काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१– वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइएको छ । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाहसहितका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भोटो देखाइएको थियो ।
पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । राजतन्त्रको समयमा राजा यो जात्रा हेर्न जाने गर्दथे भने गणतन्त्र आएपछि राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । रातो मच्छिन्द्रनाथको रथअगाडि परम्पराअनुसार भोटो प्रदर्शन गरिएसँगै यस वर्षको जात्राले औपचारिक रूपमा पूर्णता पाएको छ ।
२– सदर चिडियाखाना जावलाखेलमा बर्ड फ्लु (एच फाइभ एन वान) को संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह छानबिनमा तानिएका छन् । कोषको अध्यक्ष समेत रहेकी कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीको निर्देशनमा कोषले साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ ।
कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लूको कारण पत्ता लगायत प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजक्तमा ३ सदस्यसीय छानबिन समिति बनाएको हो । समितिको सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा मधु क्षेत्री सदस्य छन् । दुवै जनालाई एक हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख साहलाई केन्द्रीय कार्यालयमा तानेको छ । साहलाई जिम्मेवारीबाट हटाइएकाले चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिइएको छ ।

पशु सेवा विभागमा गरिएको नमुना परीक्षणबाट चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लु पुष्टि भएको थियो । चिडियाखानामा करिब १० दिनअघि बाटै पन्छी र जनावर मरेका भएपनि यसबारे प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई साहले कुनै जानकारी नै दिएका थिएनन् । चराचुरुंगीहरू मर्ने क्रम नरोकिएपछि परीक्षण गर्दा बकुल्ला, लाटोकोसेरो, गिद्ध तथा जनावरतर्फ नीरबिरालो र चरीबाघमा समेत बर्ड फ्लु फेला परेको थियो । रोग संक्रमणका कारण वन्यजन्तुहरू मरेको धेरै दिन बितिसक्दा कुनै जानकारी नदिइएपछि साहलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइएको छ । पछिल्ला समयमा चिडियाखानामा भएका श्रृङ्खलाबद्ध घटना र बर्ड फ्लु जस्तो संवेदनशील विषयमा बेलैमा केन्द्रलाई रिपोर्टिङ नगरेका कारण कोषले साहमाथि विभागीय कारबाही गर्दै अनुसन्धान अघि बढाएको हो ।

३– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारबाट चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी हुने भएका छन् । महाधिवेशनको उदघाटन सत्रमा शुभकामना दिन नेपाली काँग्रेसका सभापति गगन थापा उपस्थित हुन सक्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

उनले भने, ‘सम्भवत नेपाली काँग्रेसबाट सभापति नै आउने सम्भावना छ । शत प्रतिशत कन्फर्म भएको छैन तर उहाँ आउने सम्भावना रहेको जानकारी दिइएको छ ।’ त्यस्तै नेकपा एमालेबाट प्रदीप ज्ञवाली, नेकपाबाट बर्षामान पुन र राप्रपाबाट राजेन्द्र लिङदेन सहभागी हुदैछन् । बुर्लाकोटीले जसपा नेपाल, जनमत पार्टी र डा. बाबुराम भट्टराईलाई पनि उद्घाटन समारोहको निमन्त्रणा गरेको जानकारी दिएका छन् ।
४– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले असार ५ र ६ गते काठमाडौँमा बसेको केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार र महाधिवेशन तयारीलगायत विभिन्न निर्णय गरेको हो । बैठकले वर्तमान राजनीतिक परिस्थितिबारे गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएको छ ।
