काठमाडौं । विश्वकै ठूलो भिडियो सेयरिङ प्लेटफर्म युट्युबले आउँदो जुलाई २१, २०२५ देखि आफ्नो ट्रेन्डिङ पेज बन्द गर्ने घोषणा गरेको छ।
सन् २०१५ मा सुरु भएको ट्रेन्डिङ पेजले प्रयोगकर्ताहरूलाई कुनै बेला सबैभन्दा धेरै हेरिएका र चर्चामा आएका भिडियोहरू सजिलै फेला पार्न सहयोग गर्दै आएको थियो । तर कम्पनीका अनुसार पछिल्लो पाँच वर्षमा उक्त पेजको भिजिटमा उल्लेखनीय गिरावट आएको छ ।
युट्युबले हालै सार्वजनिक गरेको ब्लग पोस्टमा भनिएको छ कि प्रयोगकर्ताहरू अब सर्ट्स, खोज सुझाव, टिप्पणी र सामुदायिक पोस्टहरूजस्ता विकल्पमार्फत ट्रेन्डिङ सामग्री सहजै पाउन थालेकाले ट्रेन्डिङ पेजको उपयोगिता घट्दै गएको हो। यही कारणले कम्पनीले यसलाई बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
अबदेखि ट्रेन्डिङ भिडियोहरू हेर्नका लागि युट्युब चार्ट्सलाई विकल्पको रूपमा प्रस्तुत गरिनेछ। हाल युट्युब चार्ट्स म्युजिकका लागि मात्र उपलब्ध छन्, जसमा प्रयोगकर्ताहरूले ट्रेन्डिङ संगीत भिडियो, शीर्ष पोडकास्ट शो र चलचित्र ट्रेलरहरू हेर्न सक्छन्। भविष्यमा अन्य क्याटेगोरीहरू समेत चार्टमा समेटिने युट्युबको योजना छ। गेमिङ भिडियोलाई भने गेमिङ एक्सप्लोर पेजबाट नै ट्रेन्डिङ सूचीमा हेर्न सकिनेछ ।
धेरै कन्टेन्ट क्रिएटरहरूले आफ्नो लोकप्रियता मापन गर्न र नयाँ प्रवृत्तिहरू बुझ्न ट्रेन्डिङ पेजलाई भरपर्दो माध्यम बनाएका थिए। कम्पनीका अनुसार सिर्जनाकर्ताहरूले अब युट्युब स्टुडियोको ‘प्रेरणा’ ट्याबमार्फत आफ्ना व्यक्तिगत ट्रेन्डिङ विचारहरू पाउनेछन्, जसले सामग्री उत्पादन र योजनामा सहयोग पुर्याउनेछ ।
