हेटाैँडा । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को छ महिनाका अवधिमा २९ करोड एक लाख रूपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुस महिनासम्ममा कार्यालयले २९ करोड एक लाख ७५ हजार छ सय ५१ रूपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार चालु आवको छ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट १७ करोड ३८ लाख २१ हजार एक सय ४९ रूपैयाँ, सवारी करबाट चार करोड ५३ लाख ६८ हजार तीन सय ३१ रूपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट चार करोड ५६ लाख ७० हजार आठ सय ११ रूपैयाँ, सङ्घीयतातर्फ एक करोड ८१ लाख २५ हजार एक सय ८० रूपैयाँ तथा बेरूजुबाट आठ हजार दुई सय ५० रूपैयाँ राजस्व सङ्कलन भएको छ ।
यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल एक हजार दुई सय ८० वटा, साना सवारी पाँच सय १३ वटा, टेम्पो/ई-रिक्सा तीन सय ३७ वटा, ठूला तथा मझौला सवारी तीन सय २१ वटा र ट्र्याक्टर पाँच गरी दुई हजार चार सय ५८ नयाँ सवारी दत्र्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । यस अवधिमा नयाँ दुई हजार एक सय ६३ र वर्ग थप एक हजार चार सय ४८ गरी तीन हजार छ सय ११ जनालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा ५६ करोड सात लाख १७ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो ।