पार्टीले सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रतिबद्धता बोकेको सरकारले व्यवहारमा त्यसअनुसार काम गर्न नसकेको आरोप लगाएको छ । राप्रपाले सरकारमाथि विगतका सरकारकै शैलीमा शासन सञ्चालन गर्ने प्रयास भइरहेको भन्दै आलोचना गरेको छ भने परराष्ट्र नीतिमा स्पष्ट दृष्टिकोणको अभाव देखिएको र छिमेकी मुलुकहरूसँग अविश्वास बढ्ने जोखिम रहेको निष्कर्ष निकालेको छ । साथै प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपाले त्यसलाई प्रमाणसहित स्पष्ट गर्न वा सच्याउन माग गरेको छ । बैठकले सल्लाहकार र स्वकीय सचिवहरूको नियुक्तिमा योग्यताको सट्टा निकटता हाबी भएको आरोप लगाउँदै राज्य संयन्त्रमा अनियमित अभ्यास बढेको दाबी गरेको छ ।
त्यसैगरी राप्रपाले बजेटमा शिक्षा, स्वास्थ्य र विद्युत जस्ता क्षेत्रमा लगाइएको कर फिर्ता लिन सरकारसँग माग गर्दै मूल्यवृद्धि नियन्त्रण गरी दैनिक उपभोग्य वस्तु सस्तो बनाउन र बजार अनुगमन प्रभावकारी बनाउन आग्रह गरेको छ । त्यस्तै काठमाडौँका नदी किनारका बस्ती हटाउने क्रममा वैकल्पिक व्यवस्थापन नगरेको भन्दै राप्रपाले तत्काल पुनर्वासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । यसैगरी, निजी क्षेत्रमाथि अनावश्यक धरपकडले लगानी वातावरण बिग्रने चेतावनी दिँदै कानुनी प्रक्रिया अनुसार मात्र नियमन गर्न माग गरेको छ भने किसानलाई आवश्यक रासायनिक मल सहज रूपमा उपलब्ध गराउन र चिया क्षेत्रमा देखिएको समस्या समाधान गर्न पनि राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी २०८३ मंसिर २६, २७ र २८ गते काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ ।
त्यसका लागि अध्यक्ष लिङ्देनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । त्यसैगरी सक्रिय सदस्यता वितरण, जिल्ला र प्रदेश अधिवेशन, प्रतिनिधि चयन तथा निर्वाचनसम्बन्धी कार्यतालिका पनि बैठकले पारित गरेको छ । जसअनुसार भाद्र मसान्तभित्र जिल्ला अधिवेशन, असोजमा प्रदेश अधिवेशन र मंसिरमा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न गर्ने योजना बनाइएको छ । राप्रपाले राष्ट्रिय राजनीतिमा आफ्नो नीति र विचारको आवश्यकता अझ बढ्दै गएको दाबी गर्दै पार्टीका सबै सदस्यलाई उच्च मनोबलका साथ सक्रिय रहन आह्वान गरेको छ ।
५– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पार्टीको राष्ट्रिय महाधिवेशन निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, पारदर्शी तथा मर्यादित बनाउन ‘राष्ट्रिय महाधिवेशन निर्वाचन आचारसंहिता, २०८३’ जारी गरेको छ । पार्टीको विधान, राष्ट्रिय महाधिवेशन कार्यविधि तथा निर्वाचन कार्यविधिले दिएको अधिकार प्रयोग गर्दै आचारसंहिता जारी गरिएको हो ।
आचारसंहिताअनुसार उम्मेदवारी निर्वाचन आयोगबाट प्रमाणित भएपछि मात्र प्रचार–प्रसार गर्न पाइने, निर्वाचनलाई पूर्ण रूपमा व्यक्तिगत प्रतिस्पर्धामा आधारित बनाइएको भन्दै कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त सूची वा गुटगत आधारमा प्रचार गर्न रोक लगाइएको छ । निर्वाचन प्रचारका लागि एउटा मात्र पोस्टर प्रयोग गर्न पाइने, महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा ब्यानर, फ्लेक्स, पर्चा, पम्प्लेट वा अन्य प्रचार सामग्री प्रदर्शन तथा वितरण गर्न निषेध गरिएको छ भने सामाजिक सञ्जाल, एसएमएस वा अन्य सञ्चारमाध्यममार्फत भ्रामक सूचना फैलाउन, सशुल्क विज्ञापन गर्न वा मत माग्न नपाइने व्यवस्था आचारसंहितामा गरिएको छ ।
साथै उम्मेदवारले प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न सक्ने भए पनि नाराबाजी, जुलुस, शक्ति प्रदर्शन वा होहल्लाजस्ता गतिविधिमा रोक भने लगाइएको छ । साथै आचारसंहिताले पार्टीका बहालवाला पदाधिकारी, मन्त्री तथा सांसदलगायत जिम्मेवारीमा रहेका सदस्यलाई आफ्नो पद, स्रोत, अधिकार वा प्रभाव प्रयोग गरी निर्वाचन प्रभावित पार्न नपाइने तथा आर्थिक प्रलोभन, उपहार वितरण, भोजभतेर, पदको आश्वासन, डर–धम्की तथा चरित्रहत्याका गतिविधि पनि निषेध गरिएको छ । त्यसै गरि मतदान प्रक्रियालाई गोप्य र व्यवस्थित बनाउन मतदान कक्षभित्र मोबाइल फोन, क्यामेरा वा अन्य इलेक्ट्रोनिक उपकरण लैजान तथा फोटो वा भिडियो खिच्न प्रतिबन्ध लगाइएको छ भने बन्द सत्रमा निर्वाचन आयोगबाट स्वीकृत प्रतिनिधि, उम्मेदवार तथा सम्बन्धित कर्मचारी र प्राविधिक सहयोगी मात्र प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ । त्यसैगरी आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी घटना भएको २४ घण्टाभित्र वा निर्वाचन परिणाम घोषणा हुनुअघि वस्तुनिष्ठ प्रमाणसहित दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
