काठमाडौं । लगातार सात पटक असफल भएपछि अन्ततः अमेरिकी सिनेटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्ध अधिकार सीमित गर्ने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । विशेषगरी इरानविरुद्ध कुनै पनि सैन्य कारबाही रोक्ने उद्देश्यसहित ल्याइएको यो प्रस्ताव ट्रम्प प्रशासनका लागि ठूलो झट्का मानिएको छ ।
सिनेटमा भएको मतदानमा प्रस्तावको पक्षमा ५० मत परेको थियो भने विपक्षमा ४७ मत परेको थियो । सबैभन्दा चासोको विषय भने ट्रम्पकै रिपब्लिकन पार्टीका चार सिनेटरले पार्टीविरुद्ध मतदान गर्दै डेमोक्रेटिक पार्टीलाई समर्थन गर्नु रह्यो ।
ट्रम्पविरुद्ध मतदान गर्ने रिपब्लिकन सिनेटरहरूमा सुसान कोलिन्स, लिसा मुर्कोव्स्की, र्यान्ड पल र बिल क्यासिडी रहेका छन् । अमेरिकी सञ्चारमाध्यम सिबिएस समाचारका अनुसार डेमोक्रेटिक पार्टीले यो प्रस्ताव पारित गराउन गरेको आठौँ प्रयास सफल भएको हो ।
डेमोक्रेटिक पार्टीका सिनेटर टिम केनले प्रस्तुत गरेको प्रस्तावको मुख्य उद्देश्य राष्ट्रपति ट्रम्पले संसदको अनुमति बिना इरानमाथि हमला गर्न नपाउने व्यवस्था गर्नु हो । प्रस्तावमा अमेरिकी संसदबाट औपचारिक रूपमा युद्ध घोषणा नभएसम्म वा सैन्य शक्ति प्रयोगका लागि विशेष अनुमति नदिइएसम्म अमेरिकी सेनालाई इरानविरुद्ध कुनै पनि शत्रुतापूर्ण गतिविधिमा संलग्न गराउन नपाइने उल्लेख गरिएको छ ।
यस प्रस्तावलाई राष्ट्रपति शक्तिमाथिको प्रत्यक्ष नियन्त्रणका रूपमा हेरिएको छ । प्रस्ताव पारित भएपछि डेमोक्रेटिक नेताहरूले खुशी व्यक्त गरेका छन् । क्यालिफोर्नियाका डेमोक्रेटिक सिनेटर एडम सिफले सामाजिक सञ्जालमार्फत सिनेटका डेमोक्रेटहरूले फेरि एकपटक ‘असंवैधानिक युद्ध’ रोक्न मतदान गराएको बताएका छन् । उनले संवैधानिक जिम्मेवारी पूरा गर्दै प्रस्तावलाई समर्थन गर्ने रिपब्लिकन सांसदलाई धन्यवाद समेत दिएका छन् । यस्तै सिनेटर बर्नी स्यान्डर्सले अमेरिकी जनता अन्तहीन युद्धमा अर्बौँ डलर खर्च गर्न नचाहेको बताएका छन् । उनले देशभित्रका गम्भीर समस्या समाधान गर्नु अहिलेको प्राथमिकता भएको उल्लेख गर्दै असंवैधानिक युद्ध तुरुन्त अन्त्य हुनुपर्ने धारणा राखेका छन् ।

यो घटनाक्रम अमेरिका र इरानबीच शान्ति सम्झौताबारे वार्ता चलिरहेका बेला भएको हो । यसअघि सोमबार ट्रम्पले आफूले इरानमाथि हुने तय गरिएको ठूलो हमला रोकेको खुलासा गरेका थिए । उनले आफ्नो सामाजिक सञ्जालमार्फत कतारका अमिर शेख तमिम बिन हमद अल थानी, साउदी अरबका युवराज मोहम्मद बिन सलमान तथा संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाहयानले हमला स्थगित गर्न विशेष आग्रह गरेको बताएका थिए । ती नेताहरूले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको र राम्रो सम्झौता सम्भव रहेको बताएका थिए ।

खाडी मुलुकका नेताहरूको आग्रहपछि ट्रम्पले मंगलबार हुने भनिएको सैन्य हमला रोके पनि उनले शान्ति सम्झौताका लागि आफ्नो मुख्य सर्त सार्वजनिक गरेका छन् । ट्रम्पले इरानसँगको कुनै पनि सम्झौतामा ‘इरानसँग परमाणु हतियार नहुने’ विषय सबैभन्दा महत्वपूर्ण हुने स्पष्ट पारेका छन् । उनले आफ्ना युद्ध सचिव पिट हेगसेथ र संयुक्त सैनिक प्रमुख समिति अध्यक्ष जनरल ड्यानियल केनलाई हमला रोक्न निर्देशन दिएको जानकारी समेत दिएका छन् ।

यद्यपि अमेरिका र इरानबीचको तनाव पूर्ण रूपमा समाप्त भने भएको छैन । ट्रम्पले अमेरिकी सेनालाई उच्च सतर्कतामा राखिएको बताएका छन् । यदि इरानसँग स्वीकार्य सम्झौता हुन नसके अमेरिकी सेना पूर्ण शक्तिसहित ठूलो स्तरको हमला गर्न तयार रहने चेतावनी पनि उनले दिएका छन् । उनले आवश्यक परे एकै क्षणको सूचनामा इरानविरुद्ध व्यापक सैन्य कारबाही सुरु गर्न सेना तयार अवस्थामा रहेको बताएका छन् ।