![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
वीरगञ्ज । आयात–निर्यात कारोबार परिमाणका आधारमा देशको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष २०७८-७९ को ९ महीनामा करीब ६ खर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि चैतसम्ममा ५ खर्ब ९२ अर्ब रुपैयाँबराबरको वस्तु आयातनिर्यात भएको हो । प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले ५ खर्ब २२ अर्ब रुपैयाँको वस्तु आयात हुँदा निर्यात भने ६९ अर्ब रुपैयाँबराबरको मात्रै भएको बताए ।
गत वर्ष २०७७÷७८ को सोही अवधिको तुलनामा कुल व्यापार ५० प्रतिशतले बढेको तथ्यांक भन्सारसित छ । गत वर्ष कुल व्यापार ३ खर्ब ९४ अर्ब रुपैयाँबराबर थियो । यो वर्ष आयात ४४ प्रतिशतले वृद्धि हुँदा निर्यात ११९ प्रतिशतले बढेको देखिन्छ । गत वर्षको साउनदेखि चैतसम्ममा ३१ अर्ब रुपैयाँको वस्तु निकासी भएको थियो ।
वीरगञ्ज नाकाबाट प्रशोधित तेलको निर्यात सबैभन्दा बढी छ । भारतले तेलमा आयात शुल्क घटाएपछि नेपालबाट निकासी रोकिने भन्दै चिन्तित बनेका उद्योगीले अहिले धमाधम निकासी गरिरहेका छन् ।
अन्तरराष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको भाउ निरन्तर उकालो लागेकाले निकासी सम्भव भएको उद्यमी बताउँछन् । बाहिरबाट नेपालमा कच्चा पदार्थ ल्याएर प्रशोधन गरी निकासी गर्दा बाह्य बजारमा भाउ बढिसक्ने हुनाले मूल्यकै आधारमा निकासी हुन सकेको हो । यो नाकाबाट ९ महीनामा २८ अर्ब रुपैयाँबराबरको १ लाख १३ हजार ४३७ मेट्रिकटन भटमासको प्रशोधित तेल निर्यात भएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS