काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काटेको छ । आयोगले तत्कालिन प्रधानमन्त्री समेत रहेका ओलीलाई आइतबार पत्र काटेको हो । अध्यक्ष ओलीले जाँचबुझ आयोगलाई बयान नदिने अडान लिँदै आएका छन् । आयोगले ओलीको निवासमै गएर बयान लिन सक्ने समेत बताइएको छ तर आयोगले यसको पुष्टि गरेको छैन । आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ र उनको स्थानहद समेत फुकुवा गरिसकेको छ ।
२- नेकपा एमाले छोडेर फेरी पार्टीमै रहने निर्णय गरेका पुर्व संसाद बासुवेद घिमिरेले आफुले लिएको निर्णय बारे स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिदै नेता घिमिरेले आफु एमालेमा नै रहने र मन, वचन, कर्मदेखि नैं रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफुले पार्टीमा रुपान्तरण होस् भन्ने चाहेको र त्यसो हुन नसक्दा उकुसमुकुस भएर छिटो निर्णय लिएको उल्लेख गरेका छन् । उनले पछिल्लो समय पार्टीभित्रका केही प्रवृत्तिहरूले गम्भीर रूपमा सोच्न बाध्य तुल्याएको र आफुले अलि छिटो निर्णय लिएको बताए । उनले आफलाई नेता बनाउने नेता कार्यकर्ता र आम शुभचिन्तकको प्रतिक्रियापछि आफुले पार्टी छोड्ने निर्णय बदलेको स्पष्ट गरेका छन् । उनले आफु नै सौदाबाजीमा नपरेको बताउदै एमालेलाई जेनजी मैत्री बनाउन भूमिका खेल्ने बताएका छन् ।
३- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि पुस २५ देखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा र न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरिएको हो । आयोगले यसरी नियुक्ति भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले माघ २ मा आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।
४- सालापा विकास बैंकले सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) १९.३७ गुणा आवेदन परेको छ । आईपीओमा आवेदन दिने आज अन्तिम दिनसम्म कुल २३ लाख ८३ हजार ४०७ जनाको आवेदन परेको हो । उनीहरुले २ करोड ७८ लाख ८४ हजार ४७० कित्ता शेयरका लागि आवेदन दिएका छन् । यस मध्येबाट एक लाख ४३ हजार १७० जनाले जनही १०-१० कित्ताका दरले कुल १४ लाख ३९ हजार १७९ इकाई शेयर मात्र प्राप्त गर्ने भएका छन् । कम्पनीको जारी पूँजी ५२ करोड २३ लाख रहेकोमा यसमध्ये ३३ प्रतिशत अर्थात् १७ लाख २३ हजार ८८० इकाई शेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

यस साधारण सार्वजनिक निष्कासनमध्ये १० प्रतिशतले हुन आउने एक लाख ७२ हजार ३८८ इकाई शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई पहिले नै बाँडफाँड गरिएको छ । त्यस्तै सर्वसाधारणको लागि निष्कासन गरिएको शेयरमध्ये ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ इकाइ कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने प्रस्तावित शेयरको ५ प्रतिशतले हुन आउने ८६ हजार १९४ इकाइ म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ । कम्पनीको आईपीओ निष्कासन प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । नेपाल राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त ‘बि’ वर्गको विकास बैंक, सालापा विकास बैंक लिमिटेड (SBBL) खोटाङमा आधारित ६ वटा शाखा र यसको मुख्य कार्यालय भएको एक जिल्ला क्षेत्रीय बैंक हो ।

