काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री सुशीला कार्कीले संसद भवनमा जेनजी आन्दोलनका सहिदहरुको सालिक राख्ने विषयमा भएको प्रगतिबारे जानकारी लिएकी छन् । विहिबार प्रधानमन्त्री कार्कीले सिंहदरबारमा विभिन्न मन्त्री र सम्बन्धित निकायका अधिकारीहरुलाई समेत बोलाएर निर्माणाधीन संसद भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा छलफल गरेका हुन् ।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानीमन्त्री मदन परियार र सहरी विकास मन्त्री कुमार इङ्नामको सहभागिता थियो। प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सहल्लाहकार गोविन्दनारायण तिमिल्सिना, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की, अर्थसचिव घनश्याम उपाध्याय, सहरी विकास सचिव गोपाल सिग्देल, कानुन सचिव पाराश्वर ढुंगाना पनि छलफलमा सहभागी थिए ।
सहरी विकास सचिव सिग्देलले सालिक राख्नका लागि पहिचान गरिएका ठाउँहरु र सम्भावित डिजाइनबारे जानकारी दिँदै सुझाव तथा निर्देशनका लागि आग्रह गरेका थिए । प्रधानमन्त्री कार्कीले यस विषयमा ढिलो नगरी संसद भवन निर्माणसम्बन्धी गुरुयोजना संशोधन गरी निर्माण कार्य अघि बढाउन निर्देशन दिएकी छन् । सरकारले आन्दोलनकारी जेनजीसँगको सम्झौताका क्रममा सहिदको त्याग तथा बलिदानलाई सम्मान, न्याय तथा अर्थपूर्ण स्मृतीकरणको प्रतिबद्धता व्यक्त गरेको छ ।
२- नवलपरासी पश्चिम- २ मा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका पूर्वगृहराज्यमन्त्री तथा कांग्रेसनेता देवेन्द्रराज कँडेलको उम्मेदवारी अस्वीकृत भएको छ । माघ ६ गते काँग्रेसबाट कँडेल र लुम्बिनी प्रदेश समितिका सदस्य भीमबहादुर थापाले उम्मेदवारी दर्ता गरेपछि विवाद भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपरासी पश्चिमले थापालाई कांग्रेसको आधिकारिक उम्मेदवार कायम गर्दै कँडेलको उम्मेदवारी अस्वीकृत गरेको हो । आयोगले थापाले पहिला उम्मेदवारी दर्ता गरेको भन्दै उनको उम्मेदवारी कायम गरेको छ । गत निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका ध्रुबबहादुर प्रधानले जित हासिल गरेका थिए । प्रधानले काँग्रेसका कँडेललाई १५ हजारभन्दा बढी मत अन्तरले पराजित गरेका थिए ।

३- नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन ऐन २०७४ अनुसार जन्मकैदको सजाय पाएका व्यक्ति उम्मेदवार हुन अयोग्य हुने हुँदा चौधरीविरुद्ध बुधबार निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता लालविक्रम थापाले उजुरी गरेका थिए ।

२०७२ असोजमा टिकापुर घटनामा आठ जना प्रहरी र एक नाबालकको हत्या गर्ने अभियोगमा चौधरीलाई तीनै तहको अदालतले जन्मकैदको फैसला सुनाएको थियो। सर्वोच्च अदालतले पनि २०८० जेठ २ मा उक्त फैसला सदर गरेको थियो । चौधरीलाई २०८० जेठ १४ मा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी सजाय मिनाह गरे पनि यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन रहेको छ ।

४- बंगलादेशले भारतमा टी-२० विश्वकप नखेल्ने आफ्नो अडान दोहोरोएको छ । बंगलादेश क्रिकेट बोर्डम क्रिकेट खेलाडी र सरकारका खेलकुद सल्लाहकारसहितको बैठकले आफुहरु भारतको सत्ता श्रीलंकामै खेल्ने अडानमा कायमै रहने निष्कर्ष निकालेको हो । बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले आसीसीले आफुहरुको अनुरोधलाई अस्वीकार गरेको बताउदै २ करोड मानिसलाई बाहिर राखेर कसरी विश्वकप सफल हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले भने- ‘आइसीसीले भारत बाहिर खेल आयोजना गर्ने हाम्रो अनुरोधलाई अस्वीकार गर्यो । हामीलाई विश्व क्रिकेटको अवस्थाको बारेमा कुनै जानकारी छैन ।

यसको लोकप्रियता घट्दै गइरहेको छ । उनीहरूले २ करोड मानिसहरूलाई गुमाउदै छन् । क्रिकेट ओलम्पिकमा हाम्रो जस्तो देश त्यहाँ जाँदैन भने, यो आइसीसीको असफलता हो ।’ आइसीसीले बुधबार बंगलादेशलाई दिएको २४ घण्टाको समय आज सकिदैछ । बंगलादेशले आफ्नो अडानमा कायम रहेकाले अब उसले विश्वकप गुमाउने सम्भावना बढेको छ । आइसीसीले बुधबार नै बंगलादेश भारत खेल्न नआएमा उसलाई विश्वकपबाट बाहिर राख्ने र उसको स्थानमा स्कटल्याण्डलाई सहभागी गराउने निर्णय गरिसकेको छ । बंगलादेशलाई टी- २० विश्वकपमा समूह सी मा रहेको छ । उसले फेब्रुअरी ७ मा वेस्ट इन्डिज, फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इङ्गल्याण्डसँग सामना गर्नेछ । तीनवटै खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा खेलिनेछ । साथै टोलीको अन्तिम समूह चरणको खेल फेब्रुअरी १७ मा मुम्बईमा नेपालसँग हुने तालिका रहेको छ ।

५- सरकारले सिद्धार्थ राजमार्ग सुधारका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिद्धार्थ राजमार्गको बुटवल-पोखरा क्षेत्र सुधारका लागि २ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । त्यस्तै बैठकले भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगको म्याद २० दिन थप्ने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिएका छन् । आयोगको पदावधि यसअघि एक महिनाको थपिएको थियो । असोज ८ गतेदेखि काम थालेको आयोगको गत पुस ८ गते एक महिना म्याद थपिएको थियो, जुन आज सकिदै थियो । आजको बैठकले गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ता तोक्ने निर्णय समेत गरेको छ ।
६- नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । विशेष महाधिवेशनबाट सभापति गगन थापा विजयी भएर कानुनी मान्यता समेत पाएपछि शुक्रबार पदभार ग्रहण गर्ने भएपछि पौडेलले राजीनामा दिएका हुन् । थापाले शुक्रबार पार्टी कार्यालयमा पदभार ग्रहण गर्दैछन् भने त्यसपछि केन्द्रीय समितिको बैठक समेत बोलाएका छन् । हाल राष्ट्रिय सभाका सांसद समेत रहेका पौडेललाई २०७२ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए । काँग्रेसमा केन्द्रीय कार्यालय महामन्त्रीको अन्तर्गत पर्दछ भने मुख्य सचिवले पार्टी कार्यलयको दैनिक काम कारवाही हेर्ने गर्दछन ।
७- मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसी समेत ९ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक बेतहनी गाविस- ४ को जग्गाहरु गैरकानूनी ढंगले सिफारिस तथा निर्णय गरेर राज्यलाई २२ लाख ४२ हजार ७२० नोक्सानी पुर्याएको आरोप लगाउदै विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।
अख्तियारले मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसी, तत्कालीन मालपोत अधिकृत अशोक कुमार भट्टराई, तत्कालीन नायव सुब्बा तारा प्रसाद खनाल, साविक बेतहनी गाविसका तत्कालीन सचिव मान बहादुर बोगटी, तत्कालीन नायव सुब्बा कर्ण बहादुर पुन, डुडुवा गाउपालिका वडा नम्बर २ बस्ने लिलावती कैराती र डुडुवा गाउपालिका वडा नम्बर २ बस्ने विरेन्द्र कुमार कुर्मीविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।
८- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । विहिबार नेप्से ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा पुगेर रोकिएको छ । आज ३३२ कम्पनिका एक करोड ९० लाख ७५ हजार ७५६ कित्ता शेयर ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार ९८ मा कारोबार भएको थियो । आज बैंकिङ, म्युचुअल र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज एसवाई प्यानल, श्रीनगर एग्रो र त्रिशुली जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै कालिका पावरको सबै भन्दा बढी ६.२५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४० करोड ८२ लाख कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको ३५ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।
९- नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका ए सँगको दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । विहिबार सम्पन्न दोस्रो अभ्यास खेलमा श्रीलंका ए ले नेपाललाई ७३ रनले पराजित गरेको हो । श्रीलंका ए ले दिएको २२३ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । यसअघि श्रीलंका ए ले पहिला ब्याटिंग गर्दै ५ विकेट गुमाएर २२२ रन बनाएको थियो । यसअघि पहिलो खेलमा नेपाल श्रीलंका ए सँग ६ विकेटको हार बेहोरेको थियो । नेपालले श्रीलंकामा अब जनवरी २४ मा तेस्रो अभ्यास खेल खेल्ने तालिका छ । त्यसपछि नेपाली टिम भारत जाने छ । भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।
१०- नेपाली काँग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिने भएको छ । शुक्रबार पार्टी कार्यालय जाने तयारी गरेका सभापति गगन थापाले कार्यभार सम्हालेपछि केन्द्रीय समितिको बैठक बस्दै छ । सोहि बैठकबाट थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी काँग्रेसले गरेको हो । पार्टीले भावी प्रधानमन्त्रीको घोषणा गरेपछि थापा आफ्नो चुनावी क्षेत्र सर्लाही–४ मा जाने बताइएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि सभापति थापाले वारेसमार्फत सर्लाही-४ मा उम्मेदवारी दर्ता गराएका थिए । गत पुस ३० मा थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचित भएपछि दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको बैठक पार्टी प्यालेस र होटलमा बसेको थियो । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत गएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएपछि थापा नेतृत्वको कार्यसमिति पार्टी कार्यालय जाने बातावरण बनेको हो । यसअघि देउवा पक्षले गगन थापा नेतृत्वको काँग्रेसलाई पार्टी कार्यालय जान नदिने भन्दै रातभर सानेपामै बसेका थिए ।
