काठमाडौँ । हिन्दू नेपालीहरुको ठूलो चाड दसैँ लागिसकेको छ । यो बेला सबैभन्दा लामो बिदा हुन्छ । कम्तिमा एक हप्ताको बिदा सबै कर्मचारी, श्रमिकहरुले पाउँछन् । पछिल्लो समय दसैँको लामो बिदामा घुम्न जाने प्रचलन पनि बढ्दो छ । अझ हुने खानेहरु त यही बिदाको मौकामा विदेश सयर गर्दछन्।
कोही पूरै परिवारका साथ विभिन्न रमणीय ठाउँको अवलोकन गर्दछन् त कोही साथीभाइको समूह बनाएर बिदाको समयलाई सदुपयोग गर्दछन् ।
के तपाईं पनि यो दशैं बिदाको समयको मौका पारेर घुम्न निस्किँदै हुनुहुन्छ? यदि यसो हो भने देशभित्रकै परिचित ठाउँहरु छन् जहाँ तपाईंले परिवार तथा साथीभाइका साथमा रमाइलो महशुस गर्न सक्नुहुनेछ।
त्यसका लागि हामीले केही ठाउँका बारेमा जानकारी पस्केका छौं । जहाँ तपाईं परिवार र साथीभाइको समूह बनाएर आनन्द लिन सक्नुहुनेछ ।
घान्द्रुक
कास्की जिल्लाको पोखरा नेपालकै सबैभन्दा बढी पर्यटक पुग्ने स्थानमध्ये एक हो । यहाँ फेवाताल, बेगनास ताल, ताल बाराही, साराङकोट, चमेरो गुफालगायत विभिन्न स्थानहरु घुम्न लायक ठाउँहरु छन् ।
कास्की जिल्लाकै अर्को घुम्न लायक ठाउँ हो– घान्द्रुक । घान्द्रुक गाउँ पोखराबाट उत्तरी क्षेत्रमा पर्दछ । अन्नपूर्ण पद यात्रा मार्गमा पर्ने यो ठाउँ विदेशी पर्यटकका लागि परिचित भइसकेको छ ।
घान्द्रुक, आफ्नै किसिमको संस्कृतिक, भौगोलिक, पौराणिक दृष्टिले अति सुन्दर मानिन्छ । यहाँ हेर्न र घुम्न लायक धेरै ठाउँहरु रहेका छन् । जसमा तौजीवराह, पोज नेबवराह, कोट डाँडा, गुम्बा, ङयोवराह ताल आदि रहेका छन् । जैविक विविधताले भरिपूर्ण घान्द्रुकमा सुनाखरी, जंगली फूलहरू, गुराँसका विभिन्न प्रजाति फूल्ने मौसम आफैमा मनमोहक छ ।
यहाँबाट विभिन्न हिम शृङ्खला, सूर्योदय हेर्न पाइन्छ । सुन्दर ग्रामीण बस्ती, फरक संस्कृति, मनोरम भूगोलको काखमा बस्न पाउनु सबैका लागि आनन्ददायी महसुस हुन्छ । घान्द्रुकको प्रकृतिसँग जति रमाए पनि मन अघाउँदैन । स्वदेशीसँगै धेरै विदेशी पर्यटकहरुका लागि घुम्ने र रमाइलो गर्ने मुख्य केन्द्र बन्दै गएको छ ।
होमस्टेबाट बिहानै निस्कँदा चराका आवजसँगै माछापुछ्रे, हिमचुली, अन्नपूर्ण हिमाल अवलोकन गर्न समेत यहीवाट पाइन्छ । नजिकै हिमालको काखमा बसेको अनुभव गराउने घान्द्रुक आफैमा लोभ लाग्दो छ । ढुंगाले छाएका घरहरु घान्द्रुकबासीको परम्परागत पहिचान हो । ढुंगा छापेर बनाइएका बाटो र सिँढीहरुले यहाँको शोभा बढाएको छ ।
कास्की जिल्लाको पोखराबाट २४ किलोमिटर उत्तरपश्चिम हिँडेपछि घान्द्रुक पुगिन्छ । त्यहाँ साना ठूला गरी झण्डै सय होटल छन । यहाँ ५ दिन घुम्न जानका लागि १० हजारदेखि १५ हजार रुपैयाँसम्म लाग्ने गर्दछ । (एकदिन होमस्टेमा बसेर साँझ बिहानको खाना र खाजाको खर्च ८ सय रुपैयाँ लाग्दछ ।)
रुवी भ्याली
गीत गाउँदा गाउँदै तरुना-तरुनीले एक अर्कोलाई मन पराए भने बिहे नै गर्ने प्रचलन अझै जिवित रहेको उपत्यका हो रुवी भ्याली । ‘मेन्दोमाया’ भाकाको उत्पत्ति भएको क्षेत्र । धादिङ जिल्लामा रहेको यो स्थानमा पुग्न त्यति धेरै समय खर्च हुँदैन ।
तामाङ समुदायको मौलिक मेन्दोमायासँगै लाखे नाच, माने नाच, पारु नाच यहाँ भेटिनेछ । रुवी भ्याली यात्राको अर्को विशेषता यहाँको दशैंको माहौल पनि हो । स्थानीय भाषामा ‘मार हान्ने’ भन्ने चलन अनुसार युवाहरुले दशैंमा राँगा काट्ने गर्छन् । यसबेला ठूलै मेला लाग्छ । अलि फरकखालको दशैंको झल्को रुवी भ्यालीको यात्रामा मिल्नेछ । रसुवाको लाङटाङबाट गत्लाङ हुँदै रुवी भ्याली पदयात्रामा निस्कियो भने गणेश हिमालको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।
रुवीभ्यालीमा प्रायजसो गाउँबस्ती एकदमै बाक्लो र सुन्दर छन् । प्रत्येक गाउँमा १ सयदेखि ६ सय ५० वटासम्म घर छन् । लापा, तिप्लिङ, सेर्तुङ, बोराङजस्ता गाउँ धेरै घरधुरी रहेको गाउँ हुन् । रुवीभ्यालीका अधिकांश वस्तीमा तामाङ र गुरुङ समुदायको बाहुल्यता छ ।
रुवीभ्यालीमा मनोरम बस्ती, खोलानाला, नदी, सबैभन्दा सानो गुराँस सुनपातेसहित १४ थरीका लालीगुराँसका जंगल जैविक विविधतालगायत पर्यटक आकर्षण गर्ने सबै प्राकृतिक दृश्य रहेको छ । रुवीभ्याली जाँदा आफ्नो लागि आवश्यक लजिस्टिक सामान टेन्ट–स्लिपिङ ब्यागुसहित जाँदा राम्रो हुन्छ । ’अबगकभ सबै ठाउँमा खाना बस्न नपाउन सकिन्छ ।
कास्कीको मााछापुच्छ्रे गाउँपालिकामा मार्दी हिमाल छ। यसको बेसक्याम्प चार हजार पाँच सय मिटरको उचाईमा रहेको छ।
व्यवस्थित ट्रेकिङ रुट भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ झुम्मिने गर्दछन्। विश्वमै चर्चित पदमार्ग अन्नपूर्ण सर्किटभित्रको एक हो मार्दी हिमाल बेसक्याम्प जाने बाटो। बेसक्याम्पबाट चाँदीझै टल्किेने हिउँको लेपनले मार्दी हिमाल निकै मनमोहक देखिन्छ।
यहाँको यात्रा गर्दा अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे, मनास्लुलगायतका हिमालहरुको दृश्यावलोकन पनि गर्न सकिन्छ।
साथै, हरियाली जंगल तथा स्थानीय बस्तीहरुसमेत अवलोकन गर्न पाइन्छ। पाँच दिनको पैदल दूरीपछि मार्दीको बेसक्याम्पसम्म पुग्न सकिन्छ।
कास्कीको काँडेबाट यसको पैदल यात्रा सुरु हुन्छ। काँडेबाट अष्ट्रेलियन क्याम्प, पोथाना हुँदै पितम देउराली पुगिन्छ। त्यसपछि फरेष्ट क्याम्प र फरेष्ट क्याम्पबाट लो क्याम्पतर्फ पुगिन्छ। बतासे डाँडा हुँदै त्यसैदिन हाइक्याम्प पुगिन्छ। हाइक्याम्पबाट मार्दी हिमालको बेसक्याम्प पुग्न सकिन्छ।
मार्दीको अवलोकनपछि पैदल हिँडेर लो क्याम्प हुँदै सिदिङ आइपुगिन्छ। सिदिङबाट जीपमा पोखरा आउन सकिन्छ। यहाँ बास बस्ने होटल तथा लजहरु हाइक्याम्प पुगेपछि भेटिन्छन्।
रारा ताल
कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल नेपालकै ठूलो ताल हो। राराको मनमोहकताबाट मोहित भएका स्वर्गिय राजा महेन्द्र शाहले २०२० सालमा यसलाई रारा ताललाई स्वर्गकी अप्सरा भनि चित्रण गरेका थिए। यसलाई महेन्द्र तालका नामले पनि चिनिन्छ।
