काठमाडौं । सरकारले आवश्यक राजस्व उठाउन नसकेर सरकारी खर्च धान्नै मुश्किल परेपछि नेपाल राष्ट्र बैंकले २३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ ।
यस्तो आन्तरिक ऋण उठाउन पछिल्लो समय राष्ट्र बैंकले २३ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । सरकारका लागि राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गरी २३ अर्ब २३ करोड ३२ लाख रूपैयाँ ऋण उठाएर खर्च जुटाउन लागेको हो ।
राष्ट्र बैंकका अनुसार मंसिर ४ गते अर्थात् आज सोमबार सो रकम बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल हुनेछ । भोलि मंगलबारदेखि जारी हुने सो ट्रेजरी बिल खरिद गर्न वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले बोलकबोल पेस गर्न सक्नेछन् ।
सरकारले बिक्री गर्ने ट्रेजरी बिलमध्ये २८ दिन अवधिको आठ अर्ब रूपैयाँ, ९१ दिन अवधिको सात अर्ब २३ करोड ३२ लाख रूपैयाँँ र १८२ दिन अवधिको आठ अर्ब रूपैयाँको रहेको छ । यीमध्ये ९१ दिन अवधिको कुल सात अर्ब २३ करोड ३२ लाखमध्ये चार अर्ब २३ करोड ३२ लाख पुरानो नवीकरणअन्तर्गत र बाँकी तीन अर्ब नयाँ बिक्री हो ।
बिक्री गरिने कुल ट्रेजरीमध्येमा २८ दिन अवधिको २०८० पुस तीन गते, ९१ दिनको २०८० फागुन ८ गते र १८२ दिने अवधिको २०८१ जेठ ८ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले यही कात्तिक २४ गते पनि सरकारका लागि बैंक तथा वित्तीय संस्थाबाट १७ अर्ब ८५ करोड ५० लाख रूपैयाँ बराबरको आन्तरिक ऋण उठाइसकेको छ ।
सरकारले यसरी आन्तरिक ऋण उठाउँदा बैंक तथा वित्तीय संस्थाहरूले व्यावसायिक क्षेत्रमा पर्याप्त कर्जा प्रवाह गर्न सक्दैनन् । यसबाट देशका उद्योग व्यवसाय चलाउन समस्या पर्ने देखिन्छ । अहिले मुलुकको समग्र आर्थिक अवस्था समेत समस्यामा रहेका बेला आन्तरिक ऋणले बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइ टाट पल्टिने खतरा समेत उत्पन्न भएको छ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन बिक्री गरिन्छ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
FACEBOOK COMMENTS