काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा भएको छ ।
प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मुख्यसचिव एकनारायण अर्याल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, विभिन्न मन्त्रालयका सचिवलगायतका अधिकारीहरुको उपस्थितिमा समीक्षा बैठक बसेको थियो ।
प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले समीक्षासम्बन्धी प्रस्तुतीकरण दिएका थिए । उनको प्रस्तुतिपछि सहभागी मन्त्री, सचिव तथा अन्य अधिकारीहरुले आआफ्नो टिप्पणी र सुझाव दिएक थिए । बैठकको अन्त्यमा प्रसधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न निर्देशन दिएकी छन् । उनले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली पनि परिवर्तन गर्नुपर्ने बताइन् ।
‘आमजनताको असन्तुष्टि व्यक्त हुनुको प्रमुख कारण देशमा व्याप्त विभिन्न प्रकारको भ्रष्टाचार र देशको विकासमा देखिएको गतिहीनता र सुस्तता नै हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि माननीय मन्त्रीज्यूहरू र सचिवज्यूहरू लगायत प्रशासनिक नेतृत्वको अहम् भूमिका हुन्छ। आफू स्वच्छ रहन र आफ्नो निकायमा स्वच्छता प्रवर्धन गर्न जिम्मेवार भएर लाग्न म यहाँहरूलाई निर्देश गर्न चाहन्छु।’

२– नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र पाएको छ । पार्टीको चुनाव चिन्ह तारा कायम भएको छ । कार्तिक १९ गते तत्कालिन माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न १० दल एक र अभियान एक भएर नेपाली कम्युनिष्ट पार्टीको घोषणा गरिएको थियो । नेपाली कम्युनिष्ट पार्टीले कार्तिक २० गतेनै आयोगमा दल दर्ताको निवेदन दिएको थियो ।

३– रास्वपाका पुर्व प्रमुख सचेतक सन्तोष परियार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र एकतामा नगएका माओवादी केन्द्रको जनार्दन शर्मा समूहसँग पाँच बुँदे सहमति गरेका छन् । एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाब चिन्ह एउटै बनाउन सहमति गरेका छन् भने मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छन् ।

सहमति पत्रमा दुर्गा सोव–संयोजक, नेसपा(नयाँ शक्ति), सुदन किराँती–संयोजक , प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार– निवर्तमान प्रमुख सचेतक, राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर गरेका छन् ।

सहमति पत्र: देशको गम्भीर अर्थ–राजनीतिक सङ्कट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणका विरुद्ध भएको जेन–जी आन्दोलनको पृष्ठभूमिमा चुनौतिपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिको अग्रगामी निकास दिने र नेपाली राजनीतिको समग्र पुनर्संरचना गर्ने लक्ष्यका साथ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधि सभाका निवर्तमान सदस्य सन्तोष परियार बीच निम्न सहमति सम्पन्न भएको छ ।

१– विभिन्न कालखण्डमा नेपाली जनताले नेतृत्व गरेका सबै खाले मुक्ति आन्दोलन देखि पछिल्लो जेन–जी आन्दोलन सम्मका महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । घाइते, वेपत्ता योद्धाहरूप्रति उच्च सम्मान गर्दै उहाँहरूको सपनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । २– एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाब चिन्ह एउटै बनाउन सहमति जनाउदछौँ । ३– मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौँ । ४– देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गर्दछौँ । ५– भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरुलाई हातेमालो गर्न अपिल गर्दछौँ ।
४– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटाले नेकपा (एमाले)मा पूर्ण रूपमा समाहित हुने निर्णय गरेको छ । एकीकृत समाजवादीको जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै बहुमत सदस्यले एमालेमा समाहित हुने निर्णय गरेको उल्लेख छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेको छ ।
जिल्ला कमिटीले भनेको छ– ’आज मिति २०८२ साल कार्तिक २८ गते शुक्रवारका दिन विघटित नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी धनकुटाको बैठक बसी तत्कालीन नेकपा (माओवादी) र हाम्रो पार्टी लगायत विभिन्न राजनीतिक दलहरुका बीचमा एकता भई नयाँ पार्टी गठन भए पश्चात उत्पन्न राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा बैठकमा गम्भिर छलफल भएको छ ।
छलफल पश्चात विभिन्न वस्तुगत परिस्थितिहरुलाई समेत मध्यनजर गर्दै नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटा नयाँ गठन भएको पार्टी निर्माणको पक्षमा सामेल नभई नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवाहको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा पुर्ण रुपले समाहित हुने निर्णय गरिएको व्यहोरा सम्पुर्णमा जानकारीको लागि अनुरोध छ ।’ जिल्ला कमिटीले जेनजी आन्दोलन पश्चात उत्पन्न राष्ट्रिय राजनीतिक परिस्थिति र विकसित राष्ट्रिय राजनीतिक घटनाक्रम, यसबाट सिर्जित चुनौतिहरु र नेपाली जनताको परिवर्तन एवम् सम्वृद्धिको आकांक्षा पुरा गर्न जिम्मेवार, शसक्त र जनउत्तरदायी राष्ट्रिय राजनीतिक शक्तिको आवश्यक्ता महशुस एमालेमा समाहित हुने निर्णय गरेको उल्लेख गरेको छ । विज्ञप्तिमा तत्कालिन एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अर्जुन राई, उपाध्यक्ष खगेन्द्र सुवेदी र सचिव जेबी राईले हस्ताक्षर गरेका छन् ।
५– प्रधानमन्त्री सुशिला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेकी छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोन कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गरेकी हुन् । यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएको उनको सचिवालयले जानकारी दिएको छ । राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ ।
यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन् । त्यो विषय पनि समाधान गर्दै अघि बढिरहेको भण्डारीले जानकारी दिए । राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि अनलाइनमा एकै पटक धेरै जनाले प्रयास गर्दा निर्वाचन आयोगको वेभसाइट नखुल्ने समस्या देखिएको छ । फागुन २१ गतेको निर्वाचनका लागि आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावली दर्ता गर्ने समय तोकेको छ ।
६– आफ्नो समयकी प्रख्यात बलिवुड अभिनेत्री कामिनी कौशलको मुम्बईस्थित आफ्नै घरमा निधन भएको छ । ९८ वर्षकी कामिनी कौशल उमेरसँगै सम्बन्धित रोगबाट पीडित थिइन् । कामिनी कौशलको जन्म फेब्रुअरी २५, १९२७ मा लाहोर (अविभाजित भारत) मा भएको थियो । उनको वास्तविक नाम उमा कश्यप थियो । उनले धेरै बलिवुड फिल्ममा मुख्य अभिनेत्रीको रूपमा काम गरेकी थिइन् । कामिनी कौशलले १९४० को दशकको मध्यदेखि १९६० को दशकको सुरुवातसम्म धेरै चलचित्रहरूमा मुख्य नायिकाको रूपमा काम गरेकी थिइन् । पछिल्ला