कर्णालीमा सडक सञ्जालको पहुँच पुगेसँगै यसको महत्व बढ्दै गएको छ। छायाँनाथ रारा नगरपालिकामा पर्ने यो ताल समुद्र सतहदेखि २९ सय ९० मिटर उचाईमा अवस्थित छ। यो तालको लम्बाई करिब पाँच किलोमिटर रहेको छ भने चौडाई करिब तीन किलोमिटर छ। यसको गहिराई १६७ मिटर छ।
यसको वरिपरी रारा राष्ट्रिय निकुञ्ज छ। निकुञ्जमा कस्तुरी मृग, रतुवा, हिमाली कालो भालु, बँदेल, कालिज, डाँफे, च्याखुरा जस्ता पंक्षी पाइन्छन्।
सूर्योदय र सूर्यास्तका बेला यस तालको दृश्य निकै मनमोहक देखिन्छ। यस्तै चंखेली र कान्जिरोवा हिमालको छाँया तालमा पर्दा त झनै रोमाञ्चक देखिन्छ। राराबाट पश्चिमतर्फ तीन घण्टा हिँडेपछि पुगिने मुर्माटपबाट राराको पूरा दृश्य देख्न सकिन्छ। साथै मुर्माटपबाट सैपाल हिमालको समेत अवलोकन गर्न सकिन्छ।
रारा जान जहाज र बस दुवैको प्रयोग गर्न सकिन्छ। काठमाडौंबाट बसमा ३२ घण्टामा जुम्लाको सदरमुकाम खलंगा पुगिन्छ। खलंगाबाट बस चढेर ऐतिहासिक उपत्यका सिञ्जा हुँदै मुगुको सदरमुकाम गमगडी पुग्न सकिन्छ। गमगडीबाट दुई घण्डाको पैदल यात्रापछि रारासम्म पुग्न सकिन्छ। यता जुम्लाबाट डाँफे लेक हुँदै पैदल जान पनि सकिन्छ। जसमा स्थानीय एक दिनमै पुग्छन् भने बाहिरबाट जाने पर्यटकले विस्तारै हिँड्दा करिब दुई दिन लगाउँछन्।
काठमाडौंदेखि रारासम्म पुग्न र काठमाडौं फर्किन स्कार्पियोमार्फत् जाँदा भने करिब एक साताको समय लाग्छ। पछिल्लो समय साथीभाइको समूहमा रारासम्म मोटर साइकलमा जानेहरुको संख्या पनि उच्च छ। राराको दृश्यावलोकनका साथै तालमा पाइने असला माझा पनि हेर्न सकिन्छ। यहाँसम्म पुग्न र फर्किन प्रतिव्यक्ति करिब २५ हजार रुपैयाँ खर्च लाग्दछ।
तिलिचो ताल
नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ताल हो तिलिचो ताल। जुन समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाईमा अवस्थित छ। यो ताल वरिपरि रहेका मुक्तिनाथ, तिलिचो हिमाल र नीलगिरि हिमशृंखलाले मनमोहक बनाएका छन्।
तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किलोमिटर दूरीमा पर्छ। काठमाडौंबाट लमजुङको बेँसीसहर हुँदै मनाङको खाङसारसम्म गाडीमा जान सकिन्छ।
खाङसारमा बास बसी पाँचौं दिन तारे गुम्बा र श्रीखर्क हुँदै लगभग ८ घण्टा पैदल हिँडेपछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ। बेसक्याम्पबाट झण्डै तीन घण्टाको उकालोपछि छैठौं दिनमा तिलिचो ताल पुग्न सकिन्छ। त्यसदिन त्यहिँ बास बसेर भोलिपल्ट फर्किने तरखर गर्नु पर्छ।
तिलिचोको यात्रा लगभग ७ दिनको हुन्छ। तर दमको समस्या भएका मानिसका लागि भने यहाँ केही समस्या उत्पन्न हुन्छ। तर स्थानीय र प्रहरीले समस्यामा परेका यात्रीको उद्धार भने गर्दै आएका छन्। यहाँको यात्राका लागि प्रतिव्यक्ति करिब ४० हजार रुपैयाँसम्म खर्च लाग्छ।
