काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन ६ गते कैलालीको धनगढीस्थित महोत्सव मैदानमा आमसभा आयोजना गर्ने जानकारी दिएको छ । सो कार्यक्रमलाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेंद्र शाह (बालेन)ले संयुक्त रूपमा सम्बोधन गर्ने तय भएको छ । यसअघि दुवै नेताले माघ ५ गते जनकपुरमा एकसाथ सम्बोधन गरेका थिए । वरिष्ठ नेता शाहले कोशी प्रदेशका पहाडी जिल्लासहित सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पुगिसकेका छन् भने हाल उनी मधेस प्रदेश केन्द्रित कार्यक्रमहरूमा संलग्न छन् । त्यस्तै सभापति लामिछाने पनि चितवन, नवलपरासी हुदै हाल पोखरा पुगेका छन् ।
२- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेश सांसद पदबाट हटाउने निर्णय गरेको छ । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप्रा) मा आबद्ध भएपछि बुधबार नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले विजयी शर्मालाई प्रदेश सभा सदस्य नरहने गरी कारबाही गरिएको पत्र संसद् सचिवालयमा दर्ता गराएका छन् । पत्रमा शर्मा दलको नीति सिद्धान्त विपरित कार्य गरी पार्टीको विधान प्रतिकुल कार्य गरेको भन्दै राजनीतिक दल सम्बन्धि ऐन अनुसार पार्टीको सदस्यबाट निस्कासित गरिएको हुनाले उनको प्रदेश सदस्य नरहने गरि कारवाही अगाडी बढाउन आग्रह गरिएको छ । यसअघि नेकपाको माघ २६ गतेको केन्द्रीय समितीले शर्मालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको पत्रमा उल्लेख छ ।
३- अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । बुधबार सम्पन्न यस विश्वकपको आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले आयरल्याण्डलाई ६७ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १८३ रनको लक्ष्य पछाएको आयरल्याण्डले १६.५ ओभरमा अल आउट हुदै ११५ रन मात्र बनाएको थियो । आयरल्याण्डका लागि जर्ज डकवेलले सर्बाधिक ४१ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पा र नाथन इलिसले ४-४ किकेट लिएका थिए ।
यसअघि समुह बीको यस खेलमा अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्बाधिक ४५ रन बनाए भने जोस इंगलिस र माट रेनशाले ३७-३७ रनको योगदान दिएका थिए । त्यस्तै क्यामरुन ग्रीनले २१ रन बनाएका थिए । त्यसैगरी आयरल्याण्डका बलर मार्क अडैरले २ विकेट लिएका थिए । यो अस्ट्रेलियाको पहिलो जित हो भने आयरल्याण्डको लगातार दोस्रो हर हो । अस्ट्रेलियाले अब अर्को खेल आगामी शुक्रबार जिम्बाबेसँग खेल्ने तालिका छ भने आयरल्याण्डले आगामी शनिबार ओमानसँग खेल्ने छ ।

४- ९ करोड रुपैयाँको चेक बाउन्स मुद्दामा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई सलमान खान, अजय देवगन, वरुण धवन, डेभिड धवन, सोनु सूदलगायत बलिउडका चर्चित कलाकारहरूले सम्पर्क गरी आर्थिक सहयोग गरेका छन् । राजपाल यादवका म्यानेजरका अनुसार बुधबार विभिन्न कलाकारहरूले व्यक्तिगत रूपमा सम्पर्क गरी सहयोगको प्रतिबद्धता जनाएका हुन् । उनले धेरै व्यक्तिहरूले आर्थिक तथा नैतिक समर्थन दिएको र राजपाल यादवले सबैप्रति आभार व्यक्त गरेको बताएका छन् । जमानतका लागि आवेदन दायर भइसकेको र सुनुवाइ छिट्टै हुने जनाइएको छ । परिवारले उनलाई चाँडै रिहा गरिने आशा राखेको छ।

