काठमाडौँ । ‘राइड सेयरिङ’ सेवा सुरक्षा र नियमनका सवालमा सरकारप्रति जवाफदेही बन्न सकेका छैनन् । सार्वजनिक यातायात क्षेत्रको बजारमा हस्तक्षेप गरिरहेका पठाओ, टुटल र इनड्राइभर सेवाका प्रयोगकर्ता आफैँ जोखिम मोलेर तिनको प्रयोग गर्न बाध्य छन् ।
कम्पनीमा दर्ता भएर अनलाइनमा सेवा दिनेभन्दा दर्ता भएका र नभएका राइडरहरू माझ अफलाइनमा मोलमोलाई गर्ने प्रवृत्ति बढ्दो छ । राइडर र व्यक्तिपिच्छे भिन्न भाडादरमा मोलमोलाइ गर्दै गरेको सडक छेउमा जति पनि देख्न सकिन्छ । अर्कोतर्फ यस्ता एप्सले आम सेवाग्राहीको दैनिकी निकै सहज बनाएका छन् । युवा माझ मोटरसाइकल आयआर्जनको साधन हुनुका साथै लाखौँ युवा स्वरोजगार पनि भएका छन् । तर यी सेवा कानुनी रूपमा दर्ता, व्यवस्थापन र नियमन नहुँदा सम्भावित दुर्घटना बढेको यातायात व्यवस्था विभागले जनाएको छ । हाल राइडरका रूपमा यस्ता राइड सेयरिङ एप्समा झन्डै तीन लाख ५० हजार नेपाली युवा जोडिएका छन् ।
टुटल प्रालिका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले फुर्सदको समय र बिदाका दिनमा पनि काम गर्न सकिने भएकाले युवाको आकर्षण बढेको बताए । सन् २०१८ देखि सञ्चालनमा आएको पठाओ प्रालिको पठाओ एप डाउनलोड गर्नेको सङ्ख्या ३५ लाख पुगेको छ । यस्तै एक लाख ५० हजार राइडर पठाओमा दर्ता भई सेवा दिइरहेका छन् । पठाओले मोटरसाइकल, ट्याक्सी र खाद्य ढुवानी ९फुड डेलिभरी०को सुविधा दिँदै आएको छ । हाल पठाओमार्फत दैनिक ७० हजारले सेवा लिइरहेका छन् । पठाओको सेवा चितवन र काठमाडौँमा सञ्चालनमा रहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS