काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली काँग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म ६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेका छन् । विशेष महाधिवेशन आयोजकहरुले अहिलेसम्म ६२ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेको जानकारी दिएका छन् । नेपाली काँग्रेसका कुल ४७ सय ३४ महाधिवेशन प्रतिनिधि रहेका छन् । आज उद्घाटन भएको काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र सोमबार बिहान ८ बजेदेखि शुरु हुने भएको छ ।
२- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदै २३ र २४ को घटना राजा फालेर ल्याएको गणतन्त्रमा नेपोबेबीको राज देखेर जनता रिसाएपछि भएको बताएका छन् । विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भदै २३ र २४ को घटना लाखौँ लाख जनता सरकारसँग रिस व्यक्त गरेको बताए । उनले भने- ‘भदौ २३ र २४ को घटनामा नेपालका लाखौँ लाख नरनारीले रिस र आक्रोश व्यक्त गरेका हुन् ।
सरकारसँग व्यक्त गरेका हुन् । सरकारमा को थियौँ ? हामी थियौँ । संसद्मा को थियौँ ? हामी थियौँ । भ्रष्टाचार, कुशासनसँग जोडिएको आन्दोलन पनि थियो । राजा फालेर ल्याएको गणतन्त्रमा नेपोबेबीको राज देखेर रिसाएका हुन् जनता ।’ उनले सभापति र कार्यवाहक सभापतिसहितका नेताहरु विशेष महाधिवेशनमा उपस्थित भएको हेर्न चाहे पनि त्यस्तो नभएको भन्दै अहिलेको संघर्ष सत्ता र पदको नभएर मूल्य र मान्यताको भएको बताए ।
३- इरानी राष्ट्रपति मसूद पजास्कियानले अमेरिका र इजरायलले आफ्नो देशमा दंगा भड्काएर अराजकता र अव्यवस्था फैलाउन खोजिरहेको बताएका छन् । इरानी राष्ट्रपतिले अमेरिका र इजरायलले दंगा भड्काएर इरानमा अराजकता र अव्यवस्था फैलाउन खोजिरहेको र इरानीहरूलाई दंगा गर्ने र आतंककारीहरूबाट टाढा रहन आग्रह गरेका छन् । पजास्कियानले भने- ‘हामी जनताको समस्या समाधान गर्नेछौं, तर हामी दंगा गर्नेहरूको समूहलाई सम्पूर्ण समाजलाई ध्वस्त पार्न अनुमति दिन सक्दैनौं ।’ इरानमा सम्भावित आक्रमणको कारण इजरायल उच्च सतर्कतामा छ । इजरायली सुरक्षा एजेन्सीहरूले परिस्थितिलाई ध्यानमा राख्दै आफ्नो सतर्कता बढाएको मिडिया रिपोर्टमा बताइएको छ ।

जुनमा इजरायल र इरानले १२ दिनको युद्ध लडे, जसमा अमेरिकाले इजरायलसँगको सहकार्यमा हवाई आक्रमण गरेको थियो । शनिबार, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानमा जारी प्रदर्शन बारे फोन वार्ता भएको थियो । सो अवसरमा इरानमा अमेरिकी हस्तक्षेपको सम्भावनाबारे छलफल भएको बताइएको छ । इरानले सम्भावित अमेरिकी सैन्य कारबाहीको विरुद्धमा कडा चेतावनी दिएको छ । इरानी संसदका सभामुख मोहम्मद बाघेर कालिबाफले यदि अमेरिकाले प्रदर्शनकारीहरूमाथि इरानमाथि आक्रमण गर्छ भने, अमेरिकी सेना र इजरायल दुवै इरानको निशानामा हुने चेतावनी दिएका छन् ।

४- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस पनि बदलिने र देश पनि बदल्ने बताएका छन् । काँग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आफुहरुले काँग्रेस पनि बदल्ने र देश पनि बदल्ने बताएका हुन् । उनले भने- ‘हामी नेपाली काँग्रेसलाई पनि बदल्छौँ र देशलाई पनि बदल्छौँ । जसले आफुलाई बदल्न सक्छ त्यसले देशलाई पनि बदल्न सक्छ ।’ विशेष महाधिवेशनले पार्टी भित्र नयाँ आत्मविश्वास जगाउने र देशमा पनि नयाँ आशा जगाउने बताउदै पार्टीमा भएका कमजोरीको जिम्मेवारी ड्राइभिङको सिट नजिक बसेको नाताले आफुहरुले पनि लिने र कमजोरी सच्याएर अगाडी बढ्ने उनले बताए । महामन्त्री शर्माले आफुहरु नयाँ ढंगले अगाडी बढ्ने संकल्प गरेको भन्दै आफुहरु चुकेको ठाउबाट सच्याएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले काँग्रेसलाई बलियो बनाउन मात्र विशेष महाधिवेशनमा नआएको भन्दै मूल प्रश्न कमजोर भएको देशलाई बलियो बनाउने भन्ने हो । उनले नेपाल र नेपालीवीच विश्वास र मन जलेको बताउदै मनहरुलाई जोड्ने संकल्पका साथ नेपाली काँग्रेस विशेष महाधिवेशनमा उभिएको बताए ।

५- नेपाली महिला राष्टिय क्रिकेट टिमले अभ्यास खेलमा अमेरिकालाई पराजित गरेको छ । नेपालले आइतबार सम्पन्न खेलमा अमेरिकालाई ४ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १५८ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । यस अघिका दुई अभ्यास खेलमा नेपालले स्कटल्याण्ड र अमेरिकासँग पराजित भएको थियो । जनवरी १८ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् ।

६- गायक तथा अभिनेता प्रशान्त तामाङको निधनप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि तामाङको मृत्युमा शोक व्यक्त गरेकी छिन् । ममता बनर्जीले इन्डियन आइडल विजेता प्रसिद्धि प्राप्त राष्ट्रिय स्तरमा मान्यता प्राप्त कलाकार प्रशान्त तामाङको अचानक र असामयिक निधनबाट दुःखी भएको बताएकी छन् । उनले भनेकी छन्- ‘दार्जिलिङ पहाडहरूसँगको उनको सम्बन्ध र कोलकाता प्रहरीसँगको उनको एक समयको सम्बन्धले उनलाई बंगालमा हामी सबैको लागि विशेष प्रिय बनायो । म उनको परिवार, साथीभाइ र अनगिन्ती प्रशंसकहरूप्रति समवेदना व्यक्त गर्छु ।’ तामाङको आइतबार दिल्लीमा हृदयघातका कारण निधन भएको थियो ।

७- नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले विधानमा रहेको व्यवस्थालाई नेतृत्वले बेवास्ता गरेका कारण आज विशेष महाधिवेशन भईरहेको स्पष्ट गरेका छन् । विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले नेतृत्वले विधान कार्यान्वयनमा ध्यान नदिएको भन्दै नेतृत्वको रक्षाका लागि काम गर्नेकी काँग्रेसको भविष्य रक्षा गर्ने अहिलेको प्रश्न रहेको बताए । नेता पौडेलले जेनजी आन्दोलनले देश र पार्टीहरुलाई परिवर्तन गर्न भनेको भन्दै आफ्नो त्रुटी सच्याएर अगाडी बढ्नुपर्ने धारणा राखेका छन् । उनले काँग्रेस पार्टी मात्र नभएर अभियान भएको बताउदै काँग्रेसको भविष्य अब कस्तो बनाउने भन्ने महाधिवेशन प्रतिनिधिको हातमा रहेको बताएका छन् ।
८- नेपाली काँग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले काँग्रेसलाई कमजोर हुन नदिन आफुहरु विशेष महाधिवेशनमा सहभागी भएको बताएकी छन् । विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेतृ भुसालले आफुहरुले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनालाई सम्मान गर्न नेताहरु र नेतृत्वलाई घर घरमा पुगेर आग्रह गरेपनि सफल हुन नसकेपनि आफूसहित ३० केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी भएको बताएकी छन् । उनले विशेष महाधिवेशनले पार्टीमा गुटको अन्त्य गर्नुपर्ने बताउदै अब चुनावमा गठबन्धन नगर्ने काँग्रेस बनाउनुपर्ने बताएकी छन् । उनले आफुहरुसहित २० जना संस्थापन केन्द्रिय सदस्यहरु विशेष महाधिवेशनको पक्षमा प्रतिबद्धत भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
९- जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बीच भएको एकीकरण सम्बन्धी सम्झौता भएको छ । आइतबार भएको एकीकरणसम्बन्धि १२ बुँदे सम्झौता भएको हो । सम्झौतामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् । एकीकरणपछि दुवै दलले ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरेका छन् । जसमा महन्थ ठाकुर पार्टीको संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेका छन् ।
१०- नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवालाई आफ्नो जिद्धि छोडेर पार्टीमा विगतमा कृष्णप्रसाद भट्टराईले निभाएको भूमिका निभाउन आग्रह गरेका छन् । काँग्रेस विशेष महाधिवेशनलाई सम्बोधन गर्दै भण्डारीले किसुनजीको चेला सभापति देउवाले उहाँले गिरिजाप्रसाद कोइरालासँगको विवाद मिलाएजस्तै भूमिका खेल्न आग्रह गरेका हुन् । उनले देश र प्रजातन्त्र बचाउनुपर्ने अवस्था आएको भन्दै देशभरका काँग्रेसका कार्यकर्ताले पार्टीलाई जगाएको धारणा राखेका थिए । नेताहरुका आसेपासेहरुले अवसर पाएकै कारण देश अगाडी बढ्न नसकेको बताउदै भण्डारीले गलत नेतृत्वका कारण नेताहरु हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आएको बताए ।
१०- नोबेल शान्ति पुरस्कार प्रदान गर्ने संस्था नर्वेजियन नोबेल इन्स्टिच्युटले भेनेजुएलाका विपक्षी नेता मारिया कोरिना माचाडोको हालैको भनाइप्रति असन्तुष्टि व्यक्त गरेको छ । माचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो नोबेल शान्ति पुरस्कार बाँड्न वा उनलाई दिन चाहेको बताएकी थिइन् । संस्थाले शुक्रबार एक संक्षिप्त विज्ञप्तिमा एक पटक नोबेल पुरस्कार घोषणा भएपछि, यसलाई खारेज गर्न, स्थानान्तरण गर्न, बाँड्न वा अरू कसैलाई प्रदान गर्न नसकिने स्पष्ट गरेको छ । फक्स न्यूजसँगको अन्तर्वार्तामा माचाडोले व्यक्तिगत रूपमा ट्रम्पलाई भेनेजुएलाका जनताले नोबेल पुरस्कार दिन वा बाँड्न चाहेको बताएकी थिइन् । न्यूयोर्कमा लागूपदार्थ तस्करीको आरोपमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्ने अमेरिकी सफल कारबाहीको लागि माचाडोले ट्रम्पको प्रशंसा गरेकी छन् । उनले यसलाई लोकतान्त्रिक परिवर्तनतर्फको ऐतिहासिक कदम भनेकी छन् । नोबेल पुरस्कार घोषणा भएलगत्तै, माचाडोले यसलाई भेनेजुएलाका जनता र ट्रम्पलाई समर्पित गरेकि थिइन् । ट्रम्पले लामो समयदेखि नोबेल पुरस्कार जित्ने आकांक्षा राखेका छन् र आफ्नो कार्यकालमा खुलेआम यसलाई पछ्याइरहेका छन् ।
११- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन कुमार आचार्यले समानुपातिकको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । सहमहामन्त्री आचार्य रास्वपाको समानुपतिको बन्दसूचीमा शिर्ष स्थानमा रहेका थिए । आफै समानुपातिक उम्मेदवार छनौट समितिको संयोजक भएर आफै एक नम्बरमा सिफारिस गरेको भन्दै पार्टी भित्र र बाहिर कडा आलोचना भएको थियो । आचार्यले आफ्नो नाम समानुपातिक सूचीवाट नाम फिर्ता लिएर प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरेका छन् । उनले भनेका छन्- ‘पार्टीभित्रको आन्तरिक बेथिति होस वा समग्र राजनीति र देशको बेथिति सफा गर्ने लडाई लड्नका लागि पर्दा पछाडि जति काम गरे पनि एक दिन पर्दा च्यातेर अगाडि आउनै पर्छ। देशले विश्वास गर्ने फेस बन्न जरुरी हुन्छ। ब्याकफुटको लडाई लड्नेहरू धेरैजसो टेकन फर ग्रान्टेड लिइन्छन् त्यसैले अब पालो फ्रन्ट फुटमा खेल्ने। समानुपातिक तर्फको बन्दसूचीको एक नम्बरमा रहेको मेरो नाम छोडेर प्रत्यक्ष तर्फको यात्रा अघि बढाउँदैछु। साथ र सहयोगको अपेक्षा गर्दछु ।’
१२- बलिवुडको सबैभन्दा धेरै कमाई गर्ने अभिनेता रणवीर सिंहको फिल्म धुरन्धरले छैटौं सातामा पनि आफ्नो कमाईलाई निरन्तरता दिएको छ । फिल्मले रिलिजको छैटौं साताको पहिलो शुक्रबार ३.६ करोड र शनिबार ६.१० करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । फिल्म धुरन्धरले शनिबारसम्म ८५०.५५ करोड कमाई गरेको छ । बलिवुडको इतिहासमा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेर नयाँ इतिहास बनाएको धुरन्धरले पहिलो सातामा २१८ करोड, दोस्रो सातामा २६१.५ करोड, तेस्रो सातामा १८९.३ करोड कमाई गरेको थियो । त्यस्तै चौथो सातामा फिल्मले ११५.७ करोड र पाँचौं सातामा ५६.३५ करोड कमाई गरेको थियो । फिल्म धुरन्धर डिसेम्बर ५ मा रिलिज भएको थियो । यो फिल्म २०२५ को सबैभन्दा ठूलो फिल्म साबित भएपछि, धुरन्धरको दोस्रो भाग मार्चमा रिलिज हुने तय भएको छ । फिल्मको दोस्रो भाग १९ मार्च २०२६ मा रिलिज हुने घोषणा गरिएको छ । यसको बक्स अफिसमा यश र कियारा आडवाणी अभिनित फिल्म टक्सिकसँग भिडन्त हुने भएको छ ।
१३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन आयोगमा यसअघि बुझाएको समानुपातिक सूचीलाई अध्यावधिक गरेको छ । प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आइतबार बिहान आयोग पुगेर बन्दसूची अद्यावधि गरेको हो । उज्यालो नेपाल पार्टीसँग एकता भंग भएपछि रास्वपाले समानुपातिक सूची अध्यावधिक गरेको छ । प्रवक्ता झाले भनेका छन्- ‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूचि आज बिहान निर्वाचन आयोगमा बुझाइएको छ ।’ रास्वपाले यसअघि निर्वाचन आयोगमा बुझाएको सूचीमा उज्यालोका १४ जना उम्मेदवार समावेश थिए ।
१४- गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । तेस्रो इन्डियन आइडलका विजेता रहेका तामाङको आइतबार बिहान दिल्लीस्थित निवासमा निधन भएको हो । ४३ बर्षिय तामाङको हृदयघातबाट निधन भएको बताइएको छ । तामाङको निधनप्रति नेपाली गायक प्रमोद खरेलले श्रद्धाञ्जली व्यक्त गर्दै अप्रिय र अपत्यारिलो खबर सुन्नु परेको भन्दै प्रशान्त तामाङ हामी बीच नरहेको उल्लेख गरेका छन् । इन्डियन आइडल जितेपछि भारतीय प्रहरीको जागिर छोडेर गायन र कलाकारितालाई आफ्नो क्यारियर बनाएका थिए । तामाङले नेपाली फिल्म परदेशी र गोर्खापल्टन लगायतमा अभिनय पनि गरेका थिए ।
१५- नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बेपत्ता दुई बसको अवशेष त्रिशुली किनारमा भेटिएको छ । बसका अवशेष बालुवाले पुरिएको अवस्थामा भेटिएको हो । बसको अवशेष तीन दिन अघि स्थानीय रोशन भुजेलले भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । दुर्घटना भएको करिब ३०० मिटर तल बसको अवशेष भेटिएको हो । २०८१ को असार २८ गते बिहान करिब ३ बजे दुवै बस सिमतालमा पहिरोले बगाएपछि बेपत्ता रहेका थिए । बसमा ६२ जना यात्रा रहेको र तीन जना मात्र बच्न सफल भएका थिए । फेला परेका चौबिस जनाका शवमध्ये १९ जनाको मात्र सनाखत हुन सकेको थियो । बसमा रहेका ३५ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको २८ सयले बढेर तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि शुक्रबार सुन तोलाको २ लाख ६७ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २१० रुपैयाँले बढेर तोलाको ४९९० रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि शुक्रबार चाँदी तोलाको ४७८० रुपैयाँमा कारोबार भएको थियो ।
१७- राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी उनको योगदानको सम्मान गरेका छन् । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगणले नेपाल एकीकरणको अभियान्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरी सम्मान प्रकट गरेका थिए । सो अवसरमा मुख्यसचिव सुमनराज अर्याल, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत समाजका विभिन्न क्षेत्रका महानुभावहरूले समेत राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका थिए । हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ ।
१८- अमेरिकाले आफ्ना नागरिकहरूलाई तुरुन्तै भेनेजुएला छोड्न आग्रह गरेको छ । अमेरिकी विदेश विभागका अनुसार, भेनेजुएलामा सशस्त्र मिलिशियाहरूले नाकाबन्दी लगाएको रिपोर्ट आएको छ । अमेरिकी विदेश विभागले भेनेजुएलाका मिलिशियाहरूले अमेरिकीहरू र उनीहरूका समर्थकहरूको खोजी गरिरहेको र उनीहरूका सवारी साधनहरूको खोजी गरिरहेको बताएको छ । भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीको एक हप्तापछि यस्तो कदम चालिएको छ । अमेरिकाले भेनेजुएलाका नेता निकोलस मादुरोलाई पक्रुआ गरेर अमेरिका लागेको थियो, जहाँ उनी हतियार र लागूपदार्थको तस्करीको मुद्दाको सामना गरिरहेका छन् । निकोलस मादुरोको सट्टा भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको अन्तरिम सरकारले अमेरिकी समर्थनमा देश चलाएको बताउदै अब केहि समय भेनेजुएला आफुहरुको नियन्त्रणमा हुने बताएका थिए । साथै उनले अब भेनेजुएलामा थप आक्रमणको आवश्यकता नपर्ने बताएका थिए । तर आफ्ना नागरिकहरुलाई फिर्ता बोलाएर अमेरिकाले भेनेजुएलामा थप आक्रमणको संकेत गरेको छ ।