उल्लंघन प्रमाणित भएमा चेतावनीदेखि उम्मेदवारी खारेजीसम्मका कारबाही हुन सक्ने र आवश्यक परे केन्द्रीय अनुशासन आयोगमा सिफारिस गरिने उल्लेख गरिएको छ । आइतबारदेखि हुने रास्वपाको प्रथम महाधिवेशनमा देशभरका करिब ४ हजार प्रतिनिधि सहभागी हुदैछन् भने महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने छ ।
६– इजरायल र हिजबुल्लाहबीच शुक्रबार युद्धविराममा सहमति भए पनि त्यसको भोलिपल्ट शनिबार इजरायलले दक्षिणी लेबनानमा फेरि हवाई आक्रमण गरेको छ । इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायल का अनुसार यी आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ । लेबनानको सरकारी समाचार संस्था एनएनएका अनुसार इजरायली विमान र ड्रोनले शनिबार बिहानसम्म नबातिएह क्षेत्रमा विभिन्न स्थानमा आक्रमण गरेका थिए । आक्रमणका कारण आवासीय भवन र घरहरू ठूलो क्षति पुगेको बताइएको छ ।
साथै इजरायली सेनाले तोपबाट पनि गोलाबारी गरेको उल्लेख छ । यता, अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार अमेरिका र इरानबीच शान्ति सम्झौता भएपछि आगामी शर्तबारे वार्ताका लागि विशेष दूत स्टिभ विटकोफ शनिबार स्विट्जरल्यान्ड प्रस्थान गरेका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुशनर पनि उक्त वार्तामा सहभागी हुन सक्ने बताइएको छ । त्यसैगरी, सञ्चारमाध्यम एक्सियोसका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघची पनि आजै वार्ताका लागि स्विट्जरल्यान्ड पुग्न सक्ने सम्भावना छ । हिजबुल्लाहका एक वरिष्ठ सांसदले इजरायली सेना लेबनानको भूमिमा रहिरहेसम्म कुनै पनि युद्धविराम अर्थहीन हुने बताएका छन् ।
हिजबुल्लाहका प्रतिनिधि अली फय्यादले इरानको तस्नीम समाचार संस्थासँग कुरा गर्दै आफ्नो अडान स्पष्ट रहेको बताएका छन् । उनका अनुसार आक्रमण र निशाना बनाउने क्रम जारी रहेसम्म युद्धविरामको कुनै अर्थ रहँदैन । उनले आत्मरक्षाको अधिकार पूर्ण रूपमा जायज रहेको भन्दै यस विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् । फय्यादले इरानको समर्थन उल्लेख गर्दै लेबनानलाई प्राप्त सैन्य तथा कूटनीतिक सहयोग जारी रहने बताए । यसले इजरायलमाथि दबाब बढाउने उनको भनाइ छ । उनले यही अवस्था कायम रहेमा इजरायल अन्तत: लेबनानबाट पछि हट्न बाध्य हुने दाबी पनि गरेका छन् ।
७– सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त दरखास्त आह्वान गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा व्यावसायिक कार्य योजना पेस गर्न भनिएको ।
सूचनामा भनिएको छ, निजामती कर्मचारी अस्पताल विकास समिति (गठन)आदेश, २०६४ को दफा ६ बमोजिम निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि सोही दफा ६ र निजामती कर्मचारी अस्पताल (कार्यकारी निर्देशकको नियुक्ति, काम, कर्तव्य, अधिकार र सेवा सुविधा) विनियमावली, २०७७ बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वेबसाइटमा राखिएको विस्तृत सूचनामा उल्लेख भएका विवरणहरू सहित यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी कल्याण शाखामा सिलबन्दी खामभित्र व्यावसायिक कार्य यो जना संलग्न गरी आवेदन दस्तुर बापत रु. ५,००० ।(पाँच हजार रुपियाँ) जम्मा गरेको सक्कल भौचर सहित आवेदन पेस गर्नुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
८– पोखरा बसपार्क क्षेत्रको संरचना व्यवस्थापन र सुकुम्वासी बस्तीको तथ्याङ्क प्रमाणीकरणको काम तीव्र पारिएको छ । सम्बन्धित निकायले भ्रमपूर्ण सूचना र भड्काउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ । पोखरा बसपार्कभित्र रहेको पेट्रोल पम्पको मेसिन सुरक्षित रूपमा छोपिने तथा भूमिगत इन्धन भण्डारण ट्याङ्की रहेको क्षेत्रको विशेष सुरक्षा गरिने जनाइएको छ । त्यसबाहेकका अन्य संरचना भने हटाइनेछन् ।
सेती नदीतर्फ रहेको बास्तोला कम्प्लेक्ससहित बाँकी संरचना शनिबार हटाउने कार्य सुरू गरिने र संरचना हटाइसकेपछि त्यहाँ रहेका निर्माण सामग्री व्यवस्थापन गरी क्षेत्र पूर्ण रूपमा सफा गरिने बताइएको छ । यता, सुकुम्वासी बस्ती व्यवस्थापनअन्तर्गत ५७२ परिवारमध्ये ३३७ परिवारको कागजात प्रमाणीकरण सम्पन्न भएको छ । गलत वा झुट्टा विवरण पेस गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिदै सुकुम्वासी बस्तीको व्यवस्थापन नगरी हटाउने काम नगरिने स्पष्ट पारेको छ ।
साथै, लालपुर्जा भएका जग्गाधनीहरूको छानबिन कार्य पनि तीव्र गतिमा अघि बढाइएको जनाएको छ । महानगरले अनधिकृत सूचना प्रवाह तथा राजनीतिक उद्देश्यले गरिने गतिविधिमाथि निगरानी बढाइने बताएको छ । गैर–सुकुम्वासी व्यक्तिहरूलाई सुकुम्वासी नेताका रूपमा प्रस्तुत नहुन पनि आग्रह गरिएको छ । विवरण प्रमाणीकरण प्रक्रिया पूरा भएपछि सुकुम्वासी बस्तीलाई व्यवस्थित रूपमा स्थानान्तरण गरिने जनाइएको छ ।
९– उदयपुरको उदयपुरगढी गाउँपालिका–०७ जोगीटोलमा स्कुल बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । शनिबार बिहान करिब ०८:५० बजे महोत्तरीबाट सुनसरीतर्फ आउँदै गरेको बा २ ख ६४३८ नम्बरको दीप एजुकेशन बोर्डिङ स्कुलको स्टाफ बोकेको बस अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका महोत्तरी बर्दिबास नगरपालिका बस्ने ५५ वर्षीय विमलेश दत्तको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, ५ जनाको मध्यम र २३ जनाको अवस्था सामान्य रहेको छ । गम्भीर घाइते रसिला कुमारी चौधरी र सन्देश कुमार चौधरीलाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ । बस चालक जिल्ला महोत्तरी, गौशाला नगरपालिका–१० निवासी २८ वर्षीय जीवन आले सकुशल रहेका छन् । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
१०– इरान फुटबल महासंघले विश्वकप आयोजकमाथि आफ्नो राष्ट्रिय टोलीप्रति भेदभाव गरिएको आरोप लगाएको छ । महासचिव हेदायत मोम्बेनीले यसलाई विश्वकप इतिहासकै ‘कालो अध्याय’ भनेका छन् । इरानको टोली हाल मेक्सिकोमा बसिरहेको छ ।
टोलीले आइतबार लस एन्जलसमा बेल्जियमसँग खेल्नुअघि कम्तीमा दुई दिन पहिले अमेरिका पुग्ने अनुमति मागेको थियो, किनभने खेल स्थानीय समयअनुसार दिउँसो १२ बजे सुरू हुने तय छ । तर इरान फुटबल महासंघका अनुसार उक्त अनुरोध अस्वीकृत गरिएको छ । तिजुआनास्थित प्रशिक्षण शिविरमा पत्रकारहरूसँग कुरा गर्दै मोम्बेनीले भने, ’यो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । हामीसँग भएका सहमति र नियमको यस्तो उल्लंघनले फुटबलको निष्पक्षतामाथि प्रश्न उठाएको छ ।’ तर अमेरिकाले इरानका आरोप अस्वीकार गरेको छ ।
ह्वाइट हाउसको विश्व फुटबल कार्यदलका प्रमुख एन्ड्र्यू जुलियानीले इरानलाई पहिले नै जानकारी दिइएको र उनीहरूलाई खेलअघि एक दिन मात्र अमेरिका प्रवेश गर्न अनुमति रहने बताइएको दाबी गरेका छन् ।
११– इजरायलमा गरिएको एक नयाँ सर्वेक्षणले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्यबारे चासो बढाएको छ । इजरायली मिडिया ‘च्यानल बाह्र’ ले गरेको सर्वेअनुसार आगामी चुनावअघि धेरैजसो नागरिकले नेतान्याहूले अब राजनीतिबाट अलग हुनुपर्ने र फेरि चुनाव नलड्नुपर्ने धारणा राखेका छन् ।
सर्वेमा सहभागीमध्ये ५९ प्रतिशतले नेतान्याहूले पुन: चुनाव लड्न नहुने पक्षमा आफ्नो राय दिएका छन् भने ३३ प्रतिशतले उनी फेरि मैदानमा उत्रिनुपर्ने पक्षमा मत दिएका छन् । बाँकी ८ प्रतिशतले कुनै स्पष्ट राय दिएका छैनन् । नेतान्याहू सन् २०२२ डिसेम्बर २९ देखि लगातार इजरायलको प्रधानमन्त्री पदमा छन् ।
