भक्तपुर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पर्यटन क्षेत्रको विकासबाट आर्थिक गतिविधि चलायमान बनाउँदै मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राखेका छन् ।
आज भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित घ्याम्पेडाँडामा ‘स्वनिग रिसोर्ट’ को उद्घाटन गर्दै उनले पर्यटकीय क्षेत्रको विकास देशको आर्थिक विकासको मेरुदण्ड भएको बताए ।
पर्यटकीय क्षेत्रको विकासले समृद्ध मुलुक निर्माणको यात्रामा अगाडि बढ्न सकिने भन्दै मन्त्री ठकुरीले पर्यटकीय क्षेत्रको प्रचारप्रसार, संरक्षण र प्रवर्द्धन गरी पर्यटकलाई आकर्षित गर्नुपर्नेमा जोड दिए । भक्तपुर क्षेत्रमा प्रशस्त पर्यटकीयस्थल रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा सबैले सहकार्य र समन्वय गर्नुपर्ने उनको भनाइ छ ।
सात अर्ब रुपैयाँको लागतमा निर्मित उक्त रिसोर्टमा एनआरएनका पूर्वध्यक्ष शेष घले र व्यवसायी अमृत रत्न शाक्यको समेत लगानी रहेको छ ।
कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतलगायतल वक्ताले पर्यटन प्रवर्द्धनका माध्यमबाट सूर्यविनायक नगरपालिकामा आर्थिक गतिविधि थप चलायमान बन्ने बताएका थिए ।
FACEBOOK COMMENTS