चितवन । सवारी दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सुरू गरेको छ । भरतपुर महानगरपालिका-१० का अध्यक्ष परमेश्वर खनाल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन् ।
जिल्लामा भएका दुर्घटनामा अत्यधिक सङ्ख्यामा मोटरसाइकल पर्ने गरेकाले मोटरसाइकल चालकलाई सुरक्षित यात्रा गर्न उत्प्रेरित गर्ने उद्देश्यले अभियान सुरू गरिएको हो । अभियानका क्रममा ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई शुभयात्रा मात्रै नभनी ‘नमस्कार, आरामै हुनुहुन्छ, पछिल्लो समयमा मोटरसाइकल दुर्घटनाको सङ्ख्या बढी भएका कारण उक्त दुर्घटना न्यूनीकरणका लागि हामीले तपाईंहरूलाई सुरक्षित यात्राको कामना गर्दै तपाईंहरूको विवरणसमेत राख्छौँ, कृपया बिस्तारै चलाउनुस्, हेलमेट लगाउनुस्, नशालु पदार्थको सेवन गरेर सवारी नचलाउनुहोला, जीवन अमूल्य छ, शुभयात्रा’ जस्ता शब्दहरू भन्ने गर्दछन् ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार लामो तथा छोटो दूरीमा यात्रा गर्ने हरेक मोटरसाइकल चालकलाई सडक छेउमा रोकेर यो सन्देश प्रवाह गर्नेछन् । जिल्लामा दुर्घटनामा संलग्न सवारीसाधनमध्ये ५८ दशमलव ६७ प्रतिशत मोटरसाइकल हुने गरेको प्रहरीको भनाइ छ ।
चालु आर्थिक वर्षमा भएका चार सय छवटा दुर्घटनामा छसय सातवटा सवारी साधन दुर्घटनामा परेकामा तीनसय ५६ वटा दुईपाङ्ग्रे सवारीसाधन छन् । ती दुर्घटनामा परी जिल्लामा ६३ जनाको मृत्यु भएको छ भने सात सय १८ जना घाइते भएका छन् ।
कार्यक्रममा वडाध्यक्ष खनाल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गौतमले दुर्घटना न्यूनीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी बन्ने बताए । सवारी दुर्घटनामा अत्यधिक सङ्ख्यामा दुईपाङ्ग्रे सवारी साधन पर्ने गरेको बताउँदै उनीहरूले दुईपाङ्ग्रे सवारीसाधनको चालक बढी सतर्क हुन आवश्यक रहेको बताए ।
FACEBOOK COMMENTS