काठमाडाैं । काठमाडौँको टोखामा आगलागी हुँदा एक करोड रूपैयाँ बराबरको क्षति भएको छ ।
टोखा नगरपालिका–८ मिलनटोलस्थित मिलन बजारमा गए राति धर्मराज डङ्गोलको मासु पसलमा ग्यास लिक भई आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आगलागीबाट पाँच पसलमा रहेका सामान नष्ट भएका छन् ।
तीन खाली सटरसमेत जलेर नष्ट भएका छन् । आगालागीबाट कमला तामाङले सञ्चालन गरेको जुत्ता पसल जल्दा १६ लाख रूपैयाँ, मुना थापाले सञ्चालन गरेको फेन्सी पसल जल्दा ३५ लाख रूपैयाँ , प्रदीप लम्सालले सञ्चालन गरेको डेरी जल्दा दुई लाख रूपैयाँ , विकास श्रेष्ठले सञ्चालन गरेको सिलाइ कपडा पसल जल्दा दुई लाख रूपैयाँ, मधु न्यौपानेले सञ्चालन गरेको मोबाइल पसल जल्दा २० लाख रूपैयाँ र धर्मराज डङ्गोलले सञ्चालन गरेको मासु पसल जल्दा २५ लाख रूपैयाँको क्षति भएको रिजालले जानकारी दिए ।
यस्तै श्याम श्रेष्ठ, टेकराज पोखरेल र धनबहादुर बस्नेतको पसलको सटरसमेत जलेर नष्ट भएको छ । नेपाल प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS