काठमाडौँ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
सभाको आजको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकामा सर्वसम्मतिले स्वीकृत भएको हो । अध्यक्ष दाहाल प्रस्ताव सर्वसम्मतिले स्वीकृति भएको घोषणा गर्दै विधेयकमा संशोधन राख्न चाहने सदस्यलाई राष्ट्रियसभा नियमावली, २०७५ को नियम १०६ बमोजिम सभाअन्तर्गतको विधेयक शाखामा प्रस्ताव दर्ताको निम्ति आग्रह गरे ।
यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधसभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेस गरेका थिए । विधेयकमाथिको छलफलमा सांसदहरू पदमबहादुर परियार, रेणु चन्द, विष्णुबहादुर विश्वकर्मा, रुक्मिणि कोइराला, किरणबाबु श्रेष्ठ र मायाप्रसाद शर्माले भाग लिएका थिए ।
राष्ट्रियसभाको अर्को बैठक यही भदौ ६ गते दिउँसो १:१५ बजे बस्नेछ ।
FACEBOOK COMMENTS