काठमाडौं । वर्षमा झन्डै १२ लाख पुगेको नेपालको पर्यटक आगमन कोभिड १९ पछि ओरालो लागे पनि पर्यटकको बसाइ अवधि लम्बिएको थियो । यसअघिका २ वर्ष पर्यटकको औसत बसाइ अवधि लम्बिएको देखिएको भए पनि अहिले घटेको छ ।
नेपालमा १ दशकको अवधिमा कुनै पनि वर्ष पर्यटकको औसत बसाइ अवधि १५ दिन पुगेको छैन । तर, कोभिड १९ महामारी अवधिका २ वर्ष सन् २०२० र २०२१ मा भने नेपालमा पर्यटकको औसत बसाइ अवधि १५ दिन पुगेको थियो ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार ती वर्षमा पर्यटकको बसाइ अवधि लम्बिएको छ । तर, महामारी कम भएको र पर्यटक आगमनमा क्रमिक सुधार देखिएको सन् २०२२ मा भने बसाइ अवधि घटेको छ ।
आर्थिक सर्वेक्षणअनुसार सन् २०२२ मा पर्यटकको औसत बसाइ १३ दशमलव १ दिनमा झरेको छ । सन् २०२० र २०२१ मा क्रमशः औसत बसाइ अवधि १५ दशमलव १ र १५ दशमलव ५ दिन रहेको सर्वेक्षणमा उल्लेख छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको नेपाल पर्यटन तथ्यांक २०२१ ले पनि पछिल्लो दशकमा ती वर्षहरूमै सबैभन्दा बढी अवधि पर्यटक नेपाल बसेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS