काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोनमा लामो कुराकानी भएको छ ।
अमेरिकाको भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेट्नुअघि ट्रम्पले पुटिनसँग करिब दुई घण्टा कुराकानी भएको ट्रम्पले जानकारी दिएका छन् ।
ट्रम्पले पुटिनसँगको कुराकानी अद्भुत रहेको र मध्य पूर्वमा शान्ति ल्याउनेमा आफूसहित अमेरिकालाई बधाई दिएको बताएका छन् । साथै ट्रम्पले मध्य पूर्वमा पाएको सफलताले रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्न चलिरहेको वार्तामा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
ट्रम्प र पुटिनले अर्को हप्ता आफ्ना शीर्ष अधिकारीहरूको बैठकको तालिका बनाएका छन् । जसमा विदेशमन्त्री मार्को रुबियो र धेरै अन्य अमेरिकी पक्षबाट उपस्थित हुनेछन् । बैठकको स्थान अझै तय भएको छैन ।
त्यस्तै ट्रम्प र पुटिनले रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयास गर्न हंगेरीको बुडापेस्टमा केहि साता पछि नै भेट गर्न सहमति जनाएका छन् । ट्रम्प र पुटिनको अन्तिम भेट अगस्ट १५ मा अलास्कामा भएको थियो। सुरुमा, यो बैठक हंगेरीको राजधानी बुडापेस्टमा हुने तय गरिएको थियो, तर अन्तिम समयमा स्थान परिवर्तन गरिएको थियो । अब, दोस्रो ट्रम्प–पुटिन बैठकको लागि बुडापेस्ट छनोट गरिएको छ।
यसैबीच अमेरिका पुगेका जेलेन्स्कीले ट्रम्पबाट उन्नत हतियारहरूको विषयमा छलफल गर्ने तयारी गरेका छन् । जसमा लामो दूरीको टोमाहक मिसाइलहरू समावेश छन् । यी मिसाइलहरूले मस्को र अन्य प्रमुख रूसी शहरहरूलाई युक्रेनी आक्रमणको दायरामा राख्नेछन् । ट्रम्पले यदि पुटिन वार्ताको टेबलमा आएनन् भने उनले यी हतियारहरूको डेलिभरीलाई अनुमति दिन सक्ने यस अघि नै चेतावनी दिएका छन् ।
FACEBOOK COMMENTS