काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रतिनिधि सभा सदस्यको लागि फागुन २१ गते हुने निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न निर्वाचन आयोगले जनाएको छ । आयोगका आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्यक्रम सञ्चालन गरिएको र तोकिएको समयभित्र सम्पन्न भएको जानकारी दिएको हो ।
पछिल्लो अपडेट अनुसार साँझ ५ बजेसम्म कुल २ हजार ६५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महिला ३०३ जना र पुरुष २ हजार ३५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यक्रम अनुसार मनोनयन दर्ता भएका उम्मेदवारको सूची साँझ ७ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिने आयोगले बताएको छ । त्यस्तै आयोगले माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने बताएको छ ।
उजुरीमाथि जाँचबुझ तथा निर्णय माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म गरिनेछ भने माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म योग्य उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । त्यसैगरी, माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
२- अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स्थगित भएको छ । एन्फाको निर्वाचन समितिका सदस्य सचिव लोकेन्द्र ओलीले माघ २८ गतेका लागि तोकिएको एन्फाको निर्वाचन उच्च अदालत पाटनको माघ ४ गतेको आदेश अनुसार अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् । राष्ट्रिय खेलकुद परिषदले दिएको निर्देशन विपरित एन्फा निर्वाचन प्रक्रियामा गएपछि विवाद बढेको छ ।

एन्फा पदाधिकारीले निर्वाचन विधान विपरित हुन लागेकोले रोक्नका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दिएका थिए । एन्फाले भने निर्वाचनको स्वीकृतका लागि निवेदन दिएको थियो । यसअघि राखेपले २१ गते विधान संशोधनसहित तहगत निर्वाचन गर्न निर्देशन दिएको थियो । राखेपको निर्देशन विपरित एन्फाले निर्वाचन प्रक्रिया अघि बढाएपछि अमित खत्रीले उच्च अदालतमा रिट दायर गरेका थिए ।

३- नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी प्रतिनिधिसभाका चुनावका लागि सर्लाही-४ मा वारेस मार्फत उम्मेदवारी दर्ता गराएका छन् । सभापति थापाले उम्मेदवारीको प्रस्तावकमा उपेन्द्रप्रसाद कुशवाहा र समर्थक रामआश्रय साह रहेका छन् । यसअघि काठमाडौं-४ बाट विजयी हुदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार बनेका हुन् । उम्मेदवार छनौटमा व्यस्त हुदा सर्लाही पुग्न नभ्याएका थापाले नेता वीरेन्द्र सिंहलाई वारेस दिएर उम्मेदवारी दर्ता गरेका छन् ।

थापासँगै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. अमरेशकुमार सिंह, नेपाली कम्युनिष्ट पार्टीबाट डा. रजनिश यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वर राय यादव र नेकपा एमालेबाट रविशङ्कर कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन् ।
४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोको बैठक बोलाएका छन् । नेटो प्रमुख मार्क रुटसँग फोनमा कुराकानी गरेर ट्रम्पले ग्रिनल्याण्ड मुद्दामा छलफल गर्न स्विट्जरल्याण्डको डाभोसमा बैठक बोलाउने निर्णय गरेका हुन् । यद्यपि, बैठकको मिति भने तोकिएको छैन । ट्रम्पले रुटलाई स्पष्ट रूपमा ग्रिनल्याण्ड अमेरिकाको राष्ट्रिय र विश्वव्यापी सुरक्षाको लागि महत्त्वपूर्ण भएको र विश्वमा शान्ति शक्ति मार्फत मात्र प्राप्त गर्न सकिन्छ र अमेरिका विश्वको सबैभन्दा शक्तिशाली देश भएको स्पष्ट रुपमा बताएको रिपोर्टमा उल्लेख गरिएको छ ।
यसैबीच आजै ट्रम्पले क्यानडा, ग्रिनल्याण्ड र भेनेजुएलालाई संयुक्त राज्य अमेरिकाको भागको रूपमा देखाउँदै नक्सा पनि साझा गरेजा थिए । ट्रम्पले अमेरिकालाई सबैभन्दा शक्तिशाली देशको रूपमा वर्णन गरेका छन् ।
५- भारत सरकारले नेपालमा फागुन २१ मा हुने आम निर्वाचनलाई लक्षित गर्दै ६० डबल-क्याब पिकअप सवारी साधन र अन्य सामग्रीहरू हस्तान्तरण गरेको छ । मंगलबार नेपालका लागि भरका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले गृहमन्त्री ओम प्रकाश अर्याललाई हस्तान्तरण गरेका हुन् । सो असारमा गृहमन्त्री अर्यालले उपहारस्वरूप प्रदान गरिएका सवारी साधन र सामग्रीहरूको लागि भारत सरकार र जनतालाई धन्यवाद दिएका थिए ।
उनले भारत र नेपाल बीचको गहिरो र व्यापक प्रकृतिको सम्बन्धको पनि प्रशंसा गरेका थिए । नेपाल सरकारको अनुरोधको आधारमा, भारतले २००८ देखि नेपाललाई निर्वाचन सम्बन्धी सहयोग प्रदान गर्दै आएको छ । यसमा भारत सरकारले निर्वाचन आयोग लगायत नेपालका विभिन्न मन्त्रालय र विभागहरूलाई अहिलेसम्म उपहारस्वरूप लगभग २४ सय सवारी साधनहरू सहयोग गरिसकेको छ । आगामी चुनावको लागि, भारतले नेपाललाई ६५० सवारी साधनहरू सहयोग गर्दैछ, जुन आगामी केही हप्ताहरूमा छुट्टाछुट्टै ब्याचहरूमा डेलिभरी हुने बताइएको छ । भारतीय पक्षबाट जारी सहयोग र समर्थन दुई देशहरू बीच रहेको बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीको उपयुक्त प्रतिबिम्ब भएको दुताबासले जनाएको छ ।
६- नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका ए सँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ । मंगलबार सम्पन्न अभ्यास खेलमा श्रीलंका ए ले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १८६ रनको लक्ष्य पछाएको श्रीलंका ए ले १८ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो । नेपालले श्रीलंकामा अब जनवरी २२ र जनवरी २४ मा अभ्यास खेल खेल्ने तालिका छ । त्यसपछि नेपाली टिम भारत जाने छ । भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।
७- सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सर्वोच्चको आदेशपछि थापा नेतृत्वको कार्यसमितिलाई मार्गप्रशस्त भएको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कार्य समिति अद्यावधिक गरेको विरोधमा देउवा पक्षले रिट दायर गरेको थियो ।
८- रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले महान्यायाधिवक्ताले गरेको निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुलअजिज मुसलमानको एकल इजलासले निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको हो ।
आदेशमा भनिएको छ- ‘महान्यायाधिवक्ताले मिति २०८२ पुस ३० मा गरेको निर्णयसहितको सक्कल फाइल, जिल्ला सरकारी वकिल कार्यालयहरूबाट विभिन्न अभियोगको सम्बन्धमा रवि लामिछाने समेत उपर दायर भएको मुद्दाहरूमा अभियोग पत्र संशोधन हुने कारण देखिने कुनै थप प्रमाणहरू पेस भएको भए सो प्रमाणहरू समेतको सक्कल प्रति महान्यायाधिवक्ता कार्यालयमार्फत छलफल पेसीका दिन देखाई फिर्ता लैजाने गरी झिकाई सुनुवाइमा अग्राधिकारसहित प्राथमिकता दिई नियमानुसार पेस गर्नू ।’ महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछानेसहितका अन्य प्रतिवादीहरूको हकमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन अनुमति दिने निर्णय गरेकी थिइन् । साथै सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार समेत प्रदान गरेको छ ।