त्यस्तै, नेतान्याहूपछि उनको पार्टीको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्नमा अर्थमन्त्री नीर बरकातलाई १८ प्रतिशतले समर्थन गरेका छन् । न्यायमन्त्री यारिभ लेविनलाई ९ प्रतिशत, रक्षा मन्त्री इजरायल काट्जलाई ७ प्रतिशत र संसद अध्यक्ष आमिर ओहाना लाई ६ प्रतिशतले समर्थन जनाएका छन् ।
१२– विश्वकप फुटबलमा पाराग्वेले टर्कीलाई १–० ले पराजित गर्दै अन्तिम ३२ मा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ । खेलको सुरूवातमै गरिएको गोल निर्णायक बने पनि खेलपछि ठूलो चर्चा खेलाडी मिगुएल अल्मिरोनको रातो कार्डले तानेको छ । खेलको मात्र ६४ सेकेन्डमै पाराग्वेका मिडफिल्डर माटियास गालार्जाले बक्स बाहिरबाट प्रहार गरेको बलले गोलमा परिणत हुँदै प्रतियोगिताकै अहिलेसम्मको सबैभन्दा छिटो गोल बनायो ।
यही गोल नै अन्तत: निर्णायक बन्यो । पहिलो हाफको अतिरिक्त समयमा टर्कीका डिफेन्डर मर्ट मुल्दुरसँगको विवादका क्रममा अल्मिरोनले मुख छोपेको देखिएपछि भिडियो सहायक रेफ्रीले समीक्षा गरेका थिए । त्यसपछि रेफ्री इभान बार्टनले उनलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए । विश्वकपअघि लागू गरिएको नयाँ नियमअनुसार यस्तो घटनामा कडा कारबाही गरिएको हो । यसअघि नै पराजित भएर दबाबमा रहेका दुवै टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । टर्कीले पहिलो हाफमा खेल नियन्त्रणमा राखे पनि १२ प्रहारमध्ये मात्र १ प्रहार लक्ष्यमा राख्न सकेको थियो । मर्ट मुल्दुरको एक हेडर बार र पोस्ट दुवैमा लागेर फर्किएको थियो ।
दोस्रो हाफमा पनि टर्कीले लगातार दबाब बनाए पनि पाराग्वेले १० खेलाडीमै दृढतापूर्वक रक्षा गर्दै खेल सम्हाल्यो । मेरिह दिमिरालले केही अवसर सिर्जना गरे पनि पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले उत्कृष्ट बचाउ गरे । सब्स्टिच्युट डेनिज गुलले नजिकबाट हेडरमा राम्रो मौका गुमाए भने क्यान उजुनको प्रहार पनि गिलले रोकिदिए ।
अन्तिम समयमा गुलको अर्को प्रहार बाहिरियो, यद्यपि त्यो अफसाइडका कारण मान्य नहुने सम्भावना थियो । टर्कीले पहिलो खेलमा पनि ३० भन्दा बढी प्रहार गरे पनि गोल गर्न सकेको थिएन, यस खेलमा पनि ३२ प्रहार गर्दा समेत सफलता पाउन सकेन र प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ । अब पाराग्वेले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियालाई हराउन सके अन्तिम चरणमा प्रवेश गर्नेछ ।
१३– नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी पुनर्गठनको बहानामा राष्ट्रिय स्वाभिमान र जनताको बहुदलीय जनवादमाथि प्रहार कल्पना पनि गर्न नसकिने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले अहिले एमालेमा चलेको पार्टी पुनर्गठनको बहसमा टिप्पणी गर्दै राष्ट्रिय स्वाभिमान, जनताको बहुदलीय जनवादमाथि प्रहार र विदेशी एजेन्डासामु घुँडा टेक्नेहरूको हातमा एमाले संगठन सुम्पिने कल्पना पनि गर्न कल्पना पनि गर्न नसकिने बताएका हुन् ।
उनले एमालेको संगठन लाखौँ कार्यकर्ताको त्याग, समर्पण, संघर्ष र बलिदानको जगमा निर्मित भएको बताउदै यो कुनै अवसरवादी समूह वा व्यक्तिहरूको निजी स्वार्थ पूरा गर्ने साधन नभएको बताएका छन् । उनले पार्टीको भविष्य, विचार र संगठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुने भन्दै कुनै स्वार्थ समूहको इच्छाबाट नहुने स्पष्ट गरेका छन् ।
१४– प्रविधि कम्पनी एप्पलले छिट्टै आइफोनसहित आफ्ना अन्य उत्पादनको मूल्य बढाउन सक्ने संकेत गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले विश्वव्यापी रूपमा मेमोरी र भण्डारण चिपको अभाव बढ्दै जाँदा उत्पादन लागत उल्लेखनीय रूपमा बढेको बताएका छन् । उनका अनुसार एप्पलले अहिलेसम्म बढेको लागत आफैंले व्यहोर्दै आएको थियो ।
