कात्तिक ५ काठमाडौं । भारतले सीमापार जयनगर-कुर्था (जनकपुर)को विस्तारित रेलमार्ग नेपाललाई हस्तान्तण गरेको छ । भारतले सन् २०१४बाट न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो ।
नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको हो । शुक्रबार आयोजित एक समारोहमा भारतीय राजदूत विनयमोहन क्वात्राले भोतिक पूर्वाधार तथा यायातमन्त्री रेनुकुमारी यादवलाई रेलमार्ग हस्तान्तरण गरे ।
३४ किलोमिटरको जनकपुर-जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर-जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विभिन्न प्राविधिक ढिलाइको कारण देखाउँदै ढिलाइ हुँदै आएको छ ।
कुर्था-जयनगर रेलमार्ग ब्रोडगेजमा विस्तार गर्न ३८० करोड रुपैयाँ खर्च भएको भारतले बताएको छ । अहिले कुर्थादेखि बिजलपुरासम्म २०० करोड खर्चेर बाँकी खण्डको काम भारतले नै गर्दैछ ।
जयनगर-कुर्था रेलमार्ग कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अझै टुंगो छैन । रेल सञ्चालनमा लागि अहिले नेपालसँग कानुन नै छैन । यो रेलमार्ग सञ्चालनका लागि नेपाल र भारतबीच ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’ (सञ्चालन प्रक्रिया) मा हस्ताक्षर भने भइसकेको छ ।
सन् २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग २ वटा रेल किन्ने सम्झौता भएको थियो । भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।
FACEBOOK COMMENTS