५- केन्द्रीय सुरक्षा समितिको बैठकले विभिन्न निर्णय गरेको छ । आइतबार गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले निर्वाचनको सम्बन्धमा सुरक्षा निकायहरूले गरेका अन्तिम तयारीबारे जानकारी लिएको छ । त्यस्तै बैठकले विभिन्न धार्मिक समुदायहरू र एक अर्काका धर्मबिच लक्षित गरेर विभिन्न सामाजिक सञ्जालमा गलत र भ्रामक टिप्पणी गर्ने र अर्काको धर्ममा खलल पुर्याएका घटनाहरू भएकोमा यसमा विशेष रूपमा छलफल केन्द्रित रह्यो। यस्तै, जिल्लाहरूमा देखिएका केही धार्मिक सहिष्णुतामा खलल पुर्याउन खोज्ने व्यक्ती वा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले स्थानीय प्रशासनहरूले समन्वयात्मक भूमिका खेल्दै स्थितिलाई थप बिग्रन नदिन भूमिका खेल्ने निर्णय र प्रदेश र स्थानीय सरकारहरूलाई पनि यस्तै समन्वयात्मक भूमिकाका लागि अनुरोध गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयले जानकारी दिएको छ । त्यस्तै धार्मिक गतिविधिबारे विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालमा मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग र सुरक्षा निकायसहितको एउटा बैठक बस्ने निर्णय गरेको छ । बैठकमा विशेष गरी निर्वाचनको सन्दर्भमा सुरक्षा निकायहरूले अहिलेसम्मको तयारी र मन्त्रालयले गर्नु पर्ने समन्वयको विषयमा समेत छलफल भएको थियो भने जेनजी आन्दोलनपछि फरार रहेका कैदी बन्दीहरूको पक्राउ गर्ने अभियानलाई अझ बढी तदारुकता प्रदान गर्दै सुरक्षा निकायहरूको विशेष ओपरेशनलाई थप क्रियाशीलता दिने निर्णय भएको छ ।

६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी एकीकरणपछि चार पदाधिकारी थप्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानमा संसोधन गर्दै एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक सहप्रवक्ता थप्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । यी पद मध्ये यसअघि नै उपसभापति कुलमान घिसिङलाई राख्ने सहमति भएको छ भने अन्य पदमा बालेन शाह र उज्यालो नेपाल पार्टीका नेताहरुलाई मनोनित गर्ने तयारी गरिएको छ । रास्वपामा हाल एक सभापतिसहित २ उपसभापति, एक महामन्त्री, एक सह-महामन्त्री, एक कोषाध्यक्ष, एक सह-कोषाध्यक्ष, २ सह-प्रवक्ता रहेका छन् ।

७- नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । काँग्रेसले सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय,सानेपामा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । काँग्रेसमा महाधिवेशनको विवाद चर्किदै जादा विशेष महाधिवेशन पक्षधरले पुस मसान्त भित्रनै विशेष महाधिवेशन गर्ने तयारी गरिरहेका बेला काँग्रेसको यो बैठकलाई महत्वका साथ हेरिएको छ । सभापति शेरबहादुर देउवासहितका नेताहरु निर्वाचन पछि मात्र महाधिवेशन गर्ने भन्दै नयाँ कार्यसूची पारित गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा उभिएपछि काँग्रेस विभाजनतर्फ उन्मुख्य भएको विश्लेषण भइरहेको छ ।
८- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । प्रचण्ड आइतबार नेपाल एयरलायन्सको विमानबाट भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन् । नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ मा सहभागी हुन प्रचण्ड भारत गएको उनको सचिवालयले जानकारी दिएको छ । उनी सोमबार लाजपत भवन अडिटोरियम लाजपत नगरमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।
९- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्षका ८ जनालाई संक्षिप्त सूचीमा समावेश गरिएको छ । समितिले ८ जनाको प्रस्तुतीकरण र अन्तर्वार्ताबाट उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गरिने जनाएको छ । आइतबार समितिले सार्बजनिक गरेको सूची अनुसार उपेन्द्र पोखरेल, उमेशकुमार मिश्र, काजीराम अधिकारी, कुष्माकर भट्ट, खेमराज जोशी, टैलेन्द्र आचार्य, मोहम्मद सफिउल्लाह र हरिशंकरप्रसाद साह रहेका छन् । समितिले पुस २८ गते उनीहरूको अन्तर्वार्ता र प्रस्तुतीकरणको समय तोकिएको जनाएको छ । अन्तर्वार्ता र प्रस्तुतीकरणपछि समितिले ३ जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्ने छ । २०८१ माघदेखि नै सीटीईभीटीमा उपाध्यक्ष रिक्त रहेको छ ।
