काठमाडौं । गत सोमबार र मंगलबार भएको जेन्जी प्रदर्शनमा घुसेका उच्छृङ्खल तत्वहरूलाई परास्त गरेको पोखरा ट्रेड मल हिजो आइतबारदेखि पुनस् सञ्चालनमा आएको छ ।
आन्दोलनका क्रममा तोडफोड, लुटपाट तथा आगजनी गर्न आएको उच्छृङ्खल तत्वहरूलाई मलका सञ्चालक र व्यवसायीहरूले एकताका साथ प्रतिवाद गरेका थिए । उक्त घटनाबाट सामान्य क्षति पुगेको मल हिजोदेखि सञ्चालनमा ल्याइ व्यावसायिक गतिविधि सुचारु गरिएको पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रालिका अध्यक्ष मिनराज काफ्लेले जानकारी दिए ।
उनले आन्दोलनका बाहानामा तोडफोड तथा आगजनीजस्ता आपराधिक कार्यमा उद्दत् अराजक तथा उच्छृङ्खल तत्वहरूको हरकतप्रति घोरभर्त्सना गर्दै विषम् परिस्थितिमा मललाई जोगाउन आ–आफ्नो स्थानबाट विशेष साथसहयोग प्रदान गर्ने सबै सटरधनी, व्यवसायी, सुरक्षा निकाय, स्थानीय बासिन्दाहरू र शुभचिन्तकहरूप्रति हार्दिक आभार एवम् धन्यवाद व्यक्त गरेका छन् ।
अध्यक्ष काफ्लेका अनुसार ६७ जना व्यवसायीहरूको संयुक्त लगानीमा निर्मित सो मलमा २०० भन्दा बढी व्यवसायिक प्रतिष्ठान सञ्चालनमा छन्, जहाँ करिब ७०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
व्यवसायीहरूले सम्बन्धित निकायमा दर्ता भई कर तिर्दै आएका छन् र निजी लगानीका साथै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय गर्दै आएका छन् । यस्तो अवस्थामा सार्वजनिक व्यापारिक केन्द्रलाई लक्षित गरी भएको तोडफोडले नकारात्मक असर पारेको मलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
FACEBOOK COMMENTS