९- जेनजी अभियन्ता रक्षा बमले चुनाव नलड्ने बताएकी छन् । उनले आफु यो फागुन २१ को चुनाव नलड्ने हिजो पनि प्रष्टै थियो र आज पनि प्रष्टै रहेको बताएकी छन् । रक्षालाई उम्मेदवार बन्न रास्वपा र नेपाली काँग्रेसले प्रस्ताव गरे भएपनि उनले चुनाव नलड्ने निर्णय गरेकी हुन् । उनले भनेकी छन्- ‘सडक सधैं मेरो लागि नजिक छ। मेरो कन्भिक्सन आन्दोलन हो। स्थान भुइँमान्छेहरूकै वरपर हो । म यो फागुन २१ को चुनाव नलड्ने हिजो पनि प्रष्टै थियो, आज पनि प्रष्टै छ । मेरा लागि सडक एउटा विश्वविद्यालय हो, र म अझै सडककै नजिक रहेर सिक्न चाहन्छु । मेरो राजनीतिक यात्राप्रति सद्भाव र शुभेच्छा राख्नुहुने नयाँ दल रास्वपा र नयाँ नेपाली कांग्रेसप्रति साधुवाद ।’
१०- ग्रीनल्याण्डमाथि अमेरिकी कब्जाको खतराका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध युरोपको ‘सैन्य ऐक्यबद्धता’ अब मजाक बनेको छ । ग्रीनल्याण्डको सुरक्षाको नाममा बेलायतले केवल १ सैनिक पठाएको छ भने सात युरोपेली देशका करिब ४० सैनिक राजधानी नुउक आइपुगेका छन् । रिपोर्टका अनुसार, डेनमार्क, नर्वे, फिनल्याण्ड, स्वीडेन, जर्मनी, फ्रान्स, नेदरल्याण्ड र बेलायत जस्ता नेटो देशहरूले संयुक्त रूपमा अपरेशन आर्कटिक एन्ड्युरेन्स नामक संयुक्त सैन्य अभियान सुरु गरेका छन् । यी सैनिकहरू यसमा संलग्न छन् । इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोले यो सम्पूर्ण सैन्य अभ्यासमाथि प्रश्न उठाउँदै यसलाई मजाक भनेका छन् । डेनमार्कले पहिले नै २०० सैनिकहरू ग्रीनल्याण्डमा तैनाथ गरिसकेको छ ।
यसबाहेक, १४ सदस्यीय सिरियस डग स्लेड पेट्रोल पनि त्यहाँ उपस्थित छ, जसले आर्कटिक क्षेत्रहरूमा गस्ती गर्छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले आगामी दिनहरूमा उनीहरूलाई जमिन, हावा र समुद्रबाट अझ बलियो बनाइने बताएका छन् । यो संख्या सानो छ, तर यो राजनीतिक सन्देश हो कि नेटो एकताबद्ध छ । अपरेशन आर्कटिक एन्ड्युरेन्स डेनमार्कमा चलिरहेको सैन्य अभ्यास हो । यसको उद्देश्य भविष्यमा ग्रीनल्याण्डमा ठूलो संख्यामा सैनिक तैनाथ गर्नु परेमा कस्तो प्रकारको तयारी हुने भनेर हेर्नु हो । डेनमार्कको रक्षा मन्त्रालयका अनुसार, यस अभ्यासको केन्द्रबिन्दु आर्कटिक क्षेत्रमा रहेका सहयोगी देशहरू बीच सहयोग र कार्य क्षमता बढाउनु हो ।
भविष्यमा, अपरेशन आर्कटिक सेन्ट्री भनिने अझ ठूलो मिसनको योजना बनाइएको छ । यो नाटो मिसन हुनेछ । यसको उद्देश्य ग्रीनल्याण्ड र यसको वरपरका क्षेत्रहरूमा निगरानी बढाउनु र कुनै पनि खतराको लागि सैन्य प्रतिक्रियालाई बलियो बनाउनु हो । यद्यपि, यो मिसन तुरुन्तै सुरु हुने छैन । जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसका अनुसार, अपरेशन आर्कटिक सेन्ट्री सुरु हुन धेरै महिना लाग्न सक्छ । यसको अर्थ ग्रीनल्याण्डमा हाल कुनै पनि ठूलो नयाँ सैन्य मिसन सुरु गरिएको छैन; बरु, तयारी र योजना चलिरहेको छ । नाटोका केही प्रमुख सैन्य शक्तिहरू यस मिसनबाट टाढा रहे। पोल्याण्ड, इटाली र टर्कीले ग्रीनल्याण्डमा सेना पठाउन अस्वीकार गरेका छन् । पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले स्पष्ट रूपमा उनको देशले सेना नपठाउने बताएका छन् ।
११- नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ परेका प्रसाई मंगलबार हाजिरी जमानीमा छुटेका हुन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता दिएको विषयमा प्रसाईले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै आयोगले साइबर ब्यूरोलाई अनुसन्धान गर्न पत्राचार गरेपछि उनी पक्राउ परेका थिए ।
पोल्याण्डको सबैभन्दा ठूलो चिन्ता रूससँगको यसको पूर्वी सीमा हो । पोल्याण्डले आफ्नो सैन्य शक्ति त्यहाँ केन्द्रित गर्न चाहन्छ । ग्रीनल्याण्डमा सेना तैनाथ गर्ने सम्बन्धमा कुनै सामूहिक नाटोको निर्देशन छैन । प्रत्येक देशले आफ्नै सुरक्षा प्राथमिकता र स्रोतसाधनको आधारमा निर्णय लिइरहेको छ । ग्रीनल्याण्डको आफ्नै सेना छैन । डेनमार्क आफ्नो रक्षा र विदेश नीतिको लागि जिम्मेवार छ । यो डेनमार्कको एक स्वायत्त क्षेत्र हो । यसको जनसंख्या केवल ५७ हजार रहेको छ ।
१२- नेप्सेमा आज वृद्धि भएको छ । मंगलबार नेप्से ४२.२६ अंकले बढेर २४१४.८१ विन्दुमा पुगेर रोकिएको छ । आज ३३९ कम्पनिका २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता शेयर ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार ७० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज गोर्खा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अन्खु खोला जलविद्युतको शेयर ८.१३ प्रतिशतले बढेको छ । त्यस्तै आज एसबिएल डिभेन्चरको शेयर सबै भन्दा बढी ४.२३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टको ४० करोड ७९ लाख बराबरको कारोबार भएको छ भने राढ़ी जलविद्युतको ३९ करोड ३ लाख बराबरको कारोबार भएको छ ।
१३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा ग्रीनल्याण्डमा अमेरिकी झण्डा फहराउँदै गरेको तस्बीर शेयर गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्स पनि तस्वीरमा देखिन्छन् । तस्वीरको अगाडि लेखिएको छ, ‘ग्रीनल्याण्ड: अमेरिकी क्षेत्र, स्थापित – २०२६ ।’ उनले अर्को तस्वीर पोस्ट गरे, जुन अगस्ट २०२५ मा लिइएको तस्वीरको सम्पादित संस्करण हो, जब युरोपेली नेता ट्रम्प र भ्लादिमिर पुटिन फोन वार्तापछि वाशिंगटन आइपुगेका थिए । ट्रुथ सोसलमा पोस्ट गरिएको ट्रम्पको तस्वीरमा, प्रस्तुतीकरण बोर्डलाई यसरी परिवर्तन गरिएको थियो, यसले अमेरिकी झण्डामा उत्तरी अमेरिका, क्यानडा र ग्रीनल्याण्ड देखाएको थियो । ग्रीनल्याण्ड बारे अमेरिका र युरोप आमने सामने भइरहेका बेला ट्रम्पले शेयर गरेको यो तस्बीरले विवाद थप बढ्ने देखिएको छ ।
१४- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्प कमल दाहाल प्रचण्डले प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवारी मनोनयन दर्ता गराएएका छन् । अघिल्लो चुनावमा गोरखा-२ बाट चुनाव लडेर विजयी भएका प्रचण्ड यसपटक रुकुम पुगेका हुन् । प्रचण्डले भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित उम्मेदवारी दर्ता गराएको बताएका छन् । रुकुम पूर्वबाट अघिल्लो निर्वाचनमा तत्कालिन माओवादी केन्द्रका पूर्ण बहादुर घर्ति मगर विजयी भएका थिए ।
१५- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा- ५ मा मनोनयन दर्ता गराएका छन् । उनी निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि झापा-५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाहले मनोनयन दर्ता गरेका थिए ।
१६- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफु उम्मेदवार नबनेको बारे स्पष्टीकरण दिएका छन् । उनले आज उम्मेदवार दर्ता गर्ने दिन सामाजिक सञ्जालमार्फत ‘अवैधानिक’ प्रक्रियाबाट चयन भएका प्रतिनिधिको निर्णय र हस्ताक्षरबाट जारी गरिएको टिकटबाट उमेदवार नबनेको बताएका हुन् । उनले भनेका छन्- ‘अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेरो दाबी भएकाले निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उमेदवार हुनु मेरो जीवनभरको राजनीतिक मूल्य–मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने हुँदा यसपटक प्रतिनिधिसभा निर्वाचनमा उमेदवार नउठ्ने निर्णय गरेको छु ।’ खड्काले सर्वोच्च अदालतमा विशेष महाधिवेशन अवैधानिक रहेको भन्दै मुद्दा दायर गरिएकाले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक मान्न नसक्ने बताएका छन् । खड्काले आफुले रुख चिन्ह लिएर उम्मेदवार बन्नेलाई सहयोग गर्ने उल्लेख गरेका छन् ।
१७- नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द विप्लव चुनाव नलड्ने भएका छन् । यसअघि रोल्पाबाट चुनाव लड्ने बताइएको भएपनि माओवादी प्रवक्ता प्रकाण्डको नेतृत्वमा चुनाव लड्ने भएको हो । विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै माओवादी प्रकाण्डको नेतृत्वमा चुनावी मैदानमा होमिएको स्पष्ट गरेका छन् । विप्लव समुह पहिलो पटक निर्वाचन आयोगमा दर्ता भएर चुनावी मैदानमा होमिएको हो ।
१८- शिक्षामन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर चुनावमा होमिएका छन् । यसअघि आफु उम्मेदवार नबन्ने बताउदै आएका पुनले अचानक मन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन् । उनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी समेत दर्ता गराएका हुन् । सोमबार नै म्याग्दी पुगेका पुनले उतैबाट मंगलबार बिहान राजीनामा दिएका थिए । गत निर्वाचनमा म्याग्दीबाट नेपाली काँग्रेसका खामबहादुर गर्बुजाले एमालेका हरिकृष्ण श्रेष्ठलाई पराजित गर्दै विजयी भएका थिए ।
१९- नेपाली बजारमा आज सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको तोलाको २७ सयले बढेर तोलाको २ लाख ८४ हजार ७ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि सोमबार सुन तोलाको २ लाख ८२ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर तोलाको ५८८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५८१० रुपैयाँमा कारोबार भएको थियो ।
२०- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा फागुन २१ को निर्वाचनमा चुनाव नलड्ने भएका छन् । उनका स्वकीय सचिव भानु देउवाले यस निर्वाचनमा शेरबहादुर देउवा चुनाव नलड्ने जानकारी दिएका हुन् । देउवा २०४८ सालदेखि नै डडेल्धुराबाट विजयी हुदै आएका थिए ।
देउवाले अन्तिम पटक चुनाव लड्न चाहेको भएपनि काँग्रेसमा विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बनेको नयाँ कार्यसमितिले देउवालाई अब चुनाव नलडन र अभिभावकीय भूमिका निभाउन आग्रह गरेको बुझिएको छ । अर्कोतर्फ गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा सर्वोच्च अदालत गएकाले पनि उनलाई नैतिक रुपमा गगन थापाको हस्ताक्षरको टिकट लिएर चुनावमा जान अप्ठ्यारो भएको बताइएको छ ।