तर आपूर्तिकर्ताबाट बढ्दो दबाब आएपछि अब मूल्य वृद्धि गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसको प्रत्यक्ष असर यसै वर्ष सार्वजनिक हुने अपेक्षा गरिएको आइफोन १८ सिरिजमा पर्न सक्ने अनुमान गरिएको छ । यसअघि मूल्य स्थिर रहने चर्चा भए पनि टिम कुकको अभिव्यक्तिपछि नयाँ मोडेल महँगो हुन सक्ने सम्भावना बढेको छ । यसअघि साओमी, वनप्लस र ओप्पो जस्ता कम्पनीहरूले आफ्ना स्मार्टफोनको मूल्य बढाइसकेका छन् ।
एप्पलले भने लामो समयसम्म आफ्ना प्रमुख मोडेलको प्रारम्भिक मूल्य स्थिर राख्दै बजारमा प्रतिस्पर्धात्मक स्थिति कायम राखेको थियो । टिम कुकको यो भनाइ एप्पलले आफ्नो पहिलो फोल्ड गर्न मिल्ने आइफोन तथा आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स सार्वजनिक गर्ने तयारी गरिरहेका बेला आएको हो । फोल्ड गर्न मिल्ने उपकरणमा प्रयोग हुने सामग्रीको लागत सामान्य स्मार्टफोनभन्दा धेरै हुने भएकाले मूल्यमा थप दबाब पर्ने देखिएको छ । उनले एप्पलले आफ्नै चिप उत्पादन कारखाना स्थापना नगर्ने स्पष्ट पार्दै आपूर्ति सुदृढ बनाउन नयाँ स्रोत र विकल्प खोजिने बताए ।
साथै भूराजनीतिक र नियामकीय अवरोधका कारण सीमित भएका आपूर्ति सञ्जालको पनि पुनर्मूल्याङ्कन गरिने उनले जानकारी दिए । विश्वव्यापी कृत्रिम बुद्धिमत्ता प्रविधिको तीव्र विस्तारले पनि चिपको माग असाधारण रूपमा बढाएको छ । कृत्रिम बुद्धिमत्तासम्बन्धी सर्भर र डाटा केन्द्रमा अत्यधिक चिप प्रयोग हुन थालेपछि स्मार्टफोन तथा अन्य उपभोक्ता सामग्री उत्पादक कम्पनीहरूमा आवश्यक सामग्रीको अभाव देखिन थालेको हो ।
विशेषज्ञहरूका अनुसार यो समस्या स्मार्टफोन उद्योगमा मात्रै सीमित छैन । सवारीसाधन, विद्युतीय उपकरण र अन्य उपभोक्ता सामग्रीको मूल्य पनि आगामी दिनमा बढ्न सक्ने चेतावनी उद्योग क्षेत्रले दिएको छ ।
१५– फरवार्ड मातियस कुन्हाले दुई गोल गरेपछि ब्राजिलले हैटीलाई सहजै पराजित गरेको छ । यससँगै हैटी २०२६ को विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ । कार्लो एन्सेलोटीको टोलीले समूह चरणको पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेपछि आएको आलोचनालाई जवाफ दिँदै उत्कृष्ट प्रदर्शन गरेको हो ।
कमजोर प्रतिद्वन्द्वीविरुद्ध भए पनि ब्राजिलले प्रभावशाली खेल देखाउँदै समूह सी को शीर्ष स्थानमा उक्लिएको छ । कुन्हाले २३औँ मिनेटमा भाग्यशाली गोल गर्दै अग्रता दिलाए । हैटीका डिफेन्डर हानेस डेलक्रोइक्सले बल उनलाई लाग्ने गरी किक गर्दा बल सिधै जालीमा पुगेको थियो । त्यसअघि हैटीका गोलकिपर जोनी प्लासिडले भिनिसियस जुनियरको प्रहार रोक्दै फर्काएको बलमा डेलक्रोइक्सको प्रतिक्रिया ढिलो हुँदा ब्राजिलले अवसर पाएको थियो ।
उनले दोस्रो गोल पहिलो हाफ सकिनुभन्दा नौ मिनेटअघि गरेका हुन् । भिनिसियस जुनियरको उत्कृष्ट पासमा उनी गोलकिपरसँग एक्लै हुँदै बललाई शक्तिशाली प्रहार गर्दै गोलपोस्टको माथिल्लो कुनामा पठाउन सफल भए । पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले पनि गोल थपे । लुकास पाक्वेटाको उत्कृष्ट लामो पासमा उनले नियन्त्रणमा लिएर सहजै गोल गर्दै प्रतियोगितामा आफ्नो दोस्रो गोल पूरा गरेका थिए । ब्राजिलका लागि चिन्ताको विषय बार्सिलोनाका विंगर राफिन्हा चोटका कारण पहिलो हाफमै मैदान छोड्नु रह्यो ।
उनलाई बोर्नमाउथका रयानले प्रतिस्थापन गरेका थिए । दोस्रो हाफमा ब्राजिलका गोलकिपर एलिसनले एक उत्कृष्ट बचाउ गरेपछि हैटीले केही क्षण दबाब सिर्जना गरे पनि खेलको नतिजा कहिल्यै पनि जोखिममा परेन । खेलको अन्त्यतिर किशोर खेलाडी एन्ड्रिकले विश्वकप डेब्युमा गोल गरे पनि अफसाइडको कारण उनको खुशी छोटो भयो ।
१६– नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार बिहान करिब ५ बजे काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०६६५ नम्बरको बसले चिसापानीमा यात्रु ओराली सडक मोड्ने क्रममा सोही दिशातर्फ आइरहेको ना ५ ख १९०५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–६ की ३० वर्षीया नेहा गुरुङ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि चिसापानी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–६ का ३२ वर्षीय मदन क्षेत्री, बस चालक बर्दघाट नगरपालिका–४ का ४८ वर्षीय लक्ष्मण ज्ञवाली र प्रतापपुर गाउँपालिका–९ का ३५ वर्षीय दिनानाथ चौधरी घाइते भएका छन् । घाइतेमध्ये चालक ज्ञवालीलाई थप उपचारका लागि रूपन्देहीस्थित देवदह मेडिकल कलेजमा रिफर गरिएको छ भने अन्यको चिसापानी अस्पतालमा उपचार भइरहेको छ ।
बसमा सवार १५ यात्रुमध्ये ११ जना सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक चालक धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय विष्णु थापा मगरलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अब ब्राजिलले अर्को खेल जुन २५ मा स्कटल्याण्डसँग खेल्ने छ भने हैटीले सोहि दिन मोरक्कोको सामना गर्ने छ ।
१७– पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ ।०८४ का लागि ७ अर्ब १५ करोड २५ लाख बजेट प्रस्तुत गरेको छ । १९औँ नगर सभाको बैठकमा उपप्रमुख मन्जुदेवी गुरुङले महानगरपालिकाका वार्षिक नीति तथा कार्यक्रमहरू कार्यान्वयनका लागि ७ अर्ब १५ करोड २५ लाख बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटको खर्च व्यहोर्ने स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट २ अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट ५ करोड ५० लाख, सङ्घीय सरकार समपूरक अनुदान १ करोड ८२ लाख, सङ्घीय सरकार समानिकरण अनुदान ४९ करोड ३७ लाख गरी सङ्घीय सरकार वित्तीय हस्तान्तरणको कुल योगदान ३ अर्ब १८ करोड ६० लाख रहने छ । यस्तै गण्डकी प्रदेश सरकार समपूरक अनुदान तर्फ ६० लाख, गण्डकी प्रदेश सरकार विशेष अनुदान ४० लाख र गण्डकी प्रदेश सरकार समानिकरण अनुदान तर्फ ८ करोड १५ लाख ३६ हजार गरी प्रदेश सरकार वित्तीय हस्तान्तरणको कुल योगदान ९ करोड १५ लाख ३६ हजार हुनेछ ।
त्यस्तै राजश्व बाँडफाँड तर्फ सङ्घीय सरकारबाट प्राप्त हुने ३४ करोड ३४ लाख ७३ हजार, राजश्व बाँडफाँड गण्डकी प्रदेश सरकारबाट ४ करोड ९ लाख ८६ हजार, राजश्व बाँडफाँड स्थानीय सरकार तर्फ १ अर्ब ३१ लाख १४ हजार र आन्तरिक स्रोत तर्फ २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार हुने अनुमान गरिएको छ ।
कूल विनियोजन ७ अर्ब १५ करोड २५ लाख मध्ये चालु खर्च तर्फ ५५.१५ प्रतिशत तथा पुँजीगत खर्च तर्फ ४४.९५ प्रतिशत रहेको छ । पोखरा महानगरपालिकाको आर्थिक विधेयक २०८३ तथा विनियोजन विधेयक २०८३ समेत सभामा पेस भएको छ । सभाको अर्को बैठक आषाढ १७ गते दिउँसो २ बजे बस्ने महानगरले जनाएको छ ।
१८– स्कटल्यान्ड मोरक्कोसँग १– ० ले पराजित भए पनि विश्वकपको नकआउट चरणमा पुग्ने आशा अझै जीवित राख्न सफल भएको छ । अब उसको भविष्य अन्तिम समूह खेलमा निर्भर रहनेछ । खेल सुरू भएको ७१ सेकेन्डमै गोल खाँदा स्कटल्यान्डले निकै खराब सुरूआत गरेको थियो । अफ्रिका कप अफ नेसन्सको विजेता तथा विश्व वरीयताको पाँचौँ स्थानमा रहेको मोरक्कोका इस्माइल साइबारीले दोस्रो मिनेटभित्रै शानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
प्रशिक्षक स्टिभ क्लार्कले हैटीविरुद्धको जितपछि टोलीमा केही परिवर्तन गरेका थिए । मोरक्कोका कप्तान अशरफ हाकिमीलाई नियन्त्रणमा राख्ने उद्देश्यले किरन टियर्नीलाई बायाँ मिडफिल्डमा उतारिएको थियो । तर स्कटल्यान्डको योजना सुरूमै असफल बन्यो । डिफेन्डर ग्रान्ट ह्यान्ली र ज्याक हेन्ड्रीको कमजोरीको फाइदा उठाउँदै साइबारीले गोल गरेपछि स्कटल्यान्ड दबाबमा परेको थियो । मोरक्कोले खेलभर अधिकांश समय नियन्त्रण कायम राखे पनि स्कटल्यान्डलाई थप गोल भने गर्न सकेन । पहिलो हाफको अन्त्यतिर जोन म्याकगिनले बराबरी गर्ने राम्रो अवसर पाए पनि उनको प्रहार लक्ष्यभन्दा बाहिरियो ।
दोस्रो हाफमा स्कटल्यान्डले केही राम्रो प्रदर्शन गर्दै पेनाल्टीको माग गरेको थियो । म्याकगिन र स्कट म्याकटोमिने दुवै पटक मैदानमा लडे पनि रेफ्रीले पेनाल्टी दिएनन् । उता, डिफेन्डर ज्याक हेन्ड्रीको अन्तिम क्षणको उत्कृष्ट ब्लक र गोलरक्षक एङ्गस गनको शानदार बचाउले स्कटल्यान्डलाई थप गोल खानबाट जोगायो ।
खेलको अन्त्यतिर स्कटल्यान्डले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । पराजयपछि पनि स्कटल्यान्डको नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेको छ । अब उसले जुन २५ मा हुने अन्तिम समूह खेलमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै मोरक्कोले अन्तिम खेलमा सोहि दिन हैटीको सामना गर्ने छ ।
१९– आयोजक राष्ट्र अमेरिकाले प्रभावशाली प्रदर्शन गर्दै अष्ट्रेलियालाई २–० ले पराजित गरेर विश्वकप समूह चरणको शीर्ष स्थानतर्फ बलियो कदम चालेको छ । खचाखच भरिएको सियाटल रंगशालामा भएको खेलमा अमेरिकाले सुरूदेखि नै उच्च दबाब सिर्जना गरेको थियो । यस जितसँगै अमेरिका सन् १९३० पछि पहिलो पटक विश्वकपमा लगातार दुई खेल जित्दै अन्तिम ३२ मा पुगेको छ । यदि टर्कीले आज पाराग्वेलाई पराजित गर्न नसके अमेरिका समूह विजेता बन्नेछ ।
यद्यपि टोली तेस्रो स्थानमा झर्ने सम्भावना पनि कायम रहेकाले उत्कृष्ट आठ तेस्रो स्थान प्राप्त टोलीमध्ये एकका रूपमा पनि अघि बढ्न सक्छ । पिँडुलाको चोटका कारण प्रमुख खेलाडी क्रिस्टियन पुलिसिक अनुपस्थित रहे पनि अमेरिकाले त्यसको असर महसुस हुन दिएन । खेलको ११औँ मिनेटमा फ्लोरिन बालोगनको क्रस रोक्ने क्रममा अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आत्मघाती गोल गरेपछि अमेरिका अघि बढेको थियो । पहिलो हाफ सकिन केही मिनेट बाँकी रहँदा एलेक्स फ्रिम्यानले सर्जिनो डेस्टको प्रहारबाट फर्किएको बललाई हेडमार्फत जाली चुमाउँदै अग्रता दोब्बर बनाए । सुरूमा अफसाइड भनिए पनि भिडियो सहायक रेफ्रीको परीक्षणपछि गोललाई मान्यता दिइएको थियो ।
पहिलो खेलमा पाराग्वेविरुद्ध दुई गोल गरेका बालोगनले यस खेलमा पनि उत्कृष्ट प्रदर्शन गरे । अष्ट्रेलियाले भने खेलभर खासै दबाब सिर्जना गर्न सकेन । दोस्रो हाफमा नेस्टोरी इरानकुन्डा मैदान प्रवेश गरेपछि अष्ट्रेलियाको प्रदर्शन केही सुधारिएको थियो । कप्तान ह्यारी साउटरले पनि अवसर पाए तर त्यसलाई गोलमा परिणत गर्न सकेनन् । यदि अमेरिका समूह ‘डी’ को शीर्ष स्थानमा रह्यो भने अन्तिम ३२ मा उसले तेस्रो स्थान हासिल गरेको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
२०– दक्षिण भारतका अभिनेता अल्लु अर्जुन कानुनी झमेलामा फसेका छन् । सन् २०२४ डिसेम्बर ४ मा चलचित्र पुष्पा– २ को विशेष प्रदर्शनका क्रममा भएको भागदौड (भीड नियन्त्रण बाहिर गएर भएको दुर्घटना) सम्बन्धी मुद्दामा अदालतले उनलाई हाजिर हुन आदेश दिएपछि उनी कानुनी झमेलामा परेका हुन् ।
हैदराबादस्थित नामपल्ली अदालतले यस घटनासँग जोडिएका व्यक्तिहरूलाई समन जारी गर्दै यही जुन २२ मा अदालतमा आफैं उपस्थित हुन आदेश दिएको छ । घटना २०२४ डिसेम्बर ४ मा संध्या थियटर बाहिर भएको थियो, जहाँ विशेष प्रदर्शनका क्रममा ठूलो संख्यामा दर्शक भेला भएका थिए । आफ्नो मनपर्ने कलाकारको झलक हेर्न हजारौं फ्यानहरू थियटर बाहिर जम्मा भएपछि भीड अत्यधिक बढेको थियो ।
प्राप्त विवरणअनुसार अभिनेता अल्लु अर्जुन आफ्नो कारको सनरूफबाट बाहिर निस्केर फ्यानलाई हात हल्लाइरहेका बेला अचानक भीड अनियन्त्रित भई भागदौड मच्चिएको थियो । सो दुर्घटनामा रेभती नामकी एक महिलाको ज्यान गएको थियो भने उनका छोरा श्री तेजा गम्भीर रूपमा घाइते भएका थिए ।
प्रहरी अनुसन्धानमा अल्लु अर्जुनलाई आरोपी नम्बर ११ (ए ११) का रूपमा सूचीकृत गरिएको छ । थियटर व्यवस्थापनलाई भने आरोपी नम्बर १ देखि १० सम्म राखिएको छ । यस घटनामा कुल १९ जनालाई समन जारी गरिएको छ भने २३ जनाविरुद्ध अभियोग पत्र दायर भइसकेको छ । घटनापछि अल्लु अर्जुन र उनका परिवारले पीडित परिवारलाई आर्थिक सहयोग गरेका थिए ।
उनका पिता तथा चलचित्र निर्माता अल्लु अरविन्दले रेभतीको परिवारलाई २ करोड भारु सहयोग दिने घोषणा गरेका थिए । अब सबैको ध्यान जुन २२ गते हुने सुनुवाइमा केन्द्रित छ, जहाँ यस मुद्दाको आगामी दिशा स्पष्ट हुने अपेक्षा गरिएको छ ।