काठमाडौं । बागमती प्रदेशमा सवारी लाइसेन्समा ७० अंक आए पास हुने व्यवस्था लागू भएको छ। बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालयहरुलाई परिपत्र जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो।
योसँगै अब बागमती प्रदेशका सबै यातायात कार्यालयमा सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा दिँदा सामान्य गल्तीले फेल हुनेछैनन्। हाल ट्रायलमा १०० मा १०० अंक नै ल्याउनुपर्ने व्यवस्था रहेको छ। जसले अधिकांश सामान्य गल्तीले फेल हुने गरेका थिए।
संघीय सरकारले २०७८ जेठबाट सबै ठाउँमा ७० अंक ल्याए पास हुने कार्यविधि व्यवस्था गरे पनि प्रदेश सरकार तयार नहुँदा लागू भएको थिएन। गत साउनमा पोखरामा संघीय मन्त्रीसहित सबै प्रदेशका यातायात मन्त्रीको बैठकमा ७० अंक लागू गर्न सहमत भएका थिए।
परीक्षा स्थलमा सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने र परीक्षाका सबै चरण तथा गतिविधिहरुको भिडियो खिची कम्पनीमा ३० दिन विद्युतीय अभिलेख रहनुपर्ने व्यवस्था रहेको छ।
यातायात व्यवस्था विभागले २०७७ चैत १९ गते जारी भएको सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकाबमोजिम कार्य गर्न परिपत्र गरेको छ।
कार्यविधिको अनुसूची ७ मा परीक्षाका क्रममा कुनै तोकिएको अवस्थामा अनुत्तीर्ण घोषणा गरिएको अवस्थामा बाहेक न्यूनतम ७० अंक प्राप्त गर्नुपर्नेछ।
गण्डकी प्रदेशमा १ वर्षअघि नै ७० अंक ल्याए पास हुने व्यवस्था लागू भइसकेको छ।
FACEBOOK COMMENTS