काठमाडौँ । गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकले गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ ।
बैठकमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गेरेका थिए । यसअघि विधेयक माथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य राजीव पहारीले गण्डकी प्रदेश आफैँमा पर्यटकीयस्थल भएको बताए । प्रकृति, संस्कृति एवम् साहसिक पर्यटनका दृष्टिले यो प्रदेश महत्वपूर्ण रहेको उनले बताए । प्रदेशको समृद्धिका लागि पर्यटन महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले विधेयक महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । बाह्य पर्यटक मात्र नभई आन्तरिक पर्यटक कसरी बढाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
अर्का सदस्य मनकुमारी गुरुङले विधेयक महत्वपूर्ण भएको बताउँदै गण्डकी र पर्यटन एक अर्काका परिपूरक भएको बताए । प्रकृतिप्रदत्त धेरै सम्पदा गण्डकी प्रदेशमा रहेको बताउँदै उनले विधेयक अझै चाँडो आउनुपर्ने बताउ । प्रदेशको समृद्धिका लागि विधेयक महत्वपूर्ण बन्ने उनले बताए ।
प्रदेशसभा सदस्य गायत्री गुरुङले सरकारले मिहिनेतका साथ विधेयक ल्याएको बताए । समृद्ध प्रदेश बनाउने आधार पर्यटन हो भनिए पनि सुरुमै आउनुपर्ने विधेयक ढिला भएको उनले बताए ।
विधेयक माथिका प्रश्नको जवाफ दिँदै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले विधेयक सरोकारवालासँग पटक पटक छलफल गरी ल्याइएको बताए । प्रदेशका जनतालाई सुखी र समृद्ध बनाउनका लागि पर्यटनलाई प्राथमिकतामा राखिएको उनले बताए ।
बैठकको विशेष समयमा रोशनबहादुर गाहा थापाले नवपरासीको बर्दाघाट सुस्ता पूर्वमा केही समययता नारायणी, लौकाहा, अरुण, विनय लगायतका खोलाका कारण पानीको बहाव बढेर खेत कटान गरेको बताए । कटानका कारण भएको खेती र जमिन बचाउँदै पीडितलाई क्षतिपूर्ति र राहत व्यवस्था गर्नुपर्ने उनले बताए ।
अर्का सदस्य आशा कोइरालाले तनहुँको दक्षिण पश्चिम ढोरबाराही मार्ग क्षतिग्रस्त बनेको भन्दै सरकारको ध्यानाकर्षण गराए । बैठकको विशेष तथा शून्य समयमा पियारी थापा, इन्द्रलाल सापकोटा, धनमाया पोखरेल, मीनप्रसाद गुरुङ, राजीव पहारी, ललितकला गुरुङ लगायतले मूल्यवृद्धि, बाढीपहिराको प्रकोप लगायतका विषयमा सरकार तथा सदनको ध्यानाकर्षण गराए ।
FACEBOOK COMMENTS