काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाभियानका प्रमुख दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार पक्राउ परेका प्रसाईआइतबार रिहा भएका हुन् । प्रहरीको साइबर ब्यूरोले निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरिएको बताएको थियो । उनलाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा आयोगले कारवाहीको पत्र पठाएपछि पक्राउ गरेको बुझिएको छ । रिहा भएपछि प्रसाईले आफुलाई हाजिरी जमानीमा माघ २८ गते तारिखमा आउने गरि छोडेको जानकारी दिएका छन् ।
२- नेपाल इङल्याण्डसँग ४ रनले पराजित भएको छ । आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सी को खेलमा इङल्याण्डले दिएको १८५ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४४, कप्तान रोहित पौडेल र लोकेश बमले ३९-३९ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २९ र आरिफ सेखले १० रन बनाए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।
इङल्याण्डका लागि ज्याकोब बेथेलले ५५ रन बनाए भने कप्तान ह्यारी ब्रुकले ५३ रन बनाए । त्यस्तै जोस बटलरले २६ रन बनाएका थिए । त्यस्तै विल ज्याक्सले अविजित ३९ रन बनाएका थिए । त्यसैगरी नेपाली बलरदिपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिए । अब नेपालले फेब्रुअरी १२ मा इटालीसँग खेल्ने छ भने इङल्याण्डले फेब्रुअरी ११ मा वेस्ट इन्डिजसँग खेल्ने तालिका छ ।

३- यातायात व्यवस्था कार्यालय, जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख मदन प्रसाद देवकोटासमेत ७ जनाविरुद्ध सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दाह दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, जुम्लामा सवारी चालक अनुमतिपत्र वितरणमा अस्वाभाविक रुपमा धेरै परीक्षार्थी सहभागी गराएर अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ । अख्तियारले तत्कालीन निमित्त कार्यालय प्रमुख मदन प्रसाद देवकोटा, तत्कालीन मेकानिकल सुपरभाइजर शम्भु दाहाल, तत्कालीन नायब सुब्बा धनसिहं थापा, तत्कालीन कम्प्युटर अपरेटर जागेश्वर थारु र तत्कालीन खरिदार मिलन बुढथापाविरुद्ध मुद्धा दायर गर्दै कानुन अनुसार कारवाहीको माग गरेको छ ।

४- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन नपाउने भएका छन् । सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाले चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । निर्वाचन आयोगले चौधरीको उम्मेदवारी खारेज गरिदिएपछि उनी सर्वोच्च गएका थिए । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउने कानुनी प्रावधानअनुसार निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयन खारेज गरेको थियो । थाहरुट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुर भएको घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालककको हत्या भएको थियो । सो घटनामा मुख्य योजनाकार रहेको अभियोगमा चौधरीलाई तीनैतहका अदालतले दोषी ठहर गरेको थियो । चौधरीलाई गणतन्त्र दिवसको अवसरमा २०८० जेठ १४ मा बाँकी सजाय मिनाह गरे पनि यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन रहेको छ ।

