विराटनगर । सुनसरीमा मालवाहक ट्रक पल्टँदा पाँचजनाको मृत्यु भएको छ । भोक्राह नरसिंह गाउँपालिका–८, सोनीयाहीमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा पाँच कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङको विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक बिहान साढे ५ बजेतिर अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा मार्बलले किचिएर उनीहरूको मृत्यु भएको सुनसरीका एसपी केशवकुमार थेवेले जानकारी दिए । उनीहरू मार्बलमाथि बसेका थिए ।
दुर्घटनामा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ, ४५ वर्षीय चन्द्र गुरुङ र २८ वर्षीय निशु गुरुङको मृत्यु भएको हो । उनीहरू सबै सुनसरीकै बर्जु गाउँपालिका–१ का बासिन्दा भएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा तीनजना सामान्य घाइते भएका छन् । दुर्घटनालगत्तै फरार ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

FACEBOOK COMMENTS