म्यानेजरले कानुनी प्रक्रिया अघि बढिरहेको र विहिबार उनी बाहिर आउँ सक्ने बताए । यसैबीच, फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइजले पनि निर्माता तथा सम्बन्धित पक्षलाई राजपाल यादवलाई सहयोग गर्न अपिल गरेको छ । फेडरेशनले कठिन अवस्थामा उद्योगले एकता र सहानुभूति देखाउनुपर्ने उल्लेख गरेको छ । राजपाल यादवले सन् २०१० मा एक फिल्म निर्माणका लागि लिएको ऋण समयमै तिर्न नसक्दा चेक बाउन्स भएको थियो । ५ करोड ऋण लिएकोमा ब्याज थपिँदै जाँदा रकम बढेर करिब ९ करोड रुपैयाँ पुगेको बताइएको छ । अदालतले यसअघि उनलाई दोषी ठहर गरिसकेको र पटक पटक सहुलियत दिदा पनि रकम नतिरेपछि गत शुक्रबार उनले सरेन्डर गरेका थिए । त्यसयता उनी तिहाड जेलमा रहेका छन् ।

५- काठमाडौंमा ‘सम्पत्ति शुद्धीकरण विरोधी र आतंकवादको वित्तपोषणविरुद्ध लड्ने समसामयिक मुद्दाहरू’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गत सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाले सम्मेलन आयोजना गरेको हो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नेपाल हाल एफएटीएफको ‘ग्रे-लिस्ट’मा रहेको सन्दर्भमा सम्पत्ति शुद्धीकरण निवारणका लागि बैंकिङ, बीमा, पुँजीबजार, सहकारीलगायत सबै सरोकारवाला निकायको साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।

उनले ग्रे-लिस्टलाई चुनौतीका साथै आन्तरिक संयन्त्र सुदृढीकरण गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखेका थिए । बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले नियामकीय तथा सुपरिवेक्षकीय अभ्यास मजबुत बनाउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरेका थिए । सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का र मङ्गोलियाका विज्ञहरूको सहभागिता रहेको छ । पहिलो दिन नेपालमा एएमएल/सीएफटीको वर्तमान अवस्था र व्यापारआधारित सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल छलफल सम्पन्न भएको थियो । दोस्रो दिन नियामकीय उपकरण, ग्रे-लिस्टबाट बाहिरिने अनुभव तथा वित्तीय जानकारीको प्रयोगसम्बन्धी विषयमा थप कार्यपत्र र छलफल हुने कार्यक्रम रहेको राष्ट्र बैंकले जनाएको छ । नेपाल ग्रे-लिस्टमा परेको अवस्थालाई मध्यनजर गर्दै कानुनी, नीतिगत तथा कार्यान्वयन पक्ष सबलीकरणका लागि सम्मेलन परिणाममुखी हुने अपेक्षा गरिएको छ ।

६- इङलिश प्रिमियर लिग क्लब टोटेनहम हटस्परले मुख्य प्रशिक्षक थोमस फ्राङ्कलाई बर्खास्त गरेको छ । लगातार आठ खेल जितविहीन बनेपछि क्लबले यस्तो निर्णय गरेको हो । मंगलबार न्यूक्यासलसँग २–१ ले घरेलु मैदानमै पराजित भएपछि समर्थकहरूले असन्तुष्टि जनाएका थिए । उक्त हारसँगै टोटेनहम रेलिगेशन जोनभन्दा केवल पाँच अंक माथि मात्र रहेको छ । यस सिजन प्रिमियर लिगका २६ खेलमध्ये ११ खेलमा हार बेहोरेको टिमले सन् २०२६ मा एक पनि लिग जित निकाल्न सकेको छैन । डेनमार्कका फ्राङ्क गत जुन २०२५ मा एन्ज पोस्टेकोग्लुको स्थानमा नियुक्त भएका थिए ।
उनले च्याम्पियन्स लिगको लिग चरणमा टिमलाई चौथो स्थानसम्म पुर्याए पनि घरेलु लिगमा भने निराशाजनक प्रदर्शन रह्यो । प्रिमियर लिगमा उनको औसत अंक १.१२ प्रति खेल (२६ खेलमा २९ अंक) मात्र रहेको छ, जुन पाँचभन्दा बढी खेल सम्हालेका टोटेनहमका कुनै पनि प्रशिक्षकको सबैभन्दा कमजोर तथ्यांक भएको बताइएको छ । क्लबले विज्ञप्ति जारी गर्दै परिणाम र प्रदर्शनका आधारमा सिजनको यस चरणमा परिवर्तन आवश्यक ठानेको जनाएको छ । फ्राङ्कले भने आफू नै सही व्यक्ति भएको दाबी गर्दै कठिन परिस्थितिमा धैर्यता आवश्यक पर्ने बताएका थिए । अब टोटेनहमले नयाँ प्रशिक्षक नियुक्तिका लागि वैकल्पिक योजना अघि बढाएको जनाएको छ।
७- सर्लाहीस्थित सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा अवैध उत्खनन् गरी ५८ करोडभन्दा बढी राजस्व चुहावट गरिएको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा बागमती नगरपालिका वडा नं. ४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजनाको मूर्तिया वन व्यवस्थापन शाखा अन्तर्गतको राष्ट्रिय वन क्षेत्रमा कानुनी प्रक्रिया पूरा नगरी ढुङ्गा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थ उत्खनन् गरिएको खुलेको हो। उक्त वन क्षेत्र वन पैदावार विकास समितिलाई हस्तान्तरण भई संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने देखिएको छ ।
अनुसन्धानबाट करिब ७ करोड ३८ लाख क्यू फिट वन पैदावार उत्खनन् गरी करिब ५८ करोड ६२ लाख रुपैयाँ बराबरको रोयल्टी रकम दाखिला नगरी राजस्व हिनामिना गरिएको पाइएको छ । वन ऐन, नियमावली तथा प्रचलित कानुन विपरीत पोखरी निर्माणको नाममा उत्खनन् गरिएको र आवश्यक आइइइ र इआइए समेत नगरेको आरोप छ । यस प्रकरणमा बागमती नगरपालिकाका तत्कालीन मेयर भरत कुमार थापा सहितका पदाधिकारी तथा सागरनाथ वन विकास परियोजनाका जिम्मेवार अधिकारीहरूबीच मिलेमतो भएको निष्कर्ष निकालिएको छ। राजस्व उठाउनुपर्ने कर्तव्य भएका राष्ट्रसेवकहरूले कानुनी कारबाही अगाडि नबढाई मौन सहमति दिएको समेत आरोपपत्रमा उल्लेख छ ।
उक्त कार्य वन ऐन तथा सम्बन्धित नियमावली विपरीत भएको ठहर गर्दै सम्बन्धित पदाधिकारीहरू विरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा कारबाही र सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाइएको छ । मुद्धा दायर हुनेमा तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, तत्कालीन निमित्त परियोजना प्रमुखहरू देवेशमणि त्रिपाठी, राम किशोर यादव, प्रेमीलाल प्रसाद, कलवार, तत्कालीन सहायक वन अधिकृत चन्द्रकुमारी श्रेष्ठ, तत्कालीन सहायक वन अधिकृत शिवेन्द्र प्रसाद चौधरी, कार्यालय प्रमुख जितेन्द्र कर्माचार्य र सहायक वन अधिकृत भोला यादव, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा, नगर उपप्रमुख लिला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र तत्कालीन इन्जिनियर सागर पौडेल रहेका छन् । अख्तियारले उनीहरु सबैलाई ५८ करोड ६२ लाख बिगो र कानुन अनुसार सजायको माग गरेको जनाएको छ ।
८- अर्थमन्त्री रामेश्वर खनालले तयारी नभएका र खरिद प्रक्रियामा शुरु नभएका आयोजना मात्र स्थगन गरिएको बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले तत्कालीन विशेष परिस्थितिमा कम प्राथमिकतामा परेका र केही खुद्रे टुक्रे आयोजनाको रकम रोक्का गरिएकोमा अहिले प्राथमिकतामा अनुसार धेरै आयोजनाहरूको रकम फुकुवा भएर आयोजनाहरू सुरू हुने क्रममा रहेको बताएका हुन् । उनले भने- ‘तयारी हुदै नभएका, खरिद प्रक्रियामा जादै नगएका, खुद्रे टुक्रे आयोजना जसले तत्कालका लागि देशको अर्थ व्यवस्थामा योगदान गर्दैनन्, तिनीहरुलाई स्थगन गरिएको हो ।’ मन्त्री खनालले आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्नुपर्ने, सार्वजनिक सेवाको पुनः सञ्चालन गर्नको निमित्त खर्चको जोहो गर्नुपर्ने र निर्वाचनका लागि समेत रकम छुट्टाउनुपर्ने भएकाले आयोजनाहरू रोक्का गरिएको स्पष्ट गरेका थिए । आयोजनाहरूको पुनः प्राथमिकीकरण गर्ने, अनुत्पादक खर्च कटौती गरेर मितव्यता काम गर्ने मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णय अनुसार तयारी नभएका, खरिद प्रक्रियामा नगएका र अर्थतन्त्रलाई खासै लाभ दिन नसक्ने आयोजनाहरूको मात्रै स्थगित भएको उनले बताए ।