११- नेकपा एमाले निकट युवासंघ दमकका सचिव कमल प्रसाद गैरे एमालेमै फर्किएका छन् । बुधबार बालेन शाहलाई प्रधानमन्त्री बनाउने भन्दै रास्वपा प्रवेश गरेका गैरे २४ घण्टा नबित्त्दै एमालेमै फर्किएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्बीर समेत सामाजिक सञ्जालमा सार्बजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमा हिजो केही व्यक्तिहरूको दबाब र प्रभावमा परी सामाजिक सञ्जाल मार्फत पार्टी छोडेको भनेर लेखेता पनि मैले गहिरो सोच, अध्ययन र विश्लेषणपछि एमालेमै फर्किएको र भोलि पनि एमालेमै रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले बनेका छन्- ‘हिजो केही व्यक्तिहरूको दबाब र प्रभावमा परी सामाजिक सञ्जाल मार्फत पार्टी छोडेको भनेर लेखेता पनि मैले गहिरो सोच, अध्ययन र विश्लेषण गर्दा नेकपा एमाले मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र रहेकाले हिजो गरेका गल्तीलाई सच्चाई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको पार्टीमा नै हिजो पनि यही थिए आज पनि यही छु र भोलि पनि यही रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ उनले दमक तथा झापा क्षेत्र नम्बर ५ हुँदै समग्र राष्ट्रकै विकासका लागि राष्ट्रनायक केपी ओली नै भएको भन्दै उनलाई जिताउनका पार्टी तथा संगठनमा रहि यो अभियानलाई पुरा गर्ने संकल्पसहित प्रतिबद्ध रहेको बताएका छन् ।
१२- बंगलादेशको एक अदालतले शेख हसिना विरुद्ध दायर गरिएको देशद्रोहको मुद्दामा फेब्रुअरी ९ मा अर्को सुनुवाइ गर्ने भएको छ । यो मुद्दा डिसेम्बर २०२४ मा जय बंगला ब्रिगेड भनिने अनलाइन बैठकसँग सम्बन्धित छ । शेख हसिना र सयौं अवामी लिग नेताहरूले डिसेम्बर २०२४ मा जय बंगला ब्रिगेड भनिने समूहको अनलाइन बैठकमा भाग लिएको आरोप छ । बैठकले मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारलाई उल्टाउने षड्यन्त्र रचेको थियो । मुद्दामा २८६ जना अभियुक्त छन्, जसमध्ये धेरैजसो फरार छन् । विद्यार्थी विरोध प्रदर्शनपछि शेख हसिना अगस्ट ५, २०२४ मा भारत भागेकी थिइन् । नोभेम्बर २०२५ मा, बंगलादेशको एक विशेष न्यायाधिकरणले उनलाई मानवता विरुद्धको अपराध र अन्य आरोपहरूको लागि मृत्युदण्डको सजाय सुनाएको छ ।
१३- आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत नेदरल्याण्डसले नेपाललाई पराजित गरेको छ । विहिबार सम्पन्न समुह बी अन्तर्गतको खेलमा नेदरल्याण्डसले नेपाललाई २ रनले पराजित गरेको हो । नेदरल्याण्डसले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले अविजित ३७ रन बनाए पनि जिताउन सकिनन् । त्यस्तै बिन्दु रावलले १९, सिता राना मगरले अविजित २७ रन बनाएकी थिइन् । यसअघि नेदरल्याण्डसले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको थियो । नेदरल्याण्डसका लागि कप्तान बाबेट डे लिड्सले सर्बाधिक ४९ रन बनाएकी थिइन् भने स्टेरे कालिसले ३० रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रुबिना क्षेत्रीले २ विकेट लिएकी थिइन् भने सोमु बिष्ट, पुजा महतो र रिया शर्माले एक एक विकेट लिएका थिए । जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यस अघि नेपाल पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । त्यसैगरी नेदरल्याण्डसले भने लगातार तेस्रो जित हासिल गरेको छ । अब नेपालले अर्को खेल शनिबार जिम्बाबेसँग खेल्ने तालिका छ ।
१४- कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उम्मेदवार डकेन्द्रसिंह थेगिमसहित तीन जनाले पार्टी छोडेका छन् । राजीनामा दिनेहरुमा पहिचानवादी नेता थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम रहेका छन् । तीनै जना पार्टीको केन्द्रीय सदस्य हुन् । तीन जनाले संयुक्त विज्ञप्ति जारी गर्दै उज्यालो नेपाल पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् । उनीहरुले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर रहेको, विधि प्रक्रियाको अस्पष्टता तथा पहिचानको एजेण्डामा स्पष्ट र लिखित वैचारिक धारणा प्रस्तुत गर्न नसेका कारण पार्टी छोडेको बताएका छन् ।
कुलमानले पार्टी गठन गर्नु अघि थेगिम प्रदेश नम्बर १ पुन नामकरण संयुक्त संघर्ष समितिको संयोजक थिए । गुरुङ र अमर इजम नागरिक उन्मुक्ति पार्टीमा थिए । उज्यालो नेपाल र परिवर्तन पार्टीवीच एकतापछि डकेन्द्रसिंह थेगिमको नाम आदिबासी जनजाति क्लष्टरको तेस्रो नम्बरको समानुपातिक उम्मेदवार थिए । डकेन्द्रसिंह थेगिम गत उपनिर्वाचनमा इलामबाट प्रत्यक्ष उम्मेदवार बनेर करिब १२ हजार मत ल्याएका थिए । पुर्वका यी पहिचानबादी नेताहरुले पार्टी छोडेपछि कुलमानलाई चुनावको मुखमै ठुलो धक्का लागेको छ । यस अघि रास्वपामा एकता हुदा समानुपातिकमा परेका रीमा विश्वकर्मा लगायतले पनि कुलमानको साथ छोडेका थिए ।
१५- साउदी अरेबिया, टर्की, इजिप्ट, जोर्डन, इन्डोनेसिया, पाकिस्तान र कतारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डमा सहभागिताको बारेमा संयुक्त विज्ञप्ति जारी गरेका छन् । यसअघि, इजरायलले सार्वजनिक रूपमा बोर्डमा आफ्नो सहभागिता पुष्टि गरेको थियो । बुधबार साँझ, ट्रम्पले भ्लादिमिर पुटिन पनि सामेल हुन सहमत भएको घोषणा गरेका छन्, तर रूसी राष्ट्रपति पुटिनले रुस अझै पनि निमन्त्रणामा विचार गरिरहेको बताएका छन् । उनले भरूस आफ्नो जम्मा सम्पत्तिबाट १ अर्ब डलर योगदान गर्न इच्छुक छ र उनको विश्वास छ कि बोर्ड मुख्यतया मध्य पूर्वमा केन्द्रित छ । बोर्ड सुरुमा गाजामा इजरायल र हमास बीचको दुई वर्षको युद्ध अन्त्य गर्न र पुनर्निर्माणको निरीक्षण गर्न मद्दत गर्ने उद्देश्यले गरिएको थियो ।
यद्यपि, यसको प्रस्तावित बडापत्रमा प्यालेस्टिनी क्षेत्रहरूको उल्लेख छैन र संयुक्त राष्ट्र संघका केही कार्यहरू प्रतिस्थापन गर्न डिजाइन गरिएको देखिन्छ । यद्यपि, साउदी अरेबियाद्वारा जारी गरिएको सात देशहरूको संयुक्त विज्ञप्तिमा उनीहरूले गाजामा स्थायी युद्धविरामलाई बलियो बनाउन, पुनर्निर्माणलाई प्रवर्द्धन गर्न र न्यायपूर्ण र दिगो शान्तिलाई समर्थन गर्छन् । ट्रम्पको बोर्डमा कति देशहरूलाई सामेल हुन आमन्त्रित गरिएको छ भन्ने कुरा अझै स्पष्ट छैन । युएई, बहराइन, अल्बानिया, आर्मेनिया, अजरबैजान, बेलारुस, हंगेरी, काजाकिस्तान, मोरक्को र भियतनाम पहिले नै सामेल भइसकेका छन् । बुधबार, भ्याटिकनले पनि पोप लियोले निमन्त्रणा प्राप्त गरेको पुष्टि गर्यो । यद्यपि, उनले स्वीकार गर्नेछन् कि गर्दैनन् भन्ने कुरा अझै स्पष्ट छैन । यसैबीच, स्लोभेनियाली प्रधानमन्त्री रोबर्ट गोलोबले निमन्त्रणा अस्वीकार गरेका छन् किनभने संगठनले अन्तर्राष्ट्रिय व्यवस्थामा खतरनाक रूपमा हस्तक्षेप गरेको उनको दाबि छ ।
१६- युरोपेली संसदले जुलाईमा भएको प्रमुख अमेरिकी व्यापार सम्झौताको अनुमोदन निलम्बन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्ने मागको विरोधमा यो कदम चालिएको हो । बुधबार फ्रान्सको स्ट्रासबर्गमा सम्झौताको अनुमोदन निलम्बनको घोषणा गरिएको थियो, जुन समयमा अमेरिकी राष्ट्रपतिले दाभोसमा विश्व आर्थिक मञ्चलाई सम्बोधन गरिरहेका थिए । अमेरिका र युरोपबीच बढेको व्यापार तनाव पछिको यो निर्णय। यो तनाव ट्रम्पको ग्रीनल्याण्ड अधिग्रहण गर्ने प्रयासबाट उत्पन्न भएको थियो, जसले बजारलाई हल्लायो र व्यापार युद्धको छलफललाई पुन: सुरु गर्यो ।
उसको केही घण्टा पछि, ट्रम्पले आठ नाटो सदस्य देशहरूमा नयाँ कर लगाउने निर्णय लागू नगर्ने बताएका थिए । ट्रम्पले ग्रीनल्याण्डमा नयाँ कर लगाउने धम्की दिएको केही दिन पछि बुधबार, युरोपेली संसदको अन्तर्राष्ट्रिय व्यापार समितिका अध्यक्ष बर्न्ड लाङ्गेले टर्नबेरीका दुई विधायी प्रस्तावहरूमा काम स्थगित गर्नु बाहेक कुनै विकल्प बाँकी नरहेको बताएकी थिइन् । उनले व्यापार योजनाहरू कार्यान्वयन गर्ने काम अमेरिकाले टकरावको सट्टा सहयोगको बाटोमा फर्कने निर्णय नगरेसम्म र थप कदम चाल्दासम्म स्थगित रहने बताएकी छन् ।
१७- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेण्डालाई प्राथमिकता दिन आग्रह गरेका छन् । नुवाकोट महोत्सवमा बोल्दै अध्यक्ष ढकालले मुलुक निर्वाचनमय भएको र सबै राजनीतिक दल यतिबेला चुनावी घोषणापत्र लेख्ने तयारीमा रहेकाले निजी क्षेत्रको प्राथमिकताका विषय समेट्न आग्रह गरेका हुन् ।
उनले भने- ‘मुलुकको अर्थतन्त्रको विकास सबै दलको साझा एजेण्डा बन्नुपर्छ र त्यसका लागि निजी क्षेत्रका एजेण्डाहरुलाई दलहरुले आफ्ना चुनावी घोषणापत्रमा प्राथमिकताका साथ राख्नुपर्छ । म सबै राजनीतिक दलहरुलाई यो आग्रह गर्दछु कि सबै दलले आफ्ना चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई पहिलो प्राथमिकता दिनुहोला ।’ देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न तथा उद्योगधन्दा कलकारखानाको समुचित विकास गरी औद्योगिक विकासका माध्यमबाट मुलुकको आर्थिक विकास गर्न निजी क्षेत्रका एजेण्डाले प्राथमिकता पाउनु जरुरी रहेको उनले सुभाव दिए । हिजो मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेका बेला सरकार र निजी क्षेत्रको संयुक्त प्रयासका कारण आजको अवस्था आएको स्मरण गर्दै अध्यक्ष ढकालले आगामी दिनहरु पनि त्यति सहज नरहेका र आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताए ।
उनले देशमा जुनसुकै राजनीतिक दलको सरकार आएपनि अर्थतन्त्र सबैको साझा एजेण्डा बन्नुपर्ने र निजी क्षेत्रसँगको सहकार्यलाई सबैले आत्मसात गर्नुपर्ने सुझाव पनि दिए । मुलुकको आर्थिक अवस्थाको यथोचित बृद्धि भयो भने मात्र मुलुकमा सुशासन कायम भई समृद्धि आउने र यसका लागि सबै राजनीतिक दलले आर्थिक एजेण्डालाई साझा एजेण्डाका रुपमा विकास गर्नुपर्नेमा उनको जोड थियो ।