वर्षहरूमा, उनले धेरै चलचित्रहरूमा आफूलाई एक बलियो चरित्र अभिनेत्रीको रूपमा स्थापित गरेकी थिइन् र कैयौं टिभी सिरियलहरूमा समेत काम गरिन् । कामिनी कौशलले निर्देशक चेतन आनन्दको अत्यधिक प्रशंसित चलचित्र ’नीचा नगर’ बाट डेब्यू गरिन् । कामिनी कौशलले दो भाइ, शहीद, जिद्दी, शबनम, पारस, नमूना, आरजू, बिराज बहू, झांझर, आब्रू, बडे सरकार, जेलर, नाइट क्लब र गोदान जस्ता फिल्महरूमा मुख्य अभिनेत्रीको रूपमा काम गरेकी थिइन् । आफ्नो समयमा, उनले अशोक कुमार, दिलीप कुमार, राज कपूर र देव आनन्द जस्ता कलाकारहरूसँग नायिकाको रूपमा काम गरेकी थिइन् । कामिनी कौशल अन्तिम पटक २०२२ मा रिलिज भएको आमिर खानको फिल्म ’लाल सिंह चड्ढा’ मा देखिएकी थिइन् । उनले ’कबीर सिंह’ मा शाहिद कपूरकी हजुरआमा र ’चेन्नई एक्सप्रेस’ मा शाहरुख खानकी हजुरआमाको भूमिका निर्वाह गरेकी थिइन् । कामिनी कौशलका तीन छोरा मध्ये, उनका छोरा राहुल सूद उनीसँगै बस्थे र उनको हेरचाह गर्थे, तर उनको कोभिड–१९ को समयमा मृत्यु भएको थियो ।
७– अमेरिकी मुद्राको सबैभन्दा सानो एकाइ, पेनीको सिक्का आधिकारिक रूपमा बन्द गरिएको छ । यससँगै, यो २३२ वर्ष पुरानो मुद्रा अब इतिहास बनेको छ । यो मुद्रा १०० पेनीले एक डलर बन्ने गर्दछ । अमेरिकी ट्रेजरी विभागले पेनीको सिक्का खारेजीको कारण यसको अप्रासंगिकता र उच्च लागत भएको बताएको छ । सिक्का अब केहि पनि किन्न प्रयोग गर्न सकिँदैन, यसबाहेक, अब एक पैसा उत्पादन गर्न ३ सेन्टभन्दा बढी खर्च लाग्थ्यो । मुद्रास्फीतिको प्रभाव पहिले, पेनीहरू क्यान्डी वा खाजा खरिद गर्न प्रयोग गर्न सकिन्थ्यो, तर अब त्यो पनि नआउने भएको अवस्था बनेको छ । त्यस्तै जस्ता र तामाबाट बनेको, तर महँगो, क्र्यास लेनदेनहरू उल्लेखनीय रूपमा घटेको छ, धेरैजसो भुक्तानी अनलाइन गरिएको छ । त्यस्तै धेरै पसलहरूले पेनीको अभावको सामना गरिरहेका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी २०२५ मा यसलाई रोक्न आदेश दिए । एक पैसा उत्पादन गर्न लगभग ३.६९ सेन्ट लाग्छ, जबकि यसको मूल्य केवल १ सेन्ट रहेको छ । सरकारले २०२३ मा ४.५ अर्ब पैसा उत्पादन गरेर १७९ मिलियन गुमाएको बताइएको छ । अमेरिकी कोषाध्यक्ष ब्रान्डन बीचले भने कि यो वर्षौंदेखि अमेरिकी करदाताहरूको लागि घाटा थियो ।
८– भारतको बिहार चुनावको मतगणनामा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीए दुई तिहाई बहुमततर्फ अगाडी बढेको छ । पछिल्लो अपडेट अनुसार एनडीएले २४३ सिट मध्ये १९९ सिटमा अग्रता हासिल गरेको छ । त्यस्तै राष्ट्रिय जनता दलसहितको महागठबन्धनले ३८ सिटमा अग्रता हासिल गरेको छ । त्यस्तै अन्य ६ स्थानमा अगाडी छन् भने प्रशान्त किशोर नेतृत्वको जनसुराज पार्टी कुनै सिटमा अग्रता बनाउन सकेको छैन । दुई चरणमा नोभेम्बर ६ र ११ मा भएको निर्वाचनको मत गणना आज बिहान ८ बजेदेखि शुरु भएको हो ।
९– काठमाडौँ महानगरले खुला मञ्च सबैका लागि सधैँका लागि खुला गर्ने तयारी गरेको छ । भूकम्पपछि वीर अस्पताल, दरबार हाइ स्कूल जस्ता संरचना पुन:निर्माणका सामग्री राख्ने, काठमाडौँ टावर निर्माणको निर्माण सामग्री राख्ने तथा अस्थायी बसपार्क सञ्चालन गर्ने प्रयोजनमा ल्याइएको खुला मञ्चलाई पुन:निर्माण तथा सजावटको काम गरेर खुला खुला गर्न तयार पारिरहेको हो । प्राकृतिक दुबोसहितको घाँसे चउर, खुला मञ्चको अहिलेको अवस्था हो । खुला मञ्चको चउरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ । उबडखावड मिलाइएको ठाउँमा नेपाली दुवो रोपेपछि अहिले चउर लोभलाग्दो भएको छ ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चउरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो । महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न ६ करोड ९८ लाख ७० हजार रुपियाँ विनियोजन भएको छ । यही कार्यक्रमबाट खुला मञ्चको चउरमा दुबो रोपिएको हो । यसका लागि करिब ९० लाख रुपियाँ खर्च भएको छ । चउरको वरिपरि ४ मिटर चौडाइको पैदल बनाइएको छ ।
सहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरउन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लकहरु ल्याएर यस ठाउँको पैदल मार्ग बनाउन पुन:प्रयोग गरिएको हो । पैदल मार्गमा २१ वटा विजुलीका पोल राखिएका छन् । यी पोलहरु न्यूरोडको पैदल मार्ग विस्तारका क्रममा निकालिएका पोल पुन:प्रयोग गरिएका हुन् । यी पोलहरुमा टु आर्म छन् । यसमध्ये एउटा मैदानतर्फ फर्किएको आर्ममा १ सय वाट क्षमताको र एउटा पैदल मार्गतर्फ फर्किएको आर्ममा ३० वाट क्षमताको बत्ती राखिएको छ । यी बत्तीहरु डे नाइट सेन्सरयुक्त छन् । रातमा बल्छन् । दिनमा आफैँ निभ्छन् । चउरबाट पश्चिम तर्फको मुख्य द्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ् गर्ने ठाउँ बनाइएको छ । यो ठाउँ भलिवल, व्याटमिन्टन जस्ता खेल र पार्किङ्जस्ता प्रयोजनमा ल्याउन सकिन्छ । यदि यहाँ पार्किङ् गरियो भने ४० वटा चारपाङ्ग्रे र १ सय वटा २ पाङ्ग्रे सवारी साधन राख्न सकिन्छ ।
१०– यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या आएपछि लाइसेन्सको आवेदन बन्द भएको छ । विभागले आज सूचना जारी गरेर डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि आजदेखि अर्को सूचना प्रकाशित नहुँदा सम्मका लागि सेवा बन्द गरिएको जानकारी दिएको छ । कात्तिक १६ गतेदेखि आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको सेवा आजदेखि बन्द भएको हो । विभागले भनेको छ: ’यस विभागमा रहेको डाटा सेन्टरमा प्राविधिक समस्या देखा पर्न गएका कारण २०८२ कार्तिक १६ गतेबाट आंशिक रुपमा संचालनमा रहको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा बउउथिमलिभध.मयतm.नयख.लउ प्रणाली मिति २०८२/०७/२८ देखि अर्को सूचना प्रकाशित नहुँदा सम्म बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’
११– नेपाली कम्युनिष्ट पार्टीले पार्टी निर्माणको प्रक्रियामा रहेकाले आयोगमा बुझाइएको संरचना अन्तिम नभएको स्पष्ट गरेको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले निर्वाचनको व्यवस्थापकीय आवश्यकता र समयको चापका कारण आयोगमा एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको सूची बुझाइएको बताउदै विधान बमोजिमको संरचना बनाउन बाँकी नै रहेको स्पष्ट गरेको हो । नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझाएको सदस्यहरु बारे विवाद आएपछि प्रचण्डको सचिवालयले स्पष्ट पारेको हो ।
पार्टी संयोजक र सह–संयोजक बाहेकका सबै पद र समितिहरू आपसी सहमतिका आधारमा गठन हुने र यसका लागि गृहकार्य भइरहेको उल्लेख गर्दै सचिवालयले एकीकृत पार्टीको केन्द्रीय समितिसहितका सबै संरचना समेत यही प्रक्रियाअनुसार टुंगो लाग्ने बताएको छ । साथै कानुनअनुसार एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानका कारण केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भै हस्ताक्षर गरेका १३ जना उपलब्ध महिला केन्द्रीय सदस्यहरूको नाम पनि त्यही सूचीमा थपेर महिला प्रतिशत पुर्याइएको र यो कुनै अलग संरचना नभएको सचिवालयले स्पष्ट पारेको छ । सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आम निर्वाचनको प्रयोजनार्थ यही ३० गतेभित्र दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्ने सूचना निर्वाचन आयोगले जारी गरेको र दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणहरूबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध गरेको छ ।
१२– नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ५ सयले घटेर तोलाको २ लाख ४९ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ५० हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले घटेर ३२८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ३३४५ मा कारोबार भएको थियो ।
१३– काठमाडौँ महानगरपालिकाले सहरी योजना आयोगमार्फत योग्य सिभिल इन्जिनियर र आर्किटेक्टहरूलाई नगर प्रशासनभित्र संरचित व्यावसायिक सिकाइको अनुभव प्रदान गर्न यो करियर क्याम्प कार्यक्रम सञ्चालन गर्न लागेको छ ।
काठमाडौँ महानगरपालिका, सहरी योजना आयोगद्वारा सञ्चालित करियर क्याम्प २०८२ कार्यक्रम अन्तर्गत सिभिल इन्जिनियरिङ तथा आर्किटेक्चर विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण भएकाहरूलाई ९ महिनाका लागि पूर्णकालीन प्रशिक्षार्थीका रूपमा छनोट गरी महानगरपालिकाले सञ्चालन गर्ने आयोजनाहरूको संरचनागत प्रारूप तयार गर्ने, ड्रइङ डिजाइन र लागत अनुमान तयार गर्ने तथा महानगरवाट हुँदै गरेका निर्माण कार्यहरूको सुपरिवेक्षण तथा प्रतिवेदन तयार गर्ने काममा प्रत्यक्ष रूपमा सहभागी गराई व्यावसायिक सीप, दक्षता, र अनुभव प्रदान गर्ने जनाएको छ । यसका लागि महानगरले आवेदनका लागि यस सूचना प्रकाशित गरेको छ ।
यस कार्यक्रमका सहभागी हुन चाहने योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएकोले १५ (पन्ध्र) दिनभित्र काठमाडौँ महानगरपालिकाको वेभसाइटमा रहेको करियर क्याम्पको लिंकमा आफ्नो आवेदन दिन महानगरले आग्रह गरेको छ । यसका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तह (अर्वान प्लानिङ, सिभिल इन्जिनियरिङ, आर्किटेक्चर) रहेको छ र महानगरले २२ जनालाई ९ महिनाका लागि पूर्णकालीन प्रशिक्षार्थीका रूपमा छनोट गरे प्रतिमहिना २५ हजार पारिश्रमिक दिने जनाएको छ ।
१४– सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्माणमा अनावश्यक खर्च बढाउने जस्ता व्यवस्थालाई परिमार्जन गरिएको छ । परिमार्जित राष्ट्रिय भवन संहितालाई बिहीबार राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको छ । नयाँ कोडले भवन मात्र नभएर जलविद्युत आयोजनाका बाँध, विद्युतगृह, सुरुङजस्ता भूमिगत संरचना निर्माणका लागि मार्गदर्शन प्रदान गर्नेछ । शहरी विकास मन्त्री कुलमान घिसिङले यो परिमार्जित कोड देशको सुरक्षित भविष्य निर्माणका लागि कोशेढुङ्गा रहेको बताए ।
मन्त्री घिसिङले नयाँ कोड अनुसार बनाइएका भवनबाट आगामी दिनमा आउनसक्ने भूकम्पबाट हुने ज्यान र सम्पत्तिको हानिलाई न्यून बनाउने विश्वास व्यक्त गरे । स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई नयाँ भवन निर्माणमा कोडलाई काडाइकासाथ लागू गर्न आह्वान उनले आग्रह गरे । परिमार्जित कोडमा ७५३ वटै स्थानिय तहलाई समेट्ने गरी नयाँ सिस्मिक जोनिङ्ग म्याप (भूकम्पीय क्षेत्रगत नक्सा) तयार गरिएको छ । जसले स्थानअनुसार डिजाइनमा स्पष्ट दिशानिर्देश गर्छ ।
माटोको वर्गीकरणमा सुधार गर्दै काठमाण्डौ उपत्यकाको माटोको प्रकार सम्बन्धमा विशेष नक्सा समावेश गरिएको छ । नयाँ लोड संयोजन सूत्रहरूमा हिमपात, तरल पदार्थको दवाव र माटोको दवाव समावेश गरी लोड संयोजन गरी स्थायित्व जाँचको लागि नयाँ समीकरण समेत अद्यावधिक गरिएको छ । संरचनाको लचिलोपन सुधार गर्न नयाँ मापदण्ड समावेश गरी भवनहरूलाई भूकम्पका बेला थप ऊर्जा वहन गर्न सक्ने वनाइएको छ । अग्ला भवनहरुको स्थायित्वको लागि सफ्टस्टोरी र टोर्सनल इरेगुलरिटीमा नियन्त्रणको विषयमा सुधार गरिएको छ । यसबाट भवन निर्माणमा हुने खर्च कटौती हुनेछ ।
१५– नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलमान घिसिङ लक्षित टिप्पणी गर्दै उनी पदमा बस्न उपयुक्त नहुने बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले आफ्नै पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ भन्दै प्रधानमन्त्री सुशिला कार्कीलाई प्रश्न गरेका हुन् ।
उनले यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुदैन भन्दै प्रधानमन्त्रीको प्रतिवद्धतासँग यो मेल नखाने बताएका छन् । उनले भनेका छन्: प्रधानमन्त्री सुशिला कार्कीले चुनावका लागि गैरदलिय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ? यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुदैन र प्रधानमन्त्रीको प्रतिवद्धतासंग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ? !
१६– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको कमेन्टेटर प्यानलमा भारतका चर्चित कमेन्टेटर आकाश चोपडा जोडिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) एनपीएलको यस सिजनका लागि आकाश चोपडा कमेन्ट्री टिममा जोडिएको जानकारी दिएको छ । भारतका पुर्व खेलाडी रहेका आकाश विश्व क्रिकेटमा अहिलेका उत्कृष्ट कमेन्टेटर मानिन्छ । आकाशले सामाजिक सञ्जालमा आफु पहिलो पटक नेपाल आउन लागेकोमा निकै उत्साहित रहेको बताएका छन् । क्यानले यस सिजनको एनपीएलका लागि चर्चित अस्ट्रेलियन प्रजेन्टर जेस क्रोलाई पनि अनुबन्ध गरिसकेको छ । यस सिजनको एनपीएल नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुदैछ ।
१७– बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो ’पनोरमा’ कार्यक्रमको एक भागको लागि माफी मागेको छ, जसमा ट्रम्पको जनवरी ६, २०२१ को भाषणका केही अंशहरू समावेश थिए । यद्यपि, बीबीसीले क्षतिपूर्तिको लागि ट्रम्पको मागलाई अस्वीकार गरेको छ । संस्थाले बिहीबार साँझ आफ्नो ’सुधार र स्पष्टीकरण’ खण्डमा प्रकाशित एक विज्ञप्तिमा यो ट्रम्पसँग माफी मागेको छ भने क्षतिपूर्ति दिन अस्वीकार गरेको हो ।
बीबीसीले भिडियो सम्पादनले ’राष्ट्रपति ट्रम्पले प्रत्यक्ष रूपमा हिंसात्मक कारबाहीको लागि आह्वान गरेको गलत धारणा सिर्जना गरेको छ ।’ यसबाहेक, बीबीसीले यो कार्यक्रम फेरि प्रसारण नगर्ने घोषणा गरेको छ । ट्रम्पका वकिलहरूले बीबीसीले बयान फिर्ता नलिए, माफी मागेन र क्षतिपूर्ति प्रदान नगरेमा १ अर्ब डलर क्षतिपूर्तिको लागि मुद्दा हाल्ने धम्की दिएका छन् ।
यस अघि यस प्रकरणमा आइतबार, बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले विवादको परिणामस्वरूप राजीनामा दिएका थिए । ट्रम्पले २०२१ को जनवरी ६ मा वाशिंगटन डीसीमा भाषणमा– ’हामी क्यापिटलमा जाने छौं, र हामी हाम्रा बहादुर सिनेटरहरू, कांग्रेसीहरू र महिलाहरूलाई हौसला प्रदान गर्नेछौं ।’ यद्यपि, बिबिसीको पानोरामा वृतचित्रमा सम्पादन गरेर उनलाई यसो भन्दै देखाइएको थियो – ’हामी क्यापिटलमा जानेछौं… र म त्यहाँ तपाईंसँगै हुनेछु । र हामी लड्छौं । हामी ज्यान लगाएर लड्छौं ।’
१८– मधेश प्रदेशमा नयाँ सरकार गठन भएपछि शुरु भएको विवादले नयाँ मोड लिएको छ । विहिबार आफूविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले अबेर राति प्रदेशसभाका पाँच सदस्यलाई पदमुक्त गर्न गरेको निर्णय उपसभामुख बबिता कुमारी राउत ईश्वरले बदर गरिदिएकी छिन् ।
सभामुखले लगातार १० बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै सांसदहरुमा उर्मिलादेवी सिंह सर्लाही, मनिष कुमार सुमन सप्तरी, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार पर्सा, सारदा शंकर कलबार बारालाई पदमुक्त गरिदिएका थिए । सभामुखको यस निर्णयपछि उपसभामुख बबिता कुमारी राउत ईश्वरले अर्को सूचना जारी गर्दै सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको भनी महाभियोगको प्रस्ताव दर्ता भइसकेको अवस्थामा उनको पद रिक्त भएको जिकिर गरेकी छन् । साथै, उपसभामुख राउतले प्रदेशसभाको पछिल्लो बैठकको हाजिरी तथा भिडियो रेकर्डबाट सांसदहरू अनुपस्थित नरहेको देखिएको भन्दै सभामुखले गरेको पदमुक्तको निर्णय बदर हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराएकी छन् । सभामुख मण्डल एमालेबाट धनुषा १(२) बाट प्रदेश सभामा निर्वाचित भएका हुन् भने सप्तरीकी राउत जनमत पार्टीबाट समानुपातिक सांसद हुन् ।
१९– फ्रान्स फिफा विश्वकपमा छनौट भएको छ । युरोपको छनौट अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रान्सले युक्रेनलाई ४–० गोल अन्तरले पराजित गरेसँगै फ्रान्स २०२६ को विश्वकपका लागि छनौट भएको हो । फ्रान्सको जितमा किलीयन एम्बाप्पेले २ गोल गरे भने माइकल ओलीस र हुगो एकिटिकले एक एक गोल गरेका थिए । समुह डी मा रहेको फ्रान्सको यो जित पछि ५ खेलमा १३ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै युक्रेनको भने ५ खेलमा ७ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ । फ्रान्सले अब अर्को खेल नोभेम्बर १६ मा अजरबैजानसँग खेल्ने तालिका रहेको छ ।
२०– नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि टिकटदर सार्वजनिक गरेको छ । क्यानले बिहीबार प्रतियोगिताको टिकटदर र बिक्रीबारे आधिकारिक जानकारी दिएको हो । क्यानले एनपीएल खेलका टिकटलाई दुई श्रेणीमा विभाजन गरेको छ, जसमा साधारण र प्रिमियम रहेका छन् । उद्घाटन दिन र शनिबारका खेलहरूका लागि साधारण टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य १५०० राखिएको छ ।
साताका अन्य दिन (आइतबारदेखि शुक्रबार) हुने खेलहरूका लागि साधारण टिकट ५०० र प्रिमियम टिकटको मूल्य १००० तोकिएको छ । प्लेअफ र फाइनल खेलका लागि भने टिकटको साधारण टिकटको १००० र प्रिमियम टिकटको २००० राखिएको छ । प्रतियोगिताका सबै खेल हेर्न चाहने दर्शकका लागि क्यानले सिजन पासको पनि व्यवस्था गरेको छ, जसको मूल्य १५,००० तोकिएको छ । प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनरका रूपमा ‘खल्ती बाई आइएमई’ रहेको छ भने दर्शकहरूले खल्ती एपमार्फत सहजै आफ्नो टिकट किन्न सक्ने क्यानले जनाएको छ । साथै क्यानले प्रतियोगिताको पहिलो ६ दिनका खेलहरूका लागि टिकट बिक्री खुला गरेको छ ।
FACEBOOK COMMENTS