१०- नेपालमा आयोजना हुने आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली राष्ट्रिय टिमको छनौट गरिएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनिषा उपाध्याय रहेका छन् । जनवरी १४ देखि फेब्रुअरी १ सम्म आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् ।
१० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् । ग्लोबल क्वालिफायरमा समुह ए मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे रहेका छन् भने समुह बी मा बंगलादेश, नामिबिया, नेपाल, नेदरल्याण्डसर पिएनजी रहेका छन् । नेपालले पहिलो खेल थाइल्याण्डविरुद्ध जनवरी १८ मा खेल्ने छ भने दोस्रो खेल जनवरी २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ । त्यस्तै नेपालले तेस्रो खेल जनवरी २४ मा जिम्बाबेविरुद्ध र जनवरी २६ मा चौथो खेल स्कटल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ । यस अघि नेपालले आयरल्याण्ड र अमेरिकासँग वार्मअप खेल खेल्ने छ । प्रतियोगिताका खेलहरु टियु क्रिकेट मैदान र अपर मुलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।
११- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई उपसमिति गठन गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । आजको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको छ । यस उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिने र उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने प्रवक्ता झाले जानकारी दिए ।
त्यस्तै पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण र निस्कर्षमा पुर्याउन पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने निर्णय गरिएको छ । यस उपसमितिको सदस्यहरू पनि पार्टी सचिवालयले मनोनयन गर्ने प्रवक्ता झाले जानकारी दिए । त्यस्तै रास्वपाले विवेकशील साझाबाट एकता भएर आएका सात जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । रास्वपाको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन पश्चात आज ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । केन्द्रीय सदस्यमा मनोनित हुनेमा समिक्षा वास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन् ।
१२- बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाहसमेत १४ जना र जाग्रिति/एम.के/नेपाल जेभी, धनगढी, कैलालीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको भवन निर्माण गर्दा त्कालीन नगर प्रमुख दीपक विक्रम शाहसमेत १४ जनासहित ठेकदार कम्पनिले मिलोपतोमा ३ करोड २७ लाख ७८ हजार १७७ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा आइतबार मुद्धा दायर गरेको जानकारी दिएको छ ।
अख्तियारले बुढीगंगा नगरपालिका, बाजुराका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, तत्कालीन अधिकृत छैटौं (प्रशासन) नरेन्द्र नाथ, तत्कालीन इन्जिनियर पारस खाती, तत्कालीन सब-इन्जिनियर गणेश राज रेग्मी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (अधिकृत छैटौ) कल्पना कुमारी ठकुल्ला, तत्कालीन लेखापाल नवराज जोशी र खरिदार श्याम बहादुर खत्री, तत्कालीन शिक्षा अधिकृत जयराज न्यौपाने, असिसटेन्ट सबइन्जिनियर भिमराज गिरी, नायब प्राविधिक सहायक (ना.प्रा.स) सिद्धराज जैसी र प्रशासन सहायक बसन्त बहादुर थापा तथा जाग्रिति/एम.के/नेपाल जे.भी., धनगढी, कैलाली तथा जाग्रिति निर्माण सेवाको प्रबन्ध सञ्चालक पुष्कर रोकाया र जाग्रिति/एम.के./नेपाल जे.भी.को आधिकारिक प्रतिनिधि सुरत बहादुर शाह विरुद्ध जनही ३ करोड २७ लाख ७८ हजार १७७ बिगो माग गर्दै कानुन अनुसार सजायको माग गरेर मुद्धा दायर भएको जनाएको छ ।
१३- कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्दै आएको खानेपानी मन्त्रालयको कार्यभार कृषिमन्त्री परियारलाई रोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
१४- नेप्से आज दोहोरो अंकले घटेको छ । आइतबार नेप्से १०.२९ अंकले घटेर २६१०. ६३ विन्दुमा पुगेर रोकिएको छ । आज ३२३ कम्पनिका एक करोड २ लाख ७४ हजार १२६ कित्ता शेयर ५ अर्ब १ करोड ७५ लाख ८७ हजार २९४ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज वीन नेपाल लघुवित्त र श्रीनगर एग्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सान्वी इनर्जीको शेयर ९.१६ प्रतिशतले बढेको छ । त्यस्तै आज न्यादी हाइड्रोको शेयर सबै भन्दा बढी ४.३२ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ३० करोड ६५ लाख कारोबार भएको छ भने श्रीनगर एग्रोको २२ करोड ८८ लाखको कारोबार भएको छ ।
१५- धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्जमा आइतबार प्रदर्शन भएको छ । प्रदर्शन बढ्दै गएर तोडफोडमा उत्रिएपछिप्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको हो । धनुषाको धनुकमला नगरपालिका- ६ स्थित सखुवा मरानको मुस्लिम बस्तीमा रहेको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गरी कुरान जलाएको घटना सार्वजनिक भएपछि मुस्लिम समुदाय आक्रोशित बनेका हुन् । आइतबार बिहान प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले वीरगन्ज–३ छपकैयास्थित नेपाल प्रहरीको बिटमा तोडफोड पनि गरेका छन् ।
दिउसो एक बजेपछि भने अवस्था शान्त हुदै गएको प्रहरीले जानकारी दिएको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भावमा खलल पुऱ्याउने, एक अर्कामा सामाजिक तथा धार्मिक वा साँस्कृतिक द्वेष भाव श्रृजना गरी राष्ट्रिय एकतामा आँच पुऱ्याउने वा झुठ्ठा अफवाह फैलाई कुनै धर्म समुदायको सामाजिक मान मर्दन गर्ने कार्यमा संलग्न व्यक्तिका सामाजिक सञ्जाल खातामा सुक्ष्म रुपमा निगरानी भैरहेको जानकारी गराउँदै यस्ता गतिबिधि नगर्न आग्रह गरेको छ ।
१६- बलिवुड अभिनेता रणवीर सिंहको फिल्म धुरन्धरले बक्स अफिसमा निरन्तर शानदार कमाई गरिरहेको छ । फिल्म रिलिजको पाँचौं साताको पहिलो दुईदिन पछि फिल्मले घरेलु बक्सअफिसमा ८ सय करोडको आँकडा पार गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ३० दिनमा ८०६. ८ करोड भारु कमाई गरेको हो । फिल्मले पाँचौं साताको शुक्रबार ९.७० करोड र शनिबार १२.६० करोड कमाई गरेको थियो । यस फिल्मले रिलिजको चौथो सातामा मात्र ११५.७० करोड कमाई गरेको थियो भने पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको थियो ।
त्यस्तै दोस्रो सातामा २६१.५० करोड कमाई गरेको थियो भने तेस्रो सातामा फिल्मले १८९.३० करोड कमाई गरेको थियो । धुरन्धर हालसम्म बलिवुडको इतिहासमा सबै भन्दा धेरै कमाई गर्ने तेस्रो फिल्म पनि बनेको छ । बलिवुडको इतिहासमा सर्वाधिक कमाई कलेक्सन गर्ने फिल्म दंगल हो । दंगलले १९६८ करोड कमाई गरेको थियो भने जवानले ११४८ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरेको छ । अहिलेसम्म फिल्मले भारत बाहिर २३० करोड भन्दा बढी कमाई गरेको छ । फिल्म धुरन्धर डिसेम्बर ५ मा रिलिज भएको थियो । यो फिल्म २०२५ को सबैभन्दा ठूलो फिल्म साबित भएपछि, धुरन्धरको दोस्रो भाग मार्चमा रिलिज हुने तय भएको छ । फिल्मको दोस्रो भाग १९ मार्च २०२६ मा रिलिज हुने घोषणा गरिएको छ । यसको बक्स अफिसमा यश र कियारा आडवाणी अभिनित फिल्म टक्सिकसँग भिडन्त हुने भएको छ ।
१७- चीनले अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई तुरुन्तै रिहा गर्न आग्रह गरेको छ । चीनले एक सार्वभौम राज्यविरुद्ध अमेरिकाको स्पष्ट बल प्रयोगबाट स्तब्ध भएको बताउदै मादुरोलाई पक्राउ गरेको प्रति कडा निन्दा समेत गरेको छ । चीनको विदेश मन्त्रालयले अमेरिकालाई राष्ट्रपति मादुरो र उनकी श्रीमतीको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न, राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई तुरुन्तै रिहा गर्न, भेनेजुएलाको शासनलाई उल्टाउने प्रयास बन्द गर्न आग्रह गर्दै वार्ताबाट समस्या समाधान गर्न आह्वान गरेको छ । मादुरो र उनकी श्रीमतीलाई भेनेजुएलाबाट शनिबार पक्राउ गरी अहिले न्यूयोर्कक ब्रुकलिन हिरासत कक्षमा राखिएको छ । ट्रम्प प्रशासनले मादुरो र उनकी श्रीमतीलाई लागूऔषध तस्करी र अमेरिकीहरुको ज्यान जोखिममा पारेको मुद्धा दायर गरेका छन् र केहि दिनमा अदालतमा पेश गर्ने बताएका छन् ।
१८- निर्वाचनको मिति नजिकिदै गर्दा प्रमुख तीन दलका शिर्ष नेताहरु नजिकिएका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि चौतर्फी आलोचनाको केन्द्रमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पछिल्ला दिनमा नजिकिएका हुन् । तीन नेताहरुबीच यस बिचमा पटक पटक भेटवार्ता भइरहेको खुलेको छ ।
तिनै नेताले आगामी निर्वाचनमा गठबन्धन गरेर चुनावमा जाने विषयमा छलफल गरिरहेको बुझिएको छ । यसै प्रसंगमा एमाले अध्यक्ष ओली र प्रचण्डबीच आइतबार बिहान भेटवार्ता भएको छ । ललितपुरको च्यासलमा भएको भेटमा दुवैबीच समसामयिक राजनीति र आसन्न राष्ट्रिय सभाको निर्वाचनको विषयमा छलफल केन्द्रीत भएको बताइएको छ । राष्ट्रिय सभाको निर्वाचनमा एमाले र काँग्रेस मिलेर चुनावमा जाने सहमति भइसकेको र पहिलो प्रचण्डले पनि मिलेर जाने प्रस्ताव गरेपछि ओलीले भेट गरेको बुझिएको छ । प्रचण्ड आज साँझ भारत जानेअघि भएको यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । खासगरि रास्वपासँग बालेन शाह र कुलमान घिसिङको एकतापछि पुराना दललाई गठबन्धन गरेर चुनावमा जान दबाब बढेको विश्लेषण गरिएको छ ।
१९- नेपाली बजारमा आज सुनचाँदी मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको २१ सयले घटेर तोलाको २ लाख ६० हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ६२ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर ४५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४५२५ मा कारोबार भएको थियो ।
२०- अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई आफ्नो नियन्त्रणमा लिएपछि कुनै पनि राष्ट्र प्रमुखलाई आफ्नो नियन्त्रणमा लिएको यो तेस्रो पटक हो । अमेरिकाले कुनै देशको राष्ट्रपति वा तानाशाहलाई पक्राउ गर्न सैन्य कारबाही गरेको यो पहिलो पटक होइन । यसअघि २००३ मा इराक र १९८९ मा पानामामा यस्तै कारबाही गरिएको थियो । अमेरिकाले १९८९ मा अमेरिकाले ल्याटिन अमेरिकी देश पानामामा आक्रमण गर्यो । अमेरिकाले लागूपदार्थ तस्करी र अमेरिका विरोधी गतिविधिको आरोपमा पनामाका तानाशाह म्यानुएल नोरिएगालाई सत्ताबाट हटाएको थियो ।
यस आक्रमणमा अमेरिकी सेनाले पानामा सिटी सहित धेरै क्षेत्रहरूमा बमबारी गर्यो, जसमा लगभग २ हजार मानिसहरू मारिए । नोरिएगालाई पक्राउ गरी अमेरिका लगियो । १९९२ मा, एक अमेरिकी अदालतले नोरिएगालाई ४० वर्षको जेल सजाय सुनाएको थियो । त्यसपछि २००३ अमेरिकाले इराकमा आक्रमण गर्यो । यसको उद्देश्य इराकी राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताबाट हटाउनु थियो, जसलाई संयुक्त राज्य अमेरिकाले इराकका विभिन्न समुदायहरू विरुद्ध हिंसा, अल-कायदालाई समर्थन र आणविक हतियार राखेको आरोप लगाएको थियो । अमेरिकी सेनाले बगदादसहित धेरै शहरहरूमा बमबारी गर्यो र सद्दामको सरकारलाई पतन गरियो । केही महिना पछि सद्दाम हुसेनलाई पक्राउ गरियो । त्यसपछि सद्दामलाई इराकी अदालतमा मुद्दा चलाइएको थियो । यस अवधिमा, इराक अमेरिकी सेनाको नियन्त्रणमा थियो ।
FACEBOOK COMMENTS