१८- साउदी प्रो लिग अन्तगत अल नासरले दमाकविरुद्ध जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले दमाकलाई २-१ गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा अब्दुलरहमान घरीब र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यसैगरी दमाकका लागि जमल हर्कासले एक गोल गरेका थिए । यो जितपछि अल नासरको साउदी लिगमा १६ खेलमा ३७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै दमाकको १६ खेलमा ११ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।
१९- भारतले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । बुधबार रातिसम्म खेलमा भारतले न्यूजील्याण्डलाई ४८ रनले पराजित गरेको हो । भारतले दिएको २३९ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १९० रन बनाएको थियो । न्यूजील्याण्डका लागि ग्लेन फिलिपले सर्बाधिक ७८ रन बनाएका थिए भने मार्क चाम्पम्यानले ३९, डार्यल मिचेलले २८ रन बनाएका थिए । त्यस्तै भारतका बलर वरुण चक्रवर्ती र शिभम दुबेले २ विकेट लिएका थिए भने अर्शदीप सिंह, हार्दिक पाण्डेय, अक्सर पटेलले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २३८ रन बनाएका थिए । भारतका अभिषेक शर्माले ८४ रन बनाएका थिए भने रिंकु सिंहले अविजित ४४ रन बनाएका थिए । त्यस्तै कप्तान सुर्यकुमार यादवले ३२ रन बनाए र हार्दिक पाण्डेयले २५ रन बनाएका थिए । त्यस्तै न्यूजील्याण्डका बलर जाकोब डफी र काइल जामिएन्सनले २-२ विकेट लिएका थिए । त्यस्तै क्रिस्टियन क्लार्क, इश सोढ़ी र मिचेल सान्टनरले एक एक विकेट लिएका थिए । यो जितपछि ५ खेलको सिरिजमा भारत १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल जनवरी २३ मा हुने तालिका रहेको छ ।
२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई गाभ्ने आफ्नो योजनालाई जायज बताएका छन् । स्वीजरल्याण्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिका बाहेक अरू कुनै पनि देशले ग्रिनल्याण्डको रक्षा गर्न नसक्ने दाबि गर्दै अमेरिकालाई राष्ट्रिय सुरक्षाको लागि ग्रिनल्याण्ड चाहिने दोहोराए । ट्रम्पले अमेरिकाले ग्रिनल्याण्ड प्राप्त गर्न बल प्रयोग नगर्ने पनि स्पष्ट गरेका छन् । उनले भने- ‘अमेरिकाले सामान्यतया कसैबाट केही माग्दैन, त्यसैले केही पाउँदैन । यदि म चाहन्छु भने, म ठूलो बल र सैन्य शक्ति प्रयोग गर्न सक्छु र कसैले पनि हामीलाई रोक्न सक्नेछैन । तर म त्यसो गर्न चाहन्न । म बल प्रयोग गर्दिन ।’
आफ्नो सम्बोधनमा ट्रम्पले युरोपले ग्रिनल्याण्डको बारेमा आफ्नो कुरा नसुनेमा अमेरिकाले यसलाई सम्झने चेतावनी दिए । उनले अमेरिकाले विश्वको सुरक्षाको लागि केवल हिउँको क्षेत्र चाहन्छ, तर युरोप यसलाई त्याग्न तयार नदेखिएको बताए । ट्रम्पले दोस्रो विश्वयुद्धको समयमा जर्मनीले डेनमार्क कब्जा गरेको थियो र संयुक्त राज्य अमेरिकाले ग्रीनल्याण्डको रक्षा गर्नुपरेको प्रसंग उल्लेख गर्दै अमेरिकाले पछि ग्रीनल्याण्ड फिर्ता गर्यो, जसलाई ट्रम्पले अमेरिकाको तर्फबाट ठूलो गल्ती र डेनमार्कप्रति कृतघ्नको रूपमा वर्णन गरे । उनले यदि संयुक्त राज्य अमेरिकाले दोस्रो विश्वयुद्धमा हस्तक्षेप नगरेको भए, विश्वका मानिसहरूले आज जर्मन र केही हदसम्म जापानी भाषा बोलिरहेको हुने धारणा राखे । ट्रम्पले अमेरिकालाई नेटोलाई बिना शर्त समर्थन गरिरहेको तर आवश्यक परेको बेला नेटो देशले अमेरिकालाई सहयोग गर्ने कुरामा आफुला शंका रहेको टिप्पणी गरे ।
FACEBOOK COMMENTS