काठमाडौँ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका हेमोफिलियाका बिरामीका लागि एन्टिहेमोफिलिक फ्याक्टर हस्तान्तरण गरेको छ ।
मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजनामा भएको एक कार्यक्रममा प्रदेशको स्वास्थ्यमन्त्री निमा लामाले हेमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेलाई हेमोफिलिक फ्याक्टर आइतबार हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा उनले बागमती प्रदेश सरकारबाट प्राप्त सहयोगको औषधि हेमोफिलियाका बिरामीका लागि सहजैरूपमा उपलब्ध गराउन हेमोफिलिया सोसाइटीलाई आग्रह गरेका छन् । लामाले प्रदेश सरकार यस्तैखाले अन्य रोगका बिरामीका लागि औषधि र उपचारको व्यवस्था गर्न प्रतिबद्ध रहेको उल्लेख गरे। उनले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले औषधि एवं उपकरण खरिदका लागि बजेट विनियोजन गरिसकेकाले खरिद प्रक्रिया अघि बढिसकेको बताए ।
आपूर्ति केन्द्रबाट सोसाइटीलाई एक हजार १ सय ३० भाइल औषधि उपलब्ध गराएको आपूर्ति केन्द्रका प्रमुख डा. अर्जुन सापकोटाले जानकारी दिए । हस्तान्तरण गरिएको सो औषधिको मूल्य करिब रु एक करोड रहेको जनाइएको छ । देशभर हेमोफिलियाका सात सय ८० र बागमती प्रदेशमा २० महिलासहित दुई सय ५० बिरामी रहेको जनाइएको छ । औषधि अभावमा गत वर्ष चार जनाको मृत्यु भएको सोसाइटीले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य आपूर्ति केन्द्रका वरिष्ठ जनस्वास्थ्य निर्देशक शम्भु काफ्लेले प्रदेश स्वास्थ्य निर्देशनालय पनि यस्ता कार्यक्रममा सहजीकरण गर्न तयार रहेको उल्लेख गरे ।
FACEBOOK COMMENTS