काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि युद्धविरामको घोषणा गरेका छन् । पाकिस्तानको पहलमा अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमती भएको हो ।
राष्ट्रपति ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ तथा सेना प्रमुख आसिम मुनीरसँगको वार्तापछि यस्तो सहमति बनेको जनाएका छन् । ट्रम्पले भने, “म इरानमाथिको बमबारी र आक्रमण दुई हप्ताका लागि रोक्न सहमत छु। दुबै पक्ष युद्धविराममा सहमत भएका छन्।”
उनका अनुसार होर्मुज़ स्ट्रेट खोलिनु युद्धविराम कार्यान्वयनको मुख्य शर्त हो । यसअघि ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीलाई लिएर कयौं चेतावनी र डेडलाइन दिएका थिए ।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए, “पाकिस्तानका नेतृत्वले आज रात इरानमाथिको विनाशकारी सैन्य कारबाही रोकिनुपर्छ भनेका कारण म दुई साताका लागि आक्रमण रोक्न तयार छु—तर सर्त एउटै हो, इरानले होर्मुज़ स्ट्रेट तुरुन्त, पूर्ण रूपमा र सुरक्षित रूपमा खोल्नैपर्छ।”
सम्झौताअनुसार अमेरिका र उसका सहयोगी इजरायलले आक्रमण रोक्नेछन् भने इरानले पनि आफ्ना सैन्य गतिविधि स्थगित गर्नेछ । यस अवधिमा होर्मुज जलडमरू हुँदै तेल, ग्यास तथा अन्य जहाजको सुरक्षित आवागमन इरानी सेनाको सहयोगमा सुनिश्चित गरिनेछ ।

यो युद्धविराम लेबनान लगायतका क्षेत्रमा पनि लागू हुने बताइएको छ । साथै, आगामी अप्रिल १० मा पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच औपचारिक वार्ता सुरु हुने तय भएको छ ।

युद्धविराम घोषणा भएको करिब दुई घण्टापछि इरानका सर्वोच्च नेताले सबै सैन्य इकाइलाई तत्काल गोलीबारी रोक्न निर्देशन दिएका छन् । सरकारी सञ्चारमाध्यममार्फत जारी वक्तव्यमा सबै सुरक्षा निकायलाई आदेश कडाइका साथ पालना गर्न भनिएको छ ।

यद्यपि, इरानले यो युद्धको पूर्ण अन्त्य नभई अस्थायी व्यवस्था मात्र भएको स्पष्ट पारेको छ ।
उता, अमेरिकी पक्षले पनि इरानविरुद्धका आफ्ना सबै आक्रामक सैन्य कारबाही रोकिएको जनाएको छ । तर सुरक्षा र प्रतिरक्षासम्बन्धी गतिविधि भने जारी रहने बताइएको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि युद्धविरामको पुष्टि गर्दै पाकिस्तानको भूमिकाको प्रशंसा गरेका छन् । उनले आक्रमण रोकिएमा इरानले पनि आफ्नो प्रतिरक्षात्मक कदम स्थगित गर्ने बताएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अप्रिल १० मा इस्लामाबादमा दुवै पक्षलाई आमनेसामने वार्ताका लागि निमन्त्रणा गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार उक्त वार्ताको उद्देश्य दीर्घकालीन समाधान खोज्नु हो । पाकिस्तानले यस पहलबाट क्षेत्रीय शान्ति र स्थायित्वमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।