सैलुङ
एक सयभन्दा धेरै स–साना पहाडका चुचुराबाट वरिपरि गौरीशंकर, जुगल, गणेश हिमालसहितका दर्जनौँ हिमशृंखला देख्न पाइन्छ । डाँडैमा उभिएर पश्चिमतिर सिन्धुपाल्चोकका गाउँबस्ती र हरियाली डाँडाकाँडा अनि छेवैका दक्षिण र पूर्वी भागमा रामेछापका दोरम्बासहितको गाउँबस्ती पर्छ । रामेछापको सिमानामा पर्ने सैलुङका टाकुराबाट उत्तर र पूर्वतर्फ दोलखाका अधिकांश भूभाग नियाल्न सकिन्छ ।
सैलुङमा सय थुम्कासँगै धर्मढोका, महादेव मन्दिर, हनुमान ढोका, जरेश्वर महादेव, गाईढुंगा, बाघढुंगालगायतका धार्मिक स्थलहरू छन्, जहाँ बर्सेनि मेला लाग्ने गर्छ । सैलुङको अर्को विशेषता पुसदेखि फागुनसम्मै यो ठाउँलाई पूरै हिउँले ढाकेको हुन्छ ।
सैलुङको बेस क्याम्प कालापानीसम्म गाउँपालिकाले सडक पुर्याएको छ । कालापानीबाट भने करिब ४५ मिनेट हिँडेर नै थुम्काहरूमा पुगिन्छ । सैलुङ प्रवेश गर्ने मुख्य बस्तीहरू झोर र मनगाउँमा यसअघिदेखि नै होमस्टे सञ्चालनमा छन् ।
यसरी पुगिन्छ सैलुङ
काठमाडौंबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोककै मुडे बजार पुगिन्छ । यहाँबाट दोलखाको मुडे–बाघखोर कालापानी सडक प्रयोग गरेर सैलुङको बेस क्याम्प कालापानी पुग्न सकिन्छ । तर, पर्यटकहरू मुडेबाट दोलखा सदरमुकाम चरिकोट हुँदै सैलुङ पुग्छन् । चरिकोट–काठमाडौं १ सय ३२ किलोमिटरको दूरीमा छ ।
मोहरे डाँडा
तीन हजार तीन सय १० मिटर उचाईमा रहेको मोहरे डाँडा म्याग्दी जिल्लामा पर्दछ। अन्नपूर्ण क्षेत्रको अवलोकनका लागि यो ठाउँ निकै उपयुक्त मानिन्छ।
यो गन्तव्य बेनी र जोमसोमको माझमा धौलागिरी र अन्नपूर्ण हिमालबीचमा पर्ने विश्वकै सबैभन्दा गहिरो खोँचसँगै पर्दछ।
पोखरादेखि त्यहाँ जान बेनीसम्म गाडीमा पुग्न सकिन्छ। त्यसपछि बाँसखर्क हुँदै नाङ्गी र मोहरे हुँदै जाने घोरेपानीसम्म पुग्न पैदल यात्रा गर्नुपर्दछ।
कटुस, लालिगुँरासका रुखहरु, अन्नपूर्ण र सगरमाथा हिमालश्रेणीको मन लोभ्याउँदो दृश्यको अवलोकनको अनुभव यस पैदल यात्राका क्रममा पाउन सकिन्छ। अन्नपूर्ण हिमालको दक्षिण क्षेत्रको दृश्यावलोकनका साथै पूर्वतिर माछापुच्छ्रे हिमालको अवलोकन गर्न सकिन्छ।
यो मोहरे डाँडाको बाटो एकदमै रमणीय छ। प्राकृतिक सौन्दर्य भएता पनि भौगोलिक रुपले यो एकदमै विकट थियो। महाविर पुनले यहाँसम्म वाइफाईको पुहँच पुर्याएका थिए। जसका कारण यहाँ गुग्ने पर्यटकले इन्टरनेट पनि उपभोग गर्न पाउनेछन्।
पछिल्लो समय पर्यटकको आवतजावत बढेसँगै यहाँ बस्न र खानका लागि स्तरीय होटल तथा लज बनेका छन्। मोहरेसम्म पुग्नका लागि बेनीबाट तीन दिनको पैदल यात्रा गर्नुपर्छ।
मोहरे डाँडासम्म पुग्न बेनीदेखि प्रतिदिन दुई हजार रुपैयाँ जति खर्च लाग्ने ट्रेकिङ एजेन्सी लक्जरी होलिडेज नेपालका सञ्चालक शिशिर बन्जरा बताउँछन्।
FACEBOOK COMMENTS