९- दक्षिण अफ्रीकाले अफगानिस्तानलाई दोहोरो सुपर ओभरमा पराजित गरेको छ । भारतको अहमदावादमा सम्पन्न समुह डी अन्तर्गतको खेलको निर्णय दोस्रो सुपर ओभरमा भएको थियो । दक्षिण अफ्रीकाले दिएको १८८ रनको लक्ष्य पछाएको अफगानिस्तानले १९.४ ओभरमा अल आउट हुदै १८७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । त्यसपछि भएको पहिलो सुपर ओभरमा अफगानिस्तानले पहिला ब्याटिंग गर्दै १७ रन बनाएको थियो । १८ रनको लक्ष्य पाएको दक्षिण अफ्रीकाले १७ रन बनाएर पछि पहिलो सुपर ओभर टाई भएको थियो । त्यसपछि भएको दोस्रो सुपर ओभरमा दक्षिण अफ्रीकाले २३ रन बनाएर अफगानिस्तानलाई २४ रनको लक्ष्य दिएको थियो ।
त्यसपछि अफगानिस्तानले २ विकेट गुमाउदै १९ रन बनाए पछि खेल दक्षिण अफ्रिकाले जितेको थियो । यसअघि पहिलो इनिंगमा दक्षिण अफ्रिकाले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । दक्षिण अफ्रीकाका लागि रयान रिकेल्टनले सर्बाधिक ६१ रन बनाए भने क्वेंटन डिककले ५९ रन बनाएका थिए । त्यस्तै डेवाल्ड ब्रेभिसले २३ र डेभिड मिलरले २० रन बनाएका थिए । त्यस्तै अफगानिस्तानका बलर अज्मतुल्लाह ओमारजाईले ३ र रशिद खानले २ विकेट लिएका थिए । यो दक्षिण अफ्रीकाको लगातार दोस्रो जित हो भने अफगानिस्तानको लगातार दोस्रो हार हो । अब दक्षिण अफ्रीकाले अर्को खेल आगामी शनिबार न्यूजील्याण्डसँग खेल्ने तालिका छ भने अफगानिस्तानले सोमबार युएईसँग खेल्ने छ ।
१०- नेप्सेमा सामान्य गिरावट आएको छ । बुधबार नेप्से ०.०४ अंकले घटेर २६६२. ०९ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका २ करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ मा कारोबार भएको थियो । आज बैंकिङ, विकास बैंक, हाइड्रोपावर, लगानीर निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज रिडी पावरको शेयर सबैभन्दा बढी ९.६७ प्रतिशतले बढेको छ भने सिंगटी हाइड्रोको ८०६८ प्रतिशतले बढेको छ । त्यसैगरी आज सुपर माइ हाइड्रोको सबैभन्दा बढी ६.३९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ६५ करोड ४७ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ६२ करोड १३ लाख बराबरको कारोबार भएको छ ।
११- आपराधिक लाभ (एक्स्टर्सन) लिन नहुने र आपराधिक षड्यन्त्र गर्न नहुने कसुरमा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी काभ्रे ठेगाना भएका प्रकाश पाठक पक्राउ परेका छन् । एनसिबि मनिला, फिलिपिन्सको समन्वयमा फिलिपन्सबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० ‘भीआईपी’ लाई धम्क्याएको आरोप छ । काठमाडौं जिल्ला अदालतबाट आपराधिक लाभ (एक्स्टर्सन) लिन नहुने र आपराधिक षड्यन्त्र गर्न नहुने कसुरमा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ मंसिर १७ गते उनी विरूद्ध डिफ्युजन जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
फरार प्रतिवादीहरूको अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विभिन्न नोटिस जारी हुने गर्दछ । इन्टरपोलसँगको समन्वयमा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न एवम् अन्तर्राष्ट्रिय स्तरमा फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशील छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्छन्, ‘अपराधमा संलग्न रही संसारको जुनसुकै कुनामा लुकेर बसेपनि त्यस्ता व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिबद्ध रहेको छ ।
अपराधमा संलग्न रही फरार रहेका प्रतिवादीहरूको अन्तर्राष्ट्रिय स्तरमा खोजी एवम् पक्राउको लागि इन्टरपोलसँग आवश्यक समन्वय गर्दै नेपाल प्रहरी अझ क्रियाशील भई कार्य गर्दै आइरहेको छ । साथै शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवम् नियन्त्रणमा नेपाल प्रहरी अझ सक्रिय भई विभिन्न सुरक्षा रणनीति समेत अवलम्बन गरी कार्यसम्पादन गर्दै आइरहेको छ ।’ चालु आर्थिक वर्ष २०८२/०८३ मा ११ जना विरूद्ध रेड नोटिस र ३ जना विरूद्ध डिफ्युजन जारी भएको छ । जसमध्ये रेड नोटिस जारी भएका ८ जना र डिफ्युजन जारी भएका २ जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको छ । यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा ३४ जना विरूद्ध रेड नोटिस र २ जना विरूद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र ३ जना डिफ्युजन जारी भएका प्रतिवादीहरूलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो ।
१२- चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२ को अवसरमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको सीप विकास गर्ने उद्देश्यसहित एक हप्ते घोडचढी तालिम सुरु गरेको छ । ऐतिहासिक, पौराणिक, एक्शन तथा साहसिक चलचित्र निर्माणमा घोडचढीलाई अत्यावश्यक सीपका रूपमा लिइँदै आएको वर्तमान सन्दर्भमा, कलाकार तथा स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित तथा व्यावसायिक बनाउने लक्ष्यसहित चलचित्र विकास बोर्डको आयोजनामा तालिम सञ्चालन गरिएको बोर्डले जानकारी दिएको छ ।
तालिम कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित तथा अनुभवी कलाकारहरू विजय बराल, नाजिर हुसेन, कविता नेपाली, विशाल पहाडी, एवन उप्रेती, दिनेश खड्का, सरिता भारती, अरुण बहादुर स्याङ्तान (लामा), श्रीदेव भट्टराई, गोपाल ढकाल (छन्दे) लगायत पर्दा अगाडिका विभिन्न चलचित्रकर्मीहरूको सक्रिय सहभागिता रहेको छ । घोडचढी तालिम निकोसेरा, भक्तपुरस्थित रहेको ह्वाइट हाउस एग्रो भिल्लामा प्रशिक्षक सुरेश ठकुरी तथा उनको समूहद्धारा प्रदान गरिँदै आएको छ । तालिम अवधिभर सहभागीहरूलाई घोडासँगको तालमेल, व्यावहारिक अभ्यास, सुरक्षा मापदण्ड सहित आवश्यक आधारभूत सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिँदै आएको छ ।
बोर्डले यस्ता किसिमका सीपमूलक तालिम कार्यक्रममार्फत नेपाली चलचित्र उद्योगको उत्पादन गुणस्तर अभिवृद्धि हुनुका साथै कलाकार तथा प्राविधिकहरूको सुरक्षा, व्यावसायिकता र आत्मनिर्भरता वृद्धि हुने विश्वास व्यक्त गरेको छ । साथै चलचित्र विकास बोर्डले अर्को हप्ता पर्दा अगाडिका कलाकारहरूलाई पौडी तालिम पनि सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।
१३- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने भएका छन् । आज हुने भेटमा इरानको आणविक कार्यक्रम मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ । नेतान्याहूले ट्रम्पलाई इरानको न्यूक्लियर एनरिचमेन्ट कार्यक्रम रोक्ने तथा हमास र हिजबुल्लाहजस्ता समूहलाई दिइँदै आएको समर्थन घटाउने विषयमा कडा सम्झौता गर्न दबाब दिने अनुमान गरिएको छ । अमेरिका प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै नेतान्याहूले इरान–अमेरिका वार्ताबारे आफ्नो दृष्टिकोण राष्ट्रपति ट्रम्पसमक्ष राख्ने बताएका थिए । यसैबीच, इरानले पश्चिमी देशहरूले लगाएका प्रतिबन्ध नहटाएसम्म युरेनियम समृद्धिकरण (एनरिचमेन्ट) सीमित नगर्ने स्पष्ट पारेको छ । हाल अमेरिका र इरानबीच पहिलो चरणको वार्ता ओमानमा सकिएको छ भने अभ दोस्रो चरणको वार्ता केहि समयपछि हुने बताइएको छ ।
१४- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् । निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ र बाँकेका मतपत्र छापिएका हुन् । हाल दैनिक १५ लाख मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ । यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छापिइसकेका छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्नेछ ।
१५- प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको भएको बताएकी छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औं स्थापना दिवस समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणका लागि हामीकहाँ पर्याप्त संरचना रहेको बताउदै पर्याप्त कानुनी र नीतिगत व्यवस्था हुदा हुदै पनि भ्रष्टाचार अपेक्षाकृत नियन्त्रण हुन नसकेको बताएकी छन् । उनले भ्रष्टाचार निवारणकै माग राखी जेनजी युवाले गत भदौ २३ र २४ गते सडकमा आन्दोलन गर्नुपरेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको नै भएको स्पष्ट गरेकी छन् । उनले प्रत्येक निकाय र कार्यालयका प्रमुखले नै आफ्नो संस्था र संरचनाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्ने बताएकी थिइन् ।
उनले भनिन्- ‘जबसम्म हामी भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अंगभन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्छौँ, तबसम्म आफूभित्र चाहेको सुधार गर्न सक्ने छैनौँ । मैले यसअघि पनि भनेकी छु- प्रत्येक कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीका लागि उक्त कार्यालयको प्रमुख नै जिम्मेवार हो । यो मान्यता, चेतना र जिम्मेवारीको बोध प्रत्येक राष्ट्र सेवक कर्मचारी, राजनीतिक नेतृत्व र अन्य सरोकारवालामा पनि हुनु जरुरी छ ।’ प्रधानमन्त्री कार्कीले मुलुकमा सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणको मूलभूत माग राखी जेनजी युवाको अगुवाइमा भएको आन्दोलनको जगमा गठित वर्तमान सरकारले नागरिकमैत्री प्रशासनको अनुभूति गराउने, भ्रष्टाचार नियन्त्रणलगायत समग्र शासकीय सुधारका कार्यलाई प्राथमिकतासाथ अघि बढाइरहेको बताएकी थिइन् ।
वर्तमान सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाएको छ र राज्यकोषमा भार पार्ने गरी हुने अनावश्यक भर्तीहरु रोकेको बताउदै पर्याप्त तयारी नगरी केवल दुरुपयोगको उद्देश्यले मात्र रातो किताबमा राखिएका योजनाहरुको बजेट कटौती गरेको बताएकी थिइन् । साथै प्रधानमन्त्री कार्कीले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र लगायत सार्वजनिक सेवा सरल, शीघ्र, सुलभ ढङ्गले प्रदान गर्न सरकार निकै नै संवेदनशील भई लागिपरेको बताएकी छन् । उनले आगामी निर्वाचनपछि आउने सरकारलाई मार्गदर्शन हुने गरी सुशासनको मार्गचित्र तयारीको कार्य पनि अन्तिम चरणमा पुगेको बताउदै भ्रष्टाचारविरुद्धका कारबाहीहरुलाई तीव्र पार्न हामीले राज्यका भएकै संरचनाहरुलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ सक्रिय हुन प्रेरित गरेको स्पष्ट गरेकी छन् ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको ११ सय बढेर तोलाको ३ लाख ६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख ५ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर तोलाको ५२९० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५२४० मा कारोबार भएको थियो ।
१७- क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा रहेको एक उच्च माध्यमिक विद्यालय र एक आवासीय घरमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । क्यानडाको रोयल क्यानाडियन माउन्टेड पुलिसका अनुसार टम्बलर रिज सेकेन्डरी स्कूलमा गोलीकाण्ड हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । प्रहरीका अनुसार घटनामा संलग्न संदिग्ध आक्रमणकारी पनि आत्मघाती चोटका कारण मृत अवस्थामा फेला परेका छन् ।
दुई जना गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको छ भने करिब २५ जना सामान्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । यसै घटनासँग सम्बन्धित ठानिएको एक आवासीय घरमा थप दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । हाल प्रहरीले घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी राखेको छ र सर्वसाधारणका लागि तत्काल कुनै खतरा नरहेको बताएको छ । टम्बलर रिज करिब २४ सय जनसंख्या भएको सानो सहर हो । घटनापछि उक्त सहरका विद्यालयहरू यस हप्ता बन्द गर्ने निर्णय गरिएको छ ।
१८- नेपाली कांग्रेसका सभापति गगन थापाले डिजिटल गभर्नेन्सका बारेमा आफ्नो धारणा सार्बजनिक गर्दै यो अपरिहार्य भएको बताएका छन् । बुधबार भिडियो सन्देश जारी गर्दै सभापति थापाले नागरिकलाई सरकारी सेवा लिन भइरहेको हैरानीको विषयलाई समाधान गर्न डिजिटल गभर्नेन्सलाई लागु गर्नुपर्ने बताएका छन् । उनले ‘मिनिमम गभरमेन्ट बडिज, म्याक्सिमम गभरनेन्स’ गर्नुपर्ने बताउदै सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउन शासनको शैली र तरिका परिवर्तन गर्नुपर्ने बताए ।
उनले सरकार नागरिकको घरमै हातमै पुगोस भनेर आफुहरुले तयारी गरेको बताएका छन् । यसका लागि उनेल डिजिटल पूर्वाधारमा लगानी गर्ने, निजी क्षेत्रलाई खुला गर्ने र तिनै तहका सरकारहरु एउटै दिशामा काम गर्ने, एक नागरिक एक प्रमाणपत्रको अवधारणामा काम गर्ने , साइबर सेक्युरिटीलाई राष्ट्रिय सुरक्षाको रुपमा काम गर्ने, डिजिटल सर्भिस सेन्टरको अवधारणा अगाडी बढाउने बताएका छन् । सभापति थापाले सरकारको सेवा प्रवाहको प्रक्रिया सुधार गरेर नागरिकले भोग्दै आएका समस्या हटाउन नेपाली कांग्रेस स्पष्ट रूपमा प्रतिबद्ध छ ।
१९- इङलिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलहरुमा बोर्नमाउथ र न्यूक्यासल यूनाइटेड विजयी भएका छन् भने चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन् । बोर्नमाउथले एभर्टनलाई २-१ ले पराजित गरेको थियो । बोर्नमाउथको जितमा रायारी र अमिन अदलीले एक एक गोल गरेका थिए भने एभर्टनका लागि लिमान एनडियले एक गोल गरेका थिए । त्यसै यस खेलमा जाक ओ ब्रायनले खेलको ६९औं मिनेटमा रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा सिमित भएको थियो ।
त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा न्यूक्यासल युनाइटेडले टोटनह्यामलाई २-१ पराजित गरेको छ । न्यूक्यासलको जितमा मालिक थिआव र ज्याकब राम्सीले एक एक गोल गरेका थिए भने टोटनह्यामका लागि आर्ची ग्रेले एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेड वेस्टह्यामसँग हारबाट बचेको छ । गएराती सम्पन्न वेस्टह्याम र म्यानचेस्टर युनाइटेड १-१ गोलको बराबरीमा रोकिएका छन् । यस खेलमा बेन्जामिन सेस्कोले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई हारबाट बचाएका थिए । त्यसअघि वेस्टह्यामका लागि थोमस सोउसेकले एक गोल गरेका थिए ।
त्यस्तै गएराती नै सम्पन्न खेलमा चेल्सी लिड्स युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको छ । यस खेलमा चेल्सीका लागि जोआओ पेड्रो र कोल पार्मरले एक एक गोल गरेका थिए । त्यस्तै लुकास निमेचा र नोआह ओकाटोरले एक एक गोल गरेका थिए । यी खेलपछि म्यानचेस्टर युनाइटेडको २६ खेलमा ४५ अंक रहेको छ र चौथो स्थानमा रहेको छ । त्यस्तै चेल्सीको २६ खेलमा ४४ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यसैगरी बोर्नमाउथको २६ खेलमा ३७ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ । त्यस्तै न्यूक्यासलको २६ खेलमा ३६ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ भने लिड्स युनाइटेडको २६ खेलमा ३० अंक रहेको छ र लिगमा १५औं स्थानमा छ । त्यस्तै टोटनह्यामको २६ खेलमा २९ अंक रहेको छ भने लिगमा १६औं स्थानमा रहेको छ ।
२०- बलिउड अभिनेता रणवीर सिंहलाई ज्यान मार्ने धम्की प्राप्त भएको छ। वट्सएपमार्फत पठाइएको एक भ्वाइस नोटमा अज्ञात व्यक्तिले करोडौँ रकम फिरौती माग्दै रकम नदिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको बताइएको छ । धम्की प्राप्त हुनासाथ मुम्बई प्रहरीले रणवीर सिंहको बाँद्रा स्थित निवास बाहिर सुरक्षा व्यवस्था कडा बनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यो घटना चलचित्र निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घर बाहिर जनवरी ३१ मा पाँच राउन्ड फायरिङ भएको घटनापछि आएको हो । उक्त घटनापछि मुम्बई प्रहरी थप सतर्क बनेको छ ।
प्रहरी अधिकारीहरूका अनुसार धम्कीपूर्ण भ्वाइस नोटमा आरोपीले आफू गम्भीर अपराधसँग जोडिएको दाबी गर्दै ठूलो रकम नदिए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । सो भ्वाइस नोट फरेन्सिक परीक्षणका लागि पठाइएको छ । मुम्बई प्रहरीको साइबर सेल र क्राइम ब्राञ्चले संयुक्त रूपमा वट्सएप नम्बर र भ्वाइस स्याम्पलका आधारमा आरोपीको लोकेसन पत्ता लगाउने प्रयास गरिरहेका छन् । प्रारम्भिक अनुसन्धानमा धम्की दिने व्यक्ति कुनै आपराधिक गिरोहसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ । प्रहरीले रणवीर सिंहलाई आएको धम्की र रोहित शेट्टीको घरमा भएको फायरिङ घटनाबीच कुनै प्रत्यक्ष सम्बन्ध छ वा यो केवल आतंक फैलाउने षड्यन्त्र हो भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको बताइएको छ ।
यसैबीच, रणवीर सिंह हालै रिलिज भएको फिल्म ‘धुरन्धर’ का कारण चर्चामा छन्। फिल्मले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्नुका साथै रणवीरको करियरमा ठूलो सफलताका रूपमा स्थान बनाएको छ । एक्सन, ड्रामा र भावनाले भरिएको यस फिल्ममा रणवीरको सशक्त अभिनयलाई दर्शकले निकै रुचाएका छन् । फिल्म ‘धुरन्धर’ मा रणवीर सिंहले परिस्थितिसँग जुध्दै प्रणालीविरुद्ध उभिने पात्रको भूमिका निभाएका छन् । उनको अभिनय, बडी ल्याङ्ग्वेज र संवाद प्रस्तुतिको व्यापक प्रशंसा भइरहेको छ । फिल्मको सफलतापछि अब दर्शकको ध्यान ‘धुरन्धर २’ तर्फ केन्द्रित भएको छ । रिपोर्टअनुसार निर्माता पक्षले सिक्वेललाई अझ ठूलो स्तरमा निर्माण गर्ने तयारी गरिरहेको छ, जसमा रणवीरको पात्रलाई थप गहिराइ दिँदै एक्सन र भावनात्मक ड्रामालाई अझ प्रभावशाली बनाइदैछ ।
FACEBOOK COMMENTS