काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राप्रपा र राप्रपा नेपालबीच ६ बुँदामा हस्ताक्षर गर्दै एकता भएको छ । बुधबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा आयोजित एकता घोषणा समारोहमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति पत्रमा हस्ताक्षर गरेर एकतालाई औपचारिकता दिएका हुन् ।
पार्टी एकतापछि पार्टीको नाम राप्रपा र चुनाव चिन्ह हलो नै रहनेछ । अध्यक्ष लिङदेन र थापाले गत बुधबार दुवै दल एकीकरण गर्ने सहमति गरेका थिए । चार बर्षअघि राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले आफ्नै नेतृत्वमा राप्रपा नेपाल गठन गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल बीच एकिकरण सम्बन्धि आधार पत्र: देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालका बीचमा एकीकरण गर्ने निर्णय गरेका छौं ।
पार्टी एकताको आधार देहाय बमोजिम हुनेछः १- राष्ट्रिय प्रजातन्त्र पार्टीको २०७८ साल मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट पारित सम्बर्धनवादको वैचारिक दर्शन अन्तर्गत सबै धर्मका बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुअधिराज्य राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिको सिद्धान्त एकीकरण पश्चातको मार्ग दर्शन हुनेछ ।
२- राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट पारित बिधान पार्टीको बिधान हुनेछ । एकीकरण पश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह (हलो) र झण्डा नै कायम हुनेछ ।

३- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेन पार्टीको केन्द्रीय अध्यक्ष हुनु हुनेछ ।

४- राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट निर्वाचित भएका तर हाल राप्रपा नेपालमा रहेका केन्द्रिय कार्य समितिका सदस्यहरु एकिकृत पार्टीमा तात्कालिन महाधिवेशन हुंदा कायम रहेको पदमा रहने छन् । सहमतिको आधारमा एकिकृत पार्टीमा राप्रपा नेपालको तर्फबाट पदाधिकारी र सदस्यहरु केन्द्रीय कार्यसमितिमा रहने छन् ।

५- सहमतिको आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको २०७८ मंसीरमा सम्पन्न महाधिबेशन हुदाका बखत कायम रहेका वडा, गांउ, नगर र जिल्ला तहका पदाधिकारी सदस्यहरुलाइ ततः तत जिल्लामा सम्मानजनक ढंगबाट गर्दै लगिनेछ ।

६- राप्रपा नेपालका संयोजित संगठनका पदाधिकारी र सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको सम्बन्धित भातृसंगठनहरुमा सम्मानजनक ढंगबाट समायोजन गरिने छ ।

२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको सूची बारे चर्को विरोध भएपछि त्रुटी देखिए सच्याउने बताएको छ । पार्टी सचिवालयको नाममा विज्ञप्ति जारी गर्दै रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाहरुबाट प्राप्त भएका प्रतिक्रिया र सुझावहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेश भएको स्पष्ट गरेको छ ।
रास्वपाले उक्त बन्दसूचीमा रहेका त्रुटिहरु सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेश गर्ने जानकारी गराएको छ । रास्वपाले आयोगमा बुझाएको समानुपातिक सुचीमा नेपोकिड्सलाई सामेल गरेको, नातावाद र नेताहरुको वरिपरी रहेकालाई अवसर दिइएको तथा पार्टीले गरेको प्राइमरी निर्वाचनको बेवास्ता गरिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।
३- नेकपा एमालेका नेता एवं पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ । बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा उपस्थित भएका गुप्ताको बयानपछि थुनछेक बहस भएको थियो । इजलासले बहसपछि उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश भएको हो ।
पोखराको लिचीघारी जग्गासँग जोडिएको घुस प्रकरणमा संलग्न रहेको आरोपमा तत्कालिन मन्त्री गुप्तासहित ७ जनाविरुद्ध गत असोज २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र घुस लेनदेनमा जोडिएकी पूर्व भूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठसमेतलाई प्रतिवादी कायम गरेर घुस लेनदेनको कसुरमा मुद्दा दायर भएको थियो ।
घुस लेनदेनमा संलग्न सुजन लामासहित पाँचजना बिचौलियालाई पनि अख्तियारले प्रतिवादी कायम गरेको थियो । बिचौलियासँग ७८ लाख घुसको बार्गेनिङ गरेको अडियो बाहिरिएपछि उनले गत असार ३१ मा राजीनामा दिएका थिए ।
४- बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बीएनपी प्रमुख खालिदा जियाको अन्त्येष्टि गरिएको थियो । खालिदा जियालाई बंगलादेशको संसद परिसरको जिया उद्यानमा गाडिएको थियो, जुन उनका पति तथा बंगलादेशका पूर्व राष्ट्रपति जियाउर रहमानको चिहान नजिकै छ । खालिदा जियाको मंगलबार बिहान ८० वर्षको उमेरमा निधन भयो । उनी विगत २० दिनदेखि अस्पतालमा भेन्टिलेटरमा थिइन्।
उनको मृत्युपछि बंगलादेश सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । यस अवधिमा देशभरका सरकारी भवनहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ र सबै आधिकारिक कार्यक्रमहरू स्थगित गरिनेछन् । उनको अन्त्येष्टिमा देशभरबाट दश लाख मानिसहरू सहभागी भएको बताइएको छ । बंगलादेशी मिडिया रिपोर्टका अनुसार, देशको इतिहासमा यति ठूलो अन्त्येष्टि पहिले कहिल्यै देखिएको थिएन ।
अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मुहम्मद युनुस, अन्य सल्लाहकारहरू, राजनीतिक दलका शीर्ष नेताहरू, विभिन्न देशका प्रतिनिधिहरू र समाजका सबै वर्गका लाखौं मानिसहरू अन्त्येष्टिमा सहभागी भएका थिए । नेपालबाट अन्त्यष्टिमा परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी भएका थिए ।
५- राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल, तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीसमेत ६ जनाविरुद्ध विद्यालयको जग्गा व्याक्तिको नाममा गरेर भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगर- २६ स्थित सामुदायिक अमर ज्योति आधारभूत विद्यालयको सार्वजनिक विद्यालय परिसरको ३ रोपनी भन्दा बढी जग्गा व्यक्तिको नाममा दर्ता गराई पदको दुरुपयोग गरी अनियमितता गरेको प्रमाणित भएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।
अख्तियारले राष्ट्रिय भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल, आयोगका सदस्य तथा कास्की मालपोतका प्रमुख रामचन्द्र अधिकारी, आयोगका सदस्य आश बहादुर गुरुङ, सदस्यहरु उमा कुमारी थापा र सोमबहादुर नेपाली तथा प्रतिवादी भिम बहादुर विकविरुद्ध मुद्धा दायर गर्दै उनीहरुविरुद्ध एक करोड ४० लाख २५ हजार जनही बिगो माग र कानुन अनुसारको सजाय माग गर्दै मुद्धा दायर गरेको जानकारी दिएको छ ।
६- २०२५ को अन्त्यमा भारतीय अर्थतन्त्रले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । केन्द्र सरकारले जारी गरेको आधिकारिक तथ्याङ्क अनुसार, भारत अब जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ, जसको जीडीपी (कुल गार्हस्थ उत्पादन) ४.१८ ट्रिलियन डलर रहेको छ । विश्वव्यापी आर्थिक अनिश्चितताहरूको बीचमा देशको आन्तरिक शक्ति र सुधार देखिएको हो । आर्थिक वर्ष २०२५-२६ को दोस्रो त्रैमासिकमा भारतको वास्तविक जीडीपी वृद्धि दर ८.२ प्रतिशत थियो । यो तथ्याङ्क पछिल्लो छ त्रैमासिकमा सबैभन्दा उच्च हो ।
