काठमाडौं । भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै रौतहट जिल्ला प्रशासन कार्यालयले कात्तिक २२ गते अर्थात् शनिबार साँझ ६:०० बजेदेखि नेपाल–भारत सीमानाकामा आवागमन बन्द हुने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित पत्रमा यही कात्तिक २५ गते ९११ नोभेम्बर २०२५० मङ्गलबारका दिन दोस्रो चरणको विधानसभा निर्वाचन हुन गइरहेको हुँदा सीतामढी र पूर्वी चम्पारण जिल्लासँग जोडिएका रौतहटका सीमानाका शनिबार साँझ ६:०० बजेदेखि लिएर २५ गते मङ्गलबार साँझ ६:०० बजे सम्म आकस्मिक सेवाबाहेक आवागमन पूर्ण रूपमा बन्द हुने उक्त पत्रमा उल्लेख गरिएको छ ।
नेपाल–भारत सीमा क्षेत्रसम्बन्धी भएको समन्वय बैठकपश्चात दुई देशमा हुने निर्वाचन हुनुभन्दा ७२ घण्टाअगावै सीमा शिल गर्ने चलन रहिआएको छ । सोहीअनुसार निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल–भारत सीमा क्षेत्रमा हुने आवागमन पूर्ण रूपमा बन्द हुने गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीले जानकारी दिनुभयो ।
FACEBOOK COMMENTS