काठमाडौं । विश्वप्रसिद्ध सर्ट भिडियो प्लेटफर्म टिकटकले सन् २०२५ मा नेपालमा सबैभन्दा बढी खोजिएका (टप सर्च) विषयहरूको सूची सार्वजनिक गरेको छ ।
यस वर्ष नेपाली प्रयोगकर्ताहरूले टिकटकलाई केवल मनोरञ्जनका लागि मात्र नभई दैनिक जीवनका निर्णय, यात्रा योजना, र सांस्कृतिक उत्सवहरूको जानकारी लिने भरपर्दो ‘सर्च इन्जिन’का रूपमा प्रयोग गरेको देखिएको छ । ३० डिसेम्बर २०२५ मा सार्वजनिक गरिएको यो तथ्याङ्कले नेपालीको फेरिएको डिजिटल बानीको रोचक झलक प्रस्तुत गरेको छ ।
मनोरञ्जन र सेलिब्रेटीको क्रेज
नेपालीहरूले यस वर्ष शोबिज जगतका हस्तीहरूलाई निकै चासोका साथ खोजेका छन् । सेलिब्रेटीतर्फ प्रियंका कार्की, राजेश हमाल र स्वस्तिमा खड्का शीर्ष स्थानमा रहेका छन् भने टिकटक क्रिएटरमा सिम्पल खरेल र आश्मा विश्वकर्माको खोजी बढी भएको छ। त्यस्तै, सिनेमा र टिभी शोतर्फ ‘जारी २’, ‘जेरी अन टप’ र ‘रोडिज सिजन ७’ ले प्रयोगकर्ताको ध्यान तान्न सफल भएका छन् ।
यात्रा, खेलकुद र भाइरल क्षणहरू
पर्यटनतर्फ हिमालपारिको जिल्ला मुस्ताङ र मनाङ सँगै पशुपतिनाथ मन्दिर सबैभन्दा बढी खोजिएका गन्तव्य बनेका छन् । खेलकुदमा नेपाली फुटबलकी स्टार साम्बा (सावित्रा भण्डारी) र क्रिकेटर दिपेन्द्र सिंह ऐरीसँगै विश्व प्रसिद्ध खेलाडी मेस्सी र एम्बाप्पेको खोजी उच्च रहेको छ। चाडपर्वका बेला तीज र कुकुर तिहारका साथै खेलकुदमा एनपीएल (ल्एी) सिजन २ को व्यापक सर्च भएको छ ।
भान्सादेखि समाचारसम्म टिकटक
यो वर्ष टिकटक सर्चमा खानाका परिकारहरू (रेसिपी) पनि निकै चर्चामा रहे। सेलरोटी, पक्कु र स्टिम चिकेन बनाउने विधिको खोजी धेरैले गरेका छन्। टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदका अनुसार, नेपालीहरूले किनमेल अघिको रिभ्यु, नयाँ कुरा सिक्न र समाचारका अपडेट लिन टिकटकलाई आधार बनाइरहेका छन्।
टिकटक २०२५ का केही प्रमुख सर्चहरू:
गीत: ‘माया गर्नु ल’, ‘वाक्क लाग्दो संसार’
खाना: हत्क्युला फ्रुट, सेलरोटी रेसिपी ट्रेन्डिङ: मिस ग्राण्ड नेपाल, रुटिन अफ नेपाल बन्द
FACEBOOK COMMENTS