काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयअन्तर्गतका सबै निकायका छपाइसम्बन्धी कार्य अब नेपाल प्रज्ञा प्रतिष्ठानस्थित प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको छ ।
मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले मन्त्रालय र अन्तर्गतका निकाय निकायबाट गरिने छपाइसम्बन्धी कार्य प्रज्ञा छापाखानाबाट छपाइ गर्ने निर्णय गरेको हो ।
बैठकले सो छापाखानाको क्षमताअनुरुप गर्न सकिने छपाइका कामको विवरणसहितको जानकारी र प्रतिष्ठानको छपाइसम्बन्धी कार्यविधि उल्लेखित सबै निकायलाई प्रतिष्ठानले लेखी पठाउने निर्णय गरेको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।
यो निर्णयसँगै हाल कुल सञ्चालन क्षमताको १५ प्रतिशत मात्र काम गरिरहेको छापाखाना पूर्णक्षमतामा सञ्चालनमा आउने छ भने वार्षिक रूपमा १२ करोड बढीको छपाइ प्रज्ञा छापाखानाबाटै हुनेछ भने यसले राज्यको रु तीनदेखि चार करोड जोगिने बताइएको छ ।
केही समय पहिले संस्कृतिमन्त्री पाण्डेले प्रज्ञा प्रतिष्ठानको भ्रमणका क्रममा त्यहाँको छापाखानालाई पूर्ण रूपमा सञ्चालनमा ल्याई आय बढाउने विषयमा प्राज्ञसँग छलफल गरे ।
FACEBOOK COMMENTS