१९- जारी अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलको समीकरण पुरा भएको छ । प्रतियोगिताको सेमिफाइनलमा इजिप्ट, नाइजेरिया, सेनेगल र मोरक्को पुगेका छन् । गएराती सम्पन्न खेलमा इजिप्टले आइभरी कोष्टलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो भने नाइजेरियाले अल्जेरियालाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । यसअघि मोरक्कोले क्यामरुनलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो भने सेनेगलले मालीलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । अब सेमिफाइनलमा इजिप्टको सामना सेनेगलसँग हुने छ भने मोरक्कोको सामना नाइजेरियासँग हुने भएको छ । सेमिफाइनलका खेलहरु १४ जनवरीमा हुने छन् ।
२०- माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले भविष्यमा कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोगले जैविक आतंकवादलाई सजिलो बनाउन सक्ने चेतावनी दिएका छन् । उनले यदि समयमै कडा नियमहरू लागू गरिएन भने, साना समूहहरूले पनि एआई प्रयोग गरेर खतरनाक जैविक हतियारहरू डिजाइन गर्न सक्षम हुन सक्ने चेतावनी दिएका छन् । गेट्सले पहिले, खतरनाक भाइरस वा ब्याक्टेरिया सिर्जना गर्न लाखौं डलर, ठूला प्रयोगशालाहरू र दर्जनौं वैज्ञानिकहरूको बजेट आवश्यक पर्थ्यो । यद्यपि, एआईको आगमनसँगै, यो धेरै सजिलो भएको छ । एआईले यो सम्पूर्ण प्रक्रियालाई सरल र सहज बनाएको छ । यसको अर्थ अब धेरै सीमित स्रोतहरू भएको सानो समूह वा पागल व्यक्तिले पनि एआईको मद्दतले खतरनाक भाइरस डिजाइन गर्न सक्छ ।
गेट्सका अनुसार, एआई यति स्मार्ट भएको छ कि यसले मिनेटमा लाखौं वैज्ञानिक अनुसन्धान पत्रहरू पढ्न सक्छ । यसले जटिल आनुवंशिक अनुक्रमहरू बुझ्न र परिमार्जन गर्न सक्छ । यसले हावामा रहेका र हालका औषधिहरूको प्रतिरोधी भाइरसहरूको लागि ब्लूप्रिन्टहरू पनि सिर्जना गर्न सक्छ । उनले एआईसँग अब आनुवंशिकी र रसायन विज्ञानमा विशेषज्ञ जस्तै ज्ञान छ, जसले गर्दा एक नौसिखियालाई पनि खतरनाक प्रयोगहरू गर्न अनुमति दिन्छ । अनलाइन उपलब्ध एआई मोडेलहरूलाई नियन्त्रण गर्न गाह्रो छ, जुन अपराधीहरूले शोषण गर्न सक्छन् ।
अर्को समस्या एआई कम्पनीहरूमा हाल जैविक हतियारहरूसँग सम्बन्धित जानकारी ब्लक गर्न सक्ने बलियो फिल्टरहरूको अभाव छ । बिल गेट्स भन्छन्, एआई प्रणालीहरूलाई दुरुपयोग हुन सक्ने जैविक वा वैज्ञानिक जानकारी प्रदान गर्नबाट रोक्नु पर्छ । यदि एआईलाई सबै प्रकारका अनुसन्धान, डेटा, वा प्राविधिक जानकारीमा अनियन्त्रित पहुँच दिइयो भने, यसको दुरुपयोग हुन सक्छ । त्यसकारण, एआई मोडेलहरूमा निर्मित सुरक्षा फिल्टरहरू हुनु आवश्यक छ, जसले खतरनाक प्रश्नहरू वा अनुरोधहरूलाई पहिचान गर्दछ र जवाफ दिन अस्वीकार गर्दछ । उनले यो चुनौतीलाई सम्बोधन गर्न, सरकारहरू र एआई कम्पनीहरूले सँगै काम गर्नुपर्छ ।
सरकारहरूले नियम र नियमहरू स्थापना गर्नुपर्छ, जबकि कम्पनीहरूले आफ्नो प्रविधिलाई सुरक्षित र जिम्मेवार तरिकाले विकास गर्नुपर्छ । बिल गेट्सले कुनै पनि एआई प्रविधि ठूलो मात्रामा सुरु गर्नु अघि यस्तो सुरक्षा परीक्षण आवश्यक रहेको बताउछन् ताकी कमजोरीहरूलाई समयमै सम्बोधन गर्न सकियोस् । बिल गेट्सले नयाँ औषधिहरू पत्ता लगाउन र रोगहरूको उपचार पहिलेभन्दा छिटो र सही रूपमा गर्न मद्दत गर्न सक्ने बताएका छन् । यसले चिकित्सा अनुसन्धानलाई नयाँ दिशा दिन सक्छ ।
FACEBOOK COMMENTS