५- नेपाली काँग्रेसले केन्द्रीय अनुशासन समिति गठन गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको हो । काँग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल रहेको केन्द्रीय अनुशासन समिति गठन गरेको छ । त्यस्तै आजको बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका –०८२ र नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका- ०८२ लाई परिमार्जनसहित पारित गरेको छ । आजको बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्री फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा, योगेन्द्र चौधरी र प्रवक्ता देवराज चालिसेले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

६- वरिष्ठ कलाकार सुनील थापाको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । पशुपति आर्यघाटमा सिनेमा क्षेत्रका र सर्वसाधारणको ठुलो उपस्थितिमा थापाको अन्तिम संस्कार गरिएको हो । उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरिएको थियो । यसअघि आइतबार चलचित्र विकास बोर्डमा उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनलाई ठुलो संख्यामा कलाकर्मी तथा सर्वसाधारण उपस्थित भएर अन्तिम श्रद्धान्जली दिएका थिए । उनको परिवार मुम्बईमा बस्दै आएकाले उनीहरु काठमाडौँ आएका थिए । थापाको शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा ६८ वर्षको उमेरमा निधन भएको थियो । उनका थापाका श्रीमती, एक छोरा र एक छोरी छन्।

७- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले केही गम्भिर गडबडीको खिचडी पाक्दै गरेका आशङ्का राजनीतिक बजारमा ब्याप्त रहेको बताएका छन् । आइतबार सामाजिक सञ्जाल लेख्दै नेता बास्कोटाले क-कसले के-के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्- ‘फेरि केही गम्भिर गडबडीको खिचडी पाक्दै गरेका आशङ्का राजनीतिक बजारमा ब्याप्त । ककसले के के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो था छैन । राष्ट्रियता र लोकतन्त्र दल, नेता र ब्यक्ति भन्दा जहल्यै माथि नरहे सम्म हरेक पुस्ताले खेप्ने हैरानी उस्तै ।
८- नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से १०.२५ अंकले घटेर २६९८.४४ विन्दुमा पुगेर रोकिएको छ । आज ३३० कम्पनिका २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ मा कारोबार भएको थियो । आज लगानी र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज सुपरमाई हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने रिढी पावरको ९.९८ र खानीखोला हाइड्रोको ९.९७ प्रतिशतले बढेको छ । त्यसैगरी आज कालिन्चोक दर्शनको शेयर सबैभन्दा बढी ८.९१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सुपरमाई हाइड्रोको ५६ करोड बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ५१ करोड ४९ लाख बराबरको कारोबार भएको छ ।
९- न्यूजील्याण्डले आइसीसी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । आइतबार समुह डी अन्तर्गतको यस खेलमा न्यूजील्याण्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १८३ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १७.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । न्यूजील्याण्डका लागि टिम सेइफेर्टले सर्बाधिक ६५ रन बनाए भने ग्लेन फिलिप्सले ४२, मार्क चापम्यानले २८ रन बनाएका थिए । त्यस्तै डार्यल मिचेलले २५ र कप्तान मिचेल सान्टनरले १७ रन बनाएका थिए । त्यसैगरी अफगानिस्तानका मुजीब उर रहमानले २ विकेट लिएका थिए भने मोहमद नाबी, रसिद खान र अज्मतुल्लाह ओमरजाईले एक एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै १८२ रन बनाएको थियो । अफगानिस्तानका लागि गुलबदीन नैबले सर्बाधिक ६३ रन बनाए भने सेदीकुल्लाह अटलले २९, रहमनुल्लाह गुर्बाजले २७ र दरविश रसौलीले २० रन बनाएका थिए । त्यसैगरी न्यूजील्याण्डका बलर लुकी फर्गुसनले २ विकेट लिए भने माट हेनरी, ज्याकब डफी र रचिन रविन्द्रले एक एक विकेट लिएका थिए । अब न्यूजील्याण्डले अर्को खेल फेब्रुअरी १० मा युइएविरुद्ध खेल्ने छ भने अफगानिस्तानले फेब्रुअरी ११ मा दक्षिण अफ्रिकाको सामना गर्ने छ ।
१०- रुसी वरिष्ठ जनरलमाथि आक्रमण गरेको आशंकामा बन्दुकधारीलाई दुबईमा हिरासतमा लिइएको छ । रुसी सरकारी मिडियाका अनुसार सैन्य गुप्तचर विभागका उपप्रमुख भ्लादिमिर अलेक्सेभलाई शुक्रबार मस्कोमा गोली हान्ने संकास्पद व्यक्तिलाई दुबईमा हिरासतमा लिइएको छ । रुसी सुरक्षा सेवाले मुख्य संदिग्ध, एक रूसी नागरिकलाई युएई अधिकारीहरूको सहयोगमा पक्राउ गरिएको र संदिग्धलाई सुपुर्दगी गरिएको बताएको छ । रुसी सुरक्षा सेवाका अनुसार, संदिग्धको एक कथित सहयोगीलाई पनि मस्कोमा हिरासतमा लिइएको छ । क्रेमलिनले गोलीबारीको लागि युक्रेनलाई दोष लगाएको छ भने युक्रेनले यसलाई अस्वीकार गरेको छ ।
११- नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार स्वास्थ्य बीमा बारे भिडियो मार्फत पार्टीको धारणा सार्बजनिक गर्दै सभापति थापाले सबै नागरिकलाई अनिवार्य बीमाको व्यवस्था गर्ने र राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । अहिले स्वास्थ्य बीमाको सहि कार्यान्वयन नहुदा बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै थापाले यसको चुहावट रोक्न र सहित कार्यान्वयन गर्न आफुहरुले योजना बनाइरहेको उल्लेख गरेका छन् । उनले सबैलाई अनिवार्य बीमा गर्ने, न्यून आय भएकाहरुको प्रिमियम सरकार तिरिदिने, चुहावट रोक्ने तथा रक्सी चुरोटमा अतिरिक्त कर लगायर बीमाको रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने बताएका छन् । सभापति थापाले यस योजनाले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच दिलाउने र स्वास्थ्य क्षेत्रमा दीगो सुधार ल्याउने दाबि गर्दै योजना कार्यान्वयन गर्दा पारदर्शिता, प्रभावकारिता र दीगो सञ्चालन सुनिश्चित गर्ने योजना आफुहरुसँग रहेको बताएका हुन् । यस अघि थापा २०७३ मा स्वास्थ्यमन्त्री हुदा स्वास्थ्य बीमाको अवधारणा पहिलो पटका शुरु गरेका थिए ।
१२- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्कँदा भव्य स्वागत गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार फागुन १ गते पुर्व राजा ज्ञानेन्द्र काठमाडौँ आउन लागेकाले विमानस्थलमा स्वागत गर्ने भएको छ । उनले भनेका छन्- ‘हामी फागुन १ गते राजालाई काठमाण्डौं विमानस्थलमा भव्य स्वागत गर्नेछौं । निषेधको राजनीतिको अन्त्यका लागि देशभक्त, राष्ट्रवादी शक्तिहरु एकजुट बनौं ।’
१३- सरकारले आजदेखि फागुन १५ गतेसम्म ११ देखि १४ वर्ष उमेरका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान शुरु गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले आजदेखि फागुन १५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ । महाशाखाले आ–आफ्नो विद्यालय, नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा गएर खोप लगाउन सकिने जानकारी दिएको छ । त्यस्तै कक्षा ६ मा अध्ययन गर्ने सबै छात्राले यो खोप लगाउनु पर्ने र गतबर्षको अभियानमा छुट भएका कक्षा ७ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्रा तथा ११ देखि १४ बर्षसम्मका विद्यालय बाहिर रहेका गरी कुल ३ लाख ५० हजार किशोरीलाई खोप लगाउने तयारी गरिएको छ । सरकारले गत वर्ष ६ देखि १४ वर्षसम्मका करिब १६ लाख छात्रालाई खोप लगाएको थियो । यस वर्षबाट एपीभी खोपलाई नियमित खोप अभियान अन्तर्गत राखेर लगाउन लागेको हो ।