पहिले, यो पहिलो त्रैमासिकमा ७.८ प्रतिशत र अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकमा ७.४ प्रतिशत थियो । भारतको केन्द्र सरकारले भने- ‘४.१८ ट्रिलियन डलरको जीडीपीका साथ, भारत अब चौथो स्थानमा छ । हाम्रो अर्थतन्त्र जर्मनीलाई उछिन्दै आगामी साढे दुई देखि तीन वर्षमा तेस्रो ठूलो अर्थतन्त्र बन्ने बाटोमा छ । भारतको जीडीपी २०३० सम्ममा ७.३ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ ।’ हाल, अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो र चीन दोस्रो ठूलो हो । हाल अमेरिकाको अर्थतन्त्र ३०.६२ ट्रिलियन डलरको रहेको छ भने चीनको अर्थतन्त्र १९.४ ट्रिलियन डलरको रहेको छ । त्यस्तै जर्मनीको अर्थतन्त्र ५.०१ ट्रिलियन डलरको रहेको छ । यस आर्थिक उछालको मुख्य इन्जिन निजी उपभोग र बलियो घरेलु माग रहेको छ । विश्वव्यापी व्यापारमा निरन्तर उतारचढावको बावजुद, भारतको शहरी उपभोग र व्यावसायिक क्षेत्रहरूमा ऋण प्रवाहले यो वृद्धिलाई अगाडि बढाएको छ ।
आर्थिक मोर्चामा अन्य प्रमुख सूचकहरूले पनि राहत प्रदान गरेका छन् । नोभेम्बर २०२५ मा खुद्रा मुद्रास्फीति ०.७१ प्रतिशतको न्यूनतममा झरेको छ । नोभेम्बर २०२५ मा बेरोजगारी दर ४.७ प्रतिशतमा झरेको छ, जुन अप्रिल पछिको सबैभन्दा कमस्तर हो । नोभेम्बरमा व्यापारिक निर्यात बढेर ३८.१३ अर्ब डलर पुगेको छ । विश्वव्यापी मूल्याङ्कन एजेन्सीहरू र संस्थाहरूले पनि भारतको द्रुत वृद्धिलाई समर्थन गरेका छन् । त्यस्तै भारत २०२६ र २०२७ मा जी २० देशहरूमध्ये सबैभन्दा छिटो बढ्दो अर्थतन्त्र रहनेछ । सरकारले भारत अब २०४७ सम्ममा उच्च मध्यम आय भएको देश बन्ने आफ्नो दृष्टिकोणतर्फ दृढतापूर्वक अघि बढिरहेको जनाएको छ । बैंकिङ र कर्पोरेट क्षेत्रमा बलियो ब्यालेन्स पाना, संरचनात्मक सुधार र सामाजिक प्रगतिको आधारले भारतलाई लामो यात्राको लागि तयार पारेको बताएको छ । यद्यपि, यति ठूलो जनसंख्याको लागि गुणस्तरीय रोजगारी सिर्जना गर्नु र प्रतिव्यक्ति आयमा सुधार गर्नु आगामी वर्षहरूमा सबैभन्दा ठूलो चुनौती रहनेछ ।
७- अफगानिस्तानले आईसीसी पुरुष टी- २० विश्वकप २०२६ को लागि रशिद खानको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । आइसीसी पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् । समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्। त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् । टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, बंगलादेश, इटाली र इंग्ल्यान्ड रहेका छन् ।
समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् । अफगानिस्तानको टिममा रशिद खान (कप्तान), इब्राहिम जद्रान (विकेटकिपर), रहमानउल्लाह गुरबाज (विकेटकिपर), मोहम्मद इशाक (विकेटकिपर), सेदिकुल्लाह अटल, दरविश रसूली, शाहिदुल्लाह कमल, अजमतुल्लाह ओमारजाई, गुलबदिन नैब, मोहम्मद नाबी, नूर अहमद, मुजीब उर रहमान, नवीन उल हक, फजल हक फारुकी र अब्दुल्लाह अहमदजाई रहेका छन् । त्यस्तै रिजर्भ खेलाडीहरुमा एएम गजनफर, इजाज अहमदजाई र जिया उर रहमान शरीफी रहेका छन् । अफगानिस्तानले विश्वकपमा फेब्रुअरी ८ मा चेन्नईमा न्युजिल्याण्डविरुद्ध प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्ने तालिका रहेको छ ।
८- अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति निर्वाचन माघ २८ गते हुने भएको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको अध्यक्षतामा बुधबार बसेको बैठकले एन्फाको साधारण सभा आउदो माघ २८ गते झापामा सम्पन्न गर्ने र संघको विधानको धारा ३१ को ‘त’ को निर्वाचनको व्यवस्था बमोजिम कार्यसमितिको अग्रिम निर्वाचन समेत गर्ने निर्णय पारित गरेको हो । एन्फाले आर्थिक वर्ष २०८२/८३ को लेखा परिक्षण गर्नको लागि आठवटा मध्येमा संघको लेखापरिक्षण तथा अनुपालक समितिको सिफारिस बमोजिम सुबोध एसोसिएट्सलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
९- राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा आफुले महसुस गरेको रिक्तताले आज पूर्णता पाएको बताएका छन् । राप्रपा र राप्रपा नेपालबीचको एकीकरण सभालाई सम्बोधन गर्दै कमल थापाको आगमनले राप्रपामा रहेको रिक्तताले पूर्णता पाएको बताएका हुन् । उनले भने- ‘राप्रपा अगाडी बढिरहदा मेरो मनमा सधै एउटा चिज अपुरो भइराखेको थियो । केहि रिक्तता जहिले महसुस गरिरहने भनेको कमल थापा हो । कमल दाइँ नहुदाको राप्रपा मेरो मनमा एकदम अपूर्ण जस्तो लाग्थ्यो । उहाँले छोडेर जानु भयो । म पार्टीको अध्यक्ष ।
मैले रोएर हिड्न पनि नमिल्ने । कमल दाइ नभएर यो पार्टी भएन भन्न पनि मिलेन उहाँ नभएर पनि चल्छ भन्नु पर्यो र चलायौं पनि । तर मनमा एक प्रकारको रिक्तता र अभाव भइरह्यो । आज त्यो पूर्ण भएको छ । सबैजना खुशी हुनुहुन्छ । सबैभन्दा बढी म खुशी छु ।’ अध्यक्ष लिङदेनले पार्टीमा सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै कसैले मनमा नराख्न आग्रह गरेका छन् । उनले राप्रपाको एजेन्डा लोकप्रियता र स्वीकार्यता बढेको उल्लेख गर्दै सोहि अनुसार पार्टीको लोकप्रियता र स्वीकार्यता पनि बढाउनुपर्ने बताए ।
१०- जर्मनीमा एक बैंक फिल्मी शैलीमा चोरी भएको छ । पश्चिमी शहरमा रहेको स्पार्कासे बचत बैंकको शाखामा हलिउड शैलीको डकैतीले सबैलाई स्तब्ध बनाएको छ । चोरहरूले बैंकको भूमिगत भल्टमा प्रवेश गर्न ठूलो ड्रिल प्रयोग गरे र तीन हजार सुरक्षित निक्षेप बक्सहरू तोडेर ठूलो चोरी गरेको बताइएको छ । प्रहरीका अनुसार चोरहरूले पार्किङ ग्यारेजबाट भल्टमा आफ्नो बाटो ड्रिल गरेर भित्र पसेका थिए । प्रत्यक्षदर्शीहरूले शनिबार र आइतबार राति धेरै मानिसहरूले ठूला झोलाहरू बोकेको देखेको बताएका छन् । सुरक्षा क्यामेराहरूले सोमबार बिहान पार्किङ ग्यारेजबाट निस्केको कालो अडी आरएस ६ देखाएको छ, जसमा मास्क लगाएका मानिसहरू देखिएका छन् । मिडिया रिपोर्टहरूले चोरहरूले क्रिसमस र बैंक बन्द भएको फाइदा उठाएको उल्लेख गरेका छन् ।
प्रहरीले बिदा र सप्ताहन्तमा धेरै घण्टासम्म ड्रिल गरेको अनुमान गरेको छ । डिसेम्बर २९ को बिहान फायर अलार्म बज्दा चोरी पत्ता लागेको थियो, जसले गर्दा आपतकालीन सेवाहरू आइपुगेका थिए । घटनापछि, बैंकले ग्राहकहरूको लागि हटलाइन सुरु गरेर प्रभावितहरूलाई सूचित गरेको बताएको छ । घटनापछि, सयौं ग्राहकहरू बैंक बाहिर जम्मा भएका थिए । प्रहरीले चोरीमा संलग्न हजारौं सेफ बक्सहरूको औसत बीमा मूल्य १० हजार युरोभन्दा बढी रहेको र अनुमानित क्षति लगभग ३ करोड युरो रहेको बताएको छ । जर्मनीमा, क्रिसमसको समयमा डिसेम्बर २४ को साँझदेखि धेरैजसो पसल र बैंकहरू बन्द रहन्छन् । चोरहरूले यो अवसरको फाइदा उठाए र प्रहरीले भल्टमा पहुँच प्राप्त गर्न बिदा र सप्ताहन्त प्रयोग गरेको आशंका गरेको छ ।
११- नेप्से आज दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १०.८७ अंकले बढेर २६३३.७६ विन्दुमा पुगेर रोकिएको छ । आज ३४२ कम्पनिका एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ५ अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज एसवाई प्यानल र न्यादी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्योर इनर्जीको शेयर मुल्य ६.४७ प्रतिशतले बढेको छ । त्यस्तै आज वीन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी ग्रीन भेन्चरको १७ करोड ७९ लाख कारोबार भएको छ भने बन्दीपुर केबलकारको १५ करोड ८८ लाखको कारोबार भएको छ ।
