रचार गरिएको अभिमन्यु च्याप्टर-१ भने बक्स अफिसमा असफल भएको छ । यस फिल्मले अहिलेसम्म २१ लाख ५८ हजार ४०२ ग्रस कमाई गरेको छ । यस फिल्मका ६ हजार ८९२ टिकट बिक्री भएको छ । त्यस्तै फिल्म पीआरले ६ लाख ८२ हजार २८३ कमाई गरेको छ भने हर्षले २८ लाख ७८ हजार ५३६ कमाई गरेको छ । त्यस्तै फिल्म मुगलानले ६ लाख ५ हजार २९४ कमाई गरेको छ ।
७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिक उन्मुक्ति पार्टीका पुर्व नेताहरु, थारुहट र थारुवान अभियन्ताहरुसँग एकता गरेको छ । काठमाडौँको भृकुटीमण्डपस्थित राष्टिय सभामा ९ बुँदे सहमतिगर्दै एकताको घोषणा गरिएको छ । रास्वपासँग एकता प्रक्रियामा आएकामा थरुहट/थारुवान अभियन्ता लक्ष्मण थारु, दामोदर पण्डित, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष, थरुहट/थारुवान अभियन्ता सुरेन्द्र चौधरी रहेका छन् ।
८- राष्ट्रिय सभाको निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालबीच गठबन्धन हुने देखिएको छ । नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समावादी पार्टी नेपालसँग सहकार्य गरेर जानेबारे छलफल भइरहेको ब्रिफिङ गरेका हुन् । बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महत्तले राष्ट्रिय सभाको निर्वाचनका लागि दलहरुबीच तालमेलका लागि छलफल भइरहेको जानकारी दिए ।
उनले थप छलफलपछि भोली बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने पनि जानकारी दिए । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ । राष्ट्रिय सभामा रिक्त हुने १९ मध्ये १८ पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभाको निर्वाचनका लागि मतदाता रहेका दलहरुले सिट भागबण्डा गरेर निर्वाचनमा जाने तयारी गरेका छन् ।
९- म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक रुबेन अमोरिमलाई बर्खास्त गरेको छ । रुबेनले २०२४ को नोभेम्बरदेखि म्यानचेस्टर युनाईटेडको प्रशिक्षकको पद सम्हालेपनि राम्रो नतिजा दिन नसकेपछि क्लबले उनलाई बर्खास्त गरेको हो । म्यानचेस्टर युनाईटेड हाल लिगमा छैटौं स्थानमा रहेको र क्लबमा प्रशिक्षक परिवर्तनको समय आएको भन्दै रुबेनलाई बर्खास्त गरेको क्लबले जनाएको छ ।
क्लबले डारेन फ्लेचरले क्लबको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने जानकारी दिएको छ । रुबेनको नेतृत्वमा म्यानचेस्टर युनाईटेडले ६३ खेल खेलेकोमा २४ जित र १८ बराबरी खेलेको छ भने २१ खेलमा हार बेहोरेको छ । उनको नेतृत्वमा क्लब २०२४-२५ मा युइएफए युरोपा लिगमा उपविजेता बनेको थियो ।
१०- प्रधानमन्त्री सुशिला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बिदाई भेट गरेका छन् । सोमबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग थम्प्सनले बिदाई भेट गरेका हुन् । अमेरिकी सरकारले नेपालसहित ३० देशका राजदुत फिर्ता बोलाउने निर्णय लिएसँगै थम्प्सन स्वदेश फर्किन लागेका हुन् ।
११- नेप्से आज दोहोरो अंकको वृद्धि भएको छ । सोमबार नेप्से २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रो, बन्दीपुर केवलकार, रुरु जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाइड्रोको शेयर ९.९८ प्रतिशतले बढेको छ भने दाराम्खोला हाइड्रोको शेयर ९.५४ प्रतिशतले बढेको छ । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको डिकभेन्चरको शेयर सबैभन्दा बढी २.४९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ३८ करोड ६९ लाख बराबरको कारोबार भएको छ भने बन्दीपुर केवलकारको २० करोड ९१ लाख बराबरको कारोबार भएको छ ।
१२- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छिन् । सोमबार दिउँसो सवा २ बजे नेपाल एयरलाइन्सको विमानमार्फत् आरजु दिल्ली प्रस्थान गरेकी हुन् । आरजु स्वास्थ्य परीक्षणका लागि दिल्ली गएको बताइएको छ । आइतबार मात्र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड दिल्ली गएका थिए । प्रचण्डपछि आरजु दिल्ली जानुलाई राजनीतिक वृतमा भने अर्थपूर्ण रुपमा हेरिएको छ ।
१३- सरकारले इजरायल सरकारसँगको श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलसँग श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने, जेनजी शहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी शहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए ।
त्यस्तै सरकारले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र स्वीकृत गर्ने, पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने, वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने र नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय गरेको मन्त्री खरेलले बताए ।
१४- भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगलेनेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गरेको छ । सोमबार आयोगले उनीमाथि लगाइएको बन्देज फुकुवाको गरेको आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिएका छन् । आयोगले घटनाको जाँचबुझ तथा छानबिनको सिलसिलामा तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक र अनुमतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी असोज १२ मा निर्णय गरिएकोमा सोधपुछलगायत बुझ्ने कार्य सकिएकाले उक्त निर्णयको औचित्य समाप्त भइसकेको भन्दै फुकुवा गरिएको उल्लेख गरेको छ । ओलीलाई आयोगले आइतबार बयानको पत्र काटेकोमा पत्र लिएर आफ्नो निवास गुण्डु गएको आयोगको टोलीलाई उनले लिखित बयान पठाएका थिए ।
१५- बंगलादेश सरकारको सूचना तथा प्रसारण मन्त्रालयले अर्को सूचना नभएसम्म देशमा इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रसारण निलम्बन गर्ने आदेश दिएको छ । क्रिकेटर मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्स (केकेआर) टोलीबाट निकालेपछि विवाद बढिरहेका बेला बंगलादेश सरकारले आइपिएल प्रशारण गर्न प्रतिबन्ध लगाएको हो । यसअघि, युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले मुस्ताफिजुर रहमानलाई टोलीबाट बहिष्कार गरिएकोमा विरोध गर्दै सूचना तथा प्रसारण सल्लाहकारलाई आगामी आईपीएल खेलहरूको सबै प्रसारण रोक्न आवश्यक उपायहरू अपनाउन अनुरोध गरेका थिए । उनले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई आगामी टी२० क्रिकेट विश्वकपमा बंगलादेशको खेलहरू भारतको सट्टा श्रीलंकामा सार्ने अनुरोध गर्दै आईसीसीलाई पत्र लेख्न निर्देशन दिएका छन् । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले २०२६ को टी- २० विश्वकप खेल्न बंगलादेश भारतको यात्रा नगर्ने निर्णय गरेको छ ।
१६- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवासलाई निशाना नबनाएको बताएका छन् । उनले पुटिनको आधिकारिक निवासमा आक्रमण भएको क्रेमलिनको दाबीलाई अस्वीकार गरेका छन् । ट्रम्पले अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले गरेको अनुसन्धानले युक्रेनले पुटिनको कुनै पनि निवासलाई निशाना नबनाएको खुलासा गरेको बताएका छन् । ट्रम्पले स्पष्ट रूपमा युक्रेनले यस्तो आक्रमण आफुलाई विश्वास नभएको बताएका छन् ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले गत हप्ता युक्रेनले उत्तरपश्चिमी नोभगोरोड क्षेत्रमा रहेको पुटिनको आधिकारिक निवासमा ड्रोन आक्रमण गरेको बताएका थिए, जसलाई रूसी रक्षा प्रणालीले विफल पारेको थियो । लाभरोभले जारी शान्ति वार्ताको बीचमा युक्रेनको यस्तो कदम गलत भएको बताएका थिए । जेलेन्स्कीले तुरुन्तै यी आरोपहरूलाई खारेज गरेका थिए । यद्यपि, ट्रम्पले सुरुमा रुसको दाबीलाई गम्भीरतापूर्वक लिए र पुटिनले फोनमा उनीसँग यो मुद्दा उठाएको बताएका थिए । युरोपेली नेताहरुले पुटिनको निवासमा आक्रमणको दाबी शान्ति प्रक्रियालाई कमजोर पार्ने प्रयास भएको बताएका छन् ।
१७- नेपाली बजारमा आज सुनचाँदी मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ४६ सयले बढेर तोलाको २ लाख ६५ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ६० हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले बढेर ४६८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४५०० मा कारोबार भएको थियो ।
१८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्द विवादपछि उम्मेदवारले नाम फिर्ता लिनेक्रम जारी रहेको छ । पछिल्लो पटक समानुपातिक सूचीमा रहेका डा. अरनिको पाँडेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पाँडेले भनेका छन्- म सँधै देश र समाजलाई सबैभन्दा ठूलो योगदान दिनसक्ने बाटो खोज्ने र रोज्ने गर्छु। पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रिय समिति बैठकमा साथीहरुलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएं । मलाई बन्दसूचीमा पुर्याउने सबै साथीहरुलाई फेरि एकपटक धन्यवाद दिंदै रास्वपालाई आउँदो चुनावमा जिताउने तिर ध्यान दिनेछु ।
रास्वपाको समानुपातिक सूचीमा सेलिब्रेटीलाई स्थान दिएको र संबिधानले व्यवस्था गरेको समानुपातिक प्रतिनिधित्वको मर्म विपरितका उम्मेदवार सिफारिस गरेको भन्दै चौतर्फी आलोचना भएपछि उम्मेदवारहरुले नाम फिर्ता लिइरहेका छन् । यसअघि टासी शेर्पा, गायिका त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए ।
१९- मोरक्को र क्यामरुन जारी अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगेका छन् । गएराती सम्पन्न खेलमा मोरक्कोले तान्जानियालाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । मोरक्कोको जितमा खेलको ६४औं मिनेटमा ब्राहिम डियाजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । त्यसैगरी अर्को खेलमा क्यामरुनले दक्षिण अफ्रिकालाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । अब क्वाटरफाइनलमा मोरक्को र क्यामरुनले प्रतिष्पर्धा गर्ने छन् । राउण्ड १६ अन्तर्गत आज इजिप्ट र बेनिन तथा नाइजेरिया र मोजाम्बिक खेल्दैछन् । जारी प्रतियोगितामा यसअघि माली र सेनेगल क्वाटरफाइनलमा पुगिसकेका छन् ।
२०- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिएर भेनेजुएलाको विलासी जीवनबाट न्यूयोर्क शहरको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखेको छ । यो सेन्टरको विगतमा निकै बदनाम र कम सुबिधा भएको हिरासत केन्द्रको रुपमा परिचित रहेको छ । यो सेन्टर पुरानो कम कर्मचारी, हिंसात्मक कैदी र बिजुली कटौतीको लागि परिचित छ । यो जेल भीडभाडसँग लड्न १९९० को दशकमा निर्माण गरिएको थियो ।
यसमा यसअघि गायक आर केली, फार्मा ब्रो मार्टिन शक्रेली, समाजसेवी घिसलेन म्याक्सवेल, एक समयका क्रिप्टोकरेन्सी विज किड साम बैंकम्यान-फ्राइड र संगीत मुगल सीन ‘डिडी कम्ब्स लगायतका मानिसहरूलाई राखिएको थियो । संदिग्ध कार्टेल नेता इस्माइल ‘एल मेयो’ जाम्बाडा गार्सियालाई पनि त्यहाँ राखिएको थियो किनभने उनी हत्या र लागूपदार्थ तस्करीको आरोपमा मुद्दाको पर्खाइमा थिए । कम्ब्सका वकिल मार्क अग्निफिलोले २०२४ को अन्त्यमा अदालतमा तर्क गर्दै न्यायाधीशलाई ‘यो गाह्रो ठाउँ हो’ भन्दै यदि उनका प्रतिवादीलाई त्यहाँ राखियो भने मुद्दाको लागि तयार हुन गाह्रो हुने जिकिर गरेका थिए । यस सेन्टरमा जुन २०२४ मा एक कैदीलाई घातक चक्कु प्रहार गरिएको थियो र एक महिना पछि झगडामा अर्कोको मृत्यु भएको थियो ।
२०१९ मा बिजुली आपूर्ति बन्द हुँदा कैदीहरू एक हप्ताको लागि चिसो तापक्रममा लगभग पूर्ण अन्धकारमा बसेका थिए । उक्त घटनाको न्याय विभागले अनुसन्धान गरेको थियो, जसको परिणामस्वरूप १६ सय प्रभावित कैदीहरूको लागि १० मिलियन डलरको क्षतिपुर्ति दिइएको थियो । कैदीहरूलाई विद्युत नभएको समयमा आफ्नो कोठरीमा सीमित राखिएको र खराब शौचालय भएको अस्वच्छ अवस्था सहन बाध्य पारिएको भन्दै उनीहरूको तर्फबाट मुद्धा दायर भएपछि क्षतिपुर्ति दिइएको थियो । २०१९ मा करोडपति फाइनान्सर र अभियुक्त यौन तस्कर जेफ्री एपस्टाइनको आत्महत्याबाट मृत्यु भएपछि म्यानहट्टनको परिसर बन्द भएपछि एमडीसी न्यूयोर्क शहरमा सेवा गर्ने एक मात्र संघीय सुधार केन्द्र हो ।
FACEBOOK COMMENTS