काठमाडौं । नोबेल शान्ति पुरस्कारको घोषणा आज नर्वेको राजधानी ओस्लोमा गरिदैछ । नेपाली समय अनुसार करिब २: ४५ बजे नोबेल समितिले यस बर्षको शान्ति पुरस्कारको घोषणा गर्दैछ ।
नोबेल शान्ति पुरस्कारका लागि यस वर्ष २४४ व्यक्ति र ९४ संस्थासहित ३३८ जनाको मनोनयन दर्ता भएको बताइएको छ । तीमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सबैभन्दा बढी चर्चामा छन् । उनले बारम्बार यो पुरस्कारको हकदार आफु भएको बताउदै आएका छन् ।
उनले भारत र पाकिस्तान बीचको युद्धसहित कैयौं युद्ध रोकेर विश्वमा शान्ति ल्याउन भूमिका खेलेको दाबि गर्दै आएका छन् । साथै पछिल्लो पटक गाजामा युद्धविरामको सहमति भएपछि उनको नाम नोबेल शान्ति पुरस्कारका लागि फेरी एकपटक चर्चामा रहेको छ ।
उनका नजिककासहित ह्वाइट हाउसले नै ’द पिस प्रेसिडेन्ट’ भन्दै प्रचार समेत गरिरहेका छन् । यद्यपि, विज्ञहरू ट्रम्पले यस बर्षको नोबेल शान्ति पुरस्कार जित्ने सम्भावना कम रहेको बताएका छन् । केहिले समयमा यस पुरस्कारका लागि ट्रम्पको नाम दर्ता नभएको दाबि गरेका छन् ।
२०२५ को नोबेल शान्ति पुरस्कारको लागि मनोनयनको अन्तिम मिति जनवरी ३१, २०२५ थियो । नर्वेजियन नोबेल समितिको नियम अनुसार, २०२५ को नोबेल पुरस्कारको लागि यस मिति पछि प्राप्त कुनै पनि मनोनयन स्वीकार गरिएको छैन । मनोनयन प्रक्रिया प्रत्येक वर्ष फेब्रुअरी १ मा सुरु हुन्छ, र त्यो मिति सम्म प्राप्त मनोनयनहरू मात्र मान्य हुन्छन् ।
ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए, त्यसको ११ दिनपछि नै मनोनयन प्रक्रिया बन्द भएको थियो । पाकिस्तान र इजरायल जस्ता कट्टर प्रतिद्वन्द्वीहरूले पनि ट्रम्पलाई नोबेलको लागि मनोनयन गरेका थिए ।
पाकिस्तानले भारतसँगको युद्धविराममा ट्रम्पले भूमिका खेलेको दाबी गरेको छ भने इजरायलले इरानसँगको युद्धमा युद्धविरामको लागि ट्रम्पलाई मनोनयन गरेको छ ।
त्यस्तै नोबेल शान्ति पुरस्कारका लागि चर्चामा रहेका अन्य नाममा पूर्व पाकिस्तानी प्रधानमन्त्री इमरान खान, टेस्लाका प्रमुख एलन मस्क, मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिम र पोप फ्रान्सिस (जसको अप्रिलमा निधन भयो) लगायत रहेका छन् ।
अर्को वर्ष, ट्रम्पको सम्भावना बलियो
ट्रम्पले हालै गाजा युद्धविराम योजना प्रस्तुत गरे र युद्ध विरामको पहिलो चरणको योजनामा हमास र इजरायललाई सहमत बनाएका छन् । ट्रम्पले यसलाई उपलब्धिको रूपमा प्रचार गरिरहेका छन् ।
यद्यपि, विज्ञहरू गाजा शान्ति सम्झौता ढिलाइ भएको थियो, जसले गर्दा ट्रम्पलाई यस पटक जित्न गाह्रो भयो । साथै गाजा युद्धविरामले नोबेल निर्णयलाई असर नगर्ने र तर यदि शान्ति दिगो रुपमा भएमा ट्रम्पले अर्को बर्ष नोबेल शान्ति पुरस्कार पाउने सम्भावना बलियो हुने बताइएको छ ।
पूर्व पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई मानव अधिकार र लोकतन्त्रका लागि पाकिस्तान विश्व गठबन्धनले मनोनित गरेको छ । खान अगस्ट २०२३ देखि पाकिस्तानको अदियाला जेलमा थुनिएका छन् ।
भ्रष्टाचारको मुद्दामा उनलाई १४ वर्षको जेल सजाय सुनाइएको छ । त्यस्तै टेस्लाका सीईओ एलन मस्कलाई युरोपेली सांसद ब्रान्को ग्रिम्सले अभिव्यक्ति स्वतन्त्रताको लागि मनोनित गरेका छन् । यद्यपि, मस्कले आफुले कुनै पुरस्कार नखोजेको स्पष्ट गरेका छन् ।
१९०१ देखि २०२४ सम्म १४१ पटक नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ । अहिलेसम्म १११ व्यक्ति र ३० संस्थाले यो सम्मान प्राप्त गरेका छन् । नोबेल पुरस्कारहरू १८९५ मा स्थापित गरिएको थियो र १९०१ मा प्रदान गर्न शुरु गरिएको थियो ।
यी पुरस्कारहरू वैज्ञानिक र आविष्कारक अल्फ्रेड बर्नहार्ड नोबेलको नाममा प्रदान गरिदै आएको छ । सुरुमा, भौतिक विज्ञान, चिकित्सा, रसायन विज्ञान, साहित्य र शान्तिको क्षेत्रमा मात्र नोबेल पुरस्कार प्रदान गरिन्थ्यो । पछि, अर्थशास्त्रको क्षेत्रमा पनि नोबेल पुरस्कार प्रदान गर्न थालिएको छ । अर्थशास्त्रमा नोबेल पुरस्कार सन् १९६९ देखि दिन थालिएको हो ।
नोबेल पुरस्कार वेबसाइटका अनुसार, कुनै पनि क्षेत्रमा नोबेल पुरस्कारको लागि मनोनित व्यक्तिहरूको नाम आगामी ५० वर्षसम्म खुलासा गरिएको छैन ।
FACEBOOK COMMENTS