१२- भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स) को प्रतिष्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा (अरटिसी) आयात गर्न अनुमति नविकरण गरेको हो । यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिंदै थियो ।
नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत प्रतिश्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो । १७ पुसबाट १७ चैत (१ जनवरी–३१ मार्च २०२६) सम्म विद्युत आयातको अनुमति पाएको हो । १८ चैतबाट १५ भदौ (१ अप्रिल–३१ अगस्ट २०२६) सम्म्को नविकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ ।
१३- काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । बुधबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री यादवले १२ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् । सरकार गठन भएको करिब एक महिनापछि मुख्यमन्त्री यादवले ६ मन्त्रीलाई सामेल गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
नवनियुक्त मन्त्रीहरुलाई बुधबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पद तथा गोपनियताको सपथ गराएका छन् । नयाँ मन्त्रीहरुमा श्रम तथा यातायात मन्त्रीमा मनिष सुमन, भौतिक पूर्वाधार विकास मन्त्रीमा राजकुमार गुप्ता, वन तथा वातावरण मन्त्रीमा शंकरप्रसाद चौधरी, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा श्यामप्रसाद पटेल, खेलकुद तथा समाज कल्याण मन्त्रीमा वसन्त कुशवाहा र गृह, सञ्चार तथा कानुन मन्त्रीमा फकिरा महतोलाई नियुक्त गरिएको छ ।
१४- उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक सुची बारे आफ्नो प्रष्टीकरण दिएका छन् । घिसिङले समानुपातिक सुचिमा आफु निकट कसैलाई नराखेको स्पष्ट गर्दै आफ्ना भान्जा भनिएका व्यक्ति आफ्नो भान्जा नभएको र उनी आफ्नो तर्फबाट सिफारिस नभएको बताएका छन् । त्यस्तै आफ्नो ससुरा पनि सिफारिस नगरेको स्पष्ट गर्दै समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा होइन, पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको स्पष्ट गरेका छन् ।
उनले इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइएका नियोजित हल्ला र आरोपहरू दुःखद भएको बताएका छन् । साथै घिसिङले बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा कुलमानले आफ्ना भान्जा, ससुरा र छिमेकीलाई सिफारिस गरेको भन्दै कडा आलोचना भइरहेको छ । साथै रास्वपाको समग्र समानुपातिक सूचीप्रति पनि चौतर्फी आलोचना भइरहेको छ ।
१५- भारत र श्रीलंकामा हुने आइसीसी पुरुष टी–२० विश्वकपको ट्रफी टुर नेपालमा जनवरी ५ देखि ७ गतेसम्म आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ट्रफी टुर जनवरी ५ देखि ७ गतेसम्म अर्थात पुस २१, २२ र २३ गते नेपालमा हुने भएको हो । आइसीसी पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् । समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्।
त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन्। टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, बंगलादेश, इटाली र इंग्ल्यान्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् । नेपालले विश्वकपमा आफ्नो पहिलो खेल इङल्याण्डविरुद्ध फेब्रुअरी ८ मा, दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो खेल वेस्ट इण्डिजसँग फेब्रुअरी १५ मा र चौथो खेल बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्ने तालिका रहेको छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखेडे क्रिकेट स्टेडियममा खेल्ने छ ।
१६- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस विशेष महाधिवेशको बाटोमा अगाडी बढेको बताएका छन् । महामन्त्री थापाले राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा शुभकामना दिदै पुस मसान्तभित्र नियमित महाधिवेशन हुने अवस्था नबनेपछि अब काँग्रेस विशेष महाधिवेशनको बाटोमा अगाडी बढेको बताएका हुन् । उनले भनेका छन्- ‘राष्ट्रिय एकता र मेलमिलाप दिवस’ को ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्दै, एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’
महामन्त्री थापाले राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको उल्लेख गर्दै भनेका छन्- ‘नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ। यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता के बाट आउँछ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन – भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ। त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो। पौष मसान्त भित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ ।’ उनले राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी भएको उल्लेख गर्दै सबै काँग्रेस कार्यकर्तालाई विशेष महाधिवेशनको बाटोमा हातेमालो गर्दै एकताबद्ध हुना आव्हान समेत गरेका छन् ।
१७- सालापा विकास बैंकले सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । कम्पनीले प्रति युनिट १०० बराबर मूल्यमा १४ लाख ३९ हजार १७९ इकाई शेयर निष्कासन गरेको छ । आईपीओमा आवेदन दिने मिति छिटोमा पौष २० गतेसम्म तोकिएको छ भने पर्याप्त आवेदन नपरेमा पौष ३० गतेसम्म खुला बढाइनेछ । कम्पनीको जारी पूँजी ५२ करोड २३ लाख छ ।
यसमध्ये ३३ प्रतिशत अर्थात् १७ लाख २३ हजार ८८० इकाई शेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनिले बताएको छ । यस साधारण सार्वजनिक निष्कासनमध्ये १० प्रतिशतले हुन आउने एक लाख ७२ हजार ३८८ इकाई शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई पहिले नै बाँडफाँड गरिएको छ । त्यस्तै सर्वसाधारणको लागि निष्कासन गरिएको शेयरमध्ये ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ इकाइ कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने प्रस्तावित शेयरको ५ प्रतिशतले हुन आउने ८६ हजार १९४ इकाइ म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ ।
बाँकी १४ लाख ३९ हजार १७९ इकाइ आजदेखि सर्वसाधारणका लागि सदस्यताको लागि खुला गरिएको छ । आईपीओ निष्कासनको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन प्रबन्धक नियुक्त गरिएको छ । आवेदन दिनेले न्यूनतम १० इकाइ र अधिकतम २५ हजार इकाइका लागि दिन सकिने छ । नेपाल राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त ‘बि’ वर्गको विकास बैंक, सालापा विकास बैंक लिमिटेड (SBBL) खोटाङमा आधारित ६ वटा शाखा र यसको मुख्य कार्यालय भएको एक जिल्ला क्षेत्रीय बैंक हो ।
१८- नेपाली बजारमा आज सुनचाँदी मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ११ सयले घटेर तोलाको २ लाख ६१ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ६२ हजार एक सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले घटेर ४४७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४५९० मा कारोबार भएको थियो ।
१९- शिक्षा मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरुलाई १० बुँदे निर्देशन दिएको छ । शिक्षामन्त्री महावीर पुनले मन्त्रीस्तरीय निर्णय गर्दै विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाहरुलाई निर्देशन दिएका हुन् ।
मन्त्रालयले दिएको १० बुँदे निर्देशन: १- विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ को अनुसूची ३ मा रहेको विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने संस्थाले पालना गर्नुपर्ने सर्तहरू अनिवार्य रूपमा पालना गर्ने गराउने । २- शिक्षण संस्थाभित्र विद्यार्थीलाई अनुसाशनमा राख्न भनी डिसिप्लिन इन्चार्ज (डिआई) राख्ने गरेको र त्यसबाट विद्यार्थीको सिकाइमा नकारात्मक असर परेको भन्ने गुनासो प्राप्त हुन आएकोले यदि त्यस्तो व्यवस्था शिक्षण संस्थामा गरेको भए तत्काल हटाई विद्यार्थीलाई सहयोग र सल्लाह प्रदान गर्नका लागि विद्यार्थी परामर्श कक्ष स्थापना गरी विद्यार्थीलाई उचित परामर्श प्रदान गर्ने । ३- शिक्षण संस्थामा विद्यार्थी, अभिभावक एवम् सरोकारवालाहरूले गुनासो तथा सुझाव पृष्ठपोषण राख्न पाउने व्यवस्था मिलाउने र त्यसरी प्राप्त गुनासोलाई नियमित रूपमा सम्बोधन गर्ने ।
४- विद्यार्थीबाट लिइने कार्यक्रमगत सबै प्रकारका शुल्कको विवरण पारदर्शी रूपमा सबैले देख्ने गरी डिस्प्ले गर्ने र सोको प्रमाणित प्रति मन्त्रालयमा अनिवार्य रूपमा १५ दिनभित्र पेस गर्ने । ५- प्रति कक्षा रहने विद्यार्थी सङ्ख्या तथा कक्षागत दैनिक सिकाइ क्रियाकलाप सञ्चालन तालिका सबै विद्यार्थी तथा अभिभावकलाई जानकारी दिने र संस्थाको सूचना पाटी तथा वेबसाइटमार्फत सार्वजनिक गर्ने । ६- शिक्षण संस्थालाई अनुमति दिइएका विषय, तह र अवधिका कार्यक्रम निर्धारित स्थानमा मात्र सञ्चालन गर्ने । ७- मन्त्रालयबाट शिक्षण संस्थाले सञ्चालन अनुमति प्राप्त गरेका विषय र अवधिका कार्यक्रम मात्र शिक्षण संस्थाले आफ्नो वेबसाइटमा जानकारी राख्ने। अर्को शिक्षण संस्थाका कार्यक्रमको जानकारी सञ्चालक समूह भनी कुनै पनि अवस्थामा शिक्षण संस्थाको वेबसाइटमा जानकारी नराख्ने ।
८- निर्देशिकाले तोकेको सङ्ख्यामा छात्रवृत्ति प्रदान गर्दा पारदर्शी र निष्पक्ष रूपमा विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गर्ने । सोको विवरण शिक्षण संस्थाको वेबसाइटमा सार्वजनिक गर्ने र मन्त्रालयमा अनिवार्य रूपमा विवरण पेस गर्ने । ९- विषयगत योग्यता र दक्षता भएका शिक्षकहरूबाट मात्र अध्यापन गर्ने व्यवस्था मिलाउने । १०- निर्देशिकामा उल्लिखित प्रावधानहरू तथा अनुमति प्रदान गर्दा शिक्षण संस्थाले गरेको कवुलियतनामाका सर्तहरू अनिवार्य रूपमा पालना गर्ने। अन्यथा शिक्षण संस्थालाई दिइएको कार्यक्रम सञ्चालनको अनुमति जुनसुकै वेला रद्द हुन सक्ने कुरामा जानकारी राख्ने ।
२०- इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले शानदार जित हासिल गरेको छ भने म्यानचेस्टर युनाइटेड, चेल्सी बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा गाब्रियल मागालहाएज, मार्टिन जुबीमेन्डी, लीन्द्रो ट्रोसार्ड र गाब्रियल जिससले एक एक गोल गरेका थिए । त्यसैगरी एस्टन भिल्लाका लागि एक गोल ओली वाटकिन्सले गरेका थिए ।
यो जितपछि आर्सनल १९ खेलमा ४५ अंकसहित शिर्ष स्थानमा कायम रहेको छ भने एस्टन भिल्लाको १९ खेलमा ३९ अंक छ र लिगमा तेस्रो स्थानमा रहेको छ । गएराती नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेड वोल्भ्ससँग १-१ गोलको बराबरीमा रोकिएको छ भने चेल्सी बोर्नमाउथसँग २-२ गोलले बराबरीमा रोकिएको छ । त्यस्तै न्यूक्यासल युनाईटेडले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ भने एभार्ट नले नोट्टीङघम फोरेस्टलाई २-० ले पराजित गरेको छ ।
FACEBOOK COMMENTS