१४- मलेसियाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका छन् । त्यसपछि दुवैले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनको क्रममा मोदीले दुई देशबीचको बढ्दो सम्बन्धलाई समर्थन गर्न भारतले मलेसियामा नयाँ वाणिज्य दूतावास पनि खोल्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले भने- ‘भारत र मलेसियाको धेरै विशेष सम्बन्ध छ । हामी समुद्री छिमेकी हौं । शताब्दीयौंदेखि हाम्रा जनताबीच गहिरो र सौहार्दपूर्ण सम्बन्ध रहेको छ। आज, मलेसिया भारतीय मूलको जनसंख्या भएको विश्वको दोस्रो ठूलो देश हो । पछिल्ला केही वर्षहरूमा, हाम्रो सम्बन्धले नयाँ गति प्राप्त गरेको छ, र मेरा मित्र प्रधानमन्त्री अनवर इब्राहिमले यसमा विशेष योगदान दिएका छन् ।
ऊर्जा, पूर्वाधार र निर्माणमा हाम्रो सहयोग उल्लेखनीय रूपमा बलियो भएको छ ।’ प्रधानमन्त्री मोदीले डिजिटल अर्थतन्त्र, बायोटेक र आईटीमा पारस्परिक लगानी बढेको बताउदै यी उपलब्धिहरूबाट प्रेरित भएर, दुई देशबीचको साझेदारीमा अभूतपूर्व गति र गहिराइ ल्याउने निर्णय गरेको बताए । उनले सुरक्षा क्षेत्रमा, आतंकवाद विरोधी, गुप्तचर साझेदारी र समुद्री सुरक्षामा सहयोगलाई सुदृढ गर्ने बताउदै रक्षा सहयोगलाई पनि अझ विस्तार गर्ने बताए । साथै उनले एआई र डिजिटल प्रविधिहरूसँगै, अर्धचालक, स्वास्थ्य र खाद्य सुरक्षामा साझेदारीलाई अगाडि बढाउने समेत घोषणा गरेका छन् । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले भारत र मलेसियाले व्यापार, लगानी, कनेक्टिभिटी र रक्षामा सहयोग विस्तार गर्न जारी राख्ने बताए । उनले पर्यटन र कनेक्टिभिटी त्यस्ता क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताउडिया गत वर्ष यो क्षेत्रमा ठूलो वृद्धि देखेको बताए । उनले भिसा नियमहरू सहज बनाउने र हवाई कनेक्टिभिटी बढाउने कुराबाट थप लाभ उठाउने आशा गरेको बताए ।
१५- पृथ्वी राजमार्गअन्तर्गत धादिङको १० किलोमा दुई बस आपसमा ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा एक स्थानीयको मृत्यु भएको छ भने केही यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ । दाङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट त्रिशूलीतर्फ जाँदै गरेको बागमती ००६ ख ५२०८ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । ठक्करपछि दाङबाट काठमाडौँ आउँदै गरेको बस अनियन्त्रित भई सडकछेउस्थित स्थानीयको घरभित्र घुसेको थियो । बस घरभित्र छिर्दा चिया पिउँदै गरेका एक स्थानीयको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । घाइतेहरूको संख्या यकिन भइनसकेको र उनीहरूलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइँदै गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख शिशिर थापाले जानकारी दिएका छन् ।
१६- दक्षिण कोरियाले जनसंख्या बढ्दो दरमा देखिएपछि ठुलो राहत महसुस गरेको छ । तथ्यांकअनुसार, एक दशकभन्दा लामो समयदेखि घट्दै आएको जन्मदर पछिल्लो एक वर्षयता क्रमशः बढ्दै गएको छ, जसलाई सरकारका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ । सन् २०२४ मा दक्षिण कोरियाको प्रजनन दर ०.७४८ पुगेको छ, जुन नौ वर्षपछि पहिलोपटक वृद्धि हो । लगातार १७ महिनादेखि अघिल्लो वर्षको तुलनामा मासिक जन्म संख्या बढिरहेको सरकारी तथ्यांकले देखाएको छ । विज्ञहरूले कोभिड–१९ का कारण ढिलाइ भएका विवाह र सन्तान योजनाले अहिले ‘क्याच अप प्रभाव’ देखाएको विश्लेषण गरेका छन् ।
यद्यपि, बढ्दो जीवनयापन खर्च, कडा कार्यसंस्कृति, महँगो शिक्षा प्रणाली र परम्परागत सामाजिक सोच अझै ठूलो चुनौती बनेका छन् । धेरै महिलाले गर्भवती भएपछि जागिर छाड्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन् । निजी ट्युसन र बाल हेरचाहको अत्यधिक खर्चका कारण दक्षिण कोरिया सन्तान हुर्काउन सबैभन्दा महँगो देशमध्ये एक मानिन्छ । सरकारले आवास, बाल हेरचाह अनुदान, अभिभावक बिदा र नगद सहायता जस्ता नीति लागू गरे पनि विज्ञहरू यो वृद्धि दीर्घकालीन हुनेमा सशंकित छन् । संरचनात्मक र सांस्कृतिक समस्या समाधान नगरेसम्म जन्मदर पुनः घट्न सक्ने चेतावनी उनीहरूको छ ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको ९ हजार ५ सयले बढेर तोलाको ३ लाख ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९१ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०० रुपैयाँले बढेर तोलाको ५०१० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४७१० मा कारोबार भएको थियो ।
१८- जापानमा प्रधानमन्त्री साने ताकाइचीले आकस्मिक रूपमा घोषणा गरेको संसदीय निर्वाचनमा मतदानमा सहभागी भएका छन् । देशभर भइरहेको भिषण हिमपातलाई बेवास्ता गर्दै नागरिकहरू मतदानमा सहभागी भइरहेको एनएचकेले उल्लेख गरेको छ । जापानमा ३६ वर्षयताकै पहिलो मध्य–जाडोमा निर्वाचन भईरहेको छ । यस चुनावमा सर्वेक्षणहरूले ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) र जापान इन्नोभेसन पार्टीको गठबन्धनले तल्लो सदनका ४६५ सिटमध्ये करिब ३०० सिट जित्न अनुमान गरिएको छ । दलको नेतृत्वमा आएसंगै ताकाइचीले जनमत लिन चुनावको घोषणा गरेकी थिइन् ।
भ्रष्टाचार काण्ड र बढ्दो महँगीका कारण कमजोर बनेको एलडिपीका लागि यो चुनाव पुनरुत्थानको अवसर मानिएको छ । कर छुट र अनुदानको वाचाले लोकप्रिय बनेकी ताकाइचीको सरकारको स्वीकृति दर ७० प्रतिशतभन्दा माथि रहेको छ । अहिले जापानमा मतदाताबीच ताकाइची मेनिया भएको विश्लेषण गरिएको छ । तर भारी हिमपातका कारण कैयौं स्थानमा मतदान प्रभावित भएको बताइएको छ । प्रारम्भिक मतदान संख्या २०२४ को चुनावभन्दा २.५ प्रतिशत कम रहेको छ । निइगाता लगायतका क्षेत्रमा रेल, फेरी र उडान सेवा प्रभावित भएका छन्, टोकियोमै पनि दुर्लभ हिमपात परेको छ । सामाजिक सञ्जालमा अत्यन्त लोकप्रिय ताकाइचीको व्यक्तिगत लोकप्रियताले एलडिपीलाई फाइदा पुग्ने अनुमान गरिए पनि, खर्चमुखी नीति, भ्रष्टाचारको छायाँ र चीनसँगको तनावजस्ता विषयले चुनौती थपिएको बताइएको छ ।
१९- संयुक्त राज्य अमेरिकाले युक्रेन र रुसबीच जारी युद्ध अन्त्य गर्न जुन महिनाको समयसीमा तोकेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो जानकारी दिएका छन् । उनले अमेरिकाले यस समयसीमा भित्र दुवै पक्षलाई सम्झौतामा पुग्न दबाब दिन चाहेको बताएका छन् । जेलेन्स्कीले भनेका छन्- ‘यदि समयमै सम्झौता भएन भने, उनीहरूले दुवै देशमाथि अझ बढी दबाब दिनेछन् । परिणाम भयानक हुन सक्छ ।’ जेलेन्स्कीले अमेरिकाले पहिलो पटक संयुक्त राज्य अमेरिकामा त्रिपक्षीय वार्ताको अर्को चरण आयोजना गर्न सुझाव दिएको बताए । युक्रेनले यो प्रस्ताव स्वीकार गरेको छ र आफ्नो सहभागिता पुष्टि गरेको छ । यसअघि, अबुधाबीमा भएको त्रिपक्षीय बैठकमा कुनै ठूलो सम्झौता भएको थिएन । दुवै पक्ष आ-आफ्ना मागमा अडिग छन् ।
रूसले युक्रेनलाई डोनबास क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाउन माग गरिरहेको छ, जबकि युक्रेनले यो सर्त स्वीकार गर्न अस्वीकार गरेको छ । जेलेन्स्कीले भने- ‘डोनबास मुद्दामा प्रश्नहरू अनसुलझे नै छन् ।’ उनले सबैभन्दा जटिल मुद्दाहरू राष्ट्र प्रमुखहरूको बैठकमा मात्र समाधान गर्न सकिन्छ । वार्ताका क्रममा अमेरिकाले डोनबास क्षेत्रलाई स्वतन्त्र आर्थिक क्षेत्र बनाउने सुझाव दिएको थियो तर जेलेन्स्कीले यस विषयमा दुवै पक्षको फरक फरक विचार रहेको र यसलाई कार्यान्वयन गर्न गाह्रो भएको बताए । वार्तामा युद्धविरामको अनुगमन कसरी गर्ने भन्ने बारेमा पनि छलफल भएको थियो । अमेरिकाले यस प्रक्रियामा भूमिका खेल्ने आफ्नो इच्छा दोहोर्याएको छ । यसैबीच, रूसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारेको छ। जेलेन्स्कीले शनिबार राति रूसले पावर ग्रिड, विद्युत उत्पादन केन्द्र र नेटवर्क टावरहरूलाई लक्षित गर्दै ४०० भन्दा बढी ड्रोन र लगभग ४० क्षेप्यास्त्र प्रहार गरेको बताए ।
२०- संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एसएओ) को पछिल्लो प्रतिवेदन अनुसार, विश्वव्यापी खाद्यान्नको मूल्य लगातार पाँचौं महिनामा घटेको छ । दूध, चिनी र मासु जस्ता आवश्यक उत्पादनहरूको मूल्य अन्तर्राष्ट्रिय बजारमा गिरावट आएको हो, यद्यपि चामल र वनस्पति तेलको बढ्दो मूल्य चिन्ताको विषय बनेको छ । विश्वव्यापी रूपमा व्यापार हुने प्रमुख खाद्य उत्पादनहरूको मासिक मूल्य परिवर्तनलाई प्रतिबिम्बित गर्ने एफएओ खाद्य मूल्य सूचकांक जनवरी २०२६ मा औसत १२३.९ अंक थियो । यो डिसेम्बर २०२५ को तुलनामा ०.४ प्रतिशत कम र गत वर्षको सोही अवधिको तुलनामा ०.६ प्रतिशत कम हो ।
प्रतिवेदनका अनुसार, विश्वव्यापी बजारमा समग्र राहतको संकेत देखिए पनि, केही आवश्यक वस्तुहरूमा मुद्रास्फीतिले आगामी महिनाहरूमा चुनौती खडा गर्न सक्ने उल्लेख गरिएको छ । डिसेम्बर २०२५ को तुलनामा जनवरीमा अन्नको मूल्य ०.२ प्रतिशतले बढेको छ, अन्नको मूल्य सूचकांक औसत १०७.५ अंक रहेको छ । यस अवधिमा गहुँ र मकैको विश्वव्यापी मूल्यमा पनि थोरै गिरावट आएको छ ।एफएओका अनुसार, पर्याप्त विश्वव्यापी गहुँको भण्डारले रूस र संयुक्त राज्य अमेरिकामा मौसमसँग सम्बन्धित चिन्ताको प्रभावलाई सीमित गरेको छ ।
अर्जेन्टिना र अष्ट्रेलियामा राम्रो उत्पादनको अपेक्षा र उच्च विश्वव्यापी भण्डारले पनि मूल्य नियन्त्रणमा राख्न मद्दत गरेको बताइएको छ । यसको विपरीत, जनवरीमा चामलको मूल्य १.८ प्रतिशतले बढेको छ । एफओको तथ्याङ्क अनुसार, जनवरी २०२६ मा चिनीको मूल्य सूचकाङ्क १ प्रतिशतले घटेको छ । डिसेम्बर २०२५ मा ९०.७ रहेको यो सूचकाङ्क जनवरीमा ८९.८ मा झर्यो । यसको पछाडिको मुख्य कारण भारतमा उत्पादनमा भएको वृद्धि, थाइल्याण्डबाट आएको सकारात्मक संकेत र ब्राजिलमा राम्रो उत्पादन अनुमानका कारण विश्वव्यापी आपूर्तिमा वृद्धि हुने अपेक्षा मानिएको छ ।
